गिद्धको देश


Logo

मुक्ति


ठूलो सिमलको रुखमा एउटा डंगर गिद्धको परिवार बस्छ । तीन सदस्यीय परिवार बस्ने गुँडमा जोडीसहित उनीहरूको बच्चा छ, जो भर्खर टाउको धान्न सक्ने भएको छ र जसका लागि उसका बाबुआमाले यो गुँड बनाएका हुन् । भर्खर पेट भरेर घाम तापेर बसिरहेको बच्चा घरी गुँडबाट तल हेर्छ, घाँटी तन्काउँछ, पछाडि उसलाई कुरेर बसिरहेकी आमालाई हेर्छ, एकफेर पूरै आकाश हेर्न खोज्छ र पहिले कै जसरी बस्छ । ऊ अण्डाबाट निस्किएको केही दिन मात्रै भएको छ । बिस्तारै उसको शरिरमा पनि प्वाँख पलाउँदै जानेछ, अलि अलि गर्दै हिँड्न अनि पखेटा फटफटाउन सिक्नेछ र एक दिन जिन्दगीको पहिलो उडान भर्नेछ । तर, यो सबै हुन अझै केही महिना बाँकी छ ।

यति बेला भने बाबुआमा र अरु साथीहरू गुँड बाहिर कसरी जान सकेका, उनीहरूका प्वाँख, पञ्जा, ठूँड किन त्यति बलिया, लामा ? मेरा किन कमला, छोटा ? यो गुँड बाहिरको संसार कस्तो होला ? कत्रो होला ? यस्तै यस्तै सोचिबसेको होला । बाइनोकुलरबाट देखिएको गिद्धको परिवार नाङ्गो आँखाबाट हेर्दा अलि पर छ । अरु सिमलका रुखमा पनि केही गिद्ध घाम तापेर बसिरहेका छन् । केही गिद्ध पखेटा फिजाएर आकाशमा हावासँगै बगिरहेका छन् भने केही गिद्ध भर्खर सकिएको भान्छामा रहलपहल खानेकुरा खाँदै छन् ।

दुई वर्षदेखि गिद्धकै वरिपरि घुमिरहेका, उनीहरूको फोटो खिचिदिने साथी बनेका देउ बहादुर रानालाई गिद्धले सामूहिक भोजन ग्रहण गरिरहेको हेर्न, अरुलाई हेराउन, गिद्धका बारेमा आफूले जानेका, देखेका कुरा सुनाउन, गिद्धसँग जोडिएका अरुका अनुभव सुन्न रमाइलो लाग्छ ।

‘नेपालमा पाइने ९ प्रजातिमध्ये ८ प्रजाति यहीँ पाइन्छन् । तीमध्ये ७ प्रजाति अघिको फिडिङमा देखियो ।’ चौरमा बाँकी रहेको खाना खाइरहेका गिद्धतिर हेर्दै उनी भन्छन्, ‘गिद्धले एकपटक पुग्ने गरी खायो भने ५/६ दिनलाई पुग्छ । तर, खाना अगाडि भयो भने खाइराख्छन् पनि । यिनीहरूलाई खाना खाएर घाम तापेर बस्न रमाइलो लाग्छ । केही खानकै लागि बाहिरबाट आउने पनि हुन्छन् । अघि खाएर केही गिद्ध अहिले दाङ पनि पुगिसके । पोखरा, रुपन्देही र भारतबाट पनि गिद्धहरू आइराख्छन् । जाडो छल्न मङ्गोलिया र रसियाबाट गिद्धहरू आउने गर्छन् ।’ 

जटायु रेष्टुरेन्ट

नवलपुरको पिथौलीमा रहेको जटायु रेष्टुरेन्ट गिद्ध संरक्षणमा विश्वकै लागि नौलो अभ्यास हो । सामुदायिक स्तरबाट सञ्चालित यो कार्यक्रम गिद्ध संरक्षणमा प्रभावकारी देखिएपछि विश्वका धेरै ठाउँमा यसको अनुकरण पनि भएको छ । नेपाललाई गिद्ध सुरक्षित क्षेत्र बनाउन जटायु रेष्टुरेन्टको महत्वपूर्ण भूमिका छ, जसको अवधारणा डिबी चौधरीले अघि सारेका थिए ।

यहीँका जंगल र खोलामा गैँडा, बाघ, चराचुरुंगीसँगै खेल्दै हुर्केका चौधरी बच्चा बेलामा आफ्ना साथीहरूसँग मिलेर माछा मार्ने, चरा मार्ने, फलफूल चोर्ने गर्थे । जसले गर्दा कुन चराले कहाँ गुँड बनाउँछ, कुन सिजनमा पाइन्छ सबै कुरा उनले त्यतिबेलै सिके । पछि आफ्नो रोजीरोटी नै वन र वन्यजन्तुसँग जोडिएपछि भने उनको सोचमा परिवर्तन आउँदै आयो । 

‘१९९५ को अन्तिमतिरबाट टुरिजम क्षेत्रमा काम गर्न थालेपछि वाइल्डलाइफको भ्यालु थाहा भयो । त्यसपछि संरक्षण अभियान सुरु गरेँ ।’ चौधरी भन्छन्, ‘बच्चाहरूलाई दुर्विनले चरा देखाउने, समूदायमा वन्यजन्तुको महत्वका बारेमा बताउने गर्ने थालेँ । आफ्नो ठाउँमा कस्ता कस्ता चरा पाइन्छन्, कुनकुन चराको गुँड छ, कुनकुन चरा आगन्तुक हुन्, कुन चरा बढ्दै छन्, कुन चरा घट्दै छन् लगायतका अभिलेख राख्न थालेँ, लेखहरू लेख्न थालेँ ।’

त्यही क्रममा चौधरीले केही गिद्धका गुँड पनि देखे जति बेला विश्वभरी नै हरेक दिन गिद्धको संख्या घटिरहेको थियो । त्यसपछि नेपाल पंक्षी संरक्षण संघ लगायतका केही एनजिओ तथा आइएनजिओको संलग्नतामा त्यहाँका गिद्धको संरक्षका लागि छलफल सुरु भयो । आहाराको कमीका कारण भएका गिद्ध पनि संकटमा रहेको र सबैभन्दा पहिले उनीहरूको लागि सुरक्षित आहाराको व्यवस्थापनमा ध्यान दिनुपर्ने र त्यसका लागि आफूले बनाएको योजनाका बारेमा पनि बताए । 

उनी भन्छन्, ‘म यहाँको लोकल हो, मलाई यहाँको सबै कुरा थाहा छ, परिवेश थाहा छ । फाइनान्सियल र टेक्निकल सपोर्ट चाहिन्छ । ग्राउण्डको जिम्मा म लिन्छु भनेपछि सुरक्षित आहार क्षेत्र निर्माणको लागि काम सुरु भयो ।’ 

‘पहिले मानिसहरू यहाँ गिद्ध पाल्ने ? भनेर मुख बिगार्थे । फोहोर हुन्छ, धुरीमा बस्छ, नयाँ मान्छे आउँछन्, महिलाहरू सुरक्षित हुँदैनन् भन्थे, एकदमै नकरात्मक थिए । गिद्धलाई लिएर मात्र होइन, हामीलाई हेर्ने नजर पनि अर्कै थियो ।’ सुरुका दिन सम्झँदै चौधरी भन्छन्, ‘समिति बनाउनै ६ महिना लाग्यो । सबैलाई गिद्धको महत्वका बारेमा बतायौँ । गिद्ध संरक्षणबाट कसरी हाम्रै भलो हुन्छ भनेर सम्झायौँ । बिस्तारै उनीहरूको सोचमा परिवर्तन भयो । यो कामको पहिलो सफलता त्यही नै थियो । अहिले गिद्धको संख्यामा वृद्धि मात्रै आएको छैन, मानिसको सोचमा परिवर्तन आएको छ । त्यस्तै कार्यक्रम भारत, पाकिस्तान लगायतका विभिन्न ठाउँमा अनुकरण भएको छ ।’ 

सुरुमा ७ प्रजातिका ७२ वटा गिद्ध भेटिएकोमा पछिल्लो पटक सन् २०२३ फेब्रुअरीमा ८ प्रजातिका ५ सय ११ वटा गिद्ध अभिलेख भएका छन् । सुरुमा डंगर गिद्धको मात्रै गुँड भेटिएको थियो भने अहिले सानो खैरो, सुन र गोब्रे गिद्धको गुँड पनि यहाँ भेटिन्छ । गोब्रे गिद्धले तराईको रुखमा गुँड बनाएर अण्डा पारेको पहिलोपटक यहीँ भेटिएको थियो । सन् २००५ मा १७ वटा गुँड थियो भने अहिले चार प्रजातिका ७८ वटा गुँड भेटिएका छन् । 

यी बाहेक हिमाली गिद्ध धरातलीय बसाइँ सरेर आउने गर्छन् भने राज र खैरो गिद्ध जाडोमा रसिया मंगोलिया तिरबाट आउने गर्छन् । नोभेम्बरमा आउने चरा मार्चको अन्तिमसम्ममा गइसक्छन् । यताबाट गएपछि उनीहरू प्रजननको तयारी गर्छन् । त्यस्तै लामो ठुँडे घुमन्ते चरा हो, जुन सन् २०११ मा नेपालका लागि पहिलोपटक यहीँ अभिलेख भएको थियो ।

‘ब्रिडिङ सेन्टरमा हुर्काइएका गिद्धहरू प्राकृतिक बासस्थानमा छोड्नुअघि तीनदेखि छ महिना सफ्ट रिलिज एभिअरीमा राखिन्छ । पछिल्लो पटक गत मार्चमा दशवटा वयस्क गिद्ध रिलिज गरियो । यो सातौँ र अन्तिम रिलिज थियो । योसँगै ब्रिडिङ सेन्टरमा हुर्काएर बाहिर छोडिएका गिद्धको संख्या ६९ पुगेको छ ।’ 

चौधरी भन्छन्, ‘त्यसरी छोडिएका गिद्धमा जिपिएस ट्रान्समिटर र नम्बर जडान गरिन्छ । त्यसरी छोडिएका गिद्ध बाहिर राम्रोसँग घुलमिल भएर बसेको देखिएको छ । केहीले यहीँ आसपास गुँड बनाएर बच्चा कोरलेर उडाएका पनि छन् भने केही जंगी गिद्धसँगै घुलमिल भएका छन्, उतै पार्टनर खोजेका छन् । आहाराका लागि जंगली गिद्ध जस्तै ५०, १०० किलोमिटर सामान्य रुपमा उडेको देखिएको छ जुन हाम्रो लागि सफलता हो ।’ 

जीवन शैली

एउटा गिद्धले एक प्रजनन अवधिमा एउटा अण्डा पार्छ । ७२ देखि ७५ दिन ओथारो बस्छ । बच्चा अण्डाबाट बाहिर निस्किसकेपछि पूर्ण रुपमा हुर्किन झण्डै १ सय २० दिन लाग्छ । पहिलो उडान भर्नुअघि टाउको उठाउने, अलिकति हिँड्ने, हाँगामा जाने, रुखको टुप्पामा जाने, नजिकैको अर्को रुखमा जाने, फर्केर गुँडमै आउने गर्छ र एक दिन खुला आकाशमा उड्न सक्ने हुन्छ । यो सबै प्रक्रियामा उसको अविभावक सँगै नै हुन्छन् । आफै आहाराको लागि जान सक्ने नहुँदासम्म हरेक पटकको भोक बाबुआमाले नै मेटाउने गर्छन् । एउटा आहारा लिन जान्छन् । एउटा उसको आसपास बसिराख्छन् । 

पहिलो उडान भरेको केही समयपछि बच्चा बाबुआमाको गुँडबाट निस्कन्छ । एउटा गिद्ध प्रजननको लागि तयार हुन ४ देखि ६ वर्ष लाग्छ । त्यो बिचको समयमा त्यसरी नै बाबुआमाको गुँड छोडेर आएका किशोर गिद्धहरूको भेट हुन्छ र एउटा समूह बन्छ । खेल्ने, घुम्ने, आहारा खोज्ने काम समूहमै गर्छन् । कहिले रुखमा त कहिले पहरामा रात काट्छन् । 

कहिलेकाहीँ उनीहरूलाई पनि बाआमाको न्यास्रो लाग्छ, जन्मे हुर्केको गुँड सम्झन्छन् र आउँछन् । त्यतिबेला बाआमालाई सुनाउनको लागि उनीहरूसँग धेरैथोक हुन्छ । गुँडबाट गएपछिको पहिलो रातको कुरा, बेस्सरी भोक लाग्दा आहारा नपाएको कुरा, आफ्नै पञ्जा र ठुँड खियाएर पहिलो पटक पेटभरी खाएको कुरा । तर, त्यो समय काटेर आएका बाआमालाई केही सुनाउनै पर्दैन । उनीहरू आफ्नो बच्चाले भोगेको र भोग्न बाँकी कुरा नसुनाए पनि बुझ्छन् ।

हरेकपटक बाआमालाई भेट्न जाँदा उनीहरूको उमेर बढ्दै जान्छ, झन् बढी परिपक्व हुँदै जान्छन् । किशोरावस्था पार गर्दै वयस्क बन्छन्, प्रजनन्को लागि तयार हुन्छन् । सबैले आफ्नो आफ्नो जोडी भेट्छन्, समूह पनि फेरिँदै जान्छ । बाबुआमाको गुँडबाट निस्केका बच्चा आफै बाआमा हुने बेला भएपछि प्रजाति अनुसार रुख या पहरामा सुरक्षित ठाउँ हेर्छन् र गुँड बनाउँछन् । गिद्धले एकपटक बनाएको गुँड मर्मत गरी अर्को पटक पनि पुनः प्रयोग गर्छन् । तर, प्रजनन अवधिमा अवरोध पुग्ने गतिविधि भयो भने बिचमै र यदि त्यो गुँडमा बच्चा हुर्काएर उडाउन सकेनन् भने त्यहाँबाट अर्कै ठाउँमा सर्छन् ।

सबै अनुकुल भएको खण्डमा उनीहरूले अण्डा पार्छन्, बच्चा हुन्छ,  बिस्तारै प्वाँख पलाउँदै जान्छ, पखेटा, खुट्टा दह्रो हुँदै जान्छ । त्यतिन्जेसम्म आफूले निलेर गोजेरोमा राखेको खाना मुखमा निकाली बच्चालाई खुवाउँछन् र एकदिन उनीहरूको बच्चाले पनि गुँड छोड्ने दिन आउँछ । गिद्धले एउटै जोडीसँग जीवन बिताउँछ । साना प्रजाति १५ देखि २० वर्षसम्म बाँच्छन् भने ठूला प्रजातिको औषत आयु ४० वर्षभन्दा बढी हुने गर्छ ।

नाटकिय गिरावट र भल्चर सेफ जोन

तीन दशक अघिसम्म विश्वभरी गिद्धको संख्या अरबमा थियो । १० देखि १६ लाख गिद्ध नेपालका पूर्वदेखि पश्चिम, हिमाल, पहाड तराईका विभिन्न भागमा उडिरहेका, झुण्डमा बसिरहेका देखिन्थे । भारतमा मात्रै झण्डै ५ करोडको संख्यामा गिद्ध रहेको अनुमान गरिन्छ । संख्या धेरै भएकै कारण उनीहरूको गणना या अनुसन्धानमा त्यति ध्यान दिइएको थिएन । सधैं गिद्ध आएर खाने ठाउँमा हप्तौँसम्म सिनो गन्हाएर बस्न थालेपछि, पहाडका पहरा, ठूला रुखमा बसिराख्ने गिद्ध हराउन थालेपछि, आकाशमा गिद्ध देखिनै छोडेपछि वातावरणविद्हरू यो विषयलाई लिएर गम्भिर हुन थाले । 

२१ औँ शताब्दीको सुरुवाततिरबाट अन्तर्राष्ट्रिय स्तरमै गिद्धलाई लिएर छलफल, अध्ययन तथा अनुसन्धान हुन थाल्यो, गिद्धको अभिलेख राख्न थालियो । पछिल्लो एक दशकको अवधिमा ९० प्रतिशतभन्दा बढी गिद्ध हराइसकेका थिए भने बाँकी रहेका पनि प्रत्येक दिन घट्दै नै थिए । भारतमा ९९ प्रतिशतले घटेर गिद्धको संख्या १० देखि १५ हजारमा सिमित भएको थियो । नेपाल र भारतमा मात्रै होइन विश्वभरी नै सर्वत्र देखिने एउटा पंक्षी लोप हुने अवस्थामा पुगिसकेको थियो ।

गिद्धहरू त्यही गर्दै थिए, जुन काम मान्छे(होमो सेपियन्स) अस्तित्वमा आउनुभन्दा अगाडिदेखि गर्दै आएका थिए । उनीहरूको आहारा मरेका जनावरहरूको लास हो । गिद्धको इतिहास खोतल्दै जाने हो भने मान्छेले मान्छेविरुद्ध लडेका युद्धमा मरेका मान्छे र घोडाका लासमाथि गिद्ध भेटिन्छ । 

गिद्धले आफ्नो सामान्य जीवन बाँचिरहनु भनेको प्राकृतिक खाद्य चक्रमा सन्तुलन भइरहनु, मानिस लगायतका अन्य प्राणीले स्वच्छ हावामा सास फेर्नु, विभिन्न रोगबाट बच्नु पनि हो । गिद्धको संख्यामा जसरी गिरावट आइरहेको थियो त्यसले पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका निभाइरहेको, एउटा प्राणी लोप हुने बाटोमा अघि बढिरहेको देखिन्थ्यो । तर, त्यसको कारण पत्ता लाग्न भने समय लाग्यो ।

‘अरु पनि कारण हुन सक्छन् तर भल्चर पपुलेसनमा यसरी नाटकीय गिरावट हुनुको मुख्य कारण गाइवस्तुमा प्रयोग हुने डाइक्लोफेनेक नै हो ।’ पाँच वर्ष नेपाल पंक्षी संरक्षण संघको गिद्ध संरक्षण कार्यक्रम हेरेका खडानन्द पौडेल भन्छन्, ‘२००४ तिर यसको कारण डाइक्लोफेनेक हो भन्ने आइसकेको थियो । यो औषधी यति भयानक थियो कि ३० मि.लि.को एक भाएल प्रयोग गरिएको एउटै सिनोबाट ३ सय ५० देखि ८ सय गिद्ध मर्न सक्थे । त्यसको वैकल्पिक औषधीको रुपमा मेलोक्सिक्याम २००६ मात्र पत्ता लाग्यो । तर, त्यो पशु उपचारमा डाइक्लोफेनेक जत्तिको प्रभावकारी देखिएन ।’

नेपाल, भारत, पाकिस्तान लगायतका देशले सन् २००६ मा डाइक्लोफेनेकमाथी प्रतिबन्ध लगाए । औषधी बनाउने कम्पनी नै बन्द भएपनि त्यसको गैरकानुनी रुपमा उत्पादन र लुकिछिपी प्रयोग हुने क्रम भने जारी नै रह्यो । जसको प्रत्यक्ष असर गिद्धमा परिरह्यो । 

‘डाइक्लोफेनेक प्रयोग नहोस् भनेर हामीले धेरै अवेरनेसका कार्यक्रमहरू गर्यौँ । हरेक जिल्लामा ड्रग कन्ट्रोल गर्ने निकाय हुन्छ, उहाँहरूसँग सहकार्य गर्यौँ । बिस्तारै त्यसको असर देखिँदै गयो ।’ पौडेल भन्छन्, ‘नेपालमा २००२ देखि संरक्षणको काम सुरु भएको हो । यो बिचमा भल्चरका कुन कुन प्रजाति कहाँ कहाँ पाइन्छ, उनीहरूको अवस्था कस्तो छ भनेर अध्ययन गर्ने काम बिसिएनले गर्दै आएको छ । नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समूदाय स्तरको जटायु रेष्टुरेन्ट, चितवनको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्रको स्थापना भयो । कास्की, रुपन्देही, दाङ, कैलालीमा पनि गिद्ध रेष्टुरेन्टको स्थापना भयो । अहिले लोप नै हुन लागेको प्रजातिको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अहिले ७६ जिल्ला डाइक्लोफेनेकमुक्त बनेका छन् । नेपाललाई विश्वको पहिलो भल्चर सेफ जोन बनाउन सफल भएका छौँ । नेपालमा भल्चर कन्जरभेसन प्रोग्रामलाई एउटा सक्सेसफुल स्टोरीको रुपमा लिइन्छ । तर यहाँसम्मको यात्रा तय गर्न निकै गाह्रो थियो ।’

हाल विश्वमा पाइने २३ प्रजातिमध्ये दक्षिण एसियामा पाइने सबै ९ प्रजाति नेपालमा पाइन्छ । ६ प्रजातिले नेपालमा गुँड नै बनाउँछन् । जसमध्ये डगंर, सानो खैरो र सुन गिद्धले रुखमा र हिमाली, हाड्फोर र सेतो(गोब्रे) गिद्धले पहरामा गुँड बनाएर बच्चा कोरल्ने गर्छन् । जसमा केही अपवाद पनि देख्ने गरिन्छ । नेपालमा पाइने सानो खैरो, लामो ठुँडे, डंगर र सुन गिद्धलाई अति संकटापन्न सूचीमा पर्छन् ।

तराईमा सुनसरी, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर पहाडी क्षेत्रमा तनहुँ, पाल्पा, स्याङ्जा, कास्की, लमजुङ, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, जाजरकोट, सल्यान, सुर्खेत, अछाम, डोटी, डडेलधुरा लगायतका जिल्लामा तथा हिमाली भेगमा मुस्ताङको उत्तरी भागमा गिद्धको गुँड भेटिएको छ । 

विद्यमान जोखिम र संरक्षणमा चुनौती

पहिलेको भन्दा धेरै संख्यामा आकाशमा उडिरहेका, रुखमा बसिरहेका, गुँड बनाएका, बच्चा कोरलेका गिद्ध देख्दा झण्डै दुई दशकदेखि यिनीहरूको संरक्षणमा जुटेका चौधरीलाई आनन्द महसुस हुन्छ । तर, आज पनि गिद्ध पूर्णरुपमा सुरक्षित छन् भन्ने अवस्था भने नरहेको उनी बताउँछन् । 

‘दुई वर्षअघि एउटा विष हालेर मारिएको कुकुरलाई खाँदा परासीमा ६९ वटा गिद्ध मरे । जसमा बसाइँ सरेर आएका गिद्ध पनि परे, लोकल गिद्ध, जंगली गिद्ध पनि परे । एउटा स्याटलाइट लगाएर छोडेको जंगली गिद्ध पनि मरेछ । त्यो भल्चर कन्जरभेसनको इतिहासमा कालो दिन हो ।’ चौधरी भन्छन्, ‘त्यो समाचार समयमा थाहा पाएको भए हामीले रेस्क्यु गर्न सक्थ्यौँ । तर, दुई दिनपछि मात्र हामीले थाहा पायौँ जतिबेलासम्म ढिला भइसकेको थियो । सम्बन्धित निकायहरूले आफ्नो भूमिका निभाउन नसक्दा यो दुर्घटना भएको हो । अर्को मुग्लिन-पोखरा बाटोमा एउटा बच्चासहित लोपोन्मुख सानो खैरोको गुँड थियो । पोखरा जाँदै गर्दा देखेर मैले साथीहरूलाई, यहाँ गुँड छ हेर्दै गरौँ है पनि भनेको हो । केही दिनमा बाटो फराकिलो बनाउने भनेर रुख काटिएछ । बच्चा उड्न धेरै दिन बाँकी थिएन । यी बाहेक बिजुलीको तारमा परेर पनि गिद्ध मरिरहेका छन् । हिजोको चुनौती फरक थियो गिद्धको बारेमा, मान्छेलाई बुझाउनुपर्ने थियो । उनीहरूको गिद्धलाई लिएर जुन धारणा थियो त्यो फेर्नुपर्ने थियो । केही हदसम्म सफल भएका हौँ । अझै धेरै मान्छेलाई बुझाउन बाँकी नै छ । यसलाई कसरी दिगो बनाउने भन्ने आजको मुख्य चुनौती हो ।’ साथै सरकारको अदूरदर्शी सोच पनि गिद्ध संरक्षणमा बाधा बनेको उनी बताउँछन् । 

डाइक्लोफेनेकको प्रयोगमा कमी आए पनि गिद्धका लागि हानिकारक अरु औषधी अहिले पनि प्रयोगमा रहेको पौडेल बताउँछन् । उनी भन्छन्, ‘डाइक्लोफेनेको विकल्पको रुपमा जुन औषधी प्रयोग भइरहेको छ, त्यो पनि भल्चरको लागि हानिकारक देखिएको छ । जसलाई ब्यान गरिएको छैन । बजारमा छ्यापछ्याप्ती पाइन्छ र प्रयोग पनि उत्तिकै भइरहेको छ ।’ 

पछिल्ला वर्षहरूमा गिद्धको प्राकृतिक वासस्थान प्रभावित हुँदै गएको र त्यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । गिद्ध संरक्षणमा जटायु रेष्टुरेन्टको महत्वपूर्ण भूमिका भए पनि यो मात्र पर्याप्त नहुने चौधरी बताउँछन् ।

‘नेपाल सरकारको लिगल सहयोग, बिसिएन लगायतका एनजिओ, आइएनजिओहरूको आर्थिक तथा प्राविधिक सहयोग तथा व्यवस्थापनमा समूदायको सहयोगले गर्दा नेपाल गिद्ध संरक्षणमा विश्वमा उदाहरणीय बनेको हो । यो बाहेक मिडिया, भेटेनरी, लोकल गोभरमेन्ट, निकुञ्ज लगायतका धेरैको हात छ । तर, सबै ठाउँमा यसरी रेष्टुरेन्ट नै खोल्न सम्भव छैन ।’ उनी भन्छन्, ‘पहिले मरेका गाईवस्तु खोलाको छेउमा अथवा कतै फाल्ने चलन थियो । अहिले पाल्न पनि छोडे, पालेको पनि गाड्ने चलन आयो । एक आहारामा कमी आयो, अर्को उपलब्ध आहारा पनि प्राणघातक भए । उनीहरूको लागि कुनै व्यवस्थित ठाउँमा सुरक्षित आहारा राखिदिए मात्रै पनि संरक्षणमा प्रभावकारी हुन्छ, दिगो पनि हुन्छ । यसका लागि सबैको समन्वय हुन जरुरी छ । सबै जोखिमको कारण मान्छे नै हो । मान्छेले नै यसलाई ठिक गर्ने प्रयास गर्नुपर्छ ।’

Photo: The National Trust for Nature Conservation (NTNC)

गिद्ध भएन भने ? 

गिद्ध यस्तो प्राणी हो, जो शिकारी वर्गमा परे पनि आफू भने शिकार गर्दैन । गिद्धलाई लिएर बनेका कतिपय उखान र भाष्य उनीहरूको स्वभावसँग मेल खाँदैन । 

‘गिद्ध एकदमै शान्त चरा हो । कसैलाई आक्रमण गर्दैन । गाइ, भैँसी या कुनै पनि जनावर आफ्नो अन्तिम अवस्थामा लडिरहेको छ भने पर बसेर हेर्छ तर त्यसको प्राण नजाने बेलासम्म त्यो जनावरलाई छुँदैन ।’ जटायु रेष्टुरेन्टमा कार्यरत राना भन्छन्, ‘आफ्नो खाना खाँदा गिद्धलाई फोहोरी, घिनलाग्दो चरा भनिन्छ तर गिद्ध भएन भने हाम्रो वातावरण फोहोर हुन्छ, घिनलाग्दो हुन्छ, रोग फैलिन्छ ।’ आफ्नो खाना खाइसकेपछि गिद्धले आफूलाई आफ्नो शरीर सफा गर्ने गरेको देखेका राना गिद्धलाई फोहोरी भन्दा पनि सफाइ मनपराउने प्राणीको रुपमा हेर्छन् । एक अध्ययनका अनुसार एउटा गिद्धले सिनो सफाइमा ११ हजार अमेरिकी डलर बराबरको योगदान पुर्याउँछ । दश गिद्धले, सय गिद्धले, हजार र लाख गिद्धले वातावरण स्वच्छ राख्न कस्तो भूमिका खेल्न सक्छ ? र भएकामध्ये ९९ प्रतिशत गिद्ध हराउँदा प्रकृतिमा पर्ने असर कस्तो हुन्छ ? अनुमान गर्न सकिन्छ ।

गिद्धको संख्यामा ह्रास आएसँगै भारतमा मुसाको संख्यामा वृद्धि भएको, कुकुर, स्याल जस्ता जनावरले सिनो खाएर प्लेग, रेबिज, हैजा जस्ता रोग फैलिएको थियो । यस्ता घटना विश्वका विभिन्न ठाउँमा देखिँदै छन् । चौधरी भन्छन्, ‘गिद्धले खाएन भने गाइ भैंसी एक महिनासम्म पनि गन्हाउन सक्छ, विभिन्न रोग फैलन सक्छ । जसले मान्छेको लागि मात्र होइन अन्य धेरै प्राणीको जीवनमा नकरात्मक प्रभाव पार्न सक्छ । यो पृथ्वी सबैको लागि हो र हाम्रो व्यवहारले अरुलाई असर पारिरहेको छ भन्ने कुरा मान्छेले बुझ्न जरुरी छ ।’

गिद्धका गीत

त्यो बेला गुँडमा बच्चा छोडेर आहारा लिन गएका लाखौँ माउ तथा बाउ गिद्ध गुँडमा फर्केनन् । कति विषाक्त आहारा लिएर फर्किए र परिवार नै नासिए । त्यो काल काटेका थोरै वयस्क गिद्ध अहिले जीवनको उत्तरार्धमा छन्, थोरै पखेटा पलाउँदै गरेका बच्चा अहिले परिपक्व बाबुआमा भएका छन् । केही चल्ला हुर्काए, उडाए, केही गुमाए पनि होलान् । 

अहिले पनि कुनै वयस्क गिद्ध आफ्नो पहिलो गुँडको लागि पहिलो सिन्को उठाउँदै होला, कुनै बच्चा गिद्धले पहिलोपटक आँखा हेर्दै होला, कुनै गिद्ध पहिलोपटक उड्ने प्रयास गर्दै होला, कुनैले भर्खरै आफ्नो जोडी भेट्यो होला, कुनै गिद्ध करेन्ट लागेर मर्यो होला, कुनै गिद्धको गुँड भएको रुख भर्खरै ढल्यो होला, आफ्नै विगत र आजका सम्भावित खतराबाट बेखबर एउटा गिद्ध पहाडबाट आहाराको लागि तराईतिर झर्दै होला र मनमनै गुन्गुनाउँदै होला एउटा गीत जुन गीत उसको मनमा आफै उम्रियो, जसरी पृथ्वीमा उम्रिएका थिए वर्षौं पहिले उसका पूर्खा ।

संसार हाम्रो त्यत्रै जत्रो छ यो आकाश
देश हाम्रो त्यही जहाँ फेर्छौँ सास
चिल साथी, काग साथी 
मान्छे अनि हात्ती साथी
देश हाम्रो एउटै
सबै हामी देशवासी
सुन्दर हाम्रो संसार जति पुग्यो माथि-माथि
सुन्दर हाम्रो देश असल हाम्रा देशवासी

***

(यो लेख लेखकले २०७९ साल चैतमा तयार पारेका हुन् ।)