पतन / डिसेम्बर ३०, २००६ 


Logo

Sudarshan


त्यो दिन पुष १५ थियो । शनिबार । म ब्युँझदा कोठामा कोही थिएन । बाबा बिहानै ट्याक्सी चलाउन गैसक्नुभएको थियो । सन्देश र रमेश दाइ पिँढीमा क्यारेमबोर्ड खेलिरहेका थिए । उनीहरू बोलेको आवाज भित्रैसम्म आइरहेको थियो । ममी बाहिर अँगेनामा खिर बनाउँदै हुनुहुन्थ्यो । त्यो बिहान सब ठिक थियो ।

मैले हात तन्काएर टेबुलबाट रिमोट तानेँ । टिभी खोलेँ । ८ बजेको इङ्लिस समाचार आइरहेको रहेछ । टिभी खुल्लै छोडेर मुख धुन निस्किएँ । मुख धोएर क्यारेमबोर्ड नजिकै गएर बसेँ । चिउँडोबाट एक थोपा पानी बोर्डको मैदामा फ्यास्स खस्यो । सन्देशले थर्काउनै लाग्दा रमेश दाइले भन्नुभयो, “जा कान्छा, मुख पुछेर आइजा !”  म कोठाभित्र पसेँ ।

“संगम ! त्याँ दिउरीमा चिया छ । तताएर खाइ । रमेशलाई ‘नि ल्याएर दे !” ममीको आवाज कोठाभित्र आइपुग्यो । 

“भयो भाउजु ! मैले खाइसकेँ । मलाई पर्दैन है कान्छो !” सेलाएर फेरि तताएको चिया खान रमेश दाइले मन गर्नुभएन ।  ग्याँस बालेर म टिभी हेर्न थालेँ । 

अन्तराष्ट्रिय समाचारमा एउटा बुढो मान्छेलाई देखाइरहेको थियो । बाक्लो दाह्री, फराकिलो जिउ, अनि आर्मीको ड्रेसमा त्यो मान्छे रमेश दाइको बा जस्तै देखिन्थ्यो । दाइको बुवा पनि पहिला इन्डियामा आर्मी हुनुहुन्थ्यो । हामी उहाँलाई थापा ठूलोबा भन्थ्याैँ । टिभीमा देखिएको मान्छेको अनुहार थापा ठूलोबासँग दुरुस्तै मिलेजस्तो लाग्यो । इङ्लिसमा भएकाले समाचार भने खासै बुझिनँ । टि.भी बन्द गरेर ग्याँस निभाएँ । स्टिलको ठूलो गिलासमा चिया लिएर क्यारेमबोर्ड हेर्न थालेँ ।

बिदाको दिन भएर मनमा छुट्टै उमङ्ग थियो । स्कुलको होमवर्क लगभग सक्काइसकेको थिएँ । म्याथको मात्रै बाँकी थियो । जानीजानी नगरेको । घरबाट निस्किने बाहना बनाउनलाई बचाइराखेको ।

“ममी ! म बसन्तेकोमा जान्छु है होमर्क गर्न ।”

“घरै बसेर गर् ! जता पायो त्यतै डुल्नलाई ।”

“हैन के यो अल्जेब्राको हिसाब आउँदैन मलाई । बसन्तेले सिकाइदिन्छु भनेको छ ।”

“सन्देशलाई सोध न ! जिल्ला स्तरीय दिने दाइ घरमै छ ।”

“ह्या ! यल्लाई म्याथ ला’को हैन फस्ट टममा ?”

दाइले बोर्डबाट आँखा उठाएर मलाई हेर्यो । मैले ङिच्च दाँत देखाइदिएँ । दाइले आज केही गर्न सक्दैनथ्यो । स्कुलमा ऊ र प्रशान्ते लडेको कुरा मैले ममीलाई भनेको थिइनँ । हिजो प्रतिमा दिदीको नाम लिएर दाइले प्रशान्तेलाई जिस्काएछ । प्रशान्तेलाई प्रतिमा दिदी मनपर्दो रहेछ । क्लासमा गिज्याएपछि उसलाई प्रतिमा दिदीको अगाडि लाज लागेछ । दाइलाई पनि अर्को केटीको नाम जोडेर प्रशान्तेले गिज्याएछ । त्यो केटी दाइलाई फिटिक्कै मन नपर्दो रैछ । त्यसपछि त के चाइयो ? घर फर्किने बेलामा दाइको सर्टको तीन’टा मात्रै टाँक बाकी थियो । मेरो पुरानो सर्टबाट टाँक उक्काएर मैले हिजो सिलाउन दिएको थिएँ ।

“रमेशले सिकाइदेला नि त्यसोभए !”

“काँ भाउजु ! जमानामा पढेको, मैले त भुलिसकेँ ।” रमेश दाइले लाज मानेर भन्नुभयो । 

“पढ्न छोड्नु हुन्थेन नि त ।” खिर चलाउँदै ममीले सम्झाउनुभयो ।

“काँ पढ्छ यो अब ? दिनभर हल्लिँदैँ फुर्सद हुन्न ! पढेको भए अहिलेसम्म के-के गरिसक्थ्यो नि !”

गार्डको पोशाकमा थापा ठूलोबा कोठाबाट बाहिर निस्किनुभयो । मैले रमेश दाइलाई हेरेँ । दाइको अनुहारमा रिस देखिन्थ्यो । हातमा, मुठ्ठीभित्र रातो स्ट्राइकर समातेर ठूलोबालाई एकटक हेरिरहनुभएको थियो । ठूलोबाले देखे-नदेखेजस्तो गरेर हिँड्न लाग्नुभयो । बाउ छोराको शीत युद्ध यत्तिकैमै स्थगित भयो ।

“दाइ खिर खाएर जानु न । पाकिसक्यो ।”

“हैन बहिनी ! मैले खाना खाइसकेँ । आज आलु ओसार्दै छन् रे । जान पर्छ ।”

“ह्या.. बस्नु बस्नु । एक चम्चा भएनि खाएर जानु । ओइ ! जा ग’र पिलेट र चम्चा लिएर आइजा ।”

ठूलोबाले ‘हैन पर्दैन पर्दैन’ भन्न नपाउँदै म भान्छामा दाैडेँ । दुईटा पिलेट र चम्चा लिएर आएँ । ममीले ठूलोबा र रमेश दाइलाई खिर हालिदिनुभयो । ठूलोबा पिँढीमा बसेर खान थाल्नुभयो । दाइ पिलेट लिएर कोठाभित्र पस्नुभयो । बेस्सरी ढोका बजारिएको आवाज आयो । त्यसपछि माैनता । घरबेटीको कुकुर कराएको अनि ठूलोबाको पिलेटमा चम्चा ठोकिएको बाहेक अरु कुनै आवाज सुनिएन ।

“तिमीहरू अहिले खान्छाै कि बाबा आएपछि ?” ममीको आवाजले माैनतालाई तोड्यो ।

बाबा १२ बजे बल्ल घर फर्किनुहुन्थ्यो । खाना खाएर दुई घण्टा सुत्नुहुन्थ्यो । ट्याक्सी चलाउन फर्किँदा दिउँसोको तीन बज्थ्यो । तीन बजेसम्म ज्ञानी भएर घर बस्नुपर्थ्यो, जुन म र सन्देशको लागि सजिलो कुरा थिएन । मलाई जसरी पनि १२ बजे अघि बाहिर जानु थियो । भरे बाबा घर फर्किनु अगाडि निदाइसक्यो अथवा किताब अगाडि राखेर बस्यो भने गाली खाँइदैनथ्यो । म कोठाभित्र गएँ र अर्को एउटा पिलेट लिएर आएँ ।

पर्स्याङ्गको त्यो कोठामा बस्दाका दिनहरू सम्झँदा मलाई दाउरामा पकाएको खाने कुराको याद आँउछ । त्यतातिर दाउरा सजिलै पाइन्थ्यो । ममीले बिहानको खाना आँगन छेउको अँगेनामा पकाउनुहुन्थ्यो । कोठा सरेर पछि हामी पेन्सन चोक सर्याैँ । त्यहाँ न आँगन थियो न बाल्नलाई दाउरा नै पाइन्थ्यो । त्यो बिहान अँगेनामा पकाएको खिर मैले दुईचोटी थपेर खाएँ ।

खिर खाइसकेर ठूलोबा उठ्नुभयो । “भरे छिटै घर फर्केलास् !” भित्र रमेश दाइसम्म पुग्ने आवाजमा उर्दी गरेर काममा जानुभयो । “भरे रक्सी खाएर नआउलाऊ !” दाइले पनि कोठाभित्रबाट कराउनुभयो । ठूलोबाले सुन्नुभयो वा भएन ? एकछिनपछि कोठाबाट रमेश दाइ निस्किनुभयो । खिर खाइसक्नुभएछ । म तेजपत्ता चाट्दै थिएँ । एकअर्कालाई हेरेर हामी खिस्स हाँस्याैँ ।

“ममी ! दाइलाई खिर थप्दिनु रे ।” ममीले खिरको तपेस कोठामा लगिसक्नुभएको थियो । दाइलाई नसोधी मैले कराएँ ।

“आएर लग्दे न ।” भित्रबाट ममीको आवाज आयो । कटाैरामा तीन डाडु खिर थपेर म आएँ । धेरै दाइलाई अनि अलिकती मलाई । दाइले मायालु आँखाले मतिर हेर्नुभयो । पिँढीमा बसेर हामीले खिर खायाैँ ।

“तपाईं चोकतिर जानुहुन्छ आज ?”

“अँ !”

“कतिबेला जानुहुन्छ ?”

“अलि दिउँसोतिर ।”

“म त अब हिनिहाल्ने । अब गएर बसन्तेसँग खेल्ने हो । त्यसको खोरमा त खरायो पालेको छन् नि ! एउटाको त आँखा टल्किन्छ । कस्तो राऽतो !”

“अनि होमर्क कतिबेला गर्छस् ?”

“त्यो त भोलि हाफ टाइममा सार्नी । हे हे !”

दाइ हाँस्नुभयो । म पनि हाँसे । हाम्रो हाँसोले एउटा रहस्य साट्यो, जसको निजत्व हामीसँग मात्र थियो ।

खिर खाइसकेपछि म कोठामा पसेँ । दाइ टिभी हेर्दै थियो । बेन-टेनको लाम-बाहुले टिसर्ट लगाएँ । झोलामा म्याथको होमवर्क कापी राखेँ । डसनामुनिबाट रेस्लिङ्ग कार्ड झिकेर खल्तीमा कोचेँ । ममीसँग २० रुपैयाँ मागेँ । १० रुपैँया मात्र दिनुभयो । दाइले पनि १० रुपैयाँ माग्यो । ममीले म्याथमा पास भएपछि दिन्छु भन्नुभयो । पैसा गोजीमा हालेर दाइको अनुहार सम्झिँदै म घरबाहिर निस्केँ । धनपती ठूलोबाको घर, बस्नेत अंकलको पसल, रिजाल डाक्टरको मेडिकल हुँदै पर्स्याङ्ग चोक पुगेँ ।

***

श्री धर्मस्थली माध्यामिक विद्यालय पर्स्याङ्ग चोकमै छ । बसन्तेको परिवार स्कुलभित्र बस्थे । सायद अझैपनि बस्छन् । साथीहरू बसन्तेलाई गिज्याउन उसका बालाई पाले भन्थे । उनी खासमा पिउन थिए । बसन्तेलाई आफ्नो बाउको कामसँग कुनै लाज थिएन । भएको भए पनि उसले कहिल्यै देखाएन । बरु उसको आवाज पातलो थियो । त्यसैले क्लासमा कसैसँग बोल्दैनथ्यो । हामी सँगै एउटै बेन्चमा बस्थेम् । एक्लै हुँदा म उसलाई गिज्याएर बसन्ती भन्थेँ । ऊ रिसाएजस्तो गर्थ्यो ।

स्कुल गेटमा पुगेर दुई-चार पटक चुकुल बजाएपछि निन्याउरो अनुहार बोकेर बसन्ते आइपुग्यो । आकाशमा लागेको बादल जम्मै उसकै मुखमा पोतिएको जस्तो देखिन्थ्यो ।  म भित्र पसेँ । अंकल चाैरको घाँस काट्दै हुनुहुन्थ्यो ।

“नमस्ते अंकल !” मैले हात नजोडी सम्बोधन गरेँ । अंकलले पनि बोलेरै नमस्ते फिर्ता गरे । मैले बसन्तेलाई हेरेँ ।

“के भयो ?”

“खैरे मर्यो !” बसन्ते पहिले पनि रोइसके जस्तो लाग्यो । फेरि रोलाजस्तो देखियो ।

“कसरी ? के भएर ?”

“हिजो राति । घाँटीमा बन्दाको डाँढ अड्केछ । बिहान मरिसके’थ्यो ।”

“खोइखोइ !”

म खोरतिर गएँ । खोरभित्र बाँकी खरायोहरू घाँस खाइरहेका थिए । बाहिर खैरेको लास थियो । आँटाको बोरामाथि । ठूलो आलुजत्रो । खैरेका राता आँखाहरूले मलाई हेरे । मैले बसन्तेलाई हेरेँ । उसका आँखा मलिन भैसकेका थिए ।

“म्याथको होमर्क सकिस् ?” कुरा बदल्नलाई मैले कुरा झिकेँ । उसले टाउको हल्लायो ।

“मलाई सार्न दे है भोलि ।” उसले फेरि टाउको हल्लायो । 

मलाई अरु केही भन्न आएन । खोरको जालीभित्र औँला छिराएर खरायोलाई टोक्न दिएँ । कातिकुती लाग्यो ।  बसन्ते छेउमा आएर टुक्रुक्क बस्यो । मैले खल्तीबाट पैसा झिकेर देखाएँ । दश रुपैयाँ हल्लाउँदै भनेँ, “आज टेक्कन खेल्नुपर्छ बुझिस् ? एक घण्टा नन्स्टप !” उसको अनुहार अलिकति उज्यालो भयो । लगत्तै फेरि अँध्यारो । “बत्ती गयो अघि भर्खर !” उसको स्वर झनै पातलो सुनियो । म पनि खिन्न भएँ ।

स्कुलको बाटो पारी गेमस्टेसन थियो । ‘युनाइटेड आर्केड गेम हाउस’ । पैसा भएको बेला म र बसन्ते त्यहाँ भिडियो गेम खेल्न जान्थ्याैँ । स्ट्रिट फाइटर, मोर्टल कम्ब्याट, मारियो, टेक्कन, डङ्की कङ्ग जस्ता गेम हुन्थे । हाम्लाई टेक्कन मनपर्थ्यो । खेल्दा म सधैं किङ्ग बनेर खेल्थेँ । बसन्तेलाई भने जहिल्यै केटी रोज्दिन्थेँ । ऊ रिसाँउथ्यो तर खेल्थ्यो । खेल्दाखेल्दै बत्ती गयो भने कि त कुर्नुपर्थ्यो कि मन मारेर फर्किनुपर्थ्यो ।

बसन्तेका बा अलि कडा मिजासका थिए । उनलाई छोरा बिग्रेला भन्नि ठूलो पीर थियो । त्यसैले बेलाबेलामा कुटिराख्थे । कतिपटक त हाम्रै अगाडि कुटेका थिए । बसन्तेपनि बाउको अगाडि ज्ञानी बन्थ्यो । स्कुलको एरियाभित्र चकचक गर्दैनथ्यो । ऊ बाउलाई फकाउन गयो । अंकलले काटेजति घाँस बोकेर खोरसम्म ल्यायो । त्यसपछि अंकलसँग मसिनो स्वरमा केही बोल्यो । म खोरछेउबाट हेरिरहेको थिएँ । ऊ मतिर फर्केर खिस्रिक्क मुस्कुरायो । म पनि मुस्काएँ ।

बत्ती नभएर गेम हाउसमा खासै कोही थिएनन् । टोकन काउन्टरमा गेम हाउसकी दिदी थिईन् । भित्र यत्तिकै बटन थिच्दै, जोइस्टिक चलाँउदै केही केटाहरू चलिरहेका थिए । हामीले बत्ती नआउन्जेल कुर्ने विचार गर्याैँ । बाहिर निस्केर  पिँढीमा रेस्लिङ्ग कार्ड खेल्न थाल्याैँ । बसन्तेसँग कार्ड थिएन । मैले २० वटा सापटी दिएँ तर एकछिनमै जितिहालेँ । कार्ड खेल्न अल्छी लागेपछि हामी छेवैको मोटरसाइकल वर्कसपमा गयाैँ । वर्कसपको आँगनमा स-साना स्टिलका बलहरू थिए । हामी तिनको गुच्चा खेल्थेम् । बसन्ते र मैले एक-एक वटा बल टिपेम् र खेल्न थालेम् ।

त्यो खेल्न पनि अल्छी लागेपछि बसन्तेले भन्यो, “जाम चिल्ड्रेन पार्क ।”

“ह्या ! जान्नँ म ।”

“जम् न ! प्रशंसा नि आँउछे होली । सँगै पिङ्ग खेलाैला ।” बसन्तेले मलाई फकाउन खोज्यो ।

प्रशंसा हाम्रो क्लासकी सबैभन्दा राम्री केटी थिई । पढ्नमा पनि जान्ने थिई । ऊ र उसकी दिदी हरेक शनिबार पार्कमा खेल्न आँउथे । चिल्ड्रेन पार्क पर्स्याङ्ग चोकबाट ५ मिनेट माथि, एकता बोर्डिङ्गको साइडमा थियो । त्यहाँ चिप्लेटी अनि थरिथरिका पिङ्ग हुन्थे । पार्कमा एउटा ठूलो पिङ्ग पनि थियो, जसमा दुइजाना सँगै बसेर खेल्न मिल्थ्यो । प्रशंसासँग बसेर ठूलो पिङ्गमा खेलेको सोचेरै म लजाएँ । मैले ‘जान्नँ’ भनेँ । 

“जाम् के !” बसन्ते चिच्यायो ।

“जान्न के !” मेरो पनि आवाज चर्को भयो ।

“साले प्रशंसाको पोइ !”

“खाते बसन्ती !”

बोल्दा-बोल्दै हामी लड्न थाल्याैँ । ख्याल-ख्यालको लडाइँ । खुट्टाले छिर्के हान्दै मैले किङ्गको पारा झिकेँ । बसन्ते रे-मिस्टिरियो जसरी उफ्र्यो । ढिसुम् ! ढिसुम् ! मुखबाट आवाज निकाल्दै, खुट्टाले टक्क-टक्क छुँदै हामी एकछिन चल्याैँ । फेरी गेमहाउसमा गएर बस्याैँ ।

घरतिरको बाटोबाट चोकतिर आँउदै गरेको रमेश दाइलाई मैले देखेँ । हामी नजिकैको घरमा बस्ने शम्भु दाइ अनि अरु दुईजना दाइहरू पनि रमेश दाइसँगै हुनुहुन्थ्यो । बाटो काटेर दाइ वारी आउनुभयो ।

“रमेश दाइ !” म चिच्याएँ । दाइले हाँसेर हात हल्लाउनुभयो । 

“खै त पढेको केटा ?”

“हे हे ! अब बत्ती आएपछि गेम खेल्ने ।”

“लल !” मेरो टाउको मुसारेर दाइ गेम हाउस छेउको खाजा घरमा पस्नुभयो । म बसन्तेको अगाडि नाक फुलाएर उभिएँ ।

“तेरो आफ्नै दाइ हो ?”

“अँ ! हाम्राे कोठाको साइडमा बस्ने दाइ ।”

“कति बडेमानको यार । १२ पढ्नुहुन्छ होला है ?”

“पढ्नुहुन्न ! रमेश दाइ त डन हो डन । धारापानी ग्याङ्ग था’छ ?” बसन्तेले टाउको हल्लायो । “दाइ ग्याङ्गफाइट लडेर रेस्टिकेट हुनुभ’को ।”

मैले भए नभएको गफ दिएँ । बसन्तेले पत्त्यायो ।

***

दुई वर्षअघि बाराही स्कुलबाट एस.एल.सी दिएपछि रमेश दाइले पढ्न छोड्नुभएको थियो । दाइको ममीलाई पहिल्यैदेखि दम थियो । त्यो साल फागुनको अन्तिमतिर व्यथाले नराम्ररी च्याप्यो । चार महिनासम्म फेवासिटी हस्पिटलमा भर्ना हुनुभयो । त्यतिबेला मेरो भर्खर तीन क्लास सकिएको थियो । दाइको एस.एल.सीको नतिजा आँउदा ठूलोममी हस्पिटलमै हुनुहुन्थ्यो । दाइलाई दुईटा ब्याक लाग्यो । ठूलोममी थला परेपछि ठूलोबा इन्डियाबाट आउनुभयो । त्यसपछि फर्किनुभएन ।  रमेश दाइ ब्याक परीक्षाको लागि ट्युसन पढ्दै हुनुहुन्थ्यो । पास पनि हुनुहुन्थ्यो होला तर त्योभन्दा पहिल्यै ठूलोममी बित्नुभयो । त्यसपछि दाइले परीक्षा दिनुभएन ।

ठूलोममीको अन्तिम संस्कार उहाँको गाँउमा भएको थियो । निर्मलपोखरीमा । ममी र म भेटी चढाउन गएका थियाैँ । त्यतिबेला किरिया बसिरहेको रमेश दाइको अनुहार ममी पछिसम्म पनि सम्झिनु हुन्थ्यो । ‘म मरेँ भने तिमीहरूले कति दुःख पाउलाऊ’ भनेर भनिरहनुहुन्थ्यो ।

ठूलोममीको काजकिरिया सकिएपछि दाइ र ठूलोबा पोखरा फर्किनुभयो । केही दिन हामीले सँगै खाना खायाैँ । पछि ठूलोबाले आफैं पकाउन थाल्नुभयो । इन्डिया नफर्किने भएपछि ठूलोबा अब के गर्ने भन्ने सोचमा हुनुहुन्थ्यो । उहाँको रमेश दाइलाई आर्मीमा पठाउने मन थियो । त्यसको लागि दाइले प्लस टु पढिसकेको हुनुपर्थ्यो । तर दाइले पढाइमा कुनै रहर देखाउनुभएन । त्यतिबेला रमेश दाइ केही गर्न खोज्नु हुन्नन्थ्यो । कसैसँग बोल्नु हुँदैनथ्यो । घर बाहिर पनि निस्कनु हुन्नथ्यो । ठूलोममी बितेपछि त झन् रमेश दाइ र ठूलोबा अपरिचितजस्तै हुनुभएको थियो । एउटै कोठामा बसेपनि एकअर्कासँग अन्जान ।

अघिल्लो वर्ष सन्देश र मैले रोइकराई गरेपछि बाबाले घरमा क्यारेमबोर्ड ल्याइदिनुभयो । रमेश दाइपनि आएर हामीसँग खेल्न थाल्नुभयो । थापा ठूलोबाले घर नजिकैको पश्चिमाञ्चल कोल्ड स्टोरेजमा सेक्युरेटी गार्डको काम पाउनुभयो । बिस्तारै दिनहरू सजिला हुन थाले । केही समयको लागि ।

ठूलोबा काममा जानुहुन्थ्यो र फर्कनुहुन्थ्यो । फर्केर आएपछि खाना बनाउनुहुन्थ्यो । खाना खाएर हाम्रो कोठामा टिभी हेर्न आउनुहुन्थ्यो । राति आठ बजेको समाचारपछि हाँस्य कार्यक्रमहरू आँउथे । ठूलोबालाई ती असाध्यै मनपर्थे । टिभी हेर्दै बाबासँग गफ गर्नुहुन्थ्यो । रमेश दाइलाई काम खोज्दिन भन्नुहुन्थ्यो । कहिले आर्मीमा हुँदाका दिनहरू सम्झनुहुन्थ्यो । रमेश दाइपनि हामीसँगै बसेर टिभी हेर्नुहुन्थ्यो ।

रक्सी खाने ठूलोबाको आर्मीदेखिको बानी थियो । कोठामा पनि बेला बेलामा रक्सी खाएर आउनुहुन्थ्यो । त्यस्तो दिनमा खाना पनि नबसाली थपक्क सुत्नुहुन्थ्यो । ठूलोबाले रक्सी खाएर आएको दिन रमेश दाइ कि हाम्रोमा खाना खानुहुन्थ्यो, कि भात बसालेर तरकारी हाम्रोबाट लिएर जानुहुन्थ्यो । ठूलोबाले रक्सी खाएको थाहा पाउनुभयो भने ममी रमेश दाइलाई नसोधी कटाैरामा तरकारी लगिदिनुहुन्थ्यो ।

रमेश दाइले कुनै काम गर्ने मन देखाउनुभएन । बाबाले ट्यक्सी सिकाउन तीन दिन रङ्गशाला लग्नुभयो । चाैथो  दिनबाट दाइ जानुभएन । ठूलोबाको करले पनि केही लागेन । बरु केही माहिना अघिदेखि दाइ घर बाहिर डुल्न थाल्नुभएको थियो । ठूलोबा काममा जानेबित्तिकै निस्किनुहुन्थ्यो । ठूलोबा फर्किनु अगाडि साँझमा आइपुग्नुहुन्थ्यो । कहिलेकाहीँ म दाइलाई चोकको चौतारीमा टोलकै अरु दाइहरूसँग देख्थेँ । कहिले दाइ एक्लै कतै गैरहेजस्तो देखिनुहुन्थ्यो । तर रमेश दाइले कतै झगडा गरेको, लडेको कुरा सुनिदैनथ्यो । आफ्नै सुरमा बस्नुहुन्थ्यो र साँझमा घर आइपुग्नुहुन्थ्यो । 

बिस्तारै रमेश दाइ ढिलो घर आउन थाल्नुभएको थियो । ठूलोबा पनि प्राय रक्सी खाएर आउन थाल्नुभएको थियो । यस्तो हुनुपनि बिस्तारै सामान्य हुन थालेको थियो । रमेश दाइ र ठूलोबाबीच एकअर्कासँग कुरा नै हुँदैनथ्यो तर दुवैजनासँग एकअर्कालाई भन्न धेरै कुरा थिए । यस्तो लाग्थ्यो, रमेश दाइ र ठूलोबा बस्ने त्यो कोठा आगोमाथिको प्रेसर कुकर हो ।

***

“बत्ति आयो !” कसैले चिच्यायो । म र बसन्ते गेमहाउस छिर्याैँ । काउन्टरबाट आधी घण्टाको दुईटा टोकन किन्याैँ र गेम खेल्न थाल्याैँ । एकछिनमै जताततैबाट केटाहरू आउन थाले । गेमहाउसका अरु बक्स पनि प्याक भए । टेक्कनमा बसन्तेले मलाई नमज्जाले हरायो । बेस्ट आफ थ्रीको गेममा म लगातार दुई पटक हारेँ । २० मिनेटमै हाम्रो गेम सकियो । टोकनको टाइम सकिन १० मिनेट बाँकी थियो । मैले गेम रिस्टार्ट गर्न लाग्दै गर्दा पछाडिबाट कसैले मलाई धकेल्यो ।

“खोइ छोड् ! अब हामी खेल्ने ।” मैले आवाज चिनेँ । आवाज प्रशान्तेको थियो । उनीहरू सायद चिल्ड्रेन पार्कमा खेलेर आएका थिए । 

“हुन्न  ! हाम्रो टाइम नै सकिएको छैन ।” बसन्तेले भन्यो । उसको आवाज सुनेर वरिपरिका केटाहरू हाँसे । म चुपचाप अर्को गेम स्टार्ट गर्न लागेँ । प्रशान्तेले मैले समातिराखेको जोइस्टिकमा हात राख्यो । मैले छोडिनँ । 

“हाम्ले आधा घण्टाको टोकन लिएको ।”

“अनि तेरो गेम सकिएन ?” उसले आफ्नो आवाज चर्को बनायो । म चुप लागेर उभिइमात्र रहेँ ।

“हाम्ले एक घण्टा कुरेको बत्ती आउनलाई । पुरै खेल्ने हो ।”

“चुप लाग् छक्का ! खोइ छोड् !”

प्रशन्तेले मलाई धक्का दियो । मैले हात छोडेँ । खल्तीमा दोस्रो टोकन अझै थियो । बसन्ते रिसले आगो भैसकेको थियो । हामी बाहिर निस्क्याैँ । आँखामा टिलपिल-टिलपिल आँसु आइसकेको’थ्यो । लामो सास फेरेँ । ‘दाइ यहाँ भैदिएको भए’ भन्ने सोचेँ ।

“हिन् तेरो दाइलाई भनम् ।”

बसन्तेले मेरो हात तान्यो । मलाई बुझ्न एकछिन लाग्यो । उसले रमेश दाइको कुरा गरिरहेको थियो । हामी खाजाघर भित्र पस्याैँ ।

माटोको पुरानो भित्तामा टिनको नयाँ छानो लगाएको खाजाघर अध्याँरो तर न्यानो थियो । हामीले रमेश दाइलाई खोज्याैँ । दाइ कुनाको टेबुलमा साथीहरूसँग बसिरहनुभएको थियो । नजिकै गयाैँ । हामीलाई एक्कासी त्यहाँ देख्दा दाइ छक्क पर्नुभयो । लगत्तै मुस्कुराउनुभयो । सायद दाइको अगाडि त्यतिबेला म त्यति आश्चर्यचकित नहुनुपर्ने थियो तर त्यसअघि मलाई दाइले रक्सी खानुहुन्छ भन्ने थाहा थिएन । 

दाइले मलाई आफूछेउ बोलाउनुभयो । निन्याउरो अनुहार लिएर म गएँ ।

“के भयो ?”

म केही बोल्न सकिनँ । बसन्तेले सब बेलीविस्तार लगायो । केही नभएको कुरा पनि थपथाप गर्यो । दाइले मलाई ‘हो’ भनेर सोधनुभयो ।  मैले मुन्टो हल्लाएँ । त्यसपछि रमेश दाइ र अरु दाइहरू उठेर गेम हाउसतिर लाग्नुभयो । बसन्ते रमेश दाइको अघिअघि हिँडिरहेको थियो । म दाइसँग पाइला भेटाउन खोज्दै थिएँ । 

गेमहाउसमा प्रशान्ते र अरु दुईजाना केटा मोर्टल कमब्याट खेलिरहेकाथिए । दाइ भित्र छिर्ने बित्तिकै सबैले दाइतिर हेरे । प्रशान्तेले पनि हेर्यो । दाइले ‘प्रशान्त भन्ने को हो’ भनेर सोध्नुभयो । उसको अनुहारको रङ्ग उड्यो । कसैले बोलेन । बसन्तेले औँलाले देखाएर चिनाइदियो । 

“यता आइजा !” दाइले बोलाएपछि प्रशान्ते अगाडि आयो । 

“यिनीहरूलाई किन खेल्न नदेको ?” प्रशान्ते केही बोलेन । 

“तँ यसको दाइजस्तो हैन ? भाइहरूलाई हेप्नी हो ?” 

अझैपनि बोलेन । त्यतिकैमा शम्भु दाइ अगाडि आएर उसलाई एक थप्पड हान्नुभयो । प्रशान्तेको गाला राऽतो भयो । बसन्तेको अनुहार उज्यालियो । काउन्टरको दिदी निस्केर बाहिर आउनुभयो । मलाई ठूलो झमेलामा परिने डर लाग्यो । रमेश दाइले शम्भु दाइलाई बाहिर लिएर जानुभयो । फेरि भित्र आएर प्रशान्तेलाई सम्झाउनुभयो । 

“तँ यो गेम सक्काई । त्यसपछि संगमको पालो । बुझिस् ?” प्रशान्तेले टाउको हल्लायो । उसको हात अझैपनि गालामै थियो ।

“केइ भयो भने म त्यहीँ छु है । झगडा नगरी खेल अनि गेम सकेर त्याँ आइजा है !” मैले ‘हस्’ भनेँ ।

 यति भनेर दाइ फर्किनुभयो । प्रशान्ते पनि गेमहाउस छोडेर हिँड्यो । हामीले प्रशान्तेको गेम खेलेर सक्याैँ । त्यसपछि फेरि आधी घण्टा टेक्कन खेल्याैँ । खेलिसकेपछि अरुले खेलेको हेरेर बस्याैँ ।

बसन्ते चार बेजपछि घर फर्क्यो । उसका बाले दिएको टाइमभन्दा एक घण्टा बढी बसेर । म पनि गेमहाउस बाहिर निस्केँ । भोक लागिसकेको थियो । रमेश दाइलाई भेटेर घर जाने सोचेँ । खाजाघरमा दाइ त्यही टेबुलमा हुनुहुन्थ्यो । त्यहाँ पुगेपछि मलाई ‘बस्’ भन्नुभयो । बसेँ, तर दाइलाई रक्सी खाइरहेको देखेर असहज लागिरहेको थियो ।

“खाजा खाइस् कि खा’छैनस् ?” मैले ‘छैन’ भनेँ ।

“के खान्छस् ?”

“भयो खान्नँ । घर गएरै खान्छु ।”

दाइको मुखबाट खिस्स हाँसो छुट्यो । त्यो हाँसो मैले जिन्दगीमा देखेको सबैभन्दा पिडादायी हाँसोमध्य थियो । म बुझ्न सक्थेँ, दाइ मेरो अगाडि त्यसरी देखिन चाहनु हुन्थेन, जसरी मैले दाइलाई त्यो दिन देखेँ । केही वर्षपछि कक्षा दशमा नेपाली पढाउने सुर्य सरले एउटा कुरा भन्नुभएको थियो: ‘छोरा मान्छेको नियती भनेको आफ्नो बाउबाट जतिसक्दो टाढा भाग्नु र अन्त्यमा बाउजस्तै बन्नु हो ।’ मैले रमेश दाइलाई ठूलोबाजस्तै बन्न लागेको देखेँ ।

“कसैलाई नभन् है ?” दाइका मातेका आँखाहरूले याचना गरे । मैले पनि मुस्कुराएर वाचा गरेँ ।

“साउजी ! एउटा कोक ल्याइदिनु त ।” दाइले मलाई नसोधी मेरो लागि कोक मगाउनुभयो । कोक पिएर म त्यहाँबाट निस्केँ ।

***

घर पुग्दा पाैने ५ भैसकेको थियो । सन्देश घरमा थिएन । ममी लुगा धुँदै हुनुहुन्थ्यो । भित्र कोठामा गएर हाइनेक लगाएँ । बिहानको खिर नतताई कटाैरामा हालेँ र टिभी हेर्न थालेँ । नेपाल टेलिभिजनमा हरेक शनिबार हिन्दी फिल्म आँउथ्यो । ‘अजुबा’ फिल्म देखाइरहेको थियो । अम्रिस पुरी र अमिताभ बच्चन कार्पेटमा उडी-उडी फाइट खेल्दै थिए । फिल्म सकिन नपाँउदै बत्ती गयो । ममीसँग गएर फोन मागेँ । एरफोन जोडेर रेडियो सुन्न थालेँ ।

हिमचुली एफ.एममा आधुनिक गीतको कार्यक्रम आइरहेको थियो । रेडियो सुन्दै बसेँ । ६ बजेतिर दाइ फुस्रो कपाल लिएर घर फर्कियो । धारापानीमा पाैडिन गएको रहेछ । ऊ आएपछि पिँढीमा क्यारेमबोर्ड खेल्न थाल्याैँ । मैले दाइलाई दिउँसो प्रशान्तेले थप्पड खाएको कुरा सुनाएँ । दाइले रमाइलो मानेर सुन्यो ।

एकछिनपछि  रमेश दाइ आउनुभयो । हामीतिर हेर्दै नहेरी कोठाभित्र छिर्नुभयो । सन्देशले अचम्म मानेर हेर्यो । मलाई अचम्म लागेन । त्यसको केही समयपछि थापा ठूलोबा पनि कोठामा फर्कनुभयो । ठूलोबाको हातमा सागको मुठा थियो ।

“के छ केटा हो ? दाइ घरमै छ ?”

“अँ, आइसक्नुभयो !” सन्देशले भन्यो ।

“ल ठिक छ !” अनुहार उज्यालो बनाएर ठूलोबा कोठाभित्र पस्नुभयो । ठूलोबाले आज रक्सी खानुभएको रहेनछ भनेर थाहा पाउन मलाई गाह्रो भएन । अब कतिबेला यो कुकर पड्किन्छ ? मलाई डर लाग्न थाल्यो ।

***

साढे ७ बजेसम्म बत्ती आएन । बाहिर निस्तेज अध्याँरो थियो । दाइ र मैले क्यारेमबोर्डको गेम कोठाभित्र सारिसकेका थियाैँ । ममीले खाना पाक्यो भनेपछि खेल रोक्याैँ । खान बसेको एकछिन पछि रमेश दाइको कोठाबाट हल्ला आउन सुरु भयो । म र दाइ खान छोडेर हत्पत् बाहिर निस्क्याैँ । ममीले नजाओ भन्न नभ्याँउदै ।

“थुइक्क मुजी ! जाँड खाएर सुतिराछस् ?” ठूलोबाको आवाज सुनियो । 

“दिनभर हल्लेको छ । बाउले पकाको घिचेको छ । घरको केइ वास्ता छैन । न बत्ती बालेको छ । न भात बसालेको छ । घरमा छोरो भ’को यही हो ?” ठूलोबा लगातार बोलिराख्नुभयो । केही छिनपछि ढोका खुल्यो । रमेश दाइ कोठाबाहिर निस्किनुभयो । 

“कता जान लाइस् ? भित्र आइजा !”

“आउन्न !” दाइ गेटतिर जान लाग्नुभयो । अंकल बाहिर निस्कनुभयो र दाइको पाखुरामा समातेर तान्नुभयो ।

“भित्र हिँड ! खाना खाएर सुत् ।”

“खान परे छैन तिम्रो भात ! आफै घिच ।” दाइले हात झट्कार्नुभयो । ठूलोबाले छोडनुभएन ।

“तेरो साथीसित बोलिराछस् तँ ? बाउसँग बोल्नी तरिका यही हो ? आमाले यही सिकाको थी तँलाई ?”

रमेश दाइ अडिनुभयो । यतिबेलासम्म ममी पनि बाहिर निस्किसक्नु भएको थियो । ठूला मान्छेहरू यसरी झगडा गरेको मैले टिभीमा मात्रै देखेको थिएँ । म ममीसित टाँसिएँ ।

“छोड् मलाई !” दाइ चिच्याउनुभयो तर ठूलोबाको हातबाट छुट्न सक्नुभएन । “आमाको वास्ता भ’को भए मर्ने बेलामा मात्र भेट्न आउथ्याै ?”

आँगनमा जूनको धमिलो उज्यालो मात्र थियो । रमेश दाइलाई रक्सीले छोडिसकेको थिएन । अँध्यारोमा सायद बोल्ने हिम्मत पनि बढेको थियो । आज सबै तिक्तता पोखिन्छ जस्तो लाग्यो । दाइले अरु केही भन्न नपाँउदै ठूलोबाले थप्पड हान्नुभयो । दाइले ठूलोबालाई धकेल्नुभयो । ठूलोबा हुत्तिएर पिँढीमा पुग्नुभयो । ममी दाैडिएर उठाउन जानुभयो ।

“तँलाई जन्माको, यत्रो ठूलो बनाको आज बाउलाई हात हाल्लास् भनेर हो ?” 

दाइले केही बोल्नुभएन ।

“रमेश, जा बाबु भित्र गएर सुत् । राति हल्ला नगर ।” ममीले रमेश दाइलाई सम्झाउन खोज्नुभयो । तर दाइ सम्झाउन सकिने स्थितिमा हुनुहुन्थेन । एक्कासी ग्वाँ-ग्वाँ रुन थाल्नुभयो । बार्दलीबाट घरबेटीहरूले चिहाइरहेको मैले देखेँ । उनीहरूको कुकुर भुक्न थाल्यो । रमेश दाइ रोएर शान्त भएपछि फेरि बोल्न थाल्नुभयो । 

“यो मान्छे मेरो बाउ हैन । बाउ भएको भए यस्तो हुन्थ्यो ? आमा खोइ मेरो ? मेरो आमा खोइ ?”

ठूलोबा उठेर दाइथिम् जानुभयो । “ओइ भित्र हिँड् । चिच्याएर तेरो आमा आउँछे ? आइजा भित्र ।”

“आउन्नँ म !” दाइले ठूलोबालाई धकेल्नुभयो । “जिन्दगीभर माया नलागेको अब किन नाटक गर्नुपर्यो । म  पनि मर्दिन्छु । तिम्लाई सजिलो हुन्छ ।” अँध्यारोमा दाइको आकृति मात्र देखिन्थ्यो । दाइ एकोहोरो हल्लिरहनुभएको थियो । मलाई दाइसँग पहिलोपटक डर लाग्यो ।

“बाबु रमेश यस्तो कुरा नगर न ! बाबाको मन दुख्दैन ?” ममीको आवाज पनि मलिन सुनियो ।

“मन हुने भए बुढी मर्दा मात्र भेट्न आँउथ्यो ? म किन बाँच्नी अब ?” दाइ फेरि रुन थाल्नुभयो । ‘आमा ! आमा !’ भन्दै चिच्याउन थाल्नुभयो ।

छरछिमेकबाट मान्छेहरू आँगनको वरिपरि आउन थाले । मैले धनपति ठूलोबालाई चिनेँ । गेट नजिकैको बान्नोमा बसेर चुरोट खाइरहेको पाैडेल अंकल हो जस्तो लाग्यो । रमिता हर्नेहरूको भिड बढ्दै थियो । ममी बाबालाई फोन गर्न कोठाभित्र जानुभयो । 

“छोरा !” ठूलोबाको आवाज कमजोर सुनियो । रुन थाल्नुभएजस्तो लाग्यो । दाइलाई फेरि तान्न लाग्नुभयो । 

“भित्र जाम् । खाना खान हिँड् ।” तर दाइ उभिइ मात्र रहनुभयो । जान मान्नुभएन । ठूलोबाले तान्न बल गरेपछि दाइले पनि छुट्टिन बल लगाउनुभयो । बाउछोराको ठेलाठेल र तानातान पर्यो । आँगनको डिलबाट सबैजाना रमिता हेर्दै बसिरहे । दुईजनालाई छुट्याउन, रोक्न कोही गएन । ममी बाहिर निस्किदा रमेश दाइ र ठूलोबा अँगेनाको छेउमा एकअर्काको हात समातेर जुधिरहनुभएको थियो । ठूलोबाले भित्र तान्न खोज्दै हुनुहुन्थ्यो । दाइले हात छुटाउन ।

“रमेश ! बाबासँग नलड् । छोड्दे बाबु !” ममीले यति भनिसक्दा नसक्दै ठूलोबाको खुट्टा चिप्लियो । खुट्टा हावामा लत्रियो र पुरै जिउ पछाडि हुत्तियो । रमेश दाइ ठूलोबामाथि खस्नुभयो । हावामा अँगेनाको चिसो खरानी उड्यो ।

रमिता हेर्नेमध्यबाट कोही चिच्याएको आवाज आयो । रमेश दाइ ठूलोबाको हातबाट हात छुटाएर भुइँबाट उठ्नुभयो । ठूलोबा भने अझैपनि हलचलबिहिन अँगेनाको छेउमा लम्पसार हुनुहुन्थ्यो । खैलाबैलाको बीचमा एक्कासी रमेश दाइ भाग्न थाल्नुभयो । “जा दाइलाई रोक् !” ममी चिच्याउनुभयो । म दाइको पछिपछि भागेँ । ‘रमेश दाऽऽइ !’ भनेर चिच्याँउदै दाइलाई भेट्टाउन खोजेँ । तर दाइ रोकिनुभएन । मालेपाटन निस्किने अँध्यारो बाटोभित्र दाइ पसेपछि म धेरै पछाडि छुटेँ । तैपनि दाैडिरहेँ । गोल चाैतारीबाट दायाँ मोडिएपछि रमेश दाइ अँध्यारोमा देखिन छोड्नुभयो । दुई-तीनचोटी चिच्याएर बोलाएँ तर कुनै जवाफ आएन । म हार मानेर घर फर्केँ । रमेश दाइलाई मैले अन्तिमचोटि त्यही मोडमा बिलाएको देखेँ ।

घर फर्किँदा ठूलोबालाई पिँढीमा लगिएको थियो । अँगेनाबाट एउटा कालो धर्का ठूलोबा बसेको ठाउँसम्म बगेको थियो । ठूलोबाको टाउको अँगेनाको ओदानमा ठोक्किएको रहेछ । लामो तेर्सो घाउ भएको थियो । पाैडेल अंकल ठूलोबाको घाउमा थिचिरहनुभएको थियो । शम्भु दाइ इमर्जेन्सी लाइट समातेर उभिइरहनुभएको थियो । बत्तीको उज्यालो ठूलोबाको अनुहारमा थियो । ठूलोबाका आँखा सुन्निएर राता भएका थिए । मलाई अचानक खैरेको याद आयो । ठूलाबाका आँखाहरूले मलाई नै हेरेजस्तो लाग्यो । डराएर म रुन थालेछु । ममीले कुनबेला मलाई कोठाभित्र लैजानुभयो मैले पत्तो पाइनँ ।

सन्देशलाई ममीले रिजाल डाक्टरकोमा पठाउनु भएको रहेछ । डाक्टरलाई लिएर दाइ आयो । उनले घाउ हेरे । रगत निकै बगेको कुरा उनले भन्नै परेन । तुरुन्तै हस्पिटल लिएर जान भने । दिमागमा चोट लागेको हुनसक्छ भने । एकछिनमा बाबा आइपुग्नुभयो । ठूलोबालाई ट्याक्सीमा राखेर बाबा, डाक्टर, र पाैडेल अंकल हस्पिटल जानुभयो । रमिता हेर्न आएकाहरू बिस्तारै घर फर्किए । 

सबैजना गैसकेपछिको शुन्यता निकै डरलाग्दो थियो । हामीमध्ये कोही केही बोल्न सकेन । ममीले बाथरुमबाट पानी ल्याएर रगत पखाल्न थाल्नुभयो । दाइले ममीलाई उज्यालो देखाँउदै थियो । म पिँढीमा बसेर सुक्क-सुक्क गरिरहेको थिएँ । एक्कासी उज्यालो भयो । बत्ती आयो । पानी र रगत मिसिएको आँगनको एकभाग पुरै रातो देखियो । हेर्न नसकेर म कोठामा गएँ । 

टि.भी बज्न थाल्यो । टि.भीमा आठ बजेको समाचार सकिनै लागेको थियो । मुख्य समाचारहरू दिँदै थियो । टि.भीमा बिहान ठूलोबाजस्तै लागेको त्यो मान्छेको अनुहार फेरि देखेँ । कालो कोट अनि सेतो सर्ट लगाएको त्यो मान्छेको यतिबेला घाँटीमा डोरी बाँधिएको थियो । अहिलेपनि मलाई त्यो मान्छे थापा ठूलोबा जस्तै लाग्यो । समाचार प्रस्तोता भन्दै थियो: 

‘इराकी तानशाह सद्दाम हुसेनलाई फाँसीको सजाय….’

बाबाको फोन आयो । मैले उठाएँ । ‘ममी खै ?’ भनेर सोध्नुभयो । बाहिर निस्किएर ममीलाई फोन दिएँ । बाबाको कुरा एकतर्फी सुनेर ममीले फोन राख्नुभयो । त्यसपछि आवाज ननिकाली ममी रुन थाल्नुभयो । सन्देश र म चुपचाप उभिइरह्याैँ । कोठाभित्रबाट मधुरो आवाजमा समाचारको संगीत बजिरह्यो ।