
कविताका उपकुलपति,
नेपाल प्रज्ञा प्रतिष्ठान,
कमलादी, काठमाडौं ।
विषयः राष्ट्रिय कार्यक्रमको नाममा खिसिट्युरी बन्द गरिपाऊँ भन्नेबारे
श्रीमान्,
कविता कर्ममा लागेको केही वर्ष यता हजुरहरूले हिजो आयोजना गर्नु भएको ‘राष्ट्रिय कविता महोत्सव-२०८२’ सबैभन्दा यादगार रह्यो । यसमानेमा कि हजुरहरूका प्रतियोगी र अतिथिका कविताहरू सुनेर हाम्रो लेख्नै नजान्ने साथीलाई पनि कार्यक्रम पछि लेखूँ-लेखूँ भएर आएछ । उसको कविताको काव्यिकपन हामी कवितामा खोजिरहेथ्यौँ, तर त्यो त हाम्रो अहिलेको कविताको माहोलमा पो भेटियो । यो थाहा पाउनको लागि हिजोको कार्यक्रम मुल्यवान् रह्यो । मुन्धुमको अध्येता, जलवायु परिवर्तनको कार्यकर्ता, विदेश जान भनि काठमाडौं आएकी ऊ एक महिला, ऊ त ऐतिहासिक समयानुकुल कवि पो बन्न सक्ने रहिछ । बिहानको भात पनि पकाउन नभ्याइ कविता कार्यक्रममा साच्चै नै “कस्ता कविता सुन्न पाइएला त?” “हामी आफैं कस्तो पो लेख्ने रहेछौँ त नेपाली कविताको चल्तीमा?” भनेर जान्न र अड्कल काट्न पुगेका हामी, हजुरको कार्यक्रमले बाँडेको दही-चिउरा खाइसकेर, पेटलाई सितल भएको महसुस भएपछि केही बोलिहाल्न मन लागेन । ‘दही-चिउरा’ बरु मिठो काव्यिक अभिव्यक्ति जस्तो लाग्यो ।
हिजोको कार्यक्रमबाट हामी कोठामा आइपुगेपछि थाहा भयो, शीर्ष १० मा त, शीर्ष २५ मा परेर पनि कार्यक्रमा आउदै नआएकी र भिडियो मार्फत् कविता पनि नपठाएकी सन्ध्या महर्जनको नाम पनि आएछ । उहाँलाई धेरै धेरै बधाई । कार्यक्रममा आएर कानको जाली र टाउको फुट्नेगरि कविता सुन्न नि परेन । ठ्याक्कै चिताएजस्तै ४०,००० रुपैयाँ र शीर्ष १० को उपाधि, दुइटै हात पर्यो । बरु उहाँले त्यँहा आउने कविलाई दिइएको यातायात खर्च पाउनुभो कि भएन ! यो निवेदन उहाँलाई त्यो एउटा हात्तीको नोट दिइपाऊँ भन्ने बारे पनि भयो, लौ । कार्यक्रमको नतिजा कार्यक्रम लगत्तै निकालेको भए, विरोध हुनसक्ने भएर पो हो कि (सुन्नै नसकिने कविताका माझमा केही ताली बजेकै कविता पनि शीर्ष १० मा नपरेको व्यहोरा जानकारी गराउँदै), या मुल्याङ्कन समितिका माननियहरूलाई साच्चै कविताले विक्षिप्त पारेर हो, हामीलाई भने राति आएको नतिजा चिउरा अपच हुने गरी निस्कियो ।
५०० बढी कवितामध्ये शीर्ष २५ मा यस्ता कविताले पनि ठाउँ पाउछन् भने, हामी बुझ्न सक्छौँ, मुल्याङ्कन समितिलाई कति गाह्रो पर्यो भनेर । कवितामा यस्तो अद्वितीय विद्धत्व दर्शाउने मुल्याङ्कन समितिको प्रत्यकको नाम, एउटा पोट्रेट र सम्पर्क नं सहित जमल, सहिद गेट, रत्नपार्कतिर टासिदिन पर्यो । अहिले शहरमा कविताका कार्यक्रमहरू छ्यापछ्याप्ति भइरहेका छन् । आउँदा दिनहरूमा विभिन्न कविताका कार्यक्रमका लागि विभिन्न कविता प्रेमी तथा संस्थाहरूले पनि कस्ता कविता वाचन गर्ने भन्ने बारे उनीहरूबीच रहेका विमतीलाई पनि सुल्झाउन सजिलो हुने थियो । अझ, सार्थक सामसायिक मापदण्डको अभावमा कविता केवल मनको अभिव्यक्ति हो भनेर कवितै जगत आक्रान्त पार्ने क्याफे-कविताका अनुयायीहरूलाई पनि आफ्ना कवितामाथिको विश्वास बढाउन सहयोग पुर्याउने यस्ता कविताका मुल्याङ्कन-मुर्तिहरूको खाँचो छ ।
भाषा विभागका एक पुन्डित (pundit) ले बिरामी छु भनेर कविता नसुनी भाषण गरेर जानुभो । राज्य र शक्ति सधैं कविताबाट तर्सिरहन्छ भनेर गइजानु भएको उहाँलाई अन्तिममा प्रज्ञा प्रतिष्ठानले पुनः डाकेर मन्तव्य दिन लगाएको भए, मज्जै आउथ्यो होला । श्रीमान् प्रज्ञा ज्यू, हजुरको विद्वतासँग क्षमा मागी यहाँ भन्नै पर्ने भो कि राज्य र शक्ति को मतलब यहाँ सत्ता हाँकेका र हाँकिरहेका माननीय मात्र हुन पुगेनन् । मृत कवितालाई कविको अहंको भरणपोषण गरेर जीवित तुल्याइरहन खोज्ने आयोजक, बजारमा चर्चित मुद्दालाई कवितामा ल्याएबापत् स्याबासी दिने संस्था र संस्थाबाट प्यारालाइज्ड केही साथिहरू र अवसरको अभावमा अवसर नै दिएको हुनाले आत्मै बेच्दा नि कृतज्ञ छु जस्तो गरिदिनपर्ने अवसरदाताहरू पनी शक्तिशाली भुरे राजाहरू नै हुन्, जसको शिकार व्यक्ति नभइ कविता बनेको छ । जब कविता शक्तिको बुई चड्छ, तब कविताको आफ्नै राज्य र शक्ति निर्माण हुन्छ । कवितामा पद्य शैली लामो समयसम्म यो शक्ति भइराख्यो, तापनि देवकोटा र पौड्यालले यो शैलीलाई चल्तीको भाष्य फैलाउने माध्यमको रूपमा लिगेनन् । जस्तै, सरकारले जलवायु परिवर्तनको नीति अपन्याइसकेको अवस्थामा कविता मार्फत् व्यक्त पर्यावरणीय विषय (जसको अर्थ अहिले जलवायु परिवर्तनभन्दा बाहेक केही सुनिदैन) कतिखेर राजनैतिक मुद्दा बन्छ र कतिखेर कविको चेतले चिनेको, भोगेको पर्यावरणीय वस्तु ? उनै पुन्डितको कुरा ‘कविता र गीतले भाषा जीवित राख्छ’ सम्झदा, हिजोको कार्यक्रमले कस्तो कविता लेख्ने ? कस्तो शैलीमा वाचन गर्ने ? कस्तो विषय चयन गरेर मुल्याङ्कन समिति र राज्यसत्ता ‘प्रज्ञा प्रतिष्ठान’को हातबाट प्रमाणपत्र थाप्ने ? भन्ने चलिआएको भाष्यलाई निरन्तरता दिएको पाइयो । कसैले लोककथालाई टुक्रयाएर कविता भनेजस्तो गरेर गए, कसैले ‘आयु द्रोण सुते..’ शैलीमा आशिष दिएर यही हो कविता भनि गए, कसैले व्यर्थैको कार्वन उत्सर्जन गरेर गए, कसैले नारा लगाए त कसैले विद्यार्थी नेताको शैलीमा भाषण दिएर गए । श्रीमान्, यसरी त राज्यप्रति त पछि, सर्वप्रथम त, सबैभन्दा खस्किएको कविता विधालाई नै तर्साउने गरी प्रहार आवश्यक भएको भान हुन्छ । तापनि, घमण्डमा लिने हाम्रो बानीले गर्दा, केही कवितालाई भन्दा कविलाई भनिएको मानिने हो कि भनेर साथिहरू नै गुमाइ एक्लिनुपर्ने डरले चुप रहन पर्ने स्थिति छ । वि.सं २०६२/६३ सालपछि छरपस्ट हुँदै गइरहेको वैचारिक क्षितिज कवितामा पनि आइपुग्दा, कुन दायरामा रहेर मन पर्यो, मन परेन भन्न अनुकुल हुने हो, लख काट्न गाह्रो परेको छ । यस्तो समयमा प्रज्ञा प्रतिष्ठान जस्तो ठूलो निकायको दायित्व छ है भनेर भन्नु पर्दा आशावादी हुनु कि निराशावादी हुनु थाहा छैन ।
आफ्नो लाज पनि जोगाउन नपर्ने, चलिआएकै चलन चलाइरहने एउटा जुक्ति छ ! के भने, कार्यक्रमको नाम फेर्नुहोस् ! या त ‘उही पोहोर जस्तै कविता महोत्सव–२०८३’ राख्नुहोस्, या ‘प्रज्ञा प्रतिष्ठान निकट कविता महोत्सव–२०८३’ । कुन राख्दा अनुकुल हुन्छ त्यसको चयन गर्न एउटा नेपालभरिको विद्वत समिति गठन गर्नुहोला । त्यसमा केही महिला, केही बेग्लै भाषा बोल्ने व्यक्ति, केही जिल्ला प्रतिनिधि गर्ने कवि र एकजना कार्यक्रममै नआउनुहुने व्यक्तिलाई अट्नेगरि सिट बाँड्नुहोला ।
अन्त्यमा,
श्रीमान् ! तपाई हामी दुवैलाई मन पर्ने कवि लेखनाथ पौड्यालको कविता ‘साहित्यको फुटबल’ को एउटा अंश यहाँ मनन गर्न पर्ने भएको छ ।
भाषा छ विशाल चौर समा गर्दै ठुलो तर्खर
भै केही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर ।
खेल्दै छौं फुटबल बालक सबै साहित्यको बेसरी
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ।।


कार्टुन: बुख्याँचा