एउटा अफ्रिकी उखान छ, “When an old man dies, a library burns to the ground” । एक उतार्दको जीवनले धेरै कथा, भाव र अभिव्यक्ती संग्रहीत गरेको हुन्छ । या भनौं हाम्रो आफ्नै चलनचल्तीको उखान छ, “कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको ।” व्यक्ति समाजको अंश हो भने कथन समाजको उपज । यी दुई कुरा चिरस्थायी हुन्छन् । हामी किन यी कुरा गर्दैछौँ भने नाटक ‘काँचो धागो’ यी कुरालाई महसुस गर्ने र भावहरू सँगाल्ने उत्कृष्ट उदाहरण हो । यतिबेला राजधानीको टेकुस्थित कौसी थिएटरको नाटकघर ‘कथा घेरा’मा बौरादी गाउँपालिका वडा नं २ कपासे डाँडा सिङ्गै गाउँको कथा मञ्चन भइरहेको छ । नाटक मुक्तिले लेखेका हुन् भने नाटकलाई आशान्त शर्माले निर्देशन गरेका छन् ।
गण्डक क्षेत्रमा पहिलेदेखि नै ठाडो भाका, बालन र घाटु प्रचलित नृत्य र कथावाचनका रूपमा प्रस्तुत गरिने रिती हुन् । उच्च पहाडी भूभागमा पहिलेदेखि नै रहेका गुरुङ, ब्राह्मण, क्षेत्री, शिल्पी आदि समुदायमा विशेष साझा परम्परा हो, ठाडो भाका । विशेषगरी मनोरञ्जनात्मक संस्कृतिको रूपमा विकसित ठाडो भाका लाहुरेहरू आउँदा जाँदा, चाडपर्वहरू हुँदा विशेष दोहोरीको रुपमा रातभर गाइन्छ । जीवनका कथा, व्यथा, सपना, रहर, अनेक भावमा बुनिने ठाडो भाका कति युवा युवतीको प्रेमको अभिव्यक्तिको माध्यम पनि हुन्थ्यो ।
नाटक यस्तै दृश्यबाट सुरु हुन्छ । कुनै समय दोहोरी गाउँदागाउँदै अन्तरजातीय विवाह गरेर कपासे डाँडा आएकी लाउर्नी आमै मनमाया नै यो नाटककी सूत्रधार हुन् । मुख्य सूत्रधारको रूपमा लाउर्नी आमाको कथाले सम्पूर्ण गण्डक क्षेत्रका ग्रामीण जीवनको सुन्दर दृश्यमा पुर्याउँछ । ग्रामीण जीवनका सुख-दुःखसँग परिचय गराउँछ । बिस्तारै उजाडिदै गएको ग्रामीण जीवन, सुख्खा हुँदै गएका खोलानाला, बढी रहेको वनजङ्गल र वन्यजन्तुको सन्त्रास, उमेर ढल्किदै गएका जोवन र उनीहरूको एक्लोपन, विदेसिएका सन्तान र उनीहरूको पर्खाई, मानव र पशुपंक्षीको सह-अस्तित्व, पर्यावरणको चिन्तन, धेरै कुराहरूसँग परिचय गराउँछ नाटकले । नाटकका सुन्दर पक्षहरूमध्ये सबैभन्दा सबल पक्ष नाटकको परिकल्पना र लेखाइ नै हो । गण्डक क्षेत्रमा प्रयोग हुने भाषा लवज र आञ्चलिकतामा नाटक सुन्दर ढङ्गले लेखिएको छ । नाटकका घटना र परिवेश मौलिक छन् । कथाले दर्शाउन खोजेका दृश्य प्रष्ट र सुन्दर छन् । देश संघीयतामा पुगेपछि त्यसको संरचना ग्रामीण जीवनमा कसरी पुगेको छ र आधुनिकताको छायाँले ग्रामीण जीवनयापनमा पारेको असर नाटकमा देख्न पाइन्छ ।
‘काँचो धागो’ नाटक कुनै एक धागोको मात्र कथित परिदृश्य नभएर, कपासको पोकोबाट बाती काट्न समयक्रममा घर्षण गरिरहेका दुई औंलाहरूको ठाउँको कथा हो ! आफूलाई लेखक जो मानवशास्त्री भएर लेख्न रुचाउँछ भन्ने अमेरिकी मानवशास्त्री क्लिफर्ड गियर्ट्स भन्छन्, “मानिसहरूको संस्कृति बुझ्नु, उनीहरुको विशेषतामा ह्रास नल्याइकनै उनीहरूको सामान्यपनलाई देखाउनु हो…. यसले उनीहरूलाई पहुँचमा निकाल्छ: उनीहरुलाई उनीहरुकै सामान्यताको मानचित्रमा राखेर अस्पष्टता घुलाइदिन्छ !” फरक पर्दैन यो भन्नु कि मानवशास्त्रका विद्यार्थी मुक्ति, अभिनय गर्ने लेखक हुन्, जसले मानवशास्त्रलाई यी दुई माध्यमबाट प्रस्तुत गरेका छन् ! नाटकमा मुलत: अहिलेको समयमा मुद्दा बनेर बसेका विषयहरू जस्तै ‘पानीको मूल सुक्नु, बाँदर आक्रमण र बाँदरको व्यवस्थापनमा सरकारको चासो, गाउँबाट शहर र विदेश पलायन हुनु’को बारे हल सहितको मार्ग लिनै पर्छ भन्ने महत्वकांक्षा नबोकिकनै लाउर्नी आमाको कथाको त्यान्द्रोबाट गाउँ देखाएर थप विचरण गर्न आग्रह रहेको छ ।
पानीको मुल सुकेको सन्दर्भ ‘प्रेम’ले भित्र्याउछन् त लाउर्नीले घाइते बाँदरलाई पानी नै पिलाउछिन् ! ‘ठूला’ बाँदर मार्न लागिपरेका छन् त प्रेम र लाउर्नीले बेलाबेला “बाँदरले पनि के खाउन्?” भनेर समस्यालाई सामान्यीकरण गरिदिन्छन् । लाउर्नी र ठूला गाउँ छाडेर जानेहरूको सम्झनाको प्रतिनिधि गर्छन् त लाउर्नी आफैं बुहारीलाई “म गएपछि तँ नि शहर झरेस् है !” भनेर बढ्दो बसाईसराई बीच गाउँ सम्झिनुको पछाडि लाउर्नीको पुस्ताको जीवनी रहेको बोध पनि गराउँछिन् । सारा गाउँ बढ्दो बसाईसराई बीच बाँदर आक्रमणको विपक्षमा छ त, लाउर्नी र बाँदरको प्रस्तुत प्रगाढ सम्बन्धले पनि नाटकलाई कि बाँदर कि गाउँको पक्ष लिन लालायित गर्दैन । समाजको चित्रण गर्न सक्ने क्षमता नै यो नाटकको कलात्मक पक्ष हो । तसर्थ यो नाटक जति महत्वपूर्ण आफ्ना बुवा-आमालाई देखाउनु, गाउँ-ठाउँमा हुर्केकालाई देखाउनु र शहरमा जन्मे हुर्केकालाई नेपालको अधिकांश जनसंख्या बस्ने गाउँ-ठाउँ देखाउनुमा छ, त्यतिनै अहिलेको समयमा उत्तिकै महत्व बोकेको यो नाटक सरकारी संयन्त्रमा रहेका कर्मचारी, मुद्दाको पक्ष/विपक्षमा बोल्न अग्रसर लेखक, साहित्यकार र एन.जी.ओ’कर्मीहरूले हेर्नुमा छ ।
नाटकलाई दुई पक्ष: कथा र कथाको नाट्यकरणको रुपमा पनि हेर्नु आवश्यक हुन्छ । ‘काँचो धागो’को प्लेबिलमा मुक्ति लेख्छन्, “रंगमञ्जमा छिरेदेखि नै नाटक लेख्ने इच्छ्या जागेको हो ! एक हिसाबले त्यो पूरा भएको छ तर, यो नाटक मेरो भन्दा पनि कथाका पात्रहरूको लागि प्रेरणा बन्नेहरूको हो !” नाटकमा पनि पश्चिम पहाडका गाँउलेहरू नै देखिन्छन्, जो गाँउकै जिजीविषामा भूलेका छन् । बुढाबुढीहरू कपासको धागो जस्तै आयु बोकेर, गण्डकीजस्तै सुस्ताउँदै, विगतलाई सम्झिदै, एक्लै घर कुरिरहन्छन् । जवानहरू तास खेलेर, गाँउलाई नै सरापेर गाउँमै दिन काटिरहन्छन् । नाटक हेर्नेहरूले कुनै न कुनै पात्रमा आफ्नाहरूलाई भेट्टाँउछन् नै ।
नाटकको ड्राफ्ट पढ्ने अवसर पाएका हामीले नाटकले कथालाई न्याय गरेको पायौँ । अझ भनौं निर्देशक र सम्पूर्ण टोलीले नाटकलाई जीवन्त बनाइदिएका छन् भने मुख्य बाँदर, लाउर्नी, ठूला, इशु, बुहारीका पात्रहरूको उत्कृष्ट अभिनयले नाटकलाई झन् रङ्ग थपिदिएको छ । लेखक मुक्तिका अनुसार प्रेरणा बन्नेहरू गाउँका वास्तविक व्यक्तिहरू हुन्, त्यसैले त नाटकका कलाकारहरूले अभिनय गर्दा अभिनेता र कथा/वास्तविकताको स्मृति दुवै दर्शकका मानसपटलमा हुन्छन् । नाटक एकैपटकमा मनोरञ्जन पनि हो र सत्यको अन्वेषणमा यथार्थको समालोचना पनि । यस कथामा माथि उल्लेखित विषयवस्तुमध्ये कुनै पनि मुख्य रुपमा मनोरञ्जनात्मक नरहेको कुरा ज्युनार छ । एउटा गाउँ/समाजले आफैंमा गुणात्मक हिसाबले मनोरञ्जन बोकेको हुन्छ, जुन यो नाटकको समाजशास्त्रीय विशेषता पनि हो । जस्तै: नातिनी गाउँमा आउदा लाउर्नी (हजुरआमा)ले “खुट्टी देऊ” भन्दै खुट्टा ढोग्न माग्दा नातिनीले नदिइकनै गालामा म्वाईं खानु र आफ्नी आमा (मम्मी)लाई जिस्किँदै खुट्टा ढोग्न दिनु र उसले ढोग्नु । “थु..थु..थु…थुल्बा… —थुक्लास् फेरि ।” जस्ता दृश्य र त्यसमा आउने दर्शकहरूको हाँसो जति सरल छ र परिदृश्यको ध्येय दर्शक ‘हँसाउनु’भन्दा बढी ‘घटना हुनु’मा केन्द्रित छ त्यति नै बाँस्तारेको हाउभाउ र उनले गाउने मेल्वा देवीको गीत “रेलैमा”को ध्येय ‘हुनु’भन्दा बढी ‘हँसाउनु’मा केन्द्रित छ । दर्शकमाझ पुर्याउनै पर्ने आवश्यकताले इंकित गरेको अभिव्यक्ति, दर्शकहरूको गलल्ल हाँसोसँगै फुकेर अल्ली बढी कान नसुनेका ठूला, अल्ली धेरै गोज्याङ्ग्रो देखिएका गाउँलेहरू र बाँस्तारेको पात्रले दर्शकतिर फर्केर देखाइरहेको अल्ली धेरै हाउभाउ: अवश्यम्भावी प्रतिक्रिया (धेरैजसो हाँसो)को सम्भावानात्मक आतुरीमा दर्शकबाट गुञ्जेको हाँसो झन् बढाएर नाट्यकर्मी आफैं नाटकको मिहिनताबाट फुत्केर दर्शकसँग बसेर आफ्नै नाटकलाई नै हेरिरहेको भन्ने विरोधाभास महसुस हुन्छ ।
सामाजिक यथार्थको कथावस्तुले जति मजाले आफूलाई नाटकमार्फत देखाएको छ, गाउँको नाटक शहरमा ल्याई गाउँ नभोगेका/फरक ठाउँमा हुर्केकामाझ देखाउँदा कति नाटकीय बनाउनुपर्ने हो भन्ने कुराले नाटकलाई प्रभावित राखेको छ । यसरी हेर्दा त नाटकले दर्शकदीर्घासँग राखेको अपेक्षा अनुरुप नाटकलाई अल्ली धेरै नाटकीकरण गर्न पर्नु फेरि नाटक-मञ्चनको सामाजिक यथार्थ नै हो । दर्शकलाई समाएर राख्नु पर्ने आवश्यकता नाटकको पारिश्रमिक र खर्चसँग सिधै जोडिन्छ । तर त्यसो भन्दैमा के कुनै सामाजिक यथार्थलाई उस्तै रहिरहने नैसर्गिक अधिकार छ त ? यो प्रश्न नाटकका कथाकार र निर्देशक दुवैलाई लक्षित हुन्छ । मुक्तिको नाटक ‘काँचो धागो’ र त्यस्तै निर्देशक र समग्र टोलीलाई कथाको न्यान्यिक अभिव्यक्तिमा धेरै समयदेखिको रुखो खेतमा थोपाको भूमिका खेलेकाले, त्यसलाई हामी थोपा हुनु र त्यो पनि पर्याप्त हुनु, दुबैको आधारमा अब्बल मूल्यांकन गर्छौँ । तथापी नाटक प्रथमत: एउटा अभिव्यक्तिको भाष्य भएकाले, लेखक, नाट्यकर्मी र निर्देशकले पनि आफ्नो मुल्य/खोजमा एकचित्त रहेर यो सामाजिक स्थिति पनि समयकै उपज हो र परिवर्तनशील समयसँग बदलिँदो सत्य र यथार्थको खोजीमा अघि बढ्नु हुनेछ भन्ने आशा राखेका छौँ । बदलिँदो यथार्थमा टड्कारो असन्तुष्टिलाई चिथोरेर आफ्नो अभिव्यक्ति र भाषा अझै सफा र सरल रुपमा प्रस्तुत गर्न तिर लाग्नु पर्नेछ ।
‘काँचो धागो’ले उठाएका विषयहरू समयको इतिहासमा सहजै आफ्नो स्थान ओगेट्न सफल भएका छन् । पानी, बाँदर, रित्तिदो गाउँ, पर्खिरहेकी आमा आजका अग्रसर विषय हुन् भने लाउर जानु, रोधीको समाज, अन्तरजातीय बिहेहरू उसबेला आफ्नो स्थान ओगटिसकेर समयमा रहिआएका हुन् । नाटक विगतको नभएर वर्तमानको हो । यी विषयहरू आफैं आउने समयमा पुनर्उत्पादित हुने विषयहरू भएकाले, यस नाटकलाई आउने समयले आफैं मूल्यांकन गर्नेछ । नाटकको अन्त्य नाटकको पूर्ववर्ती लयभन्दा केही ‘नाटकीय’ लाग्छ तर घटनाको अन्तरमेल र संगीतले नाटकलाई कथार्सिसमा टुंग्याँउछ । नाटक सकिँदासम्म यस्तो लाग्छ कि लामो समयदेखि मडारिइरहेको कालो बादल बर्सियो । थिएटरबाट निस्कँदा मन एकैटपक हलुङ्गो र गह्रौंगो हुन्छ ।