“….. अर्जु………….न………. !”
यस्तो पुकार, जहाँ अत्त्याहट र भय मिसिएको छ, इन्द्रेणीमा रङ्गहरूझैं । प्रत्युत्तरमा खोलाले सुसेली फुकिरहन्छ, एउटा भयावहको सम्भावना बोकेर ।
म ‘प्रवीण’तिर फर्किन्छु, केही आश्वासनका थोपा आँखामा जमाएर । उसको अनुहारले रातको रङ्गलाई चोरेको हुन्छ । उसको भयभीत आभाले म झनै खुम्चिन थाल्छु । म ‘शरद’माथि आफ्ना नजर बसाल्छु, ऊ एकदमै गलित र गलेको देखिन्छ, चियामा डुबेको बिस्कुटझैँ । उनीहरूले मलाई कस्तो रूपमा देखिरहेका छन्, म उनीहरूको आँखा बन्न सक्दिनँ । हामी अघि ओछ्छिएको माहोललाई हाम्रा मनोवृत्तिले प्रष्टसँग व्यक्त तथा बयान गरिरहेका हुन्छन् । सायद हामी सबैका अन्तरचिन्तनले कल्पनाको बाँधलाई भत्काइसकेका छन् । म फेरि चिच्याउँछु, गलाको नसा तन्काउँदै, “ओ……ई……..”
मेरो मरन्च्याँसे चिच्याहट कतै पुगेर ठोक्किदैन । ब्ल्याक होलमा लुप्त भएको प्रकाशझैं हुन पुग्छ, आवाज ।
“कतै माथिनै छुट्यो कि ?” शरदले अनुहारमा थप त्रासको रेखा कोरिदिन्छ, “कस्तो हुस्सु मान्छे रै’छ । मोबाइल पनि अफ छ… फेरि । यस्तो अँध्यारोमा काँ खोज्ने होला…? हामी हरा’को हो कि ऊ… पत्तो नि छैन….”
प्रवीण मौन छ, तर उसको मौनताले धेरै भावहरू एकैपटक अभिव्यक्त गरिरहेका छन् । म उसको पसिनाले लुछुप्पै बनाएको अनुहारलाई हेर्न सक्दिनँ । मैले उसलाई यस्तो अवस्थामा कहिल्यै देखेको थिइनँ । उसको शरीरमा हिजो साँझबाट नै कामज्वरो टाँसिएको थियो, जुकाझैं । झन् अहिले थपिएका अत्यास र चिन्ताले ऊ एकदमै निरीह देखिन्छ ।
हामी हिँडिरहन्छौँ, अघि बढिरहन्छौँ, जमीनबाट हाम्रा घुँडासम्म तन्किएका झारहरूलाई पन्छ्याउँदै । तीनैजनाका जुत्ताहरू हिलाम्मे भइसकेका छन् । झरीले कपडा र मान्छेलाई निथ्रुक्कै बनाइसकेका छन् । आफ्नो अवस्था र हुलियालाई हेर्न तागत सायद कसैमा छैन । हामीलाई लतार्दै हिँडिरहेका खुट्टाहरूमा गमझैं टाँसिएका जुकाहरूलाई निकालेर फ्याँक्ने जाँगर भनौँ या समय पनि कसैसँग छैन । चुसोस्….. बरू…. !
रात पाक्दै जान्छ । हामी तीन बाफिदै जान थाल्छौँ । मेरो आवाज गलाभित्रै भाँसिन थाल्छ । टर्च, मोबाइलबाट फुत्किएका प्रकाशका धारहरूलाई यताउती नचाउँदै हामी अर्जुनलाई संकेत दिइरहन्छौँ । भाँसिएको आवाजलाई बल दिइरहन्छौँ । तर, ‘अर्जुन’लाई हामी कुनै अवस्थामा पनि फेला पार्दैनौँ । खुट्टाहरूमा बारूदका छर्राहरू लागेझैं भएका छन्, जताततै घाउका टिकैटिका, जहाँबाट रगत बगिरहेका छन्, निधारबाट पसिनाझैं । अवस्था मात्रै होइन, हाम्रो निमित्त स्थान पनि एकदमै अपरिचित छ । जङ्गलको अनकन्टरमा वर्षौँअघि सरकारले हो या डोजरले खनेको बाटोमा जङ्गलले पुन: आफ्नो हक जमाउन थालिसकेको हुन्छ । हामी छुट्याउन सक्दैनौँ, हाम्रा पैतालाहरू कहाँ हिँड्दैछन्, अनिश्चितामाथि अथवा भयावहमाथि ?
अर्जुनले छुट्टिनेबेला भनेको थियो, “तपैँहरू बिस्तारै आउनुस्… म गाडीलाई जसरी नि भेट्छु । म तपैँहरूलाई तैँ कुर्छु ।”
उसले कति शाहस भरिएको मुटुले ती शब्दहरूलाई चुहाएको थियो, हामी भन्न सक्दैनौँ । सायद उसलाई चिन्ता थियो, दाइहरू थाकिसकेका छन्… गन्तव्य बेलैमा पुग्नुपर्छ । उसको लागि पनि जङ्गल अन्जान छ । थाहा छैन, त्यो समय हामीलाई के भएको थियो, हामीले उसको प्रस्तावलाई सहर्षै स्वीकार्यौँ । लगातार बाह्र-तेह्र घण्टासम्म जङ्गलमा शिथिलता र जुकाहरूलाई आफ्ना शरीरमा लिएर हिँड्दा हामी पग्लिदै गइरहेका मैनझैं भएका थियौँ । झरीले रूझेर हाम्रा रूक्स्याकहरू झनै गरूङ्गा भएका थिए । त्यसैले पनि गाडीमा बस्न पाउने लोभले हामीले अर्जुनलाई जान दिएका थियौँ ।
“झन् मैले पैल्यै भनेको हुँ…. माथिनै बास बसुम् भनेर । दिन पो हाम्रो हो, रात हाम्रो हैन…।” ठेकदारको बोलीमा हलुका आक्रोश फुट्छ । ( म शरदलाई प्रेमलाई ‘ठेकदार’ भनेर सम्बोधन गर्ने गर्छु । )
मैले र प्रवीणले उसलाई निर्धो अनुहारबाहेक अरू केही देखाउन सक्दैनौँ । शरदले ‘गोंगा भञ्ज्याङ्ग’को कुरा गरिरहेको हुन्छ, जहाँबाट हामी केही घण्टाअघि झरेका थियौं, ‘भाल्चे बजार’लाई ताकेर । डाँडाको टुप्पोमा केही घरहरू (दशदेखि बाह्र) रहेको एउटा सानो टुकडीजस्तो ‘गोंगा भञ्ज्याङ्ग’, जहाँ एक वृद्ध दम्पतीबाहेक अरू कोही थिएनन् । ती घरहरूको किनारमा एउटा ठूलो गिर्जाघर थियो, भर्खरै रङ्गरोगन गरेको झैं लाग्ने । उक्त घरहरूको टुकडीबीचमा अग्लो र ठूलो क्रसको स्तम्भ गाडिएको थियो, क्रिस्चियनको । हुस्सुले बाँधिरहेको उक्त स्थान मलाई ‘स्टेफेन किङ्ग’को कुनै हरर कथाको कथापटझैं लागेको थियो । हामी सबैका कल्पनाले आफूमा प्वाँख लगाउन थालेका थिए, यो कस्तो स्थान हो ?
अर्जुन र वृद्धले केही शब्दहरू परस्परमा साटेका थिए, जसलाई हामी तीनले सुनेका थियौँ, लाटोझैं भएर ।
“आबा च्यङ्बा, चुरि चबि दिङ टिबि ला टङा खले किम्बा ?”
“कोठा ला ५००… केन ला २०० । श आयङ ।”
“फोन मि चार्ज तबा दे ?”
“हुजो नो आता….”
अर्जुनले हामीलाई नेपालीमा उल्था गर्दै भनेको थियो, “कोठा ५०० को । खानाको २०० । मासु चैँ पाइदैन । अनि मोबाइल पनि चार्ज नहुने रै’छ । के गर्ने ? मेरो त मोबाइल अफ हुनै लागिसक्यो ।”
पदयात्राको क्रममा बाटो, बस्ती, गोठमा भेटिने अन्य पदयात्री तथा गोठालो, गाउँलेहरूसँग बोल्ने अर्जुन हुन्थ्यो । किनभने उसलाई मात्र तामाङ भाषा आउँथ्यो । यस्तो प्रतीत हुन्थ्यो, हामी तीन भने भिन्न समुदायमा होइनौँ, ग्रहमा आइपुगेका छौँ । तर, तामाङ गाउँमा ( साल्मे, नुवाकोट ) केही दिनको बसाइँपछि भने केही शब्दहरूलाई हाम्रा मस्तिष्कहरूले छान्न सकिसकेका छन् । जस्तैः तबा तबा ( ल ल, हुन्छ ), रोमा ( साथीहरू ), आस्याङ्ग ( काका ), मेमे ( बाजे ), ढिँडो ( छ्याम्बा ) आदि….।
मोबाइल चार्ज नहुने असुबिधाकै कारण ‘गोंगा भञ्ज्याङ्ग’बाट हामीले जङ्गल झर्ने आँट देखाएका थियौँ । बिडम्बना, हामी प्रकृतिको काखमा आएर पनि टेक्नोलोजीमै टेकिरहेका छौँ । शरदको लगातारको जोड र अडानलाई हामीले टेरेनौँ । चाँडै पुगेर थकानलाई थन्को लगाउने लालसामा हाम्रा पाइलाहरूले जङ्गलको सघनतामा आफैं बाटो र दिशा बनाउँदै गए । एउटा विन्दुमा पुगेर हाम्रा अन्तर्दृष्टिले खोलासँगै आफ्नो थुतुनो जोडेको साँघुरो नहरलाई पछ्याएका थिए, जुन हामीलाई चाइनाको ग्रेटवाल जस्तै लामो लागेको थियो ।
झरीसँगै रात पनि बिस्तारै खस्दै थियो, हामीमाथि । जुका जसरी आतुरिपनले पनि हामीलाई टोक्न थालेको थियो । हामीले माथिबाटै मधुरो देख्यौँ, नागबेली सडकलाई । यस्तो लाग्थ्यो, कसैले घना जङ्गललाई क्यानभास बनाएर त्यसमा घुमाउरो रेखा कोरिदिएको हो । हामीले त्यही रेखालाई सडक मानेर.. त्यसलाई ताक्दै रफ्तार बढाएका थियौं, उत्साहित हुँदै । हुस्सुका लहराहरू पनि हामीलाई पछ्याउँदै आएका थिए, साथमा गहिरो अन्धकारलाई लिएर ।
त्यही बीच समयमै अर्जुन छुट्टिएको थियो, समुहबाट । केही समय र दुरीसम्म हामी अर्जुनलाई सुन्न सक्थ्यौँ । उसले पनि हामीलाई सुन्न सक्थ्यो । त्यसपछि ऊ एकाएक बिलाएको थियो, अन्धकारमा सूर्यझैं ।
हाम्रो हरेक पाइलामा डरको पत्र एकएक गर्दै थपिदै.. थुप्रिदै जान थाल्छ । हामी सबैको मुटु गलामा आएर बस्न आउँछन् । यस्तो लाग्छ, मस्तिष्कहरूमा अंकुरित सम्भावनाहरूमध्ये एक मात्र सत्य सावित हुन्छ भने, हाम्रा मुटुहरू मुखबाट क्रमश: बाहिर निस्किनेछन्, फुत्त… फुत्त । हामी के वास्तवमै गलत समय र स्थानको लागि निस्किएका हौँ, उपत्यकाबाट ?
एउटा ठूलो पहिरोले हामीले बाटो मानेर हिँडिरहेको पथलाई आफूसँगै बगाएको हुन्छ, तलसम्म । उक्त डरलाग्दो पहिरो खोलामा मिसिएको हुन्छ, दोभानझैं भएर । हामी फेरि बिलखबन्दले तयार पारेको गहिरो दलदलको डिलमा उभिन पुग्छौँ । पुन: हामीलाई भयकारी सुर्ता र भावनाहरूले परिक्रमण लगाउन थाल्छन्, “यस्तो अन्धमुष्ठी अन्धकार र डरलाग्दो बाटोमा त अर्जुन आ’कै छैन, त्यो पनि बत्तीबिनै । सायद कतै खोल्सा अथवा झाडीतिर… ?”
हामी आश र आत्मविश्वास भत्किदै गइरहेका एकअर्काका अनुहारहरूलाई ताक्न थाल्छौँ, अब के गर्ने ? म अर्जुनको सम्पर्क हुन नसकेको मोबाइललाई सम्पर्क गर्ने असफल कोसिस गरिरहन्छु । फोक्सोमा सास भर्दै चिच्याइरहन्छौँ । हाम्रा थर्थराइरहेका कानहरूले बाहेक अरू कसैले पनि सुन्न सक्दैनन्, आवाजलाई । हाम्रो चिच्याहट बिस्तारै आर्तनादमा परिणत हुँदै गइरहेको हामीलाई महसुस हुन थाल्छ ।
हामी केहीबेर अडिन्छौँ, निरूपाय भएर । पुन: मस्तिष्कलाई अनेक विषाक्तताले गाँज्न थाल्छन्, अर्जुनलाई केही त भएन ? हामी कुनै समस्यामा परेका त छैनौँ ? केही समयको विरचणपछि हामीभित्रको दृढताले अन्योलतालाई पाखा लगाउँछ र त्यहीँ खोलामा हिँड्न थाल्छौँ, बाढी-पहिरोको डर र अर्जुनको चिन्ता लिएर । सायद खोला नै बाटो हो, बाटो नै खोला । मलाई अनायास याद आउँछ, नाइजेरियन लेखक ‘बेन ओकरी’को बुकर प्राइज बिजेता उपन्यास, ‘द फ्यामिस्ड रोड’को । ‘द फ्यामिस्ड रोड’ अर्थात् ‘भोको सडक’ ! उक्त उपन्यासको पहिलो अनुच्छेद मलाई राम्रोसँग सम्झना छ, ‘In The Beginning there was a river. The river became a road and the road branched out to the whole world. And because the road was once a river it was always hungry.’
मेरो मस्तिष्कमा गुन्जिरहन्छ, ‘खोला जहिल्यै भोको हुन्छ !’
***
जनै पूर्णिमाको मेला मात्रै नभएर प्रकृतिमा मनसुनले भित्र्याएको सौन्दर्यतालाई पनि समात्न भनेर हामीले केही दिनअघि पदयात्रा सुरू गरेका थियौँ, समुन्द्र सतहबाट झण्डै ४५०० मिटरको उचाइमा रहेको ‘सिङ्ल्ह मने’सम्मको । नुवाकोटमा अवस्थित ‘सिङ्ल्ह मने’मा हरेक वर्ष जनै पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्छ । त्यस उचाइबाट चारवटा हिमाल देखिने रहेछन्, ‘माछापुच्छ्रे’, ‘अन्नपूर्ण’, ‘गणेश’ र ‘लाङटाङ’ । मान्छेहरू (धरैजसो धादिङ्ग, रसुवा र नुवाकोटबाट) जनै पूर्णिमाको अघिल्लो दिननै ‘रूपचेत’मा आएर बास बस्दा रहेछन्, कोही पाल टांगेर, कोही ओडारमा, कोही भेडाहरूसँगै टांसिएर । हामी पनि ‘साल्मे’ गाउँबाटै आ-आफ्ना रूक्स्याकहरूमा पिठो, आलु, गुन्द्रुक, मरमसला, भाँडाकुँडा, राडी-कम्बल, हतियार बोकेर उक्लेका थियौँ, पहिलो रात ‘रूपचेत’मा बास बस्ने योजनासहित । हामीले यस्तो बाटो रोजेका थियौँ, जसलाई त्यहाँका स्थानीयहरूले परित्यक्त गरिसकेको थुप्रै समय भइसकेको थियो । अर्जुनको मामाले हामीलाई हिँड्नु पर्ने बाटो र बास बास्नुपर्ने स्थान (ओडार) को नक्सा बताएका थिए, जसलाई हामीले मोबाइलमा रेकर्ड गरेका थियौँ । त्यही दुई मिनेटको रेकर्डलाई सुन्दै हामी पस्यौँ यस्तो अन्धकारमा, जहाँ हामीलाई डोर्याउने कुनै उज्यालो थिएन ।
कामको व्यस्तताले गर्दा हाम्रो अर्को परम मित्र ‘युनेश’ छुटेको थियो । हामीले यात्राभरि उसलाई सम्झिरह्यौँ । केही घण्टा रमाइलो मान्दै हिंडिरह्यौँ । जुकाहरू टांसिए, फ्याँक्दै गयौँ । खोलानाला आए, तर्दै गयौँ । आराम गर्दै, कफि बनाउँदै-पिउँदै, खाजा बनाउँदै-खाँदै हिंडिरह्यौँ । मृग लुक्ने झाडीमा पौडिदै अघि बढ्यौँ । भालु बस्ने निगालोघारी पार गर्दै गयौँ । पानी दर्कियो, जुका झन् लाग्न थाले । अर्जुन भाइले लगाएको सेता मोजा रगत्ताम्मे भइसकेका थिए । रूक्स्याकहरू गरूङ्गा लाग्न थाले । हामी जाडोले काँप्न थाल्यौँ । उकालो थपिदै जान थाल्यो, गल्दै गयौँ । बाटो झुक्किन थाल्यौँ । वायुमण्डलमा हुस्सु थपिएको थियो । मोबाइलमा नेटवर्क हराउन थाल्यो । हामी आत्तिन थाल्यौँ । मामाले भन्नुभएका स्थानहरूलाई हामीले पहिल्याउन छाडिसकेका थियौँ, किनभने जङ्गलमा न कुनै बोर्ड थिए, न त बाटो नै । हामीलाई सबै उस्तै लागिरहेका थिए । हुस्सुले न अगाडि देखिन्थ्यो, न त पछाडिनै । आफूलाई पछ्याउँदै आइरहेको साथीलाई पनि हामी देख्न छाडिसकेका थियौँ, हुस्सुले गर्दा । हामी जङ्गलको गहिराइमा थियौँ, हराएका थियौँ । पहिलो रात बास बस्ने भनेको ‘रूपचेत’ कुन दिशा र कति दुरीमा छ, हामीलाई थाहा थिएन ।
‘रूपचेत’ पुग्ने बाटो अर्को पनि थियो । तर, मामाको गोठमा खाना खाएर उकालो उक्लने योजनाकै कारण हामी फरक बाटो समात्न बाध्य भएका थियौँ, जुन हामीलाई निकै महङ्गो पर्न गयो ।
रातले हामीलाई स्पर्श गर्न थालिसकेको थियो । म पदयात्राहरूमा सायदै त्यसरी कहिल्यै आत्तिएको थिएँ । हामी अन्योलतासँगै असमञ्जसमा परेका थियौँ, अब कहाँ जाने ? अर्जुनले यतैकतै पानीको मुहाननजिकै बास बस्ने निधो गर्यो । शरद मौन रह्यो । मैले र प्रवीणले सकेसम्म उज्यालोको मसिनो धर्सालाई भएपनि पछ्याउँदै हिँड्ने जोश देखायौँ । अन्तत: हामी हिँड्यौँ, आफ्ना अन्तर्मनलाई पछ्याउँदै । त्योबेला हामीलाई कस्तो किसिमको प्रेरणाले हिँडाइरहेको थियो, हामी अन्जान थियौँ । उक्लिदै गर्दा केही समयमा हामीले एउटा गोठालोलाई भेट्यौँ, टर्च बालेर आफ्नो भेडाको बथानलाई खोज्दै हिँडिरहेको । उसलाई देखेर लाग्यो, तिर्खाले पानी पायो । हामीभित्र प्राण भरिन थाल्यो । यस्तो भान भयो, ऊ हाम्रै निमित्त आएको हो । उसले हामीलाई बाटो र दिशा देखाइदियो, जसलाई पछ्याउँदै हामी पुग्यौँ, ‘रूपचेत’ लगभग पौँने घण्टामा । हामीलाई अचम्म लागिरहेको थियो, त्यस्तो अन्धकारमा… जङ्गलमा कति निर्धक्कसँग आफ्नो भेडाहरू खोज्न हिँडेको छ, त्यो गोठालो । के उसलाई डर लाग्दैन ?
‘रूपचेत’मा मेलाको लागि भनेर मान्छेहरू टन्नै भेला भइसकेका थिए । हामी यस्तो बाटोलाई टेकेर आएका थियौँ, जहाँ हामीले तीमध्ये एकजना पदयात्रीलाई पनि भेटेनौँ । त्यहाँ भएका केही ओडारहरू पनि ओगटिसकेका थिए । अरूले भने आफूले ल्याएका पाल, टेन्ट जडान गरेर बसिसकेका थिए । हामी गलित भइसकेका थियौँ । भोकाएका थियौँ । चिसो भइरहेको थियो । जोर्नीहरू दुखिरहेका थिए । खाना बनाएर खाने तागत हामी कसैमा थिएन । केही समयपछि थाहा पायौँ, (साल्मे) गाउँकै समितिले खाने-बस्ने व्यवस्था गरेको रहेछ, आफ्ना गाउँलेहरूलाई । हामी पनि हुलमा मिसिएर छिर्यौँ, रूक्स्याकबाट प्लेट निकालेर । लहरमा उभिएर खाना थाप्यौँ । भात, मस्यौरा-आलुको तरकारी र दाल । दिनभरि जुका निकाल्दै फ्याँकेको हात पनि नधुइ खाना खान थाल्यौँ । ओहो, त्यति स्वादिलो खाना सायदै हामीले कहिल्यै खाएका थियौँ !
हामीसँग पाल थिएन । हामी ओडार पाउने आशले एउटा कल्पनालाई पछ्याउँदै हिँडेका थियौँ । समितिले टाँगेको पालमुनि मान्छेहरू अटेसमटेस भएर तेर्सिसकेका थिए । त्यहाँ अब बाँकी कुनै ठाउँ थिएन । तर, पनि हामी जबरजस्ती त्यहीँ पस्यौँ, किनारतिर । स्याउलाहरू छर्यौँ, जसको माथि बर्सादी ओछ्यायौँ र त्यो माथि राडी । अनि हामी पल्टियौँ कम्मल ओडेर, एकअर्काको खुट्टामाथि खुट्टा खप्टाएर । भुइँको चिसो हाम्रा शरीरमा सल्किदै गइरहेको थियो । अर्जुन निदाइहाल्यो । त्यहाँ भएका अरू मान्छेहरू तामाङ भाषामा खै कुन्नि के-के गुन्गुनाउन थाले । हामी तीन लाटेकोसेरोझैं भयौँ । लाग्थ्यो, हामी मात्र यस्ता परिचक्री हौँ, जो त्यहाँ बलि चढ्न आएका हौँ । केही समयपछि हामी निदायौँ, सकसले । जुकाले टोकिरह्यो । त्यो कम अवधिमा मैले खुट्टाबाट आधि दर्जनजति जुका निकालेँ, रगत पिएर ढाडिएका । मोबाइलको लाइट बालेर हेरेँ, खुट्टा रगत्ताम्मे भइसकेका थिए । बत्ती सबैको मुखमा पोखेँ, प्रवीण र शरद निदाइरहेका थिए । पिठोको पोकोलाई सिरानी बनाएर त्यर्सिएको अर्जुनको ओठलाई दुईवटा जुकाले चुसिरहेका थिए । मैले उसलाई उठाएँ, ऊ झस्किदै उठ्यो । मैले अरू मान्छेहरूतिर पनि प्रकाश फ्याँके, केहीका नाङ्गो खुट्टाबाट तरतरी रगत बगिरहेका थिए । यस्तो लाग्थ्यो, हामी जुकाहरूलाई ओछ्याएर सुतिरहेका छौँ ।
केहीबेरको तन्द्रापछि म पनि निन्द्रामा परेँ । मध्यरातमा शरद चिच्यायो, “पानी पर्यो यार ।” हामी तीनै ब्युझियौँ । पालको किनारमा हुँदा आकाशबाट पानी हामीमाथि बर्सिरहेको थियो । हामीले ओडेको, ओछ्याएको कम्बल र राडी सबै भिजिसकेका थिए । हामी पनि रूझेका बिरालोहरूझैं भएका थियौँ । अरू मान्छेहरू भने आरामले सुतिरहेका थिए । हामी बिहानसम्मै काँप्दै जागाराम बस्यौँ, त्यहीँ भिजेको कम्बल ओडेर । हामी मान्छेहरूको प्रवृत्ति पनि अचम्मको हुन्छ, हामी जहिल्यै दु:ख खोज्दै हिँड्दा रहेछौँ । दु:खबिना हाम्रो औचित्य छैन । पानी कम भएपछि त्यहाँबाट आ-आफ्नो सामानहरू पोको पारेर उकालो उक्लियौँ, सबेरै । भिजेको कम्बल र राडीले भारी झनै गरूङ्गो बनाइदिएका थिए । केही हिँडाइपछि एउटा ठूलो पत्थरको आडमा हामी बस्यौँ, आराम गर्न । दाँत माझ्यौँ, मुख धोयौँ । दाउराहरू जम्मा पार्न थाल्यौँ । चिसोले गर्दा आगो बाल्न हामीलाई निकै सकस भयो । बल्लबल्ल आगो बल्यो । ताप्यौँ, खाजा बनाएर खायौँ । हामीभित्र बिस्तारै शक्ति प्रसारित हुन थाल्यो । हामीभन्दा अघि कोही हिँडेका थिएनन् । त्यसदिन ‘रूपचेत’मै सांगतिक कार्यक्रम थियो । हामी भने उक्लिएका थियौँ, ‘सिङ्ल्ह मने’तिर ।
हुस्सु आउने-जाने भइरहन्थ्यो । आकाश अँध्यारो-उज्यालो भइरहन्थ्यो । केही समयपछि पानी पुन: दर्किन थाल्यो । त्यतै कतै पत्थरको चेपमा आफ्ना रूक्स्याकहरूलाई लुकाएर हामी उक्लिन थाल्यौँ, गन्तव्यतर्फ । केही घण्टाको हिँडाइपछि हामी पुग्यौँ, ‘सिङ्ल्ह मने’ । आकाश खुलेको थियो । मनसुनले आफ्नो रङ्ग जताततै पोतेको थियो, चित्रकारले झैं । लाग्यो, हामी प्रकृतिको ग्यालरीमा आएका छौँ, रङ्गका कोलाज अवलोकन गर्न । हामीले केही हदसम्म आफ्ना पीडा बिर्सियौँ ।
‘खोला जहिल्यै भोको हुन्छ !’
खोला जस्तै बाटो भनौँ या बाटो जस्तै खोलामा हिँडिरहदा हामीभित्र रहेको डरको आयतन फराकिलो भइसकेको हुन्छ । अर्जुन भेटिने आश लगभग मरिसकेको छ । चिच्याउने शक्ति पनि सक्किन थालेको हुन्छ, तर पनि म हरेक चार पाइलामा कराइरहन्छु सकिनसकी, “अर्जु……………न…….” हामीले माथि डाँडाबाट देखेको नागबेली सडक अझैं कति टाढा छ, हामीलाई थाहा हुँदैन । शरदले भनेको थियो, “जङ्गलमा नजिक देखिनेहरू कहिल्यै नजिक हुँदैनन्, तिनीहरू एकदमै टाढा हुन्छन् ।” त्यसैले पनि उसले माथि ‘गोंगा भञ्ज्याङ्ग’मै बास बस्ने जोड दिइरहेको थियो । मैले पनि उसको मतमा सहमति जनाउनु पर्थ्यो, थकथक लाग्छ । बोलीरहने शरदलाई मैले त्यति धेरै समयसम्म मौन रहेको पहिलोपल्ट देखिरहेको हुन्छु । प्रवीणको अवस्था भने म बयान गर्न सक्दिनँ । मलाई ऊ अर्धचेतनामा हिँडिरहेको झैं लागिरहन्छ ।
कति समयदेखि हिँडिरहेका छौँ, हामी समयलाई पछ्याउन सक्दैनौँ । हामीलाई बगाउँदै हिँडिरहेको खोलाले कहाँको बगरमा हुत्याउँछ, थाहा छैन । अन्तत: हाम्रो आत्मा लिएर नेपथ्यबाट अर्जुनको मधरो आवाज आउँछ, “हो……… !”
गलामा बसेका मुटुहरू यथास्थानमै बस्न आउँछन् । हामी राहतको लामो सुस्केरा फ्याँक्छौँ । शरीरमा एकाएक तागत संचारित हुन थाल्छ । हामी अर्जुनको आवाजलाई पछ्याउँदै हिँडन थाल्छौँ । केहीबेरमा उसलाई देख्छौँ, सडक किनारमा बसिरहेको । हामी यति खुसी हुन्छौँ, जसलाई मापन गर्न हाम्रा हृदयहरूले पनि सायद सक्दैनन् ।
अर्जुन मोबाइलमा भएको अलिकति चार्जको भरमा दौडिदै आएको रहेछ । तर, उसले गाडी भेट्न सकेन । ऊ त्यस्तो खोलामा कसरी दौडियो, हामीलाई उसले खुलेर भनेन । उसले यति भन्छ, “म यस्तै पहाडमा हुँर्केको हुँ । मेरा लागि यी सबै सामान्य हुन् ।” उसको लागि सामान्य, हाम्रो निमित्त असामन्य थियो । उसको मनमा पनि दुविधा पलाएको रहेछ, फर्केर दाइहरूलाई लिन जाऊँ ! तर, ऊ आफ्नो जिद्दबाट निर्देशित थियो, ‘जसरी पनि गाडीलाई भेट्छु ।’ हामी केहीबेर आराम गर्छौँ । फेरि इन्द्रदेवले मुत्न थाल्छन् । शरीर पुरानै लयमा फर्किसकेपछि हामी सडकलाई समातेर लगभग तीन घण्टा हिंड्छौँ, मामाको घर पुग्न । हाम्रो लागि मार्सी चामलको भात र कुखुराको मासु तयारी अवस्थामा हुन्छ । यस्तो लाग्छ, हामीले एउटा अघोषित युद्ध लडेर आयौँ.. जितेर आयौँ । खाना खाएर ‘रूपचेत’को बसाइँ सम्झिदै… यात्राको मनमनै समीक्षा गर्दै, हामी न्यानो ओछ्यानमा गुटमिुटिन्छौँ । म धेरैपछि मीठो निन्द्रा निदाउँछु ।
हामीलाई निन्द्राले अबेरसम्म लडाउँछ । बिहान उठेपश्चात हामी आ-आफ्ना कर्म गर्न थाल्छौँ । म केही समय मोबाइलमा घोत्लिन्छु, स्टोरी, पोस्टहरू स्क्रोल गर्दै । सोसल मिडियाभरि खोलानाल बढेर बाढी आएको समाचार हुन्छ । बाटो अबरूद्ध । राजमार्ग ठप्प । भारी वर्षाले पहिरो । खोलाले बस्ती, गाडी बगाएको कुरा । मान्छेहरू बेपत्ता, मारिएको समाचार । म हिजोको रातलाई सम्झिन्छु, जुन मलाई एउटा भयानक सपनाझैं लाग्छ ।
‘खोला जहिल्यै भोको हुन्छ !’
हाम्रो निमित्त यो पदयात्रा सम्झनलायक छ । हामी स्वीकार्छौँ, यस्तो एड्भेन्चरस् र वाइल्ड पदमार्ग हामीले पहिले हिँडेका थिएनौँ । असुरक्षा र विविध अन्य कारणहरूले गर्दा ‘सिङ्ल्ह मने’ पदयात्रा भने विदेशी पर्यटकहरूका निमित्त अहिले निषेध गरिएको रहेछ । बुझ्दा थाहा पायौँ, गाउँका स्थानीय निकायहरूले आ-आफ्नै तरिकाले सो पदमार्गलाई ब्ल्याक लिस्टबाट हटाउने कसरत गरिरहेका रहेछन्, जुन त्यति प्रयाप्त र प्रभावकारी देखिदैन । ‘सिङ्ल्ह मने’ पदमार्गले राम्रो सम्भावना देखाएको छ, त्यहाँ बस्ने स्थानीयहरूको जीवनशैली उकास्न तथा आफ्नो ठाउँ र त्यसले बोकेको धार्मिक मान्यतालाई सबैसामु देखाउन । हामीले सकेसम्म यस्ता सम्भावनाहरूलाई प्रवर्द्धन गर्न आवश्यक छ ।
हामी राजधानी फर्किँदा शरीरभरि जुकाले टोकेका दागैदाग लिएर आउँछौँ । मस्तिष्कहरूले यस्ता खत बोकेर आउँछन्, जसलाई बनाउने घाउ भने हामी कसैलाई देखाउन चाहदैनौँ ।