घर नफर्किएको छोराको सम्झनामा


Logo

Sudarshan


यो स्याँठ यति चिसो
लागेको थिएन यसअघि
बाटोमा शीत जमेर
औँलाहरू ठिहिर्याइरहेका छन्

कसरी बस्दो हो त्यो ठाँउमा ?
आमा सोधिरहन्छे हरेक साँझ
म सम्झाइदिन्छु खैरो सुइँटर, उसैले बुनेको
त्यही लगाएर तँ हिँडेको थिइस् हिँउदमा

गर्मीमा उस्तै रोइलो हाल्छे
मोही खाँदा सम्झेर टोलाउँछे
म सम्झाइदिन्छु तेरो गोजीको सेतो रुमाल
दिदीले तिहारमा दिएको, पसिना आँउदा
घर पनि याद आँउछ, म भनिदिन्छु

सम्झनाको न्यानोले, यादको ओतले
बितिसके हिउँद र बर्खाहरू
बितिगए कति वर्षहरू
पिचाशले बाटो भुलायो कि पैसाले
खै, वर्षाैँ बितिसक्दा पनि तेरा पैतालाले
घरको बाटो सम्झिएनन्

परार घर अगाडिको केराको थाम काटिदिएँ
पोहोर पर्खदा-पर्खदा थाकेर गङ्गाले बिहे गरी
आजभोलि तेरो कोठामा भकारी राखेका छम्
बोटमै कुहिएर खस्छन् आरु र सुन्ताला
घुँडा दुख्दा मुखबाट तेरै नाम सम्झिछम्

सम्झनु – मात्र विरक्तिनु जस्तो छ
सम्झनु – मात्र नबिर्सनु जस्तो छ
परेलाहरूमा, पैतालाहरूमा
प्रत्येक लामा सुस्केराहरूमा
तलाँई नै सम्झिबस्छम् बुढा-बुढी

आमा मलाई तेरा यादहरूले सम्झाउँछे
म उसलाई झिनो विश्वासले सम्झाँउछु-
हाम्रो छोरो छिट्टै फर्की आउनेछ

***

प्रदेश युवा परिषद्, बागमतीको आयोजना र साहित्य संगम मकवानपुरको सहकार्यमा २०८१ पौष ६ गते आयोजित खुला कविता प्रतियोगितमा दोश्रो स्थान हासिल गर्न सफल कविता ।