कागजको डुङ्गा


Logo

Poojan


मैले अर्थहीन अर्थ खोज्दै बगिरहेको
धेरै समय भएछ,
देखेको नदेखे जस्तो गर्दै,
सुनेको नसुने जस्तो गर्दै,
मेरै आँखा अगाडि डुबेको नडुबे जस्तो गर्दै,
नाटकीय जीवनलाई यो नाटक हो
तर — पात्र म मात्र होइन भनी
यहीं डुङ्गाको टुप्पोमा बसेर
समयलाई नाउले पछि धकाल्दै
आफू नै रोकिएछु –
आफूले चलाएको डुङ्गालाई
कुनै दिशा प्रधान गर्दै गर्दा

मैले बुझेको संसार
फेदबाट भिजेको छ
मेरो बुझाइ ?
-मेरो भोगाइ
खाली पानामा हुन्छन् त खस्रा आवाजहरू
तर भिजेको बेला ?

म जहाँ बसेको छु ,
त्यसको पिँध भिजेको छ
तिमी जहाँ उभिएको छौ
त्यसको पिँध भिजेको छ
नत्र पल्टाइ हेर्नु एकचोटी..
यो सत्यतामा बाँच्नु कति सजिलो ?
किन डुङ्गााहरू भारी नभएको ?
म चाहन्छु कि मैले बुझ्ने संसार
पुरै भिजेको होस्,
तैरिरहनुमा मलाई पीडा छ
हुन त डुब्नु ,
च्यातिनु,
भिज्नु भावनात्मक कुरा हुन् ,
म माझी भइकन यो सब
कसरी लेखु त्यो नि
साच्चैको डुङ्गा माथि बसी

कसरी ?


यो डुङ्गालाई मैले नचलाइ यत्तिकै
राखिदिएँ भने यो के हुन्छ ?
हावाले यसलाई कति
पर पो पुर्याउन सक्छ ?
किन म यो डुङ्गामा एक्लै आइ
कविता लेख्छु
के हरेक
म जस्ता माझी हलुका हुन चाहन्छन् ?
साँच्चै यी कागजहरूले कति माझीहरूलाई
रोके होलान् भारी या हलुङ्गा हुनबाट ?

कागजको डुङ्गामा मैले
मेरो जीवन लेखिदिएँ भने
त्यो के बन्ने छ ?

मैले मेरा धेरै कविताहरूलाई
कागजको डुङ्गा बनाएको छु
माझी बिनाको एक कमजोर डुङ्गा
जसलाई थाहा छ ऊ कहाँ पुग्नु छ भनेर
एउटा एब्स्ट्रयाक्ट पोखरी हुँदै

केही शब्दहरू साच्चै यति भारी हुन्छन् कि
तिनीहरू डुब्नकै लागि बनेका हुन्छन्
डुङ्गाहरू:
डुबेर पनि डुङ्गा नै हुन्
कागजकै किन न होस् ,
ऊ बिस्तारै डुब्दै गए‌‌ पनि डुङ्गा भएर डुब्छ
कविता भएर होइन ।

मैले कोरेको मसी
मिसिन्छ जलसँग र
स्वो त : बन्छ जल आफैं

मलाई केही भाव र समयहरू बगाउन नै मनपर्छ
किनभने मैले भावनाहरूलाई कहिल्यै
बुझ्ने कोसिस गरिनँ तर उसलाई सधैं टाढाबाट
नियालेर भने हेरिरहेँ,
ऊ एउटा माछो जस्तो देखिन्थ्यो
पानी बाहिर ?
• निसासिने,
पानी भित्र ?
• नाच्ने

म उसलाई माछा नै त बनाउन सक्दिनँ
म त पाजी बेअर्थताको अर्थहरू लेख्ने कवि
म बनाउन सक्छु त केवल डुङ्गा,
कागजको डुङ्गा –
जसले पानीलाई चुम्छ
र जीवन अनि मृत्यु
दुवै त्यतै कतै
भोग्छ मात्र केही मिनेटलाई

कविताको डुङ्गा त कति
विशाल हुँदो हो
सोच्लान् मान्छेहरू !
सोध्लान् माझीहरू ,
तर, अँह —
हावाले मात्र बगाउने डुङ्गा र
माझीले चलाउने डुङ्गामा
विविधता छ ।
कठै कवि,
यदि कागज हल्का
नहुँदो हो त
के पो हुँदो हो ?

कठै कवि,
च्वच्व च्व च्व !!
यदि
कागज
हल्का
नहुँदो
हो

के पो ?
हुँदो हो ?
.’