‘शाम्बाला’: नेपाली भूगोलमा सिनेमा निर्माणको उचाइ ?


Logo

युनेश


एउटा मुना-मदनको कथा छ, जहाँ ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ भनेर मुनाले भन्दा भन्दै पनि मदन ल्हासा जान्छ । र, फर्किने क्रममा बिरामी पर्छ । साथीहरूले मर्यो भनी घरमा सुनाउँछन् । उता भोटेले मदनलाई निको गर्छन्, यता मुना मदनसँगको वियोगले तड्पिन्छिन् र आफ्नो प्राण त्याग्दिन्छिन् । मदन निको भएर फर्किन्छ र मुनाको वियोगमा प्राण त्याग्छ । 

र अर्को कथा छ शाम्बालाको, जसमा पेमाको श्रिमान टासी मदन जस्तै ल्हासा जान्छ र हल्लै हल्लाको भरमा उतै कतै हराउँछ । यता पेमा मुना जस्तै उसको वियोगमा तड्पिन्छे । परपुरुषको बच्चा बोकेको आरोप लागेपछि आफ्नो श्रिमानलाई खोज्न निस्किन्छे । उता मुना-मदनमा मुनाको मृत्यु भएको थियो भने यता पनि पेमाको मृत्यु हुन्छ । फरक यत्ती कि– उता मुनाको पुनर्जन्म हुँदैन, यता पेमाको भने हुन्छ । हो, शाम्बाला त्यही पेमाको कथा हो, जसका तीन श्रिमान छन्, कता-कता ऊ मुना जस्ति लाग्छे भने कता-कता ऊ सिता जस्ती प्रतित हुन्छे । 

***

मिन भामले जम्माजम्मी दुईवटा सिनेमा बनाए अहिलेसम्म । मात्र दुई सिनेमाले बुढो हुँदा पनि उनको आफ्नै निर्देशकीय शैली बनिसकेको छ । ‘कालो पोथी’मा प्रयोग भएका शैलीहरू उनले यसमा पनि दोह्राएका छन् । बिचमा देखिने सपनाका दृश्यहरू, पात्रको यात्रा, कर्णालीको कथा र बिम्बहरूको प्रयोग; सबै भेटिन्छ ‘शाम्बाला’मा, र ‘कालो पोथी’को भन्दा सशक्त रुपमा । 

पेमा(थिन्ले ल्हामो)को तीन भाइसँगको विवाह पश्चात् निर्देशक भामले हामीलाई उनको नयाँ घरमा लैजान्छन्, ऐना मार्फत । हामी ऐनामा सबैभन्दा सुरुमा टासी(तेन्जिन दल्हा)लाई देख्छौँ, अनि क्यामेरा सर्दै हामीले दावा(कर्मा वाङ्ग्याल गुरुङ)लाई र कर्मा(सोनम तोप्देन)लाई देख्छौँ । झट्ट हेर्दा ती तीन दाजुभाइको बसाइको स्थान सामान्य लाग्छ । टासी पछि दावा छ अनि दावा पछि कर्मा । तर यहाँ निर्देशकले यी तीन पात्रको ब्लकिङमा सब्टेक्सट छोडेका छन् । पेमाले श्रीमतीका रुपमा निभाउनु पर्ने दायित्व टासी र दावा भएर मात्र कर्मासम्म पुग्छ । जुन हामीले चलचित्रमा देख्छौँ पनि । टासी गएपछि, उसले घरको र दावाको जिम्मा लिन्छे ‍ । दावाको ख्याल राख्छे । तर कर्माप्रति उसले ती जिम्मेवारीहरू निभाउनु पर्दैन, किनभने कर्मा भिक्षु हो, लामा हो । 

यस दृश्यमा बिम्ब पनि लुकेको छ । हामीले यी चारै जानालाई ऐनामा देख्छौँ । हेर्दा उनीहरू खुसी देखिन्छन् । कर्माले परिवार पुरा र सुन्दर भएको भन्छ पनि । तर त्यो त प्रतिबिम्ब न हो । छायाँ हो । छल हो । जसरी ऐनाको प्रतिबिम्बबाट निर्देशकले हामीलाई वास्तविक संसारमा ल्याउँछन्, त्यसैगरी उनीहरूको जिन्दगीमा पनि केही वास्तविकताहरू खुल्दै जान्छन् । हेर्दा खुसी देखिएको परिवार बिस्तारै टुक्रिन थाल्छ । 

त्यस्तै, अर्को एउटा दृश्य छ फिल्ममा– टासीलाई लिन भनी गर्भवती पेमा कुरेर बसेकी हुन्छिन् । तर टासी आउँदैन ।  उसले पेमाको पाटो सुन्दै नसुनी पेमालाई त्यागिदिन्छ । अर्थात्, शंकाले खाएको छ उसलाई । उसले बच्चाको जिम्मेवारी लिने छैन । पेमा बाटो हेरिरहन्छे । त्यही बाटो भएर राम सर पेमालाई हेर्दै ओझेल हुन्छ । अब, बच्चाको जिम्मेवारी न टासीको हुन्छ न राम सरको, त्यो सम्पूर्णमा पेमामा अडिन्छ । 

मिन भाम उनले प्रयोग गर्ने बिम्बका लागि पनि चिनिन्छन् । शाम्बालामा पनि उनले बिम्बको भरपुर प्रयोग गरेका छन् । सुरु गरौँ, पेमाको नाम र शाम्बाला बिचको सम्बन्धबाट । तिब्बती भाषामा पेमाको अर्थ ‘कमलको फूल’ हुन्छ । भनिन्छ, शाम्बालाको आकर आठ-पत्रे कमलको जस्तै हुन्छ जुन अभेद्य हिउँको पहाडले घेरिएको हुन्छ । यसरी हेर्दा पेमा आफैंमा एउटा बिम्ब हुन् कि भन्ने पनि लाग्छ । पेमा बस्ने स्थान आफैंमा बिम्ब हुन्छ । 

अर्को नकार्नै नसकिने बिम्ब भनेको पेमाले बुन्दै गरेको स्विटर हो । राम सरले कसको लागि बनाएको भन्दा पेमाले सिधै टासीका लागि भनेर जवाफ दिँदिनन् । उनी भन्छिन्, “मेरो प्रिय मान्छे, टासीका लागि ।” त्यो स्विटरलाई उनी यात्राभरि बुनिरहन्छिन् । टासीका लागि तयार गरिरहन्छिन् । त्यसमा कर्माको पनि नजर जान्छ । कहाँसम्म भने पेमाले भनेको जस्तै ऊ आफ्नो मनको कुरा भन्न नसक्दा स्विटरको तारिफ गर्छ । पेमाले एकबेला कर्मालाई त्यो स्विटर दिन पनि तयार हुन्छिन् । यसलाई पेमाको मनमा टासीप्रति आएको परिवर्तनका रुपमा पनि लिन सकिन्छ । तर अन्तिममा त्यो स्विटर पेमा आफैंले लगाउँछिन् । अर्थात्, उनी आफ्नै प्रिय मान्छे हुन्छिन् । 

टासीलाई खोज्न जाने क्रममा पेमा र कर्मा एउटा ठाउँमा पुगेका हुन्छन् र केहीबेर रोकिएका हुन्छन् । रापिलो घाम हटेर उनीहरूमाथि ठूलो कालो छायाँ मडारिन्छ । उनीहरूले अलि पर देख्छन्– एउटी महिला तीर हान्न तम्तयार भएर बसेकी छ । उसको तीर निशानामा लाग्दैन र ऊ दोषी ठहरिन्छे । फिल्मको अन्तिमतिर हामी पेमालाई त्यही महिलाको स्थानमा पाउछौँ । तर, उसले हानेको तीर निशानामा लाग्यो लागेन भन्ने कुरा भने फिल्मले हामीलाई देखाउँदैनन् । त्यसबखत आएको आवाज र फिल्मको अन्त्यबाट हामीले त्यो आफैं अनुमान लगाउनु पर्ने हुन्छ ।

still from Shambhala (2024)

 ***

चलचित्रको छायाँकन अजिज झाम्बाकियिभले गरेका हुन् । उनैले ‘कालो पोथी’को छायाँकन पनि गरेका थिए  । शाम्बालामा आधिक्तम मात्रामा वाइड शट र मिड शटको प्रयोग भएको पाइन्छ, जसले माथिल्लो डोलपोको भूभाग र परिवेश अटाउन सहयोग पुर्याएको छ । साथै, यसले कलाकारहरूलाई वरिपरीको वातावरणसँग खेल्न मौका पनि दिएको छ; जसले गर्दा दोह्राएर हेर्दा एउटै दृश्यमा छुट्टाछुट्टै अर्थहरू भेट्न सकिन्छ र हरेकपटक चलचित्र नयाँ जस्तो महसुस हुन्छ । 

अजिजका शटहरूमा स्थिरता पाइन्छ । दृश्यहरू लामा हुन्छन्, अनि कि त पात्रहरूलाई पछ्याइरहेका हुन्छन् कि त तिनमा अडिक हुन्छन् । संवादको दृश्यमा प्रयोग हुने “ओभर द सोल्डर शट”को प्रयोग न त भामले ‘कालो पोथी’मा प्रयोग गरेका थिए न त शाम्बाला नै । यसले हामी चाहेको पात्रमा ध्यान दिन सक्छौँ र एउटै परिवेशमा दुई फरक-फरक पात्रले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने पनि थाहा हुन्छ, जसले गर्दा पात्रहरूलाई बुझ्न थप सहयोग मिल्छ । फिल्मको लामा दृश्य र साधारण कटले पात्र र दर्शक दुवैलाई ठहराव दिन्छ ।  

चलचित्रमा एउटा दृश्य छ, जहाँ पेमा दावाको विद्यालय जाँदा राम सरको कोठातर्फ बढ्छिन्  । क्यामेराले पेमालाई पछ्याइरहेको हुन्छ । झ्यालबाट केही विद्यार्थीले राम सरलाई चिहाइरहेका हुन्छन्, उनले तिनीहरूलाई भगाउँछिन् र झ्यालतर्फ बढ्छिन् । क्यामेराले भित्र भएका राम सरलाई देखाउँछ, जो लुगा लगाउँदै हुन्छ । क्यामेराले फेरि पेमालाई बिस्तारै पछ्याउँछ र राम सरको कोठाभित्र हामीलाई लिएर जान्छ । यस्तो प्रतीत हुन्छ, हामी आफैं पेमालाई पछ्याइरहेका छौँ । यो सटले पेमा र राम सरको सम्बन्ध मात्र कायम गर्दैन, दर्शकलाई अफ्ठ्यारो महसुस पनि गराउँछ । 

***

‘कालो पोथी’मा भामसँग सहलेखन गरेका अविनाश विक्रम शाहले शाम्बालामा पनि फेरि उनीसँग गाँसिएका छन् । भाम र शाहले चलचित्र शाम्बालामा पेमाको कथा भन्नु सँगसँगै डोल्पाको माथिल्लो भेगको जीवनशैली, त्यहाँको खानपिन, दैनिकी, आयआर्जनको माध्यम, त्यहाँको रितीरिवाज र भुगोलसँग दर्शकलाई चिनापरिचय गराउन सफल भएका छन् । खाजामा जौ वा आलु हुनु,  व्यपारका निम्ति ल्हासा जानु, ढुङ्गा कुँद्नु, यात्राका लागि घोडाको प्रयोग गर्नु, त्यस भुभागमा हुने विवाह, काजकिर्या, घोडा दौड प्रतियोगिता, न्याय-निसाफ गरिने तरिका: यी सबै कुराहरू त्यहाँको जीवनशैलीको भाग हो । 

फिल्मा एउटा दृश्य छ, जहाँ टासीलाई खोज्न जाने क्रममा पेमाले एउटा गाउँमा टासीको बारेमा सोध्छिन् । जसको जवाफ आउँछ “यहाँ धैरै टासीहरू छन् ।” यही एक संवादले दोहोरो काम गर्छ । एउटा अर्थमा त्यस भुभागमा त्यस्ता ‘टासी’हरू टन्नै छन्, जो आयआर्जनका लागि ल्हासा जान्छन् भन्ने हुन्छ भने अर्को अर्थमा निर्देशकले हल्लाकै भरमा आफ्नी श्रीमतीलाई छोड्न पनि तयार हुने ‘टासी’हरू हरेक गाउँमा, हरेक स्थानमा छन् है भन्ने सन्देश दिन खोजिरहे जस्तो पनि प्रतीत हुन्छ । 

पुर्वधारहरूको कुरा गर्नु पर्दा, गाउँका घरहरूमा बिजुली बत्ती नभएर टुकीको प्रयोग भएको पाइन्छ । साथै, बिजुलीबाट चल्ने कुनै सामाग्री फिल्ममा देखिँदैन । स्वास्थ जाँचका लागि त्यहाँका एकजना मान्छेले आफ्नी श्रीमतीलाई काठमाडौं लिएर आउनु पर्ने देखाइएको छ । 

टासीको घडी, राम सरको क्यामेरा र ज्याकेट, र दावाको खेलौना प्लेन नै ती वस्तु हुन्, जसले चलचित्रको समयकाल वर्तमानकै हो भन्ने अनुमान लगाउन सहयोग पुर्याउँछ । यी कुराहरू नहुँदा हुन् त फिल्मको परिवेश पछिल्लो ३०-४० वर्ष यता जहिलेको पनि हुनसक्थ्यो ।

***

बौद्ध दर्शनका अनुसार जम्माजम्मी चार सत्य छन्: जिन्दगीमा दु:ख छ, त्यसको कारण छ, निरोध छ र निरोधको मार्ग पनि छ । चलचित्रभरि पेमाको यात्रालाई हेर्ने हो भने, उनी यी चारवटा सत्यहरूसँग परिचित हुँदै जान्छिन् । राम सरको गर्भ बोकेको आरोप लाग्नु र टासीले परित्याग गर्नु उनको दु:ख र दु:खको कारण हो । उनी टासीलाई सत्यसँग अवगत गराउन यात्रामा निस्किन्छिन्, यस आशामा कि टासीले सत्य बुझ्नेछ र उनलाई लागेको आरोप खारेज हुनेछ, यो पेमाको लागि दु:खको निरोध हो । अन्त्यमा उनी ‘शाम्बाला’ हुन्छिन्, यो दु:ख निरोधको मार्ग हो ।

चाहे त्यो पेमाले कर्मालाई “सबै नाश्वर छ” भनेर भन्नु होस् वा रिम्पोचे (लोतेन नामलिङ)ले गरेका पुनर्जन्मका कुरा हुन्, सबैले बौद्ध दर्शनको केही न केही सार बोकेकै छन् । चलचित्रमा रिम्पोचेले पुनर्जन्म आफ्नो इच्छानुरुप हुनसक्ने कुरा गर्छन् । पछि पेमाले आफूले देखेको सपना सुनाउँदा उसले आफू सपनामा ‘शम्बाला’ भएको सुनाउँछे र प्रतिउत्तरमा रिम्पोचेले पुनर्जन्म लिन चाहेको ठाउँ पनि शाम्बाला रहेको बताउँछ । पछि कर्मालाई पेमासँगै टासी खोज्ने यात्रामा पठाउँदा रिम्पोचेले भन्छ– “पेमाको ख्याल राख्नु मेरो ख्याल राखे जस्तै हो ।” यी सबै कुराहरूलाई जोडी ल्याउँदा, रिम्पोचेले पुनर्जन्मको निमित्त पेमाको गर्वलाई रोजेको र पेमाको बच्चा रिम्पोचेको पुनर्जन्म हो भन्ने बुझ्न सकिन्छ । र, रिम्पोचेको रोजाइ र पुनर्जन्म दुवैले सार्थकता पाउन पनि  पेमा ‘शम्बाला’ हुन आवश्यक छ, र त्यसका लागि पेमाको यात्रा आवश्यक छ । यसलाई चलचित्रको उपकथाको रुपमा हेर्न सकिन्छ । 

***

एक ठाउँमा कर्माले पेमालाई ऊ कसरी यति ज्ञानी हुन सकी भनेर सोध्छ । हुन पनि हो, पेमालाई सुरुबाटै हेर्ने हो भने उनलाई सशक्त पात्रको रुपमा स्थापित गरिएको छ । पेमाकी आमाका अनुसार उनलाई पुरुष र महिला दुबैले गर्ने खाले काम गर्न आउँछ र उनलाई पाउने श्रिमान भाग्यमानी हुनेछन् । वैवाहिक जीवनमा पनि उसले भेद गरेको देखिँदैन । हो, ऊ टासीलाई माया गर्छे तर ऊ कर्माको पनि चिन्ता गर्छे । भन्छे– “आउँदै गर्नु ।”, “घोडा चड्न सिक्नु ।” साथै, दावाको पनि खयाल राख्छे । कहाँसम्म भने ऊ र दावा बिच दिदी-भाइ वा भनौँ आमा-छोराको जस्तो सम्बन्ध रहेको महसुस हुन्छ । 

still from Shambhala (2024)

उसलाई परपुरुषको बच्चा बोकेको आरोप लाग्दा पनि आफ्नो धीरता गुमाएको देखिँदैन चलचित्रमा । उनीभित्र दु:खको आँधी तुफान चलेता पनि उनी बाहिर शान्त देखिन्छिन्, विश्वस्त देखिन्छिन् । उनलाई थाहा छ, टासीले सत्य थाहा पाएपछि सबैको मुख बन्द हुन्छ । त्यसैले कसैलाई उनले उचो आवाजमा जवाफ दिनन् । दावा, जो उमेरमा ऊभन्दा सानो छ, उसले पनि आरोप लागाउँदा भने उनलाई असह्य हुन्छ । उक्त दृश्यमा उनले पुल छेउकै लुङ्दर समात्छिन् । “तिमी बोल्नुपर्छ” भनी कसैले भने, “टासी आओस् अनि बोल्छु” भन्छिन् । उनले चाहे उनी प्रतिवाद गर्न सक्थिन् । हार पनि मान्न सक्थिन् । तर, उनले आगोमा घिउ थप्ने काम गरिनन् । पेमा कहिल्यै कमजोर थिइनन् ।

कोही आओस्-नआओस्, कसैले सहयोग गरोस्-नगरोस्, ऊ एक्लै यात्रामा निस्कन पनि तम्तयार थिइन् ।  आफूलाई सँगै काठमाडौं लैजान आएका राम सरलाई पनि उनले टासीलाई धोका नदिने जवाफ फर्काउँछिन् । त्यसैले, ऊ स्वाभिमानी पनि थिईन् । उनी त्यस समाजका नियमहरूका धागोले बाँधिएकी थिईन् । त्यसका बाबजुद उनी स्वतन्त्र र परिपक्क पनि थिईन्, यस मानेमा कि आफूले लिएका अठोट साकार पार्न अग्रसर रहन्थिन् । 

‘शाम्बाला’ हुन चाहिने बिउ जति सबै उनमा पहिल्यै थियो । टासीलाई खोज्न जाने यात्राले उनको त्यो बिउलाई रुख बन्न सहयोग गर्यो । यात्राबाट फर्किएपछि उनले टासीको सामाना गर्छिन् । टासीले जसको बच्चा भएपनि फ्यालिदेऊ भने पछि, उनले टासीलाई छोड्छिन् र भिक्षुणीको बाटो अपनाउँछिन् । उनले श्रिमान त्याग्छिन्, घरबार त्याग्छिन्, र ती सम्पूर्ण कुरा त्याग्छिन्, जसले उनलाई लामा हुन सहयोग पुर्याउँछ । तर उनले आफ्नो मातृत्व भने त्याग्न सक्दिनन् ।

चलचित्रको सबैभन्दा रोचक पात्र भने कर्मा हो । माइलो छोरो भएकै भरमा ऊ लामा भएको हुन्छ । हामीलाई पछि थाहा हुन्छ, सम्भवत: ऊ आफ्नो इच्छाले लामा भएको हुँदैन । उसको अन्तरद्वन्द हामीले प्रष्ट देख्न सक्छौँ । यात्राको क्रममा उसले पेमाका लागि महसुस गरेका भावनाले उसलाई लामाको सिद्धान्त विपरित लैजान्छ । यहाँसम्म कि ऊ घोडा चढ्न पनि तयार हुन्छ । पेमालाई भन्छ– “घर फर्क, म तिम्रो हेरचाह गर्छु ।” भावनाको बहावमा बोलेको बोलीलाई पेमाले “बच्चा स्विकार्छौ ?” भन्ने कुरा झिकेपछि, ऊ यथार्थको धरातालमा आउँछ । ऊ त लामा पो हो ! तर के उसमा वास्तवमै लामामा हुनुपर्ने गुणहरू छन् त ? त्यही बेला आत्महत्या गरेकी छोरीको काजक्रिया गर्न लामा नभेटेको भन्दै एउटा बुढो मान्छे कर्मा भए ठाउँमा आइपुग्छ । वास्तवमा, कर्माले पनि आफूभित्र भएको लामालाई भेटेको हुँदैन । 

त्यस्तै अर्को पात्र छ टासी, पेमाको प्रेम । टासी पेमालाई अथाह प्रेम गर्छ । ऊ ल्हासा जाँदा पेमा र परिवारको चिनो सँगै लिएर जान्छ । पेमा र आफ्नो प्रेमको चिनारी ढुङ्गामा कुँद्छ । र भन्छ, “त्यस महिलाको संगत नगर्नु, त्यसका धेरै प्रेमीहरू छन् ।” यदि एउटा संवादले टासीको मानसिकतालाई झल्काउँछ । त्यसैले ऊ पछि ल्हासाबाट फर्किएर नआउँदा हामीलाई त्यति माया गर्ने मान्छेले किन यस्तो गर्यो भन्नेमा आश्चर्य लाग्दैन । 

पेमाको जीवनको अर्को पात्र हुन् राम सर, जसको बच्चा बोकेको आरोप लागेको छ उसलाई । हुन त चलचित्रभरि यस्तो लाग्छ राम सर त्यहाँ छन्, महसुस पनि हुन्छन् तर पनि छायाँमा परेका छन् । सुरुमा बिहेमा उनी पनि गएका हुन्छन्, फोटो खिचेका हुन्छन् तर उनी यादमा आउँदैनन् । टासी ल्हासा जाँदा पनि उनी त्यहीँ हुन्छन्, ल्हासबाट नआएको खबर पाउँदा पनि त्यहीँ हुन्छन् । यसरी मानौं उनी छायाँ बनेर पेमाको वरिपरी मडारिरहेको छन् । हुन त बाहिरी समुदायको मान्छे, अर्को समुदायमा जाँदा कस्तो हुन्छ, यो झल्काउन निर्देशकले त्यसो गरेका हुन सक्छन् । 

***

भन्नलाई पेमा टासीलाई खोज्न निस्किएकी हुन्छिन् तर उनले आफैंलाई भेट्टाउँछिन् । चलचित्रले दिने सार यही हो । आफूले आफैंलाई भेट्टाउन पहिला आफैं भित्र झाँक्न आवश्यक हुन्छ । अनि शाम्बाला हुनु भनेको आध्यात्मिक ज्ञानसँगै आन्तरिक शान्ति प्राप्त गर्नु हो । त्यसैले ‘शाम्बाला’का निमित्त चाहिने त्याग र ज्ञान अवश्य नै चानचुने हुँदैन । हो, पेमा सशक्त पात्र हुन् र सँगै आत्मचेत भएकी पात्र पनि हुन् । होला, त्यो यात्राले उनलाई आफूलाई चिन्न सहयोग गर्यो । तर, त्यही यात्राले उनलाई ‘शाम्बाला’ बनायो भन्दा विश्वसनीय भने लाग्दैन । 

वास्तवमा शाम्बाला हुनलाई आन्तरिक परिवर्तन आउनु पर्छ । आन्तरिक परिवर्तन बाह्य भोगाइबाट आउँछन् । कर्मासँग हुँदा उनले केही देख्छिन्, केही भोग्छिन्, जसले उनलाई केही न केही सहयोग त गर्छ तर त्यति उनलाई शाम्बाला बनाउन भने पर्याप्त छैन । त्यसैले पेमा कर्मासँग छुटिएपछि र एक्लै भएपछि उनका भोगाइहरूको त्यो यात्रा सुरु हुनुपर्ने हो, जसले उनलाई शाम्बाला हुन सहयोग गर्छ । तर हामीले त्यस्तो खाले कुनै भोगाइ देख्दैनौँ । । उनले हिउँदेखि जङ्गली जनवारहरूको एक्लै सामना गर्नुपर्ने हुन्छ । यो यात्राले उनलाई अझै आफैंलाई चिन्न र नियाल्न सिकाउनु पर्ने हो तर बेला-बेला पेमा हिँडिरहेको दृश्य अर्थहीन लाग्छ । मानौं, भामले केबल हिउँको क्यानभास देखाउन खोजिरहेका छन् । कहाँसम्म भने उनका भोगाइहरू फिका लाग्छन् । त्यसैले त, यदि कर्मासँगको यात्रा नहुँदो हो त, न त उनी शाम्बाला भएको विश्वसनीय लाग्थ्यो न त चलचित्रको शिर्षक नै । 

यदि पेमा यात्रामा नजाँदै टासी घर आएको हुँदो हो र पेमालाई बच्चा फालिदिन भनेको हुँदो हो भने उनको जावफ के हुन्थ्यो होला ? सायद, उनले प्रतिवाद गर्थिन्, टासीलाई सम्झाउने प्रयास गर्थिन् । तर उनले यात्रा पश्चात् त्यसो गरिनन् । यो यात्राको देन हो । कर्माले उसलाई यात्राको क्रममा भनेको हुन्छ, “बच्चा जसको भए पनि फरक पर्देन, जन्म दिनु आफैंमा महान् हो ।” सायद, यसले पनि उनलाई सो निर्णय लिन सहयोग गरेको हुनुपर्छ । 

शाम्बाला २ घण्टा ३० मिनेट लामो छ । आजकल त्यति लामा चलचित्र कम बन्छन् । त्यो पनि पात्र-केन्द्रित भएर बनेपछि स्वभाविक रुपमा चलचित्र स्लो महसुस हुन्छ । त्यो शम्बाला हेरिरहँदा पनि महसुस हुन्छ । यसको पहिलो भाग बिस्तारै बग्दै जान्छ । तर चलचित्रको दोस्रो भागका कतिपय स्थानमा हतारो महसुस हुन्छ । 

पटकथामा पनि दोस्रो भाग कमजोर देखिन्छ । जस्तै, पेमा अनकन्टार हिमालमा पुगेकी हुन्छे । गर्वभती हुन्छे । उसँग खाने केही हुँदैन । त्यस्तो हिउँमा घोडालाई त हिँड्न सकस हुन्छ । यस्तो‍ अवस्थामा उनले त्यो स्थानदेखि आफ्नो घरसम्मको यात्रा कसरी तय गरिन् भन्ने कुरा पनि चलचित्रमा देखाइएको छैन । देखाउने त परको कुरा यस विषयमा कुरा समेत उठेको छैन । त्यस्तै अर्थाउन नसकिने अर्को कुरा हिउँको क्यानभासमा पेमाले भेटेको टासीको लुगा र ढुङ्गा हो । हिउँले पुरिएको त्यो भूभागमा त्यति सजिलै ती सामन भेटिए भन्दा विस्वास गर्न गाह्रो हुन्छ । 

still from Shambhala (2024)

***

नौ वर्ष पछि, मिन बाहादुर भामको अर्को (दोस्रो फिचर) चलचित्र पर्दशनमा आएको हो– शाम्बाला । उनको पहिलो चलचित्र कालो पोथी भेनिस फिल्म फेस्टिभलमा देखाइने नेपलाको पहिलो चलचित्र बनेको थियो भने शाम्बाला बर्लिनालेको गोल्डेन बियर अवार्डका लागि मनोनयनमा पर्ने पहिलो नेपाली चलचित्र मात्र नभएर पहिलो दक्षिण-एसियाली चलचित्र बन्न पुग्यो । त्यसबेला पनि भामको चलचित्र ओस्करमा पठाइएको थियो भने योपटक पनि शाम्बाला नेपालका तर्फबाट ओस्करको लागि पठाइएको छ । कालो पोथि त मनोनयनमा परेन । अब, यसपाली हेरौँ !!