Session I: कविता पठन र छलफल कार्यक्रम


Logo

पत्र मन्जुषा


16th Jestha, 2082, Friday

“कविता पठन र छलफल कार्यक्रम “

Poetry reading and discussion program

कार्यक्रममा आउनुभएका सबैलाई स्वागत छ !

कविता खास मानवजगतमा कसरी उब्जिन्छ र कस्तो अभिव्यक्तिलाई चाँहि कविता भन्न मिल्छ त भन्ने बारे ठिक ठिक सबैलाई चित्त बुझ्दो उत्तर आजसम्म कसैले दिन नसकेको हुँदाहुँदै पनि कविता जीवित हुनुले मानिसको जीवनमा कविता बाँच्दछ र भाषाको माध्यमबाट यसले मानिसहरूलाई छुन्छ भन्ने कुरा प्रष्ट हुन्छ । हामीले यो कार्यक्रम आह्वान गर्दा इच्छुक सहभागिहरूलाई कविता के हो त भन्ने प्रश्न सोधेका थियाैँ । एकजनाले भन्नुभयो- कविता अँध्यारोममा नि देखिने मनको छायाँ हो । Poetry is  like the image in shadow; expressing something like an image illuminated by light. यो layer लाई बुझ्न अर्को एकजना सहभागिको टिप्पणी सान्दर्भिक हुन्छ । उहाँ भन्नुहुन्छ- कविता ऐना भित्रको आकृति हो । खासमा यो ऐना चाहिँ के रहेछ त ? अर्को एक सहभागिबाट आएको टिप्पणी अनुसार राम्रो कविताले अवचेतनको भाषा व्यक्त गर्छ । त्यसोभए के कविता मानिसको अवचेतनलाई नियाल्ने ऐना हो, या अँध्यारोमा देखिने मनको छायाँ ? कविता के हो भन्ने बारेमा एक सहभागिको बिचार छ- What works works ! यो उत्तर “कतिसम्मको अश्लीलता अश्लीलता हो?” भन्ने प्रश्नमा अमेरिकी Supreme Court Justice Potter Stewart ले I know it when I see it भनेजस्तै सुनिन्छ ।  त्यसोभए कविता हुनुको अर्थ के कुराले निर्धारित गर्छ त ? What works works ! मा समकालिन समयमा प्राथमिक भुमिका कसको भइआएको देखिन्छ ? कविता सुन्ने/पढ्नेहरूको ? या कविता कार्यक्रम आयोजना गर्ने संस्थाहरूको ? या कविको ?

एक सहभागिको प्रश्न छ, कविता कसरी लेखिन्छ, कविता किन लेखिन्छ, कसका लागि लेखिन्छ, र कहिले लेखिन्छ ? यस जिज्ञाशामा अर्को सहभागी भन्नुहुन्छ- कविता आफ्नो अनुभव साट्नको लागि लेखिन्छ । कसका लागि लेखिन्छ भन्ने प्रश्नमा एक सहभागि भन्नुहुन्छ-कविता सम्पुर्ण मानव जगतले महसुस गर्ने भावना भएकाले यो आफ्नो सान्दर्भिक समयकालका मानिसहरूकै लागि लेखिन्छ । प्रश्न आउँछ- कस्तो कविताले माथि उल्लेखित कार्य गर्न सक्छ ? समकालिन समयमा कविता लेखिरहँदा के कविताले माथि भनेजस्तै ऐनाभित्रको आकृतिको रुपमा प्रस्तुत भइराखेको छ या यसको परिभाषा नै बदलिँदो छ । बदलिँदो प्राविधिक आयामसँगै कविता लेखन र अन्तरक्रियाका माध्यमहरू बिस्तारित भइरहँदा (Reality Show, Theatrical Poetry, Musical Poetry, Visual Poetry) कविता कति सामाजिक, कति मानविय, कति साहित्यिक र कति उपभोगवादी भइरहेको छ ? 

आजको यस कविता पठन र छलफल कार्यक्रममा सहभागी सबैसँग हामी यही विषयवस्तुहरूमा रहेर कुराकानी गर्नेछौँ !

१. मोहित जोशि

Mohit Joshi is a poet and artist based in Kathmandu, whose work weaves the mythical into the fabric of everyday life. A national poetry prize winner and finalist of The Poet Idol S02, he is currently pursuing an M.A in Economics at Tribhuvan University.

वसन्त

मेरो, आँसु पिउने,
आमाले ब्लिडिङ हार्टको लहरा
आज गाला–गमलामा फुलाइन्—
लटरम्म लहरेआँसु ।

कुनै बेला ठान्दथे
मेरी आमाको आँखाको आभा
पगाल्ने कुनै कसिङ्गर छैन ।

वर्षौंदेखि काठे भै बसेको रहेछ
ब्लिडिङ हार्ट आँगनको डिलमा ।
हामीलाई लाग्थ्यो—
कोपिला मात्रै टुसाउने फूल हो यो ।

सम्झिन्छु, सम्झिरहन्छु, सम्झिरहन्छु—
मेरो दाइको कायान्तरण

आँगनको डिलको माटोमा । कुजिएर बस्ने ‘अस्तित्व संकट’,
धरा धरा विचरण गर्ने रसायनको रास—
दुइटै केवल सम्झना । हाललाई अप्रासङ्गिक प्रसङ्ग…

प्रसङ्गत: ब्लिडिङ हार्ट त्यसबेला पनि खिलिसकेको थिएन—
प्रथमत: जब आमाले सुनाइरहनु भएको थियो दाइको रुपान्तरण!

परन्तु आज यस्तो के भइरहेछ
कि आमाको आँखाको हिउँ पग्लिरहेछ ?
कि एकाएक काठे कोपिला फक्रिएको कुसुम कल्पिरहेछ !

उहाँले घुँडा टेक्नुभयो—
जुन तवरले सबै आमाहरूले
घुँडा टेक्छन्
जब समय आउँछ
आफ्ना छोरीहरू
पठाउनुपर्ने…

फूलका पत्रहरूमा मृदुल हावा-
को झोक्का पसेझैँ थरथर हातहरूले
तर सानी नानीले गुडिया तयार गरेझैँ
मखमलझैँ नाजुकतासित
दिदीका गोडा धुँदैछिन् आमा

गोडा पखालेको पानी प्रसादझैँ
हातमा लिएर पिउँदैछिन् आमा

र हृदय सिच्दैछिन् ।

आफ्नो हृदय ।

हृ द य फाटिदैछ गाला-गमलामा उनको,
फुल्दैछन् गालाका पहरामा लहराका लहरा ब्लिडिङ हार्ट !

२. सौगात आर. सी.

A pacifist and lover of love, Saugat writes with quiet intention. His poems speak of stillness, softness, and the spaces between. Each word is chosen with care — a gentle pursuit of peace, connection, and truth.

चिन्ता नलिनुस् महोदय, केही हुँदैन

यहाँ केही पनि खेर जादैन महोदय
फाटेको दुध त पनीर बनाइ टक्र्याइन्छ
यहाँ त तपाईंको मन फाटेको छ
जसलाई जे बनायो त्यही बन्छ
बस् आफ्नो आँखाको ख्याल राख्नुस्
आफूले पढ्ने किताब अनि
साथिभाइको साथ राख्नुस्
नलिनुस् चिन्ता महोदय
उसलाई हतार थियो
उसलाई अहिले नै जानु थियो
समस्या उसका लागि थियो
अनि धेरै ठूलो थियो
धैर्य तपाईंमा छ अनि धेरै ठूलो छ
ऊसम्म पुगेन त तपाईंको धैर्य
के गर्नु महोदय !
मौसम त वर्ष दिनमा
चार चार बद्लिन्छ
बद्लिन दिनुस् महोदय
चिन्ता फिटिक्कै नलिनुस् महोदय
या पछि मन नलाग्ला
नसोच्नुस् महोदय
स्वास फेर्नुस् महोदय
मन आफैं फेरिन्छ

चिन्ता नलिनुस् महोदय
जान दिनुस् महोदय!

३. सुन्दर लामा

His art explores the universal human experiences of struggle, survival, and existence, delving into the interplay between space and consciousness. Through instinct and choice, I create evolving works that reflect the journey from mind to heart, affirming my creative potential and connection to collective reality.

घाम बेला
(gaze from the moment)

सुर्यहरू जब तल झर्छन्
एकउन्टा वस्तुका
प्रकृतिका
छायाँहरु सँगै लम्बिएर
आकाश, जुन अनि आकांक्षा हुन खोज्छन्
त्यो व्यक्त, म अग्लो पेगोडा अगाडि उभिएर
नास्तिकताको घाम तापिरहेको हुन्छु
त्यो व्यक्त, म अग्लो स्तुप अगाडि उभिएर….
म, फुर्सदमा देख्छु
घामहरू पनि सुर्य तापिरहेको अवस्थामा
झ्याल बाहिरको परा-दृश्यहरूका मनोदशमा
फुलहरूको सम्भोगबाट वसन्त जन्मिरहेको देख्छु
प्रेमवाद, मनोवाद अतिरञ्जनवाद पछि
सुर्यको दिन पनि एकदिन हुँदै
हवात् आयुका अनेकन् वसन्त पर गर्दछु
ममा माया
ममा मायाहरू मुक्तिसँगै व्यवस्थित पनि हुँदै जान्छन्
माइग्रेटेट पनि……..
माइग्रेटेट मनहरूका
त्यो जोश, त्यो ढुकढुकीहरूका
त्यो अतिरिक्त्त खुशीका दस्तावेजमा
फेरि एकउन्टा वसन्तको जन्म देख्छु
जन्मेका, नातागोता र न्वारपछिका मनलाग्दी
रङ्गीन फुलहरूका गल्ली हुँदै
घर झ्यालमा उभिएको लिङ्ग नभएको
पुरुष प्रकृति
पाठेघर नभएकाे
आमाको सिर्जनाहरूमा
गोत्र खोजिरहेको हुन्छु
मुर्कुटा जसरी अनुवादित भइरहेको हुन्छु
घाम बेला
सुर्यहरू जब तल झर्दछन्
एकउन्टा वस्तुका
प्रकृति छायाँहरू सँगै लम्बिएर
आकाश, मुनिका
त्यो भाडाको घर
त्यो रक्तिम स्कुटर
त्यो कोठाभित्रको
स्वर्गीय आमाको स्मृति सधन
कोठाभित्रकै
क्यानभासका सपाट श्रृङ्गार
त्यो आप्पा भन्ने छोरीको अधर
अनि मेरी प्यारी गर्भवतीसँग
त्यो पारिवारिक अँगालेको
गतिलो मनोदशाहरू छुन खोज्छु
देख्छु, घामबेला
आजबाट जन्मिसकेपछि
खप्पिस छन्, खाली पाठेघरको नमुना लिएर
आफ्नै संस्कृतिसँग फरार
आमाहरू अचानक
एकहुल पाठेघरहरू बोकी
आमा बन्न तयारीमा छन्
खप्पिस छन्,
खाली पाठेघरका नमुना लिएर
आफ्नै संस्कृतिसँग फरार
आमाहरू अचानक अचानकै….
घाम बेला
घाम बेला
जब एकउन्टा सुर्य तल झर्दछ
आज फुर्सदका
घामहरू पनि सुर्य तापिरहेको देख्छु

Gaze(Custody) | by Sundar Lama

४. सम्पदा रिजाल 

Poetry is a language of love and resistance  to me. I love to craft poetry that questions,confronts and reclaim the narratives.

सम्बोधन

आदिम प्रेमीहरूले भनेझैं,
तिमी फूल जस्ती छैनौ ।
बतासको इसारामा मात्रै नाच्ने
त्यो कोमल पत्र तिमी होइनौ ।

भमराहरूको तृष्णाले,
प्रेमीहरूको रुमानी भावुकताले
वा हुनसक्छ,
पुजारीको (अना)आस्थाले
फूल जतिबेला पनि चुडिन सक्छ ।
कोमलता जुनसुकै बेलामा लुटिन सक्छ ।
आफ्नै अस्तित्वको प्रतिरक्षामा
फूलले प्रतिरोध गर्न सक्दैन ।

फूल भैदिनु त यस्सै सुमधुर हुन्थ्यो,
तर उनीहरूले तिमीलाई फूल मात्र बनाइदिए,
फूल मात्रै भैदिनु पो तिम्रो जीवनभरिको कठोर दु:ख भयो ।

मैले पनि तिमीलाई फूल नै भन्ठानेकी थिएँ,
तर जब तिम्रो कोमलताको गोप्यता बुझेँ,
लाग्यो,
तिमी जमिनमुनिको त्यो ढुंगा रहेछौ,
बगैंचाले टेक्ने पहाडको भार बोक्ने ।
तिमी सूर्यको त्यो राप रहेछौ
जसको प्रतिक्षामा फूलले चिसो रात बिताउँछ ।
तिमी त्यो आगो रहेछौ,
जसले चिसो समयलाई सबक सिकाउँछ ।

तिमी त आँधी हौ,
आकाश चिरेर
कसैको अनुमतिबिना हिँड्ने,

जसरी नदीले जमिन चिर्छ
र आफ्नो बाटो आफैं बनाउँछ
तिमी नदी पनि हौ
अवरोधको पर्वाह नगरी बगिरहने ।

प्रेमीहरूले आफ्नो प्रभुत्व निर्माण गर्न
तिमीलाई फूल मात्र भने,
जसको पत्रले बेलून पनि फुटाउन सक्दैन ।

प्रिय सखी !
तिमीलाई कोमलताको प्रतिमा मात्र बनाउने
यो कुटिल प्रसंसाको राजनिती अब अस्विकार गर ।
मलाई थाहा छ,
तिमी फूल जस्ती छैनौ ।

५. सविन ज्ञवाली

Sabin Gyawali is a researcher and a poet. He holds a masters degree in anthropology and is interested in interdisciplinary approaches. For the past couple of years he has been working on river, irrigation canal and towards understanding the essence of a place.. How does a place feel?

१. असुरक्षित सम्झनाहरू

मस्तिष्कको ढुङ्गोलाई तरुल मानी
या
तरुललाई ढुङ्गो मानी,
काँडा आए, तरुल भई घोचिनु
निधार आए, ढुङ्गो भई ठोकिनु

सम्हालिएर दुई पाइला हिँड्न खोज्दा
चार पाइलामा भेटिन्छ बिन्दु
लाग्छ,
संसार दुई पाईला हिँडेपछि
म दुई पाईला हिँड्छु

हतारमा चालिएछन् खुट्टाहरू
धड्कनको चालले छल गरेछ

क्षितिज पारीबाट झरेको विमान
आज अवतरण गर्छ
भोलि सम्झी ल्याउँदा
रगतको टाटा मात्र 

मेरो इतिहासमा म छु
मेरो सम्झनामा म बाहेक सबै छ

धर्तीको भित्र लुकेर बस्छु
सबथोक ममा समाहित हुन्छ

सम्झनामा,
सबथोकले मलाई गुरुत्वआकर्षण बनाउँछ

मेरो गल्तीको सजाय स्वयं जीवन हो
न मैले जीवन रोजेको हुँ
न मैले गल्ती नै गरेको हुँ ।

२.  मृत्युबोध

एउटा खुट्टा माटोमा गाडेर
अर्को खुट्टा काटी
काटेको खुट्टाले सडक डुल्छु

कुहिएको सेर्गम
भित्र किरा परेको डल्लो
तोङ्बाको बाँसी फिँज,
माटोमा मिसिएर मेरो
पाइतलाको छाला चर्हाउछ

हिँडिरहे सम्म त टाउको पनि दुख्दैन,
रोकिएर अर्को खुट्टामा
आँत हालेको दिन
म एकचोटि मर्नेछु

या,
मलाई मृत्युबोध हुनेछ

तत्पश्चात्,
मलाई खुट्टा काट्दा दुख्नेछ ।

३.

पातबाट पानी झरेपछि,
मर्ने मन मरेपछि,
सपनाहरूको बीचमा,
प्वाँखमा रङ्ग पर्नुअघि,
रङले चित्र कोर्नुअघि,
म निदाएको हुनेछु,
मलाई सम्झाइदिनु !

४. स्मृतिको विवेचना

त्यति नै पर्याप्त हुनुपर्नेथ्यो,
तानेर पल्लो छेउ उसको आँखामा
चट्याङ्ग…
गरेको पल कुर्दा कुर्दै
जति चुँडियो कथाको सार
त्यति नै हो व्यर्थ लागेको

अठोट गर्दा गर्दै पनि ठम्याउन नसकिने
हराउनु अघिको ठाउँ

गोलो-गोलो घुमेर जे-जति अल्झियो
त्यो,
घटना पछिको नैराश्यता न हो

कोसिस गर्छु भन्ने चेत न-आईन्जेल
जुनको कालो कोट्याइरहने, मेरो ईच्छा
यति विघ्न चर्को बोलेछु
पहाडबाट फर्किसकेको आवाज सुनिएन

आफूले सुनिसकेको धुन भा’को भए
मनै नपरे नि बरु लत्याइदिन हुन्थ्यो
लेख्दै नलेखेको कवितासँग कसरी गुनासो गरूँ

यस्तो हुनु थियो या त्यस्तो हुनु थियो
हीनताको रुप,
पछाडि फर्केर हेर्दा सायद चिनिनु पर्ने थियो

सपाट सिलोटमै पनि होइन
खोलाकै कागजमा भए पनि
एकपटक लेखेको वाक्य विलीन हुने थियो

इख लिन पर्दा इखकै इनारबाट
आउन सकोस्
थप-थपाउँदै जमिनबाट आँसु आँखामा
भिजेकै हातले आँसु पुछ्दा
भिजेको हो चाँहि के ?

जस्तै,
आफ्नै हाँसेको रूप सम्झिएर रुनु?

***

छलफलका विषयहरू्/ Different response of people about current trend of poetry:

  1. It has stopped writing about burning life. all it writes now is about the burnt ones. 
  2. Lacks striving newness-observing newness
  3. Vague-sad-not satisfied-limited circle-kathmandu centric in experiences
  4. Engaging in presentation but surface in text
  5. Everything is good except Slam Poetry
  6. Anything is said poetry, whether is or not
  7. Breaking a sentence into stanza doesn’t make it poetry
  1. Growing- growing interest among youths- interesting- underrated
  2. Niche but vibrant community- opportunities- 
  3. Writers and poets should channel togetherness for unfiltered literature
  4. Due to social media we see more poets, but not much published