Each day is a little life: every walk and rising a little birth, every fresh morning a little youth, every going to rest and sleep a little death.
— Arthur Schopenhover
त्यस टोइलेट क्लिनरलाई तपाईंहरू सधैं मन्त्रमुग्ध अवस्थामा नै पाउनु हुनेछ । दैनिकीहरूको सूक्ष्म क्षणलाई उनले आनन्द मानेर स्विकार गरेका छन् । चाहे हावाको इसारामा पातहरूको नाचलाई अवलोकन गर्नु, वा पार्कमा आएका बच्चाहरूको खेलबाट मनोरञ्जित हुनु, वा बटुवाहरूको चालचलनलाई नियाल्नु…..तपाईं सधैं उनलाई एउटा दर्शकको रूपमा पाउनु हुनेछ र फिल्मको अन्त्यतिर यो पनि थाहा पाउनु हुनेछ कि केबल दर्शक मात्र हुन सक्नु, उनको लागि कति दु:खत कुरा पनि हो ।
वास्तवमा त्यस टोइलेट क्लिनर (हिरायामा) को बारेमा मलाई भरपुर लेख्न मन थियो । हाम्रो समाजका मध्यम वर्गीय मानिसहरूको कथा उनले बोकेका छन् । उनको शान्त र सम्मिलित स्वभावलाई खुब प्रशंसा गर्न मन थियो तर मेरो अराजक दैनिकीले मलाई रोकिरह्यो । मेरा क्लिष्ट अक्षरहरूमा उनको सरलतालाई अटाउन मैले जानिनँ । तर म कति भ्रममा थिएँ । उनको एक्लोपनलाई मैले केबल नकारी रहेँ । मलाई लाग्यो, उनी टोकियो खोलाको पुलमा बसेर एकतमासले क्षितिज हेरिरहँदा केबल रमाइलो र आनन्द महसुस गरिरहेका छन् । मलाई लाग्यो, उनले समाजबाट टाढा आफूलाई एउटा सुरक्षित घेरामा राख्न सकेका छन् । उनमा रहेको यही संयमता र केही अनौठो व्यवहारका कारण मानिसहरू उनीप्रति आकर्षित हुने गर्छन् । मैले पनि उनलाई सुरूमा यस्तै रूचीकर विषय मानेर हेरेको थिएँ । ध्यान मग्न टोइलेट क्लिनर, जसले जिन्दगीलाई चिनेको छ, सार्वजनिक शौचालयहरूलाई सावधानीपूर्वक सफा गर्दै, क्यासेट टेपहरू सुन्दै, पुराना किताबहरू पढ्दै, अपरिचितहरूसँगको निम्न र अप्रत्यक्ष सञ्चारमा र गहन एक्लोपनहरूमा नै उनी जीवित छन् । म यस सहरसँग विद्रोह गर्न खोजिरहेको बेला, प्रत्येक आवाज, वस्तु, मान्छेहरूबाट ‘न्युरोसिस’ को गन्ध आहिरहेको बेला, उनी बेपरवाह सडकछेउ सुकिरहेको सानो बोटलाई पनि आफ्नो घरमा ल्याएर मल-जल गरिरहेका हुन्छन् ।
टोकियोको एउटा पार्कमा हामी सधैं एउटा असामान्य मान्छे देख्थ्यौँ, जो फोहोर लुगा लगाएर अनौठो तरिकाले नाचिरहेको हुन्थ्यो । उनलाई देख्दा लाग्थ्यो, उनी आफैं भित्रबाट ध्वनिको सिर्जना गरिरहेका छन् र त्यसै अनुरुप नाचिरहेका छन् । मलाई त्यो दृश्य देख्दा जापानी थिएटरको एउटा कला पद्दतिको याद आएको थियो, जहाँ कलाकार स्वयंलाई पनि थाहा हुँदैन कि संगीत कुन लयमा बग्ने छ तर त्यस कलाकारले आफ्नो मष्तिष्कलाई यसरी तालिम दिएको हुन्छ कि अन्य वातावरणीय र व्यक्तिगत कुराहरूलाई ढाकेर, कलाकार केबल संगीतमा तल्लीन हुनसक्छ र आफ्नो शरीरलाई खुल्ला पारिदिन सक्छ । हिरायामाले त्यस असामान्य मानिसबारे के जान्दछ ? उत्तर आफैं बुझ्नु पर्ने छ ।
फिल्मको ढिलो पद्धतिले हामीलाई हिरोयामाको प्रत्येक वर्तमान कार्यहरूलाई नियाल्न र अवधारणा बनाउन सहयोग गर्छ । यसले हामी (दर्शक) लाई आत्मनिरीक्षणको संसारमा आमन्त्रित गर्छ, जहाँ दैनिकीका सामान्य कार्यहरूले पनि आध्यात्मिक र दार्शनिक आयाममा पुर्याउन सक्छ । फिल्मको अविचलित गति, समृद्ध दृश्य विवरण, र चिन्तनशील कथाको माध्यमबाट, ‘जेन दर्शन’बाट प्रभावित अनुशासन र समर्पणको भावलाई मान्यता दिएको पाइन्छ, जसको चर्चा हामी विस्तारमा गर्नेछौँ ।
पाश्चात्य दर्शनले कुँजिएको मेरो दिमागलाई यो फिल्म नयाँ धारा जस्तो भइदियो । ‘पर्फेक्ट डेज’को सार नै जेन दर्शनका केही महत्वपुर्ण धारमा निहित छ । जेन दर्शनका अनुसार ज्ञान, भव्यता वा गहिरो तथा जटिल विचारहरूमा नभएर जीवनयापनको सामान्य प्रक्रियाहरूमा भेटिन्छन् । यसैलाई चलचित्रमा पनि स्पष्ट रुपमा देख्न पाइन्छ, जहाँ हिरोयामाको नियमित कार्यहरू वा गतिविधिहरू दोहोरिरहन्छ, विना कुनै प्रतिफल वा परिवर्तन । त्यसैले पनि हामीलाई उनको संघर्ष तुच्छ लाग्न सक्छ तर ती कार्यहरू वास्तवमा सक्रिय जागरुकताले भरिएका छन् ।
हिरायामाको जीवनशैली जेन सिद्धान्तको ‘zazen’ अवधारणा समान छ, जहाँ अभ्यासकर्ताहरू एकाग्र रहेर केबल आफ्नो सासमा केन्द्रित हुन्छन्, जसबाट विना कुनै विचलन, शुद्ध चेतनाको अवस्थालाई प्राप्त गर्न खोजिन्छ । प्रतिकात्मक रुपमा हिरोयामा पनि यही अवस्थामा निर्देशित भइरहेका छन् जस्तो देखिन्छ । उसका कार्यहरू सुस्त, सचेत र निमग्नताका साथ गरिएको प्रदर्शित हुन्छ, मानौं कि प्रत्येक क्षण आफैंमा एउटा ध्यान हो । चाहे त्यो काम टाइलहरू स्क्रब गरिरहेको होस् वा आफ्ना बोटबिरुवाहरूको हेरचाह गरिरहेको होस्, त्यहाँ जेन दर्शनको झलक देखिन्छ, जसले व्यक्तिहरूलाई उनीहरूले गरिरहेको काममा पूर्णरूपमा डुब्नको लागि प्रोत्साहित गर्छ ।
फिल्मको निर्देशक ह्विम वेन्डर्सले हिरोयामाको मानसिकताको चित्रण गर्न रुखहरूबाट फिल्टर हुने सूर्यको प्रकाश, पोखरीमा पानीको लहर, डुब्दै गरेको घाम जस्ता प्राकृतिक वस्तुहरूको प्रयोग गरेका छन्, जहाँ ती तत्वहरू पनि आफ्नो कर्ममा निष्ठ देखिन्छन् । यस्ता आनन्ददायी क्षणहरू जेन दर्शनसँग सम्बन्धित फिल्महरूको अभिन्न अङ्ग हुन्, जसले दर्शकहरूलाई अवगत गराउँछ कि जीवनमा हतारमा हुने घटनाहरूको श्रृङ्खला होइन, पूर्णरुपमा अनुभव गर्नु पर्ने पलहरूको सङ्ग्रह हो ।
यस फिल्ममा देखिएको अर्को विषयवस्तु ‘mu’ अथवा खालीपन हो, जसले जेन दर्शन अनुसार अनुपस्थिति मात्र नभएर सम्भाव्यताको स्थानलाई पनि जनाउँछ । आधुनिक जीवनशैली अनुसार हेर्ने हो भने, हिरायामाको जीवन हामीलाई उत्तेजना र महत्वाकांक्षा रहित लाग्छ, किनकि त्यहाँ भौतिकवादप्रति आकर्षण र भागदौड देखिँदैन । यद्यपि, जेनको सन्दर्भमा उनको जीवनको त्यस खालीपन सन्तुष्टि, आन्तरिक शान्ति र सरलताले भरिएको छ । उनको जीवनमा जटिलता र अराजकताको कमीले गर्दा नै उनले वर्तमान क्षणसँग गहिरो सम्बन्ध राख्नको लागि अनुमति पाएका छन् । यस पुनरावृत्तिको माध्यमबाट, उनको कार्य तालिकादेखि लिएर उनको व्यक्तिगत बानीहरूसम्ममा उनले शान्तिको भावना फेला पार्छन् । जेन दर्शन अनुसार, दिनचर्या एकान्तताको संकेत होइन तर ज्ञानको मार्ग हो । दोहोरिने कार्यहरूमा पूर्णरूपमा संलग्न भएर, अभ्यासकर्ताहरूले मनलाई शान्त पार्न र जीवनको गहिरो लयसँग जोड्न सिक्छन् । हिरायामाको दिनचर्या, जस्तै उसले सफा गर्ने तरिका वा उसले आफ्नो क्यासेट टेपहरू सुन्ने क्रम, केवल बानी होइन– ती अनुष्ठानहरू हुन्, जसले उसको जीवनलाई आध्यात्मिक आयाम दिन्छ ।
जापानी संस्कृतिको केन्द्रमा रहेको अनुशासनको महत्व, फिल्मको अर्को अत्यावश्यक हिस्सा हो । अनुशासन, वा ‘kibishisa’ जापानी समाजमा गहिरो रूपमा अन्तर्निहित छ । कामको पद्दति जस्तो भएता पनि त्यसलाई शुद्धता, व्यवस्था र आफ्नो कर्तव्यप्रति समर्पण भावका साथ निभाउनु जरूरी छ । शौचालय सफा गर्ने हिरायामाको भूमिकालाई अरूले प्राय: तुच्छ वा महत्वहीन माने पनि, उसले आफ्नो काम मार्फत् संस्कृतिको उल्लेखनीय प्रतिनिधित्व गरेको छ । प्रत्येक संगमरमरलाई सावधानीपूर्वक स्क्रबिङ गर्दा, आफ्नो सामानहरू व्यवस्थित रुपमा प्रयोग गर्दा, काम गर्दा अपर्झट आइपरेको व्यवधानमा नआतिदा, आफ्नो दिनचर्यालाई विना प्रतिरोध पालना गर्दा उनको काम र कलाकारीता बिच समानता भेट्न सकिन्छ ।
यो दृष्टिकोणले जापानीको ‘shokunin’ अवधारणालाई मूर्त रूप दिन्छ, जसले शिल्पकारको आफ्नो व्यापारप्रति समर्पण, निरन्तरता र अनुशासित अभ्यासको माध्यमबाट सिद्धताको मार्गलाई निर्देशित गर्छ । जापानी संस्कृतिमा, चाहे माटोका भाँडा जस्ता परम्परागत कलाहरूको निर्माणमा होस् वा खाना पकाउने जस्ता दैनिक व्यवसायहरूमा, निपुणता अचानक आविष्कारबाट होइन तर समयको साथ परिष्कृत हुदै जाने र सचेत र लगनशील प्रक्रियाको माध्यमबाट प्राप्त गर्न सकिने धारणा शताब्दीदेखि स्थापित रहिआएको छ ।
हिरायामाको ध्यानात्मक विधि, विवरणमा जोड, र उनले आफ्नो काममा लिने गर्व तथा अनुशासन र लगनशीलतालाई हेर्दा यो सांस्कृतिक श्रद्धाको उपमा मान्न सकिन्छ । उनको अविचलित गति र सावधानीका साथ आफ्नो काम गर्ने प्रतिबद्धताले सांसारिक कार्यहरूलाई पनि भक्तिको कार्यमा परिणत गर्दछ । यसले जापानमा अनुशासनको माध्यमबाट कसरी सामाजिक पदानुक्रमलाई पार गर्न सकिन्छ र पूर्णता र उत्कृष्टताको मार्गको रूपमा हेरिन्छ भन्ने उदाहरण दिन्छ, जुन सन्देश पाश्चात्य दर्शनमा पाउन कठिन छ ।
तर उनको लागि यो सबै एउटा ढाल पनि बनेको छ । उनका केही चरित्रगत विशेषताहरू ‘autism’ मा हुने लक्षणसँग मेल खान्छन् तर फिल्ममा यसको स्पष्टिकरण दिइएको छैन । हिरायामाको अनुशासित र एकान्त जीवनमा सूक्ष्म रूपमा उनको अवसाद लुकेको छ । उनको बाहिरी शान्त सतहबाट थोरै तल भावनात्मक कमजोरीहरू भेटिन्छन्, जुन फिल्म अगाडि बढ्दै जाँदा अझ स्पष्ट हुन्छ । उनका सावधानीपूर्वक दिनचर्याहरूले उनलाई कता कता परिचित इन्द्रियहरूमा मात्र सिमित गरेको छ । घनिष्ठ सम्बन्धहरूको अभावले उनमा भावनात्मक शून्यता र सञ्चारको असजिलोपनलाई संकेत गर्दछ । आफ्नो वरपरको वातावरणसँग उनको शान्त अन्तरक्रिया, जस्तै बोटबिरुवाहरूको हेरचाह गर्ने वा पुराना टेपहरू सुन्ने, कम बोल्ने र राम्ररी अभिव्यक्त गर्न नसक्नुले सायद विगतको केही आघातहरूको सुझाव दिन्छ । निमग्न हुँदाहुँदै पनि उनको स्थिर अनुहार कहिलेकाहीँ टुक्रिन्छ, क्षणिक उदासी र आत्मीय सम्बन्धको चाहना छचल्किन्छ, जसले उनको संवेदनालाई चुपचाप गहिरो बनाउँछ, झनै मानवीय बनाउँछ ।