रङ्गमञ्चमा मञ्चसज्जा र वेशभूषाको महत्त्व 


Logo

Sharad


पूर्वीय रङ्गमञ्चको इतिहास खोज्दै जाने हो भने हामी मानव सभ्यताको प्रारम्भ बिन्दुमा पुग्छौं । धार्मिक रुपमा भन्नुपर्दा सत्य युगबाट तथा आधुनिक व्याख्या अनुसार पाषाण युगदेखि नै मानवले विभिन्न समूहहरूमा एकल वा सामूहिक गीत, नाच, अभिनय जस्ता रङ्गमञ्चीय शिल्प प्रयोग गरेर आना कथा र भावनाहरू व्यक्त गरेको पाइन्छ । बिस्तारै शब्द र भाषाको विकाससँगै मानवले आदिम कालदेखि नै आफ्ना कथा, घटना र कल्पनाहरूको दस्ताबेज तयार गरेको देखिन्छ । पछि यिनै आधारमा पूर्वीय रङ्गमञ्चको आधारशिला तयार भएको थियो । मूलतः पूर्वीय रङ्गमञ्च भनेको कथात्मक र कथ्य निर्मित प्रदर्शन हो । 

पूर्वीय लोककथा र परम्परा अनुसार शिवताण्डव नृत्यलाई पूर्वीय रङ्गमञ्चको प्रारम्भ बिन्दु मानेको पाइन्छ भने त्यसकै परिष्कृत रुप भरतमुनिले आफ्नो नाट्यशास्त्रमा चर्चा गरेको पाइन्छ, जसमा अभिनयका विभिन्न रसहरू, रङ्गमण्डपको परिकल्पना र अभिनेता र रस अनुरुपका वेशभूषाहरूको पनि आधारभूत कल्पना गरेको पाइन्छ । पूर्वीय रङ्गमञ्चमा पनि विशेष गरी इसापूर्वको प्रथम सहस्राब्दीमा विकसित भएको रङ्गमञ्च सबैभन्दा पुरातन रुपहरू मध्ये एक हो र यसमा विस्तृत पाठ्य, कथ्य, मूर्तरुप र नाटकीय प्रभावहरू छन् । परम्परागत रङ्गमञ्च विशेष गरेर लोककथा, संस्कृति र पौराणिक चरित्रमाथि आधारित हुने भएको हुँदा आवश्यक रङ्गमञ्च तत्व (मञ्च, नाट्य सामाग्री, वेशभूषा, प्रकाश, पर्दा र मञ्चसज्जा)को पूर्णतः विकास भएको पाइन्छ ।

यसै गरी पश्चिमी रङ्गमञ्चले पनि आफ्नै आरोह र अवरोह पार गर्दै आजभन्दा करिब पच्चीस सय वर्ष अगाडि नै आफ्नो स्वरुप हासिल गरेको पाइन्छ । ग्रीसको खुला रङ्गमण्डप (एम्फिथिएटर) र युरोपभरी हालसम्म पनि विभिन्न स्थानमा पाइने पुरातन रङ्गमण्डप वा तिनका अवशेषहरूले यसको समृद्ध स्वरुपलाई बताइरहेकै छन् ।

खुला रङ्गमञ्च (एम्फिथिएटर)

अब प्रवेश गरौं मञ्चसज्जाको प्राविधिक पक्षतर्फ । कुनै पनि दृश्यचित्रको पृष्ठभूमि देखाउने प्राविधिक पक्षलाई मञ्चसज्जा भनिन्छ । यो आफैमा पूर्ण एकल शब्द होइन ।विभिन्न कलात्मक आयामहरूका तत्त्वहरू मिलेर मञ्चसज्जाको अर्थ पूर्ण हुन्छ । मञ्चसज्जा भित्र दृश्य निर्माण, प्रकाश परिकल्पना, प्रकाश व्यवस्थापन, प्रकाश परिचालन, उपयुक्त वेशभूषाको छनोट, चरित्रको शृङ्गार, मञ्च सामग्रीको निर्माण र व्यवस्थापन, मञ्च व्यवस्थापन, ध्वनि तथा सङ्गीतको रेकर्डिङ, परिचालन तथा व्यवस्थापन जस्ता प्राविधिक कार्यहरू पर्दछन् । कुनै पनि नाटकको कलात्मक धारणा, कलात्मक निर्माण, र कलात्मक प्रदर्शनका लागि मञ्चसज्जाको महत्त्वपूर्ण भूमिका रहन्छ । मञ्चसज्जाका यी विभिन्न पक्षहरू सम्बन्धित विभागका दक्ष परिकल्पनाकार र निर्देशकहरूद्वारा भिन्दाभिन्दै निर्माण भएर मञ्चनको क्रममा एकमुष्ट संयोजित हुन्छन् । मञ्चलाई विभिन्न भागहरूमा बाँडेर एकतर्फी दर्शकदीर्घा, दुईतर्फी दर्शकदीर्घा र खुला मञ्चको माध्यमबाट नाटकलाई दर्शकसँगको सीधा सम्बन्ध स्थापित गरिन्छ । 

वेशभूषा मञ्चसज्जा भित्रको अभिन्न अङ्ग हो । वेशभूषा भन्नाले मूलतः कुनै पनि कलाकारले प्रदर्शनको क्रममा प्रयोग गर्ने कपडा वा शृङ्गार भन्ने बुझिन्छ । नाटकमा वेशभूषाको महत्त्वपूर्ण स्थान रहन्छ । वेशभूषाले कुनै पनि दृश्यचित्र, चलचित्र वा नाटकमा चरित्रलाई स्थापित गराउने काम गर्दछन् । चरित्रको उमेर, उसको लैङ्गिक भूमिका, पेसा, सामाजिक वर्ग, व्यक्तित्व र साथसाथै ऐतिहासिक समय युग, भौगोलिक परिवेश, दिनको प्रहर, ऋतु, मौसम आदिलाई प्रष्ट्याउन वेशभूषाको महत्त्वपूर्ण भूमिका रहन्छ । वेशभूषा र शृङ्गारले कुनैपनि नाटकको सांस्कृतिक, ऐतिहासिक र सामाजिक पक्षलाई सबल बनाउँछ । चरित्र र तिनका भावना र रस अनुरुप विभिन्न रङ्गका वेशभूषा प्रयोग गरेर अमूर्त शैलीमा कलात्मक दृश्य निर्माण गर्न पनि वेशभूषाको भूमिका रहन्छ । 

प्रचलित ग्रामीण वेशभूषा

नेपाली रङ्मञ्चको इतिहासमा हामी विशेषतः धार्मिक र सांस्कृतिक वेशभूषा प्रयोग गरिएको पाउँछौ, त्यस बाहेक केही जनजीवन र गाउँघरमा प्रयोग गरिएका जडौरी कपडाहरूलाई पनि नाटकमा महत्त्वका साथ प्रयोग गरिने प्रचलन छ । हिजो आज वेशभूषालाई बिम्बात्मक शैलीमा प्रयोग गरी रङ्गमञ्चीय प्रकाशको संयोजनको माध्यमबाट वा अन्य हाउभाउको सहायताबाट चरित्रका आन्तरिक भावना र विचारहरुलाई प्रस्तुत गरिन्छ ।

मञ्चसज्जाको अर्को महत्त्वपूर्ण आयामको रुपमा रङ्ग संयोजन र प्रकाशलाई पनि लिइन्छ । कुनैपनि दृश्यलाई अर्थपूर्ण र त्यसको भाव सम्प्रेषण गर्न रङ्गहरूको विशेष भूमिका रहन्छ । रङ्गलाई अर्थपूर्ण प्रयोग गर्ने विधि मध्ये मञ्चसामग्री र तिनमा पर्ने प्रकाशको असर हो । कतिपय अवस्थामा रङ्गमञ्चमा काल्पनिक दृश्य वा  परिवेशको निर्माणमा पनि मञ्चसज्जाका शिल्पहरूको प्रयोग गर्न सकिन्छ । 

गण्डकी क्षेत्रको रङ्गमञ्चको इतिहासको इतिहासमा भने परम्परागत नाचहरू देखाइँदा मञ्चसज्जाभन्दा पनि वेशभूषामा भने विशेष ध्यान दिइएको पाइन्छ । कलाकारहरूले प्रयोग गर्ने कपडा तथा मुखमा गरिने शृङ्गार वा मखुण्डोको स्वरुप विशिष्ट हुने गर्छ । पहाडी र उच्च पहाडी क्षेत्रहरूमा बाहुल्यता रहेका गुरुङ, मगर इत्यादि समदुायका घाटु तथा ब्राह्मण समुदायमा कृष्णचरित्र, बालन भजन र रामलीला र पोखरा उपत्यका तथा बजार क्षेत्रहरूमा बाहुल्यता रहेका नेवार समुदायका विभिन्न जात्राहरूले बिस्तारै नाटक विकासको भुमिकामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसरी खुला स्थानमा गरिने प्रदर्शनीबाट नै बिस्तारै नाटकको विकास हुँदै गएको देखिन्छ ।

Photo: Takayama Ryuzo, 1958

रङ्गमञ्चमा व्यवस्थित रुपमा नाटक गर्न प्रारम्भ भएपछि चाहिँ कलाकारको वेशभूषाका साथमा मञ्चसज्जामा पनि विशेष ध्यान दिन थालियो । विशेष गरी रङ्गमञ्चको पछाडिको पर्दामा गरिने कलाकारिताले दृश्यको परिवेशलाई चित्रण गर्ने पद्धति सुरू भयो । धनशमशेरको सेतो दरबारमा दरबार निकट मान्छेहरूको मनोरञ्जनका लागि प्रदर्शन गरिने नाटकहरूमा खास वेशभूषाको प्रयोग हुन्थ्यो । त्यसमा कलाकारहरूले पहिरिने गरगहनाहरूको पनि विशेष महत्त्व छ । कतिपय गरगहना र कपडा कलाकारहरूले बक्सिसको रुपमा पनि पाउँथे । मञ्चसज्जाको लागि दरबारले नै नियुक्त गरेका मूर्तिकार, चित्रकारहरूका सिर्जना प्रयोग गरिन्थ्यो । विभिन्न बट्टुेदार पर्दाहरू र प्रकाशको रुपमा कलात्मक मइन्टोल र टुकीहरूको प्रयोग गरिन्थ्यो । यो समयमा नेपाली रङ्गमञ्चमा पश्चिमी रङ्गमञ्च अथवा बेलायती शैलीको अप्रत्यक्ष प्रभाव परेको देखिन्छ । त्यो समयमा प्रकाशको रुपमा अनेक किसिमका झाडफानुसहरू र मञ्चसज्जामा पनि भिन्न प्रयोगहरू भएका थिए । खुला मञ्चबाट बन्द मञ्च र दर्शकहरूको उपस्थितिमा पनि फेरबदल भएको पाइन्छ ।

नाटकको पहुँच दरबारबाट विकेन्द्रित भएर सामान्य जनजीवनसम्म आइपुग्दा यसभित्रका रङ्गमञ्चीय तत्त्वहरूमा पनि केही परिवर्तन आएको देखिन्छ । मञ्चसज्जाको लागि कलाकारहरूले स्थानीय स्रोत र साधनहरू प्रयोगमा ल्याएका थिए । दैनिक जीवनमा प्रयोग हुने यथार्थपरक नाट्य सामग्रीहरू र सामान्य चरित्र केन्द्रित वेशभूषाहरूको प्रयोग भएको थियो । खुला चौतारी, चोक र डबलीहरूमा मञ्चको निर्माण गरेर त्यहीं नै नाटकहरुको मञ्चन हुन्थ्यो । यसले नाटकमा फरक भूगोल, संस्कृति अनुसार वेशभूषामा विविधता ल्याएको थियो । पछिलो क्रममा प्रजातान्त्रिक प्रणालीको विकासपछि झनै स्वतन्त्र रुपमा गण्डकी क्षेत्रको नाटक अगाडि बढेको देखिन्छ । विभिन्न ठाउँहरूमा कलाकेन्द्र र नाचघरहरूको स्थापना भएको थियो । 

२०३० को दशकमा क्याप्टेन मीनबहादुर गुरूङद्वारा पोखरामा स्थापित डाँफे कला मन्दिरले रङ्गमञ्चको क्षेत्रमा अतुलनीय योगदान गरेको थियो । गण्डकी क्षेत्रका विभिन्न समुदायले प्रयोग गर्ने वेशभूषाको व्यवस्थित सङ्कलन र तत् तत् समुदायका नाचहरूको प्रशिक्षण समेत यस संस्थाले सञ्चालन गर्थ्यो । त्यसलगत्तै पोखरेली युवा सांस्कृतिक परिवार, युवा नाटक परिवार, प्रतिबिम्ब थिएटर ल्याब लगायतका संस्थाहरूले पोखरेली नाटकको प्रवर्धन र विकासमा योगदान दिएका थिए । यी संस्थाहरूले मञ्चसज्जामा पनि नयाँ प्रयोग गर्दै गएका थिए । यसै प्रसङ्गमा ओम शिव कला मन्दिरले ५० को दशकमा अन्तिम संहार नामक मञ्चमा ठूलो पृथ्वीको प्रतिकृति र पिंजडाहरूको प्रयोग गरेको पनि स्मरणीय छ । 

विश्व रङ्मञ्च दिवस, २००१ | प्रतिबिम्ब थिएटर ल्याब

पोखरामा दीपेन्द्र सभागृह र उद्योग वाणिज्य संघको हलको स्थापनाले ठूलो सङ्ख्याका दर्शकमाझ नाटक गर्न सकिने अवस्था आए पनि ती हलहरू नाटकका दृष्टिकोणले सर्वथा उपयुक्त भने थिएनन् । हालै आएर पोखरा गैह्रापाटनमा पोखरा थिएटरको स्थापनापछि भने पोखरामा व्यवस्थित आधुनिक नाटकघरको अभाव पूर्ति भएको छ । यहाँ मञ्चसज्जाका सिर्जनात्मक प्रयोग गर्न धेरै सहज भएको छ । यसै गरी रङ्गमञ्चको शैक्षिक अवधारणसहित निर्माणधीन ‘हंसध्वनी नाटकघर’ले पनि यस क्षेत्रको रङ्गमञ्चीय गतिविधिमा थप आधुनिकता प्रदान गर्ने आश गर्न सकिन्छ । गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा पनि यस प्रकारका नाटकघरहरूको स्थापनाका लागि प्रयास भैरहेको छ । आशा छ गण्डकी प्रज्ञा प्रतिष्ठानको यस क्षेत्रमा विशेष भूमिका रहने छ । 

यो लेख अन्त्य गर्दै गर्दा म आदरणीय अग्रजहरू सरुभक्त, तीर्थ श्रेष्ठ, स्व. प्रकट पंगेनी शिव, अनुप बराल र प्रकाश घिमिरेप्रति आभार प्रकट गर्न चाहन्छु । साथै यो लेख तयार गर्दा मैले भरतमुनिको नाट्यशास्त्र, अभि सुवेदीको नेपाली रङ्गमञ्चको परिचय, सत्यव्रत राउतको सिनोग्राफी एण्ड स्टेजक्राट र मार्टिन एस्लिनको थिएटर अफ अब्सर्ड भन्ने पुस्तकहरूको सहायता लिएको समेत सूचित गर्छु ।