‘नवाजुद्दीन सिद्दिगी’लाई पाएर ‘मण्डला’ले के गुमायो ? 


Logo

Ritesh


Sushil Tamang/Mandala Theatre Nepal

भाद्र २४, सोमबारको दिन, ‘मण्डला थियटर नेपाल’ले आफ्नो ओफिसियल पेजमार्फत एउटा पोष्ट गर्यो, बलिउड अभिनेता ‘नवाजुद्दीन सिद्दिगी’ र निर्देशक ‘अनुराग कश्यप’ सँगको छोटो अन्तरक्रिया कार्यक्रम साँझ ४:३० बाट सुरू हुने सूचनासहित । यसरी लगभग दुई घण्टाअघि आएको आकस्मिक सूचनाले गर्दा हामीले सजिलै अनुमान लगायौँ, कार्यक्रमको तय पक्कै अन्तिम समयमै भएको हुनुपर्छ । 

उक्त सुचना अनुसार सबै दर्शकहरूलाई प्रवेश नि:शुल्क थियो । हामी पनि ‘अनुराग’ र ‘नवाज’लाई भेट्न तथा आफ्ना केही जिज्ञासा राख्न फुरूङ्ग पर्दै मण्डला पुग्यौँ । दर्शकहरू अत्याधिक रूपमा आउँछन् भन्ने हामीलाई थाहा थियो । त्यसैले सिट नपाइने डरले हामी तीन बजेनै पुगेका थियौँ, कार्यक्रम स्थल । हामी बाहेक त्यहाँ आधा दर्जन मात्र दर्शक आइपुगेका थिए । हामी ढुक्क थियौँ, सिट पाउँछौँ भनेर । केही समय चिया पिउँदै ढोका खुल्ने प्रतीक्षामा बस्यौँ । 

बिस्तारै मान्छेहरू थपिदै गए । हेर्दा हेर्दै दर्शकहरूको बाढी ओर्लिएको थियो । त्यति धेरै दर्शक मण्डलामा सायदै कहिले आएका थिए । अहिलेसम्म नाटक नहेरेका, नाटक-घर नपसेका मान्छेहरू पनि आएका थिए, ‘नवाज’को एक झलक हेर्न । एक पत्रकार मित्रले हामीलाई कार्यक्रम सुरू हुनुभन्दा एक घण्टा अघिनै अवगत गराएको थियो, “हल आधी जति भरिसक्यो । ढोकामै उभिनु है, नत्र सिट पाइदैन ।” आधा जति मान्छे भित्र पसिसके ? कहाँबाट ? कसरी ? को-को ? हामी त अगाडि नै बसिरहेका थियौँ, ढोकालाई ताकेर ? ढोका खुलेकै थिएन । हामी पनि हत्तपत्त ढोकामा टांसिदै उभियौँ । त्यसपछि दर्शकहरू एकएक गर्दै सबै आ-आफ्ना लहर बनाएर उभिन थाले । यसरी ढोकाअगाडि पाँच-छवटा लहर भए । दर्शकको भीड भर्याङ्गसम्मै तन्किएको थियो । 

बलिउड स्टारलाई देख्न पाउने आशमा सबै दर्शकहरू उत्साहित देखिन्थेँ । हामीले सोचिरहेका थियौँ, लगभग १८०-२०० जनाको क्षमता भएको मण्डला थिएटरले यति धेरै दर्शकहरूलाई कसरी व्यवस्थापन गर्ला ? सायद केही समयपछि कार्यक्रमको बारेमा हामीलाई केही जानकारी दिइनेछ अथवा केही न केही व्यवस्था पक्कै गर्नेछ । यतिकै कार्यक्रमको आयोजना गर्ने हिम्मत त किन गर्ला र ?  

साढे चार बजेबाट कार्यक्रम सुरू हुने भनिएता पनि ढोका खोल्ने छाँटकाट देखिएन । दर्शकहरूको चाप झनै बढेको थियो । हामी सबै नारा, हुटिङ्ग लगाउन थाल्यौँ, उत्साहित हुँदै । माथि रेलिङ्गमा मण्डलाका कर्मचारीहरू, पत्रकार तथा कलाकारहरू पालैपालो आउने-जाने गरिरहे । त्यहाँबाट उनीहरूले हामी लहरमा उभिएका दर्शकहरूको फोटो, भिडियो रमाइलो मान्दै खिच्न थाले । यस्तो लाग्थ्यो, हामी चिडियाखानामा कैद भएका जनावरहरू हौँ, जसलाई उनीहरू हेर्न आएका हुन् । हामी मजाकको पात्र भइरहेका थियौँ । 

बेलाबेला ढोका खुल्थ्यो । मण्डलाले आफ्ना मान्छे पसाउँथ्यो, लुसुक्क । हामी जिल्ल पर्थौँ । हामीलाई लाग्थ्यो, व्यवस्थापनका मान्छेहरू होलान् । भनेको समय भन्दा धेरै पर पुगिसकेको थियो, समयको काँटी । दुई घण्टा भइसकेको थियो, उभिएको । हाम्रो धैर्यता सकिदै गइरहेको थियो । हामी पसिनाले भिजिसकेका थियौँ । बिस्तारै सबै आक्रोशित हुँदै गइरहेका थिए । 

केही समयपछि ‘नवाजुद्दीन सिद्दिगी’ च्यापिदै आए, मण्डलाका कर्मचारीबीच । भीडले उग्र रूप लिइसकेको थियो । त्यस्तो हुलको बाटो किन ल्याएको ‘नवाजुद्दीन’लाई ? किन अर्को (तलको) बाटो प्रयोग नगरेको ? नवाजुद्दीन आफैं भीडमा च्यापिएका थिए । उनी धक्का मुक्की खाँदै सकसले ढोकाबाट भित्र पसे । के हामीलाई उनको झलक देखाउन मात्र ल्याएको त्यस्तो हुलमा ? हामीलाई नवाजको अवस्था देखेर माया लाग्यो र मण्डला देखेर दया । ‘अनुराग’ स्वास्थ्य समस्याले गर्दा अनुपस्थित भएको जानकारी हामीले पछि पायौँ ।

लहरको अघि रहेका केही युवतीहरू नराम्रोसँग च्यापिएका थिए । उनीहरू पीडाले रोइरहेका थिए । तर कसले सुन्ने ? केही भएको भए के हुन्थ्यो ? के मण्डलालाई थाहा छैन ‘नवाजुद्दीन’ को हुन् भन्ने ? उनका फ्यान तथा प्रशंसकहरू नेपालमा कति छन् भन्ने ? किन मण्डलाले टिकटको व्यवस्था गरेन ? लौ, टिकट सकियो, नवाजलाई देख्न पाइएन भनेर आफ्नो मन बुझाउँदै फर्किन्थ्यौँ होला । किन मण्डलाले अनलाइन रजिस्टर्ड प्रणाली अपनाएन ? ए, सबै बुक भइसकेछ भनेर चित्त बुझाउँथ्यौँ होला । आज मात्रै मण्डलाले माफी माग्दै सामाजिक सञ्जालमा लेखेको थियो, ‘सुरूमा आउनेलाई मात्र सिटको व्यवस्था थियो भनेर’ । हामी त सुरूमै आएका थियौँ । ढोकामै टांसिएर उभिएका थियौँ । त्यसोभए हामीले प्रवेश किन पाएनौँ ? 

कार्यक्रम सुरू हुने मात्र एक-दुई मिनेटमा हामीलाई भनिन्छ, ‘अब भित्र १५ जनालाई मात्र सिट छ ।’ अनि त्यति धेरै दर्शकलाई चाहिँ के ? किन सुरुमै भनिएन, हल भरिसक्यो भनेर ? दुई घण्टा पसिनाले लुछुप्पै भएर भीडमा च्यापिदै बस्ने रहर कसलाई हुन्छ ? के हाम्रो समय र प्रतीक्षाको कुनै मूल्य छैन ? किन पूर्व जानकारी गराइएन, ‘कार्यक्रम मात्र पत्रकार, कलाकार, त्यहीँकै कर्मचारी तथा आफ्ना मान्छेहरूका निमित्त मात्र हो भनेर ?’ 

आक्रोशित भएका दर्शकहरूले मुख छाड्न थाले । माहोलको तापक्रम झन् बढ्न थाल्यो । त्यही १५ जना हुने लहडमा भागदौड मच्चियो । बल हुने तछाडमछाड गर्दै भित्र पसे । हामी जस्तै त्यहाँबाट सयौं दर्शक फर्किए, तितो स्वाद लिएर । नवाजुद्दीनलाई देख्न, भेट्न पाएनौँ भनेर कुनै गुनासो, दु:ख छैन । तर, मण्डलाले गरेको व्यवहार र कमजोर व्यवस्थापनले हामी सबै निराश भयौँ । 

‘नवाजुद्दीन सिद्दिगी’लाई मण्डलाले बोलाएर के-के प्राप्त गर्यो, थाहा छैन । तर, मण्डलाले धेरै थोक गुमाएको छ ।