चार उपेक्षित कविता । कञ्चन


Logo

Kanchan Basnet


हिउँद

– ऋतुहरू आउँछन्: कुनै एकै श्वासमा सकिन्छन्
कुनै अनन्तसम्म तन्किन्छन्,

– हिउँद दोस्रो हो,

– यहाँ नाङ्गो बकैनामा काग कराउँछ
रोगी खोला हेर्दै टोलाइरहेको शून्यताले पीडित रोगीलाई राहत दिएझैं,

– फुस्रो दिन, भत्काइरहन्छन् मनका भित्ताहरू;
मन कुँडिएको देखेर झन् कुँडिन उत्प्रेरित हुन्छ,

– जीवन पहिलोपटक मायावी लागेको अनुभव दोहोरिन्छ,
जीवन जेलाई छुन्छ अमूर्त बनाइदिन्छ,

– कसैले खाली अँजुली घचेटिदिन्छ मेरो ओठतिर
मेरा तृषालाई जिस्काउँदै,

– मेरा लाटा पैताला हिँडिरहन्छ
मनसँग विरोधात्मक असङ्गति बोकेर,

– कविता फेरि दोहोरिन विवश छ ।

***

आजकल म


उभिँदा उभिँदा खिइएको पैताला
जसको प्रत्येक चिरामा गहिरो आर्तका फोका फुटेका छन् ।

मलाई सयौँ प्रश्नका कारागारले
आलिङ्गन हाल्छन् र
आफूभित्रको रिक्तता भर्छन् ?

(के कारागृह एक्लो हुनुको भय बोक्छ ?)

अस्तित्व-सूचकको नाममा
मसँग चिसो छाती छ,
जो कैदी नहुनुको अभिशाप(?)मा
कुण्ठा बोकेर बस्छ ।

उफ्!
हृदयलाई दुई किनार काटेर
एउटा नदी बग्छ
अनि बगर बन्छ ।

बादल ओइलाउँछ
हावाले उडाउँछ
जसरी घाटमा भुमरीले उडाउँछ–
परिभाषाहीन खरानी ।

नापिरहेको हुन्छु आफ्नो आयु
तथाकथित प्रेमका आख्यानले,
असफलता लुकाउँदै सुनाएको सफलताले ।

***

क्षण

एउटा समय हतारमा बग्दै आइपुग्छ
अनि चोइटिन्छ तीन टुक्रामा ।
पहिलो– समय फर्किन्छ पछाडि
अनि विगत या दन्त्यकथा बन्छ ।
दोस्रो– लम्किन्छ अगाडि भयाक्रान्त हुँदै
अनि भविष्य या मृगतृष्णा बन्छ ।
अनि तेस्रो– त्यो क्षण
न रोकिन्छ न सुस्ताउँछ ।
त्यसको अनन्तता
त्यसको अनन्यता
एउटा क्षण ।

म तिमीलाई हेरिरहेको छु,
को होलाऊ र तिमी
एउटा क्षण बाहेक !

कतैबाट खसेर चोट लागेर
दरफर्याएको खुट्टाको आलो घाउजस्ता
पर्खालबीचको गल्लीमा
एउटा पियक्कड साधु
कसरी बाँचिदिन्छ ?

कागजको गुलाफ चिथोरेर
मरेको गुलाफकोे मुन्टो
दुई औंलामा पक्रिएर हिँडेको
‘बाँदर मानिस’ कुन विरोधाभासको सिँढीमा छ ?

यस्तै यस्तै घटनाहरू कल्पना गरेर
यो क्षणलाई निथ्रुक्कै भिजाइदिऊँ जस्तो लाग्छ ।

***

आत्म-स्वीकारोक्ति

अस्तित्वको अन्तिम चोक्टा बाँच्दै,
रोगी आँसुले विकार आत्मा पखाल्दै
या पखालेको जस्तो मात्र गर्दै,
(आँसु, जसलाई अब कसैले मोती भन्दैन)
आफ्नै आयु घटेसी लागे जस्तो,
आफ्नो उज्यालोले आफूलाई नै जिस्काए जस्तो,
आफ्नो विगत खोस्रिदा
कता कता चिसो खरानी खोस्रिए जस्तो,

जीवन !
बरु मलाई मृत्युपर्यन्त आलोचना गर,
उपेक्षा नगर ।