एक बयान, एक अभिव्यक्ति अनि एक सपना


Logo

नविन नेत्र


कुनै बेला सपनाहरू वास्तविकताभन्दा पनि बढी वास्तविक लाग्न थाल्छन् । र सबै अनुभूतिहरू स्वप्न अनि वास्तविकताको मिश्रणबाट उत्पन्न भइरहे जस्तो प्रतीत हुन्छ ।

यो भित्ता, यो कोठा सबै निस्सासिँदो छ, म कैदी भएको छु आफ्नै निस्सारताहरूको । एक हुल परेवा उड्छन् पल्ला घरको छतबाट । यहाँ लेख्नु, सम्झिनु केवल ती यादका भग्नावशेषलाई केलाउनु मात्र हो, जो फेरि तिनै अनुत्तरित प्रश्नहरू सँगै मलाई एक्लो छोडेर भागिदिन्छन् कतै । मलाई छोडेर जानेहरूसँग कुनै गुनासो छैन, गुनासो छ त केवल उनीहरूले छोडेर गएका अनिश्चितताहरूसँग, कुनै शोक जस्तो लाग्ने तर थाहा छैन के को शोक, जहाँ कुनै एउटा संवेदना मात्र उभरिएर आउँदैन, बाढ बनेर आइदिन्छन् र मिसाइदिन्छन् सबै कल्पना, सपना अनि वास्तविकताहरू ।

म आफ्नो वास्तविकतालाई जति केलाउँदै जान्छु त्यति नै झाँगिदै जान्छन् मेरा उल्झनहरू अनि एउटा निर्णयको बाध्यताले मलाई पिरोल्न थाल्छ ।

डा. चेतनको कुरा मान्ने हो भने एउटा चयन आवश्यक छ, जहाँबाट कोही पनि आफ्नो कुनै यात्रा तय गर्न सकोस्, सडक भेट्न सकोस्, गन्तव्य पहिल्याउन सकोस् । जीवन कसैले रोजेको होइन, कसैले भन्ला तिमी यहाँ हुनु, यसरी कुनै पनि विचारमा विचारमग्न भएर चिन्तन गर्नु पनि परापूर्वकालदेखि चलिआएको मानवीय सभ्यताको विकासक्रमसँग जोडिन पुग्छ । सम्भवत: जीवन त्यसैले रोजाइ होइन केवल कुनै क्रमसँग जोडिएर आएको क्रमश: हो । हुनसक्छ यदि अवसर पाउँदा कोही जीवन रोज्ने नै थिएन तर फेरि जीवन नै नरोजी उसको चयन सही वा गलत भनेर आँकलन गर्ने कुनै मापदण्ड पनि त हुने थिएन । यो द्वेष, यहाँको वैराग्यसँगको साक्षात्कार, बिना कुनै अनुभव नै जीवन नरोज्नु पनि त्यति नै बेतुक र औचित्यहीन हुन्छ जति यो जीवन पाइसकेपछि यसलाई धिक्कार गर्नु । 

यस्तै केही सारहीन (मलाई त्यतिबेला यो सब सारहीन नै लागेको थियो र सायद अहिले पनि म उसको यी कुरासँग सहमत हुँदिनँ यद्यपि म अहिलेको समयमा ऊसँग यो कुरामा बहस भने गर्न सक्छु जे म त्यो बेला गर्न असमर्थ थिएँ) शब्द/दर्शनहरूले मलाई सान्त्वना (सान्त्वनाभन्दा बढी ऊ अलिक कठोर नै सुनिन्थ्यो तथापि मेरा लागि क्षणिक सान्त्वना नै प्रकट भयो) दिने प्रयास गरिरह्यो, जब म पहिलोपटक उ कहाँ गएँ आफ्नो समस्या लिएर । करिब एक घण्टापछि निस्किँदा मन हलुकाभन्दा बढी केही आत्मपिडक ग्लानिले भरिएको थियो । पहिले थियो कि, कोही अन्जान अपरिचित वयस्क बूढोलाई आफ्ना व्यथाहरू सुनाएर आफ्नो बचपन वैंश (जेसँग उसको कुनै सन्दर्भ नै छैन र हुँदैन पनि) सबै भित्र नियाल्ने अनुमति दिएँ (अझ बढी भन्नु पर्दा जीवनका आधी जति समस्या तिक्तताहरू मेरा सबै ऊ जुन उमेर समूहको छ त्यही उमेर समूहसँग आएर ठोकिन पुग्छन् बाउ-आमा काका-काकी मामा-माइजुदेखि लिएर प्रौढ वयस्क नेता दलाल व्यापारी आदि-इत्यादिलाई म आफ्ना समस्याहरूको कारक तत्व भनेर बुझ्छु)। 

ग्लानिको दोस्रो कारण थियो, अहिलेसम्मको जीवनभरी सुन्दै आएका दर्शन उपदेश फेरि सुन्नकै लागि मैले उसलाई घण्टाको १५०० बुझाएँ र फेरि १५०० लिएर अर्को हप्ता त्यहाँ उपस्थित हुने वाचाका साथ निस्किएँ । 

कस्तो विरोधाभास यो, किनभने मलाई थाहा छैन मेरो समस्या के हो ? न त उसले पहिलो भेटमा नै भन्यो, थाहा छैन कति पटक १५०० अरु बुझाउनु पर्ने हो त्यही समस्या थाहा पाउनका लागि । 

साथीहरू भन्छन् म  निराश छु (म बुझ्दिनँ यसमा समस्या के छ?) आजको समय जो आफ्नै नार्सिसिज्मको मातमा उम्लिएर चपाइरहेछ, आफ्नै वरपरका विचारहरू क्रुर बनेर पिल्साइरहेको छ, शोषण र दमनको भट्ठीमा संवेदनाहरू, र कोही यस्तो समयलाई लिएर उत्साहित छ, उत्सव मनाइरहेछ भने म त्यहाँ समस्या देख्छु । म  निराश हुनु जीवनसँग, समयसँग मेरा लागि धेरै स्वभाविक ठान्छु म ।

त्यो हाम्रो तेस्रो भेट थियो जब उसले भनेको थियो कि निराश हुनु एक प्रकारले स्वभाविक देखिएता पनि आफ्नो  निराशावादसँग यसरी बाँधिनु कि जीवन व्यर्थता सिवाय केही प्रतीत नहुनु समस्याको बिउ बन्न जान्छ । त्योभन्दा अझ बढी स्पष्ट भएर सोच्दा त्यस  निराशावादविरूद्ध आफैंभित्र कुनै विद्रोह उत्पन्न नहुनु वा विद्रोह गर्न नसक्नु नै समस्या हो ।

केही तर्क त थियो उसको कुरामा । केहीक्षण म सोचमग्न भएँ । मसँग बहस गर्नलाई कुनै तर्क थिएन वा थियो सायद (म भन्न सक्थेँ कि जीवन स्विकारोक्तिको पहिलो चरणमा यदि सबै व्यर्थ प्रतीत हुन्छ भने विद्रोह पनि व्यर्थ नै हुन्छ भन्ने मानसिकता प्रबल भइसकेको हुन्छ जुन पटकपटकको जीवन संघर्ष र त्यसपछि जित्न नसकेर गरिने सम्झौताहरूले प्रमाणित गरेका छन्) तर मसँग बहसमा उत्रिने कुनै उर्जा थिएन, फेरि मलाई उसले आफ्नो तर्कलाई अकाट्य ठानेर फुलाएको छातीप्रति एउटा व्यङ्ग्य हाँसो हाँस्नु थियो, आफैैभित्र र आफूभित्रको झिनो अभिमानलाई सन्तुष्ट तुल्याउनु थियो । 

मलाई लाग्दैन मैले आफ्नो मानसिक सन्तुलन गुमाइसकेको छु (केही अस्थिरता भने पक्कै छ मभित्र) जसका लागि कुनै थेरापिस्ट बूढोको नै सहारा लिनु परोस् । थाहा छैन ऊ मसँग यति संवेदनशील किन प्रस्तुत हुन्छ, के ऊ साँच्चै नै यति नै संवेदनशील भएर आफ्नो दैनिकी बिताउँछ ? घर-परिवार, छोराछोरीका पीडा-व्यथा तर्क झंझटहरू यति नै संवेदनशीलताका साथ सुन्छ ?

हुनसक्छ मअघि यसरी प्रकट हुनु १५०० प्रतिघण्टाले जन्माएको पैश्विक बाध्यता हो र ऊ वर्षौंको अनुभवपछि आफूलाई यसरी प्रस्तुत गर्नमा यसरी निपूर्ण भइसकेको छ कि म भ्रमित हुन्छु ऊ वास्तवमा नै यति संवेदनशील छ ।

एउटा भिन्नै छटपटीले छोप्न थाल्छ मलाई, जसको जीवनको कुनै हिस्सासँग पनि म अवगत छैन, उसको अघि तिर म आफ्नो जीवनका सम्पूर्ण पीडा बाध्यताहरू पत्र-पत्र गर्दै उघारिरहेछु । ऊ छलिरहेछ मलाई मित्र प्रस्तुत भएर र म छलिँदै गइरहेछु क्षणभरमा नै आफूलाई उसको कैदी पाउन थाल्छु, जस्तो कुनै पनि समय ऊ मलाई आफ्नो कठपुतली बनाएर नचाउन सक्छ मेरा संवेदनाहरूलाई लिएर मलाई म्यानिपुलेट गर्नसक्छ । ऊ एक गतिलो थेरापिस्ट हुनसक्छ तर एक गतिलो मानिस नहुन सक्छ, जस्तो कोही गतिलो कलाकार हुँदाहुँदै पनि एक तुच्छ संवेदनाहीन व्यक्ति हुन्छ (मलाई लाग्यो मेरा लागि ऊ थेरापिस्ट त त्यही १५०० ले किनेको समयसम्म मात्र हो बाँकी त ऊ मानिस हो त्यस्तो मानिस जो कुनै बेला पनि आफूले अरु माथि नियन्त्रण गर्न सक्ने क्षमतालाई बुझ्ने छ र खेल्ने छ अरुको भावनासँग।) 

उसका बारे जान्ने तीव्र लालसामा म उसको नाम फेसबूकमा खोज्छु । एउटा प्रोफाइल जो उसको पेशागत जीवन र व्यक्तिगत जीवनको मिश्रण हो, म चहार्न थाल्छु । उसका तीन सन्तान छन्, दुई छोरीका बीचमा एक छोरा । पहिला छोरी हेर्छु, अमेरिका छिन् । छोरा हेर्छु, सहरको कुनै एउटा क्याफे (जहाँ म पनि गएको छु) मा ऊ गइरहन्छ भन्ने थाहा पाउँछु । मलाई जस्तै उसलाई पनि सायद साहित्य-संगीतमा रुची रहेको अनुमान लगाउँछु किनभने त्यो ‘क्याफे डी बुभ्वाँ’ हो, जहाँ कथित युवा बौद्धिकहरू आत्मतृप्तिका लागि समय बर्बाद गर्न पुगिरहन्छन् ।

मलाई लाग्यो, यो उसको व्यक्तिगत जीवनलाई चिहाउने राम्रो मौका हुनसक्छ ।

खुल्ला सहरको उकुस-मुकुस विरक्तिका माँझबाट आफूलाई घिसारेर म ‘क्याफे डि बुभ्वाँ’ पुग्छु, यो आशमा कि ऊ (छोरा) पनि त्यहीँ भेटिनेछ (आशभन्दा बढी म निश्चयका साथ त्यहाँ पुगेको थिए कि ऊ त्यहीँ भेटिने छ निश्चय यसकारण कि मैले आफ्नो मस्तिष्कमा उसको दैनिकीको खाका निर्माण गरिसकेको थिएँ, दैनिकी मात्र होइन उसले सुन्ने गीत उसले पढ्ने पुस्तकदेखि लिएर उसको प्रिय लेखकबारे समेत मैले थाहा पाइसकेको थिएँ र सबैतिरबाट मुल्याङ्कन गर्दा ऊ र म बीचका रोजाइमा धेरै समानता भएपनि विचारमा निकै भिन्नताहरू थिएँ)। मेरो अपेक्षाअनुरूप ऊ त्यहीँ थियो र हेमिंग्वेका कथाहरू पढिरहेको थियो । हेमिंग्वेका कथाहरू मलाई मन परेपनि ती कथाहरूमा आफूलाई पाउन सक्दिनँ म ।

कोही नयाँ अपरिचित देख्नु, ऊसँग बोल्नु अझ कुनै सम्बन्ध नै स्थापित गर्ने उद्देश्यले साह्रै सकस काम हो । यहाँ परिस्थिति त्यही छ (तथापि यो परिस्थितिको सिर्जना म स्वयंले नै गरेको हुँ त्यसैले यसको दोषको भार म आफैंले बोक्नु पर्छ)।

उसका (थेरापिस्ट) अनुसार यदि कोही रोज्न समर्थ छ वा कुनै निर्णय समक्ष उभिएर आफूलाई अडिक राख्ने चेष्टा गर्छ भने त्यसपछि उत्पन्न भएका सम्पूर्ण परिस्थितिको जिम्मेवार ऊ स्वयं आफू नै हुन्छ । 

क्याफे केही शान्त छ । म बूकशेल्फ नजिक गएर कुनै पुस्तक रोज्न चाहे जस्तो गर्छु । यहाँ पुस्तकहरूमा धेरै पुस्तकहरू भने छैनन् । केही फेमिनिस्ट साहित्य अनि केही २०औं शताब्दिका अस्तित्ववादि साहित्यकारहरूका पुस्तक अनि केही कविताहरूको संग्रह । म औड्रे लर्डका कविताहरू उठाउँछु अनि आँखा उठाउँदा हेर्न मिल्नेगरि अलिक पर उसको पारी पट्टीको कुर्सीमा गएर बस्छु (चाहना यो थियो कि उ मलाई कुनै पनि प्रकारले नोटिस गरोस्)।

म पहिले यहाँ प्राय: आइरहन्थेँ तर त्यो निकै पहिले थियो त्यतिबेला सायद म यति सारो विरक्तिएको थिइनँ, कतै कतै झिनो भएपनि आशा थियो कि कतैबाट केही परिवर्तन ल्याउन सकिन्छ आफैंमा समाज व्यवस्थामा । विस्तारै विस्तारै समयक्रम सँगै त्यो झिनो आशा पनि निभ्दै गयो र म सम्पूर्णत: आफूलाई निराशावादको अँगालोमा बेरिदिएँ र विक्तिको प्रतिछायामुनि आफू निदाएको अभिनय गरिरहेछु । मलाई सधैं लागिरह्यो कि केही त छ भित्र जसले मलाई आजको यो भीडभन्दा पर एक्लै उभ्याउँछ, जति नै निराशा विरक्तिमा डुबाइदिएँ पनि यही एउटा छटपटि थियो जहाँबाट निर्वाण नपाउँदासम्म मभित्र कुनै प्रकारको जिजीविषा जीवनप्रतिको तृष्णा उत्पन्न हुने थिएन (हुन त त्यस तृष्णाको आवश्यकता थिएन तर मलाई आफ्ना यी बाँकी दिनहरू व्यर्थको छटपटिमा बिताउनु थिएन) अनि आफ्नो यही छटपटीदेखि मुक्ति पाउन म उ (थेरापिस्ट) कहाँ पुगेको थिएँ ।

ऊ मलाई हेर्छ । म छटपटिन्छु अझै, उसँग परिचय गर्ने बेचैनी छ तर म आफूलाई त्यसरी आतुर भएको प्रस्तुत गर्न सक्दिनँ । उसका आँखाको कौतुहलता म टाढाबाट नै बुझ्न सक्छु तर नबुझोस् ऊ मेरो बेचैनी र नसोधोस् पनि यो छटपटिको कारण । उसले मलाई पहिलोपटक यहाँ देखेको हुनुपर्छ त्यसैले नै म उसको ध्यान यहाँ आकर्षित गरिरहेछु । म पनि हेर्छु अनि ऊ सरल भएर मुस्कुराइदिन्छ । मन अझै अस्थिर हुन्छ । मस्तिष्कमा ऊसँगका लामा लामा वार्तालापहरू प्रतिविम्बित भइरहेछन् (र मलाई डर कि मेरो यो बेचैनी मेरो अनुहारबाट पढ्न सक्नेछ ऊ )।  

म चुरोट माग्छु । 

“हाइ” ऊ म भए नजिक आउँछ । 

“हजुर” मेरो स्वरमा कम्पन्नको आभास हुन्छ मलाई । 

“मलाई औड्रेका कविताहरू सारै मन पर्छन्, उनका कविताहरू सम्भवत: जति प्रेमिल छन् कामुक हुन्छन् त्यति दृढ क्रान्तिकारी पनि । जस्तो कोही अँगालो बेरेर तपाईंलाई न्यानो पारिराखेको हुन्छ उर्जा दिइरहेको हुन्छ ।” 

कति सौम्य छन् उसका आँखा, म कति बेचैन छु भित्र । मलाई त मेरो निराशाले अँगालो बाँधेको छ, मलाई प्रेम र क्रान्तिका कविताले जस्तै शिथिल नै बनाइदिन्छन् ।

म केही बोल्दिनँ, बस् एक झिनो मुस्कान छोडिदिन्छु । मैले औड्रेलाई पढेको छु, उनका कविताले मलाई पनि आकर्षित गर्छन् कता कता । 

“कुनै पढेर सुनाउ न तिमीलाई मन परेको कविता उनको ।”

म अवाक् हुन्छु फेरि । कोही कोही व्यक्ति जीवनमा कति धेरै उर्जा बोकेर बसिरहेका हुन्छन् केही क्षणमा नै त्यो उर्जा बगेर चारैतिर उत्साहित बनाउँछ । उसको यो वाक्य यस्तो थियो जस्तो हामी केही समयदेखिका परिचित हौं । 

म पुस्तक उसलाई दिन्छु तर, तिमी पढेर सुनाउको भावमा । ऊ फेरि मुस्कुराइदिन्छ । 

ऊ मलाई औड्रेको Coal पढेर सुनाउँछ । म मुग्ध हुन्छु । जस्तो निकैपछि कसैको जीवनसँग साक्षात्कार भएको छ मेरो । उसको स्वरको स्थिरताले मभित्रको बेचैनीलाई जस्तै अंकमाल गरेर शान्त पार्न खोज्दैछ । 

हामी आफ्नो परिचय साट्छौं ।

ऊ आफ्नो नाम इशान बताउँछ । हामी फेरि कवितातर्फ फर्किन्छौं । मेरो बेचैनी केही स्थिर छ, म उसको अनुहार पनि स्पष्ट पढ्न सक्छु यतिबेला । ऊ सायद चाहन्छ कि म आफ्नाबारे थप भनूँ, अर्थात् मनपर्ने कवि कविता लेखकहरू बारे ।

“म रिल्केलाई प्रेम गर्छु” म भन्छु, “म रिल्के भित्रको उदासिनता अनि प्रेमको सामिप्यतामा आफ्नो घर भेट्छु”

ऊ फेरि मुस्कुराउँछ । मलाई थाहा छ ऊ पनि रिल्के मन पराउँछ ।

“मलाई सारै सुन्दर लाग्छ जब कोही निर्जीव वस्तुलाई जीवन दिन्छ कवितामा नै सही” ऊ भन्छ ।

“मलाई शेली पनि उत्तिनै मन पर्छ, उसको विद्रोह शेली, रिम्बौं । त्यो समयका कविताहरूको कुरा नै केही बेग्लै छ ।”

“कविताहरू यो समयका पनि सुन्दर नै छन्, हामी केवल यो समयको निराशासँग यति अभ्यस्त भइसक्यौं कि न ती बिम्बहरूले तान्छन् न त ती शब्दहरूले प्रेरित गर्छन्” ऊ यसरी भन्छ कि मलाई लाग्छ उसको बाउ (थेरापिस्ट) केही भनिरहेको छ, केही भिन्नता छैन निराशादेखि आशा सम्मको मेरो यात्रा निकै कठिन छ ।

यात्रा सहज हुँदो हो त यहाँ अवसादहरूको उत्पत्ति नै हुने थिएन । समस्या कहाँ छ भनेर सोचेर आफ्नो विवशतालाई बढाउनुभन्दा हामी आफूभित्र स्थिरता कायम गर्न सक्यौं भने आफू वरपर पनि त्यही प्रकारको शान्ति भेटिन्छ । तिमी सँग स्थिरता छैन अहिले, तिमीलाई मात्र देखिन्छ कि सब ओरालो मात्र गइरहेछ हरेक चिज हलचल गरिरहेछन्, त्यस हलचलसँग आफूलाइ सिन्क गर्न सक्दैनौं अनि तिमी पिरोलिन्छौ । यहाँ त्यति धेरै अवसाद पनि छैन न त तिमीले ठानेको जस्तो अस्थिरता छ, जहाँ छ त्यो पनि बिस्तारै बिस्तारै आफ्नो स्थिरतातर्फ बढिरहेछ । तिमी आफूलाई स्थिर बनाउने प्रयत्न गर ।

यसपटक थेरापिस्टलाई भेट्दा मैले इशानलाई दुइ-तीन पटक भेटिसकेको थिएँ । तर पनि मलाई थेरापिस्टको व्यक्तिगत जीवनबारे निकै कम मात्र थाहा थियो । 

उसको जीवन दर्शनलाई अपनाउने साहस वा समर्पण मभित्र कदापि थिएन न त ऊसँग बहस नै गर्ने शक्ति थियो मभित्र । म आफैभित्र आन्दोलित थिएँ अझै बढी इशासँगको परिचयपछि । यो आन्दोलनले मेरो सम्पूर्ण उर्जालाई शोषेर मलाई शिथिल बनाइरहेको थियो । मलाई निदाउनु थियो, होइन मलाई निदाउनु पनि थिएन आँखा चिम्लिएर बस् मृत भएको प्रतीत गर्नु थियो (यहाँ पनि मैले केही गर्नु पर्छ त्यो एउटा अभिनय नै सही आफ्नो उर्जा खर्चिनु पर्छ जुन उर्जा मभित्र निकै अघि समाप्त भइसकेको छ) यसरी भन्दा मलाई कोमामा हुनु थियो र ब्युँझिनु थियो एक पिढीपछि ।

एउटा बाध्यता हो जीवन, मृत्यु रोजाइ नै हो भने त्यो रोजाइसम्म पुग्न मसँग कुनै शक्ति साहस छैन, वा भनुँ म कुनै चयन गर्न सक्दिनँ । उसका कुराहरूले मलाई स्थिरतातर्फ डोर्याउनुको साटो मलाई झन् भीडतर्फ धकेलिरहेको छ र मलाई भनिरहन्छ यहाँबाट निस्किने प्रयास गर । 

इशानसँग मेरो भेट प्राय: दिनै हुन थालेको थियो । उसले पनि अब मेरो अवस्था बुझिसकेको होला र मप्रति आफ्नो एउटा धारणा बनाइसकेको होला । म थेरापी गइरहेको कुरा भनिसकेको छैन उसलाई, भन्न पनि सक्दिनँ, भन्नु हुँदैन पनि । 

“मेरो घर सामान्य नै लाग्छ हेर्दा, सायद सबै सामान्य नै छ होला फेरि पनि म केही सामान्य भेट्दिनँ । आफूलाई हतास मात्र, विरक्तिएको मात्र पाउँछु सबैको अगाडि, मलाई थाहा छैन मेरो समस्या के हो ?”

हामी अब केही व्यक्तिगत कुरा तर्फ जान लाग्यौं, मलाई प्रतिक्षा थियो यही समयको शुरूआत मबाट नै हुनु पर्थ्यो । मैले ढाँटेको पनि छैन उसलाई (किन किन मलाई ग्लानि हुन्छ कि म कुन उद्देश्यले ऊसँग बोलिरहेको छु यति नजिकिँदै छु, कति क्रुर छु म ? कति शालिन छ ऊ) मेरो परिवार सामान्य नै छ, र एक सामान्य परिवारमा हुर्किएको असामान्य प्राणी हुँ म । 

ऊ करूण छ, भावुक भएर मलाई हेरिदिन्छ केही क्षण म पग्लिएको अनुभव गर्छु । मेरो हात समाएर ‘इट्स ओके’ को भावमा थप्थपाइदिन्छ ।

“म बुझ्छु तिम्रो दुविधा, मेरो अनुभव योभन्दा धेरै भिन्न हुन सक्ला तर पनि त्यति अनभिज्ञ छैन तिम्रा कुराहरूदेखि । ट्रमा विभिन्न रूपमा प्रकट भइरहन्छ, र सधैं उसको एउटै सान्दर्भिक कारण भने हुँदैन । म पापासँग यो कुरामा बहस गरिरहन्छु, पापा र मेरो विश्वदृष्टि समान छन् तर पनि विचारमा भिन्नता हुनु स्वभाविक हो र मलाई रमाइलो लाग्छ यही ।” 

म केही नर्भस् हुन्छु कि उसले पहिलोपटक आफ्नो बुवाको (थेरापिस्ट) को जिकर गर्यो ।

“सायद यो आश्चर्य मान्नु पर्ने कुनै कारण होइन तर पनि कोही आफ्नो माता-पितासँग यति स्पष्ट भएर बहस गर्न सक्छ…”

ऊ एक निश्चल हाँसो छोड्छ । मलाई थाहा छैन म ऊप्रति किन यति साह्रै आकर्षित भइरहेछु । उसको प्रत्येक मुस्कानले मभित्र एक नौलो आभासको सिर्जना गरिदिन्छ ।

हामी क्याफेबाट निस्किन्छौं । हाम्रो भेटको निकै समयपछि हामी पहिलोपटक क्याफे बाहिर सँगै छौं । भन्नु पर्दा इशानसँग मेरो भेट पनि थेरापिस्ट कै जस्तो, हामी केवल निश्चित समय र ठाउँमा नै भेटिरहेका हुन्थ्यौं यतिन्जेल । मलाई उसको क्याफेभन्दा परको जीवनबारे कुनै जानकारी थिएन ।

साँझ बाक्लिँदै थियो । हामी गल्लीहरू छिचोल्न थाल्छौं, गल्लीहरूको त्यस अस्त-व्यस्तताले पनि उसको उर्जामा क्षणिक कमी ल्याउन सक्दैन । ऊ त्यति नै उत्साहित छ जीवनलाई लिएर समयलाई लिएर । आफ्ना व्यक्तिगत कुराहरू खोल्न थाल्छ ऊ । उसकी आमा हुनुहुन्न । बुवा (थेरापिस्ट) ले नै हुर्काउनु भयो । हुनसक्छ ऊभित्रको यो उत्साह उसको बुवाबाट नै प्रसारित भएर आएको हो । त्यस अर्थमा ऊभित्र उसको बुवाको राम्रो प्रभाव छ । 

हुन आफ्ना संरक्षकको प्रभाव कसको जीवनमा पो न होला र ? प्रभाव पनि फेरि सही गलत गरी छुट्याउन मिल्दैन । तिमी आफ्ना माता-पिता को सम्मान गर्न सक्छौ सँगै त्यति नै रूष्ट पनि हुन सक्छौ । परिवर्तनशील समयसँग आफूलाई कसरी जोड्ने, अनि फेरि पछाडिको समयलाई फर्केर हेर्दा त्यसको कुन हदसम्म मुलायंकन गर्ने भन्ने पनि त्यति नै महत्तवपुर्ण हुन्छ जति वर्तमानमा आफ्ना प्रतिकूलताहरूसँग सम्झौता गर्नु ।

कुनै बेला मैले आफ्नो पारिवारिक पृष्ठभूमि बताउँदा, थेरापिस्टले भनेको थियो यही । 

हामी एक सुनसान गल्लीमा आइपुग्छौं ।

उसका प्रत्येक कुराहरू सँगै नयाँ बेचैनीहरू जन्मिरहेछन् । तर यकिन भने छैन कि यो बेचैनी उसका कुराहरूको सिर्जना नै हो, म के सोचिरहेको छु, मभित्र केही उथलपुथल भइरहेछ । आफ्नो तनावलाई थाम्न गाह्रो हुन्छ मलाई, अनि म उसको हात समाउँछु ।

ऊ मलाई हेर्छ, मलाई पसिना आइरहेछन्, श्वास बढिरहेको थियो ।

ऊ मेरो हात कसेर समाउँछ अनि आफूतर्फ तान्दै अँगाल्छ मलाई । म स्थिर हुने प्रयत्न गर्छु । थाहा छैन कति बेरपछि म साम्य हुन्छु अनि ऊ अँगालोबाट मलाई छुटाउँदै, एउटा शान्त मुस्कानले मलाई सम्बोधन गर्छ । सायद मेरा आँखामा केही लज्जा छ, केही चाहना छ अझै बढी झल्किरहेको वासना । 

उ मलाई चुमिदिन्छ ।

यस्तो लाग्छ समय त्यही स्थिर भएको छ केहीक्षण । यी जिजीविषा, यी आकाङ्क्षाहरू कति समयदेखि कैद थिए मेरा पनि, यी एकसाथ बाढ बनेर बग्न थाल्छन् मसँगै बहन थाल्छु यी संवेदनाका छालहरूसँगै । आधी जुनमुनि हाम्रो पूर्ण छाँया छुटिँदैनन् अब एक मीठो अनुभूति चुम्बनको आवरणमा आएर मलाई रूझाइ दिएको थियो ।

त्यसपछिका केही दिन मेरो एक्लोपन बिनाको एकान्तमा बित्छ । आफैंभित्र उत्पन्न भएको यस नौलो अनुभूतिसँग आफूलाई घुलाउने प्रयास गर्छु । 

कुनै अनुभव, कुनै संवेदना तिम्रा लागि नौलो प्रतित हुन्छन् भने तिमी स्वभाविक छौ ती संवेदनाहरू महसुस नगर्न हर सम्भव प्रयास गर्ने छौ । आफूलाई रोक्न खोज्ने छौ, ती भावनाहरूसँग साक्षात्कार हुनु अगावै, तिमीभित्र अनिश्चितताको भय, कुनै अपरिचितको भयले तिमीलाई त्यसरी अनुभव गर्नबाट रोक्ने छ । त्यस्तो भय जो तिमीलाई कुनै नयाँ अनुभूतिका विरूद्धमा उभ्याइरहेछ, ती डर, भय विचारहरू सब निरर्थक हुन् किनभने जीवनको तत्व नयाँ अनुभव गर्नुमा नै छ ।

थाहा छैन उसले (थेरापिस्ट) ले यस्तो किन भन्यो मैले उसलाई आफ्नो नयाँ अनुभवबारे केही भनेको पनि थिइनँ ।

यो एक असफल प्रयास हो । एक बित्थाको छटपटि, व्यर्थता बस् व्यर्थ । एउटा चुम्बनले केही प्रमाणित गर्दैन, न त एउटा चुम्बन प्रयाप्त छ मलाई यो निद्राबाट ब्युँझाउन । फेरि एकतमासले मस्तिष्कमा चिसो पस्छ । उसलाई नभेटेको पनि निकै भयो तर, त्यसदिन पछि भेटेको नै छैन, के पो सोचेको होला भन्ने कुराले एक नयाँ छटपटी सुरु भयो । 

म क्याफे जान्छु, ऊ छैन आज त्यहाँ । म केहीबेर पर्खिन्छु । ऊ आउँदैन, फेरि अर्को छटपटी फेरि उस्तै निराशाको क्षण । 

म दुई दिन फेरि लगातार जान्छु, तर उसलाई भेट्दिनँ । म बुझ्दिनँ केही, सायद ऊ मदेखि घब्राएको छ । तर मसँग सान्त्वना प्रकट गर्न कुनै ठाउँ पनि त थिएन ।

केही समय, केही महिना बित्छ यसरी नै उसलाई नदेखी उसलाई नभेटी । म थेरापी जान पनि छोड्छु । कहिलेकाहीँ सपना थेरापिष्टको मुस्कुराइरहेको अनुहार मृत देख्छु ।

फेरि पुरानै वितृष्णा, फेरि उस्तै दैनिकीमा कैद हुन थालिरहेछु । 

आज एक वर्ष बित्यो उनी हराएको । यो वर्ष एक सपना जसरी नै बित्यो, फेरि प्रेम गर्नु प्रेमीहरू छोडेर जानु क्रुर सपना । सायद म फेरि प्रेममा परेको थिएँ कसैको, सायद ऊ थिएन कोही मात्र मेरो कल्पना थियो । म सँग प्रेम गर्ने साहस पनि त छैन । त्यो दिनको मलाई धमिलो मात्र सम्झना छ आज, जब सबै पल, घण्टा, दिन, महिना थुप्रिँदै थुप्रिँदै खात लागेर बस्छन् केही घटनाका सम्झनाहरू थिचिने रैछन् । मलाई सम्झना छ, म ब्युँझिदा उनी मसँग नभएको । 

त्यसपछि बितेका दिनहरू जस्तो कुनै सपना लाग्छन् अनि सपनाहरू मलाई सबै बाँचिरहेजस्तो । अहिले पनि जस्तो यो कुनै सपना नै हो, जब म उनलाई आफूसँगै पाइरहेछु । मेरो भूल थियो सायद जो मलाई लाग्यो कि कोही जाने छ छोडेर मलाई अनि म रुमल्लिने छु आफ्नै छटपटीहरूमा ।

एउटा अनुहार मैले अस्ति सडकमा देखेको थिएँ, त्यो एक परिचित अनुहार थियो जो मबाट विपरित गइरहेको थियो । अनुहारले मलाई हेर्यो अनि ऊ पनि अरु जस्तै अलप भयो कतै गइरहेको भीडमा । 

मेरो दृष्टि कमजोर छ कि म बाँधिएको छु आफ्नै दुर्दशाको पट्टीले । वेदना, पिडा, छटपटी सिवाय जीवन तुच्छ अति तुच्छ लाग्छ । जानेहरू जान्छन् सम्झिनु बाध्यता हो र छट्पटिनु मेरो स्वभाव, किनभने केही नबोली जानेहरू एउटा आश थमाएर जान्छन् कि फर्केर आइदिन सक्छन् कुनै पनि क्षण त्यो प्रतिक्षा एक स्वप्न बनेर चिच्याउन थाल्छ । मलाई अचेल निदाउनदेखि डर लागिरहेछ, लाग्छ म ब्युँझेरै सपना बाँचिरहेछु । कुनैदिन यी सब छोडेर जाने छन् अनि फेरि म एक्लिँदै छट्पटिरहने छु ।