प्रश्नहरूसँग


Logo

Sanjay


पौडेल ब्रदरद्वय प्रवीण र सुदर्शनले फर्माइस गरेका छन् । मैले एउटा लेख लेख्नु पर्यो । पत्र–मञ्जूषामा प्रकाशित गर्न । हुन्छ भनेर संस्मरण खोज्न लागेँ । तर निकै हप्ता बितिसक्दा पनि त्यो तयार भएन । डायरीदेखि स्क्रिनसम्मको फासला नजाने कति थियो कुन्नि । त्यसपछि म रेडिमेट खजानाको खोजीमा ड्रपबक्स चाहर्न पुगेँ । केही बेवारिसे फोल्डरहरू भेटिए । जसलाई इतिहास भन्न सकिन्छ । र जहाँ वर्तमान प्रश्नको कोर्रा लिएर तगारो झैं बसेको रहेछ । म कठघरामा रहेछु । मेरो हातमा कलमको सट्टामा इन्ची टेप रहेछ । म कसको उन्नति अवनति नाप्दै छु ? मलाई प्रश्न सोध्न मनाही गरिएको छ । कारण कालो कोट समयको पिठ्युँमा छ । म अपराधीको हुलियामा छु । किनकि मैले एक लेखकलाई लेख्न नदिएर परेशान गरिरहेको छु । समयले प्रश्न उसलाई सोधेको छ ।

अब के लेख्ने इच्छा छ ?

बहुआयामिक लेखक झैं एकमन गम खान मन लाग्यो । लेख्न के बाँकी रह्यो र ? गजल कविता निबन्ध कथा । ती सबै च्यातेर यो सोच्दैछु । सायद उपन्यास लेख्ने छु । नभए नाटक पक्का ।

उपन्यास ? हो उपन्यास । मुस्किल हुन्न ? हुन्न । यसैपनि लेख्नलाई सजिलो के छ यी यस्तो गन्थन बाहेक ? प्रतिप्रश्न गर्छु । जवाफ थाहा छ त्यसैले जान्ने उत्सुकता पटक्कै छैन । भन्छु, मसँग उपन्यासको प्लट तयार छ । चेतना जन्मिएपछि सुरुवात भएको आफ्नै रछ्यानको कथा । हेप्ने र हेपिनेहरूको कथा । टाउकेहरूको नाङ्गो नाचको प्रत्यक्षदर्शी हुनाले अथवा दुस्मनी दोस्रो वरियताको भुमिका सकुशल निर्वाह गर्नु परेकोले । मलाई लाग्दछ त्यो कथा उपन्यास बनाउन सकिन्छ । एउटा सामाजिक यथार्थवादी उपन्यास । यही त म चाहन्नँ कि सामाजिक यथार्थवादी उपन्यास लेखूँ । मलाई फिक्सनमा दिमाग रिङ्गाउने चाहिन्छ ।

त्यो नाथे स्वयंको आत्मसन्तुष्टि सिवाय केही होइन । अझ फुस्रो आदर्शवादले लघारेको । अनि नाटकको कुरा ? कि त्यो पनि जीवन नाटक हो भनेर टारिदिने ?

अरे वाह । हजुरले सही फर्माउनु भो । हो न हो जीवन नाटक नै हो । अझै मेरो जीवन झन् धेरै हो । सत्य हो यो प्रत्येकलाई लाग्छ । मेरो कुरा गर्दा । म दुई दशकसम्म औपन्यासिक तवरले नित्य हिंडेँ । त्यसपश्चात् नाटकीय ढङ्गबाट रोकिएको छु । जसमा मेरो भूमिका यत्ति छ मैले त्यो किरदारको अभिनय जीवन्त गरेको छु । भेद नराखी कि म अभिनय गर्दैछु । सञ्जय पोशाक हो फगत एक उपेक्षित पोशाक । जसलाई उमानाथले उपहारमा दिएर गएको थियो एक जमानामा । नत्र म कहाँ हुने थिएँ । मैले कहाँ आफ्नो वर्तमानलाई साक्षी राखेर भूत जसरी यस रक्तमुछेल दुनियाँको गल्ली गल्ली दर–ब–दर भट्किनु पर्थ्यो । गालिबको मिसरा पढ्नु भएकै होला । डुबोया मुझको होने ने ।

म पनि डुबानमा छु । बिहान उठ्नुस् । ढोङ, कुप्रो पारेर नमस्कार गर्नुस् । दिनभर यो जी हजुर, त्यो जी हजुर गर्नुस् । स्याबासी र गालीको चड्कन खानुस् । थाहा छ ? साँझसम्म सपना कति ठाउँमा फाटिसक्छ । शिरबाट पाउसम्मका अङ्ग अङ्गभङ्ग भइसक्छ । अझ रातमा यथार्थ जाँचबुझ गर्न आइपुग्छ । सन्चो छु । होइन कहाँ दुब्लाएको छ । कपाल बढेको हो । आँखा थकानले राता भएका हुन् । बातचित खतम, फेरि उही । सिरानी सोच्दो हो, साला कति नौटङ्की गर्छ यो ।

रहर, सपना र सम्झनाका कुरा पनि गरौं आज । ती पनि मासियो/भासियो होइन ?

रहर र सपना हो तर सम्झना होइन । रहर र सपना मैले बचाउन सकिनँ । वा बचाउन चाहिनँ । वा यो परिवेश त्यो होइन पनि भन्न सकिन्छ । दोषको पहिरन फ्री साइजको छ । र फाइदा यो छ, त्यो जेसुकै र जो सुकैलाई पहिराउन सहज छ ।

सम्झनाको कुरा भने अर्कै छ । म सम्झनालाई दिन-ओ-रात भेटिरहन्छु । मात्र हाम्रो वार्तालाप हुन नसकेको हो । जब म सम्झनामा पुग्छु आशाको मधुरो प्रकाश मेरा कमजोर स्मृतिमा खस्छ । मृगतृष्णाको निधारबाट उदासीको ताजा शिरविन्दु तप्प चुहिन्छ । र छ्याङ्ग खस्छ वर्तमान उपर । वृद्ध विगतको हात पाउ बाँउडिन्छ । त्रिशूल झैं प्रश्नको तीनवटा चुच्चो रोपिन्छ कोमल भागमा । म के थिएँ ? म के भएँ ? म के हुँदैछु ? यी सब बोध हुने बित्तिकै म अलग आयाममा पुग्छु । याद आउँदैन सम्बन्ध कहाँबाट चुहिन सुरु गर्याे । आँखा उघार्दा मेरो अञ्जुली ओभानो भइसकेको थियो ।

साच्चिकै हराउन मन लागेको छैन ?

हराइ त रहेछु ! के योभन्दा पनि धेरै गुमनाम हुन सकिन्छ । अचेल भेट्नेहरू सबैले भन्छन्, ‘हराइस् त केटा ?’

त्यो स्वाङ मात्रै हो भन्देलान् नी सुन्नेहरूले ।

मलाई यहाँनेर हाँसो लागेको छ । मेरो प्रयत्नको खिल्ली उडेकोमा । सफल नहुनु भनेको प्रयास नगर्नु होइन । सफल भएँ–भइनँ अझसम्म लेखाजोखा गरेको छैन । जरुरत पनि लाग्दैन । भोग्न बाँकी सजाय जस्तो छ बाँचेको जीवन । सुधार केन्द्रको वातावरण यहाँ कहाँ छ ? जोगिन जोगाउनलाई ।

के जोगाउनलाई ?

आत्मस्वाभिमान र सन्तुष्टि । उद्विग्नता विष समान चौतर्फी फैलेको छ । आशा भरोसाका भित्ताहरू चरर् चर्किएका छन् । ओहो नाङ्गै तल्लो तला, माथिल्लो तला गर्दाे रहेछ आत्मविभोरता । किन हँ ? कहाँ छन् सभ्य पाठ रटार्नेहरू ? इतिहासलाई एक धरो लगौंटी चाहिएको छ । हात कति ठाउँमा पसार्नु उपेक्षाको । आँखा कति पल्टाउनु मन नपरेको पाना जसरी । दृश्य उही छ, झन्अस्ति देखेर वाक्क भइसकेको ।

आँखा कति ओभानो हो ? आँसु त बग्नु नि कमसेकम । तालु चड्किरहेछ । जिब्रोको वर्णमाला फेरि लुटियो अरे ! हिजो साँझ पुर्न टोलाएको थियो आँगनमा उभिएर एउटा नाङ्गो छाती । पुँजीवादले चिथोरेको डाम देखाउँदै । घाउ ओभाउन नपाउँदै आज ऊ राहदानी बनाउने पंक्तिमा भेटियो । कस्तो दुर्दशा पूर्ण चित्र । चित्रकार स्वयम् दंगदास पर्दाे हो क्यानभासमा अंकित चित्र हेरेर । तर ऊ चित्र बनाउने हातलाई हेर्दाे हो अथवा नाईं ? चित्र कहाँ हातले बनाउँछ ? फेरि मस्तिष्कको पनि छुट्टै हात हुँदैन ?

थाहा छ आत्महत्या के को हुन्छ ?

परार साल मरुभूमिमा छोराको लास गाडेको खबर सुनेर देशको देब्रे आँखा बिमार भएको थियो । याद आएन ? छाती वरपर भूकम्प गएको थियो नि । बच्छला देवीको मन्दिर पनि त त्यतिबेलै भत्केको हो ।

मतलब ?

मतलब जीवन बोझ हो होइन ? कसैलाई सोधौं ? कोसँग छ चित्तबुझ्दो उत्तर । ढोकामा चिठी आएको छ । कसले पठाएको रहेछ ? दिपकराज बन्जाडेले ? होइन सपनाले रहेछ । आँखामुनि निलो डाम बढेको छ अरे । अचेल किन सुत्दैनस् भनेर सोधेको छ । निन्द्रा बिक्री भइसक्यो हिजोआज आमा त्यही पैसाले निन्द्रा लाग्ने औषधी खानुहुन्छ भन्दिनस् ?

प्रेम डुब्यो कि उत्रियो ?

प्रेममा राजहरू डुब्छन् हमराजहरू उत्रिन्छन् । खरानी बगाएको हिसाब किताब समाज राख्छ । सन्तान बगाएको हिसाब कहाँ गएर माग्ने आमाले ? जीवन उसैपनि सस्तो कागजमा बनाएको स्केच जस्तो छ । तँलाई प्रेम कसैले किन गर्छ ? जरुरत कसलाई छ प्रेमको । प्रेमले निःशुल्क प्रदान गर्ने तड्पाहतको । के को प्रेम ? पैसा कमाउ पैसा । जमाना पुँजीवादको मुठ्ठीमा अटिसक्यो ।

कमाइराछस् त ?

कहिले भने कमाएको छैन । रुपैयाँ कमाउन दगुरेको । घर परिवार देशलाई झुक्याएर । उर्जावान् समय बेच्नुस् । स्वास लिनुस् अनि डलर, पाउण्ड, युरो, यान, वन, दिनार ओकल्नुस् । आधुनिक प्राणायम यही हो । घरदेखि सहरसम्म, हाट बजारदेखि घाट बजारसम्म पुँजीवाद पर्खिरहेको छ बोरा बोकेर । परिचय बिनै कोही हाँस्दै छ भने वा घनिष्टता देखाउन उद्दत छ भने सावधान ! हुनसक्छ ऊ तपाईंको खरिद मुल्य बोकेर पर्खिबसेको छ । तपाईंलाई खरिद गर्ने उत्तम समयको पर्खाइमा ।

साँघुरो बाटो तपाईंलाई मन पर्दैन । फराकिलो सडकमा पुगेर रमाउनु हुन्छ । किन बिर्सनु हुन्छ ? त्यो बाटो होइन स्वयं तपाईं हो । तपाईंको आँखा सामुन्नेको बजारले कुल्चेर कुदिरहेछ । चस्मा पसले आँखामा । कपडा पसले पिठ्युँमा । वेश्यालयका मालिक यौन अङ्गहरूमा । जुत्ताका मालिक खुट्टामा । सत्ताका मालिक बिचारमा । धर्मका मालिक आस्थामा । यी सबका अन्तिम मालिक अर्थात् अभावले जब तालुमा टेक्छ, त्यसपछि तपाईंको भेट सिधै अनाम रेगिस्थानमा हुन्छ तपाईंसँग !

माथिका तमाम प्रश्न त्यस पश्चात् हाम्रो खोजीमा निस्कन्छ । र यदाकदा भेट हुन थाल्छ । अनि मुसलसलको मुलाकात हाम्रो नियति हो । बेवास्ता गर्नु वा जवाफ तलास्नु हाम्रो बुताभन्दा पर्तिर छ । किनभने जीवन सतही छ प्रायःको । गहिराइ भय हो वा अचेतना भन्न सकिन्न । कारण दुबै हुनसक्छ । तर हरकोही स्वाङ गरिरहेछन् डुबेको किनारमा पौडिएर । अन्यथा जगत अर्कै हुने थियो । चेतनाले खुदको वयस्क नदेखि मृत्युवरण गर्नुपर्ने थिएन । वा हरेक दिन सम्भावनाको द्वारमा दस्तक दिन पुग्नुपर्ने थिएन । रुपैयाँको गौंडामा आफैंलाई कुल्चेर ।

तर के हामी निष्प्राण भयौं ? मान्छे मारेर एआई बनाउँदा खुसी हुनेपनि हामी हौं । कपोलकल्पित सायाको पछाडि दौडेर हुँदा खाँदाको अस्तित्व मेटाउन उद्धत पनि हामी खुद हौं । थाहा छ त्यसपछिको दृश्य के हो ? पक्षघात । हरेक थोकको पक्षघात । जो हामीसँग सरोकार राख्छ । पक्षघातपछि कुहिन थाल्दछन् अङ्गहरू । त्यसपछि सिङ्गो शरीर कुहिन्छ सभ्यताको । अन्त्यमा चराचर सृष्टि । ओहो कस्तो गन्ध आइरहेछ । के त्यो मभित्रको अहम् कुहिएको होइन ?

प्रश्न कसलाई सोध्नु ? जवाफ कसले दिन्छ ? के ऐना किन्नुहुन्छ । नकिन्नुस् सट्टामा अलिपर पुस्तकालय छ । त्यहाँ तपाईं कुहिनुको कारण पक्का लेखिएको छ । यो स्टिकर र इमोजीको जमाना हो । कखरा बिर्सनु भएको छैन नि ?

दाइ जाने हो ? सत्ते सिट खाली छ ।

मभित्रको पुरुषत्व जुरमुराएर सोध्न खोजिहाल्छ । ठिटीसँगैको सिट खाली छ ? सायद पुरुषत्वलाई सुली चाहिएको छ । मलाई नि ? मपाईं सम्झिनुस् तर म ठिक छु । सागर जो छ, बेलाबखत कसी लगाउने । चित्रको म ठिक हुँदो हुँ । चरित्रको मलाई क्रूर सजाय आवश्यक छ । मृत्यु बराबरको । तर जीवन महङ्गो छ । सस्तो के छ यो दुनियाँमा ?

कति महङ्गो हो । आधा घटाउन मिल्दैन ?

जानुस् ह्यान्डजब गर्नुस् । सालाहरूलाई सित्तैमा टोक्न पर्या छ । उताबाट उत्तेजित स्वर सुन्छु । मलाई यता तितो यथार्थले ठ्वाङ्गै ठुङ्छ । त्यसपछि शरीरभरि विष सलमलाउँछ । अनुहारको रुपरेखा नीलो भइहाल्छ । थाहा छ नि नीलो के को प्रतीक हो ?

फलानो फलानो फलानो मनोविनोद चिच्याउँदै मभित्रबाट अझै भित्रतिर जान्छ । सडक किनारमा मनोज, बिनोद छन् । ती कहाँ जान्छन् ? मैले भनिसकेको छु पुरुषत्वलाई सजा–ए–मौत चाहिएको छ । देवराज जी वा विक्रम जीले भने जस्तो कालो चस्माको फाइदा सुनेर चस्माको खोजीमा त हुनुहुन्न तपाईं पनि ? विजय मल्लको यही शिर्षकको कथा छ । त्यहाँ कालो चश्माको अलग फाइदा देखाइएको छ । पढ्नु होला । मैले धाराबासीको किताब मगाएको छु विक्रम जीलाई उपहार दिन भनेर । ‘नारी भित्र त्यस्तो के छ हजुर ?’

पानाभरि आलोचना मात्र छ । आत्मालोचना कहिल्यै गर्नुभयो ? छैन । किन ? कसोकसो विगतले तर्साउन छाडेन अझै ?

अत्याधिक दुखी सकेपछि ससाना चोटहरूको पर्वाह को गर्छ ? कसलाई दुख्छ । कसलाई फुर्सद ससाना दु:खहरूमा दुख्ने । वा दुखेको स्वाङ गर्ने ! यहाँ पूरा श्वास नफेरेको जुगौं भइसक्यो । दुनियाँ जरुरतभन्दा दुई गुणा ज्यादा नफरत उत्पादन गर्दैछ । सायद बिक्रीवितरण राम्रो होला । नफरतको बिक्री ? हो त हरेक साँझ दुनियाँको हालचाल बुझ्ने यत्न गर्नुभएको छैन ? ओहो साँझमा मेरो अभिनय सुरु हुन्छ । त्यतिबेला मेरो दुःख हाँस्न थाल्छ । तपाईं नि अन्तिम पटक कहिले हाँस्नु भएको थियो ? सायद हुनसक्छ बिर्सिसक्नु भएको । नबिर्सिनु भएको भए केही छैन । मन छैन नभन्नुस् तर नसोच्नु भएको भए चाहिँ झट्टै सोच्नुस् । म किन हाँस्दिनँ ?

हामी धेरैको निम्ति हाँसो भनेको खुसीको विज्ञापन होला । विज्ञापनमा तडकभडक ज्यादा हुनुपर्ला । झुट उमारेर खेती गर्नुपर्ला । अन्यथा त्यो खल्लो भइहाल्ला । त्यसको एक बाइट लिएर बजारले नाक खुम्च्याइ दियो भने । सोच्नु भएको छ तपाईंको हाँसो कुन ब्रान्डको हो ? ओहो कस्तो अत्यास लाग्दो पीडा बहेको बताससँगै ।

रोक्नुस् त्यसलाई बहनबाट । नत्र पीडा र दरिद्रता दुबै उस्तै लाग्न थाल्छ । जबजब यो बहन्छ । र यसको जन्मसिद्ध गुण छ, जति बहन पायो त्यति दुख्ने । सहनशीलता अनुरुप तपाईंको अन्तिम पाइलोसम्म घोच्नेछ यसले ।