राउटेपना सबैको मनमा हुन्छ !


Logo

Saru


पहिलोपटक फोटो सर्कलको इन्स्टा फिडमा ‘कुहिरोभित्रको बास’(Living in the Mist) किताबको बिमोचन र प्रदर्शनीमा आउँदै छ र राउटेको बारेमा हुन्छ भन्ने थाहा पाउँदा मेरो मुख अलिक खुम्चिएको थियो । यो किताब किशोर शर्माको पहिलो प्रकाशन हो । मनमा थोरै अत्यास पनि लागेको थियो, ‘ला अब फेरि राउटेका बारेमा, राउटेलाई नै थाहा नभएको आख्यानले पो उनीहरूको वास्तविक स्वरुप फिक्का पारिदिने पो हो कि ?’ आफ्नो कथा आफैंले भन्न पाउनु पर्छ भन्ने मान्यता राख्ने म, धेरैजसो अरुको कथा भनिरहँदा मेरो डर भने अब जसको कथा हो उनीहरू नै अनभिज्ञ भएको अर्को कथा जन्मने भयो भन्ने हुन्छ । कसैको कथा भन्नु ठूलो जिम्मेवारी हो, यसो उसो गरेर किताब हातमा पर्यो । किताबको गाता ओल्टाइपल्टाइ गर्दा एउटा वाक्य पढेँ, मन तैबिसेक शीतल भयो । 

“I know I don’t belong here, I’ll never call this place my home, I’m just passing through.” 

मलाई थाहा छ कि म यहाँको होइन, म यो ठाउँलाई कहिल्यै पनि मेरो घर भन्ने छैन, म केवल त्यहाँबाट गुज्रिरहेको छु । 

यी वाक्यांशको धेरै माने निकाल्न सकिन्छ, मैले निकालेको माने चैँ किशोरको आफैं वाह्य पर्यवेक्षक मात्र हुन् भन्ने चेत थियो । किशोरले के मानेमा यो वाक्य पहिलो पल्टने पानामा राखे म जाँन्दिन, तर यस वाक्यले मलाई किताब पढ्ने उर्जा दियो ।

Photo ©: Kishor Sharma

वि.स. २०६० को सेरोफेरो हुनुपर्छ, नेपाल टेलिभिजनको एउटा वृतचित्रमा मैले सुन्दै आएको राउटे देख्ने मौका पाएँ । त्यसपछि इन्टरनेट सुलभ हुँदै आयो । इन्टरनेटले अनेकौं सम्भावनाको ढोका खोलेको थियो । त्यसपछिका समयहरूमा स्क्रिनमा राउटे धेरै देखियो, सुनियो र जानियो । तर केही वर्ष यता न्यूजका नाममा भ्यूज प्रसारित हुन्छन् । अनि आमसञ्चार र सामाजिक सञ्जालहरूमा भ्यूजको खेती गर्ने प्रवृतीले उग्ररुप लिइसकेको छ । बजारमा जे बिक्छ, त्यही बिकाउन तल्लीन छन् पत्रकार, सोधकर्ता, छायाँकार अनि सरकार । यी सबै स्रोतले हामीलाई एकल कथा हेर्ने नराम्रो लत लगाइदियो । किशोरले किताबमा भनेझैँ, म पनि सहमत छु कि एक शताब्दीमा आउनु पर्ने विकास एकै दशकमा आएको छ । मोबाइलमा पस्किएका यस्ता भ्युजले राउटेप्रति धेरैको मनमा हेय भाव तरङ्गित गरिदिएको छ । मपनि यो खेतीको ग्राहक हुँ, मलाई अरुलाई झैँ आधुनिकीकरणको हुटहुटीले उचालेको छ । ‘यो जमानामा पनि कस्तो हालतमा हिँडेका होला ?’ भनी राउटेप्रति म करुणावाद थुपार्थेँ । बिचरा जङ्गलमा कसरी बाँच्छन्, बिचरा पानी पर्दा के गर्दा हुन्, बिचरा रोग लाग्दा के गर्दा हुन्, बिचरा…! यो किताबले के पनि एउटा दृष्टव्य स्थापित गरिदियो भने, सायद राउटेहरू पनि हाम्रा बारेमा त्यस्तै सोच्दा हुन्, ‘आधुनिक भनौदा बिचरा’। आधुनिकीकरणको पट्टी लाएको हाम्रालाई उनीहरू अराजक लाग्छन्, उनीहरूको संसारमा सायद हामी असामािजक लाग्छौं होला ।

Photo ©: photo.circle

किताब पढीरहँदा केही समय एउटा पत्रिकामा आएको राउटेको फोटो स्टोरी झल्यास्स सम्झिएँ । त्यो फोटोमा राउटे बसोबास क्षेत्र अगाडि ठूलो बोर्ड राखिएको थियो, जसमा कोरिएको थियो, ‘राउटे बसोबास गर्ने क्षेत्र । हेर्न रु…., फोटो खिचाउन रु…. यी र यस्तै’ । सिङ्गै राउटे बस्तीलाई कुनै जिल्लाको शान भनेर तक्मा दिइ खै कसको फाइदा या के काइदाका लागि घुमन्ते टोलीलाई पनि बाँधेर राखिएको थियो । यसो सोचेँ, मेरो सहमति बिना कुनै अपरिचित समूहले मेरो दिनचर्यामा चासो देखाउन अर्को अपरिचित समूहलाई पैसा बुझाइ मेरो स्वतन्त्रतामा दखल राख्दा मलाई कति चित्तदुख्दो हो ? म त कल्पना समेत गर्न असमर्थ छु । कसैको अहम् बचाइ राख्न अस्तित्व गुमाउन तयार हाम्रो समाज र मैले के बुझ्न सकेनछौँ भने जङ्गलमा बस्नु, घुमेर हिँड्नु उनीहरूको रोजाइ हो । सायद नहुनु र नचाहनु अलग-अलग विषयहरू हुन् भनेर बुझाउन यो किताबको प्रयास अद्वितीय छ । यही किताबमा बारम्बार दोहोरिने माइन ब. शाही कै शब्द सापटी लिएँ,

“पैला देखुनबाट घुमेर आएको, घुमेकै रमाइलो मान्छौँ हामी । रमाइलो लागेपछि त्यस्तै बाचेँ त भैगो, चार दिनको जिन्दगी ।”

राउटेहरूलाई ‘सभ्य’ बनाउने उपक्रम चलिरहेकै छ । हामीहरू पनि सो यात्रामा सामेल छौँ । हामी टिकटके संसारमा होमिन्छौँ अनि ‘राउटे मागेर खान पल्किए’ भन्ने टिप्पनी दिन्छौँ । मोबाइलको स्क्रिनमा देखिने एकतर्फी  कथा नै ध्रुवसत्य हो भन्ने हामी मान्दछौँ । यो किताबले भने त्यो स्क्रिन पछाडिको तथ्यलाई पनि ठाउँ दिएको छ । राउटेहरू परापूर्वकाल देखिनै घुमन्ते हुन्, त्यसैले उनीहरू अन्नको निम्ति आफ्नो काष्ठकला साट्ने गर्थे । केही वर्ष यता कृषि प्रधान देशमा कृषक नै नहुँदा खेती हुने त कुरै भएन । खेती नहुँदा वस्तु विनिमय प्रणाली कसरी चल्ला भन्ने कल्पना हामी गर्न चाहदैनौँ । बस्, राउटे असभ्य भए, मागेर खान पल्किए भन्ने रट लगाएर बस्छौँ ।

बाँदरको सपेटा 
राउटेको धामीलाई,
खेती छैन पाती छैन,
के खानु हामीलाई ?

— गोगने राउटे

Photo ©: photo.circle

भत्ताको कथा र गुनासा, रक्सीको मात इत्यादी कुरा गर्न थाल्यौँ भने एक लेख काफी हुन्न तर प्रशंसा चैँ गर्न चाहन्छु, किशोरको प्रयासको । हामीले राउटेलाई सदैव अरुको चस्माले हेर्यौँ तर किशोरले झैँ तिनका पाइलामा पाइला, लयमा लय र नजरमा नजर मिलाएर हेरेनौँ । हामीले त त्यत्ति नै देख्यौँ जति हामीलाई देखाइयो । नगाइएका गीतहरू गाउन, नदेखेका दृश्यहरू हेर्न, नहिँडेका बाटाहरू हिँड्न, नपढेका किताबहरू पढ्न र नसुनेका कथाहरू सुन्न बाँकी नै छन् । पाइलाले नापेसम्म, आँखाले देखेसम्म, कानले सुनेसम्म र सोचले ओगटेसम्म मात्र सिमित छैन यो राउटेको दुनियाँ । ‘Living in the Mist’ पनि सायद राउटेको जीवनको एक अंश पनि नहोला । 

“सायद कन्दमूल नै मीठो हुँदो हो ।” 

यो कोरोनाको लहर चलिरहँदा मैलै फेसबुकमा राखेको स्ट्याटस थियो । स्ट्याटस राखी रहँदा मलाई विश्वास थियो कि जङ्गलमा बस्नु शताब्दीऔं पुरानो कला हो । किताब बिमोचनको दिन नयनताराले भन्नुभएको कुराले मलाई यो स्ट्याटस सम्झन विवश बनायो । किताबमा रहेका फोटा सबै श्यामश्वेत छन्, यसो हेर्दा पुरानो जमानाको झल्को दिने तर चेतनशील मनले सोच्दा यो त आज कुरा हो भन्ने सत्य बोकेको । हामीलाई आदिम लाग्ने कुरा सायद धेरैको जीवनको आज हो ।  फोटोले फेरि टिकटकले नचाहँदा नचाहँदै राउटेप्रति बसाइदिएको नमीठो स्वादलाई नै फिक्का बनाइदियो । किताबमा मैले टिकटकबाट नै चिनेका केही राउटे चेलीको फोटा छन् । सायद यी फोटा टिकटकमा भाइरल हुने मनसायले नखिचिएकाले होला निश्चल छन्, निर्दोष छन् । किताब पढिरहँदा फोटाले भिन्न कथा भनिरहे झैँ लाग्छ र किशोरका शब्दहरूले भिन्न । अनि फेरि दुवैलाई सँगै ल्याउदा अर्को भिन्न कथा । हरेक पटक पढ्दा नयाँ स्वरुप । 

भ्युजको खेतीबाट केही पर रही श्रव्य, दृश्य र शब्दको खेतीमा किशोरले केही फरक बोली विकाश गरेका छन् भन्दा म गलत हुन्नँ । सन् २०११ देखि २०२२ सम्म उहाँको स्थलगत अनुभव र तिनका प्रतिनिधी तश्विरहरू यसको साक्षी छन् कि, कुनै कथालाई बिना छेडछाड बिना रङ्गरोगन कोरा प्रकृतिमै पनि सरलरुपमा प्रस्तुत गर्न सकिन्छ । जसरी अरुका प्रस्तुतिकरणहरूमा हामी वाध्यात्मकरुपले अरुको दृष्टिकोण बोकेर राउटेलाई हेर्नुपर्ने हुन्छ तर त्यसको विपरित यो छविकथामा हामी बिना शर्त तिनलाई नियाल्न सक्छौँ । किताबले तथ्यलाई स्पेस दिनुका साथै केही धारणा/अड्कलहरूलाई पनि स्पेस दिएको छ । किशोरको अनुभव, ध्येय र कथाकाहनी भन्दा अलग रहेरपनि हामीले आफ्नै शै लीमा कथा पढ्नसक्ने सुविधा पनि प्रशस्त छ । किताबको शब्दको भाषा एक साथ नेपाली र अङ्ग्रेजीमा छन्, त्यसले झन् किताबलाई फराकिलो बनाएको छ । केही धारणाहरू व्यक्तिगत हुन् भन्ने इङ्गित गर्न उनले सजकताका साथ ‘रे’को प्रयोग गर्न छुटाएका छैनन् । 

सन् २०११ मा पहिलोपटक राउटेको अस्तित्वलाई खोज्ने जमर्को गर्दा किशोरले राउटेलाई आँखाले हेर्दै थिए, आजसम्म आइपुग्दा किशोरले राउटेलाई मनले देख्न सिकिसकेका रहेछन् । हेर्नु र देख्नुमा ठूलो अन्तर छ नि ! यो किताबको महत्व राउटेलाई राउटे जसरी देखाउन सिकाएका कारणले पनि बढी नै छ । परिवर्तन समयको शर्त हो । सबै मानेमा परिवर्तित हुनु नाफाको सौदा पक्कै हुन सक्दैन, परिवर्तित हुनु भनेको आफ्नो मौजूदा अस्तित्व गुमाउनु पनि त हो । व्यक्तिवादको आन्दोलन चलिरहेको समकालीन परिवेशमा हामी कदापि अरुलाई आफू अनुरुप परिमार्जन हुनका निमित्त वाध्यताकारी परिस्थितिको निर्माणकर्ता बन्नुमा वैचारिक सर्वोच्चता देखिन्न । परिवर्तनलाई अँगाल्नु नअँगाल्नु त्यो राउटेले निर्णय लिन पाउनु पर्छ भन्ने कुरामा म अनि ‘Living in the Mist’ले विश्वास राख्दछ । पाठकको धर्मअनुसार, यो किताबमा म आफैंलाई खोज्दै थिएँ र आफैंलाई किशोरको शब्दमा पाएँ,

“बरालिने रहर त सबैमा हुन्छ नि ! राउटेपना मान्छेको मनमा हुन्छ सायद !”

Photo ©: Saru