आवाज बिना के सुनिन्थ्यो हावाको वेग ?


Logo

Sabin Gyawali




चञ्चल छ पिपल
शान्त बर
पातका सुस्केराहरू आकारसँग परिचित छन्
खोचबाट माथि उठ्न नसकेर
थन्किएको झुप्रो कटेरो
यादै यादले निथ्रुक्क
अरुको घरको कमारो हुन तयार




तर,
पौरुष बाँकी थियो र जमानाको
समयको आवश्यकतासँग लडी-घसी गर्न सके !



बाँकी,
आउँ परेको आफ्नो अभिशाप लिएर
नयाँ आकार परेको जमीनमा



न आफ्नो सु:ख देख्न सक्छन्
न हार सँगाल्न

मेरो मूल फुटेर हात ओसाउन लागेपछि
घरमा पसेको भल देख्न सजिलो भो !



बाहिर जमीन चिरा परेर
आँखै अघि खुट्टालाई समेटी
उम्रिएको पानी बगेपछि

थोपाले थोपै देख्यो
धर्तीले ओकलेको पानि
हिजो भर्खर धर्तीले नै पिएको थियो



वेगको बाटो नचिनेपछि
चिच्याएर बोल्नुको विकल्प के ?


पातले घाम छेक्दैमा
बसाईं सराइ गर्नु पर्ने !
समयको आँकलनमा जुनी बिताइदिउँ
या मिसिदिउँ यो रापमा क्षणभर
र राप तापिदिउँ

मधुरो आवाजमा परेली झारिदिउँ
बनोटको बनोट भित्र तिमीले बुनेको त्यो
भुइँको शृंगार



जमीनमा बसेर आकाशतिर हेर्दा
व्यर्थैमा बादल चिर्ने सपनाहरू



साँझको सिम-सिम पानीले
रुखबाट पात झारेर धर्साहरू मेटिदिन्छन्
पल्लो छेउ बसेर हेरी
मुसुक्क मुस्काइदिउँ
म एकान्तमा आफ्नै हलो जोरेर धान रोप्छु ।

***











पाल्पा माडी क्षेत्रमा हुँदा, देखे सुनेका व्यक्तिगत र भौगोलिक जीवनीहरू बिच उब्जेको कविता हो यो । यहाँ राखिएका सम्पूर्ण दृश्यचित्रहरू पनि माडी क्षेत्रकै हुन् ।

©सविन ज्ञवाली