प्राक्कथन
एक जोडी आँखाले सबथोक देखिरहेका छन्– अमूर्त आँखा, अदृश्य आँखा, हुनसक्छः आकाशमा झुण्डिरहेका आँखा, हुनसक्छः हावामा तैँरिरहेका आँखा, हुनसक्छः जमीनमा घिस्रिरहेका आँखा, अलौकिक आँखा, ती आँखाले सबथोक देखिरहेको छ ।
***
ढ्याङ्..ढ्याङ्..
पहिलो प्रहारमा चुक्कुलमा लाग्छ, ताल्चामा लाग्दैन, दोस्रो प्रहारमा ताल्चामा लाग्छ, ताल्चा हल्लिन्छ मात्र तर फुट्दैन, तेस्रो प्रहारमा हम्मरको टाउकोले ताल्चा फुटाल्छ, चुक्कुल हल्लिन्छ, ताल्चा भुइँमा खस्छ ।
“तेसिमा फुट्नै पो मान्दैन त !” ,घरबेटीको अनुहारमा मलिनो रिस टांसिएको छ ।
घरबेटीले चुक्कुल खोल्दै भन्छ, “ल बाबु, कोठा यही हो । पहिला तिमीजस्तै एकजना विद्यार्थी बस्थ्यो । करिब चार महिना हुन लाग्यो, त्यसको नाक मुख देखेको छैन । कोही खोज्दै पनि आएका छैनन् । अब भाग्यो त्यो.. बाबु त त्यस्तो छैन होला नि ?”
“छैन.. छैन ।” ,केटोले फिस्स मुस्कुराउँदै भन्छ ।
दुबैजना कोठाभित्र पस्छन् । कोठा चिटिक्क मिलेको छ, एक कुनामा सानो भान्सा, अलिकति मिलेर दुईजनासम्म सुत्ने मिल्ने सानो खाट, एउटा पढ्ने टेबुल, टेबुकमाथि कलेजका किताबहरू, एउटा प्लास्टिकको कुर्सी, भुईंमा ओछ्छिएको कार्पेट— चिटिक्क मिलेको तर सबैलाई धुलोले छोपेको छ ।
“यी उसकै सामानहरू होलान्, तिमीलाई काम लाग्ने छ भने राख । नभए केके चाहिँदैन निकालेर बाहिर राख्देऊ, त्यसको व्यवस्था गर्दिउँला ।”
“हैन, हैन, अंकल, ठिक छ, अब यहीँ भ’को सामानलाई किन हटाउनु । …यहीँ होस्, मलाई पनि सजिलै हुन्छ ।” —नयाँ कोठाका लागि धेरै समान किन्नु नपर्ने भएकाले केटो मख्ख छ ।
“ठिक छ बाबु ल… पानीको कुनै चिन्ता लिनु पर्दैन, बाहिर इनार छ । टोइलेट-बाथरुम चाहिँ पल्लो कोठासँग सेयर गर्नुपर्ने हुन्छ । अरु कोठामा मेरै पसलका समान छन् । पल्लो कोठामा चाहिँ परिवार बस्नु हुन्छ । तिमी पनि पढ्न आ’छौ राम्ररी पढ, एक्लै भएपछि धेरै हल्ला त गर्दैनौ होला, त्यही पनि भनि’राखेको । …अनि कहिले सर्छौ त ?”
“म भोलि नै आउँछु ।” केटो उत्सुक हुँदै भन्छ ।
“ल बाबु भाडा चाहिँ टाइममा है ।” केटोले फेरि खिस्स हाँस्दै आफ्नो टाउको हल्लाउँछ । घरबेटीले ढोका छेउमा ठाडो बनाएर राखेको हम्मर टिप्छ, घरको गल्छी हुँदै पल्लो कोठातिर जान्छ । केटो ढोका छेउमा आएर घरबेटीलाई हेर्छ । घरबेटीले पल्लो कोठाको ढोका ढकढकाउँछ, पहिला त कोठाभित्रबाट खोकेको आवाज बाहिर आउँछ, त्यसपछि भित्रबाट चुक्कुल खुल्छ ।
“ए, आमा सन्चै हुनुहुन्छ ?” घरबेटीले हम्मर दिँदै भन्छ, “बिहान बासँग मार्तोल मागेर लगेको थिएँ ।” ढोकाभित्रबाट हरियो चुरा लगाएको, चाउँरिदै गएको बुढो हातले हम्मर समातेको केटोले देख्छ तर त्यो बुढो आकृतिको अनुहार भने देख्न पाउँदैन । उसलाई उतविग्न वास्ता पनि लाग्दैन, ऊ सामनसहितको नयाँ कोठा भेटाएकोमा मख्ख छ । उसले फेरि आफ्नो नयाँ कोठातिर नजर घुमाउँछ र नजरसँगै उसको मगजमा एउटा सोच घुम्छ– ‘पहिला त एउटा कुचो किन्नु पर्यो ।’
१.
‘कति हल्ला गरेको..’
ऊ निकै डरलाग्दो निद्रा निदाउँछे, उसका निद्राहरूलाई बोक्सी लागेको छ, उसका निद्राहरू बिथोल्न आइरहन्छन् छौडाहरू, निदाउनुभन्दा ज्यादा खोकिरहन्छे, निदाउनुभन्दा धेरै बर्बराइरहन्छे, हिजोको यथार्थ र भोलिको वास्तविकतामा ऊ जति सुन्दर देखिन्छे, आज आफ्नो निद्राभित्रको सपनामा लुपुक्क हुँदा ऊ बिल्कुल फरक स्वरुप धारण गर्छे, खै कस्तो देखिन्छे, कत्ति समय त म खुट्याउँनै सक्दिनँ, कहिलेकाहीँ म उसलाई चिन्न नै बिर्सिन्छु, मैले बिहान देखेको मेरी स्वास्नीको बिरामी तर हँसिलो अनुहार, जब राति ऊ बिस्तारामा पल्टिन्छे र निद्रामा हराउँछे, त्यो अनुहार फरक बन्छ, अन्जान लाग्छ, त्यो त्रासदी व्याप्त निद्रालु अनुहारमा छुट्टै चमक आउँछ, चाउरिएर कुनाकुनामा खजमजिएका उसका अनुहारका छालाहरू तन्नक्क तन्किएझैं हुन्छ । लाग्छ, ऊ मेरी स्वास्नी होइन । लाग्छ, मैले ऊसँग आफ्ना जिन्दगीका ३२ वर्ष बिताइएको कुरा झुठो हो ।
पछिल्ला १३ वर्षमा म ऊसँगै त्यो बिस्तारामा पल्टिएको छैन । अब त मैले उसको शरीरको न्यानोपन पनि बिर्सिसकेँ । यो झ्यालमा टांसिएको टेबुल, यो काठे कुर्सी, यी भागवत गीता, रामायण, चार वेद, स्वास्थानी व्रत कथा, केही कविताका किताब, केही उपन्यास, केही पुराना हिन्दी पाश्चत्य दर्शनका किताब, यी पाइलट चुरोटका खिल्लीहरू, मेरो आयुभन्दा धैरे कान्छो तर मेरै प्रतिबिम्ब बोकेको यो बूढो काठको ऐष्ट्रे र झ्यालबाहिर वर्षौंदेखि ठडिएको पल्लो घरको लेउ लागेको कंक्रिट भित्ता नै मेरा दाँवली बनेका छन् । प्रायः रातहरूले मेरो निद्रा बोकेर आउँदैनन्, अनिद्रा मेरो लागि आदत बनिसकेको छ, बालक भोरहरूमा कहिलेकाहीँ मेरा आँखा झुपुक्क हुन्छन्, त्यहीपनि चेतना पूर्णरुपले निदाउन सक्दैन, झस्किँदै उठ्छु, कुनै सपना देखेर होइन, १३ वर्ष यता मैले न एउटा शान्त निद्रा निदाएको छु, न सपनानै देखेको छु, अर्ध-निद्रामा पनि मष्तिष्क अनेकथरी सोचिरहेकै हुन्छ, र तीनै ख्यालहरूमा झुण्डिरहेको हुन्छ उसको अनुहार । हरेकचोटि अतासिदै आँखा खुलेपछि, म ओछ्यानतिर नजर सोझ्याउँछु, उसको चाउरिएको अनुहार दिउँसोको जस्तो रोगी देखिन्न, बरु लाग्छ उसको अनुहारमा घामको उज्यालो परेको छ, र ऊभित्र घामकै रापजस्तो आक्रोश सलबलाइरहेको छ । ऊ निद्रामै छटपटाइरहेकी हुन्छे, बारम्बार कोल्टे फेरिरहेकी हुन्छे, कसैलाई सरापिरहेकी हुन्छे, बर्बराइरहेकी हुन्छे र कहिलेकाहीँ त्यो बर्बराहट ठूलो गर्जन बनेर कोठाभरि गुन्जिन्छ–
‘राँडीका किरिया, नकरा भनेको सुनिनस् !’
उसलाई बिसेख बनाउन मैले कहाँ कहाँ लगिनँ, के के मात्र गरिनँ, बजारका हरेक अपस्ताल र क्लिनिकहरू पुर्याएँ, कसैले रोग के हो भन्ने कुरा त पत्ता लगाउन सकेनन् तर सबैले थरीथरीका रङ्गका ओखती भने सुझाए, तर प्राय: एकै, एउटै खाले दबाई– निद्रा लाग्ने र भिटामिन, र त्योसँगै सुझाबका गोलीहरू पनि दिए– “कमजोरीले गर्दा होला, धेरै काम नलाउनु ।” मैले “हुन्छ ।” भनेँ । “उहाँ धेरै सोच्नु हुन्छ जस्तो छ, अनेकथरी नसोच्नु भन्नु ।” –मलाई थाहा छैन, मान्छेहरूले आफ्ना सोचहरूलाई कसरी काबु गर्न सक्छन्, यो सोच् र त्यो नसोच् भनेर यी/ती मनमौजी सोचहरूले मान्छन् र ? त्यहीपनि मैले पुनः ‘हुन्छ’को मुन्टो हल्लाएँ । उसको चिना र उसलाई लिएर, मान्छेले सुझाए जति जम्मै ठाउँका ज्योतिषलाई भेट्न पुगेँ, सबैले भने– “ग्रहदशा बिग्रिएको छ । यो रातो रत्न छ, यसलाई औंठी बनाएर लगाइदिनु ।” मैले त्यो कुरा पनि मानेँ । बजार वरिपरि, सुनेजति सबै गाउँका धामीहरूलाई भेट्न पुगेँ, सबैले एउटै निर्कोल निकालेँ– “केही होइन, बोक्सी लागेको हो”, “केही होइन मसानले सता’को हो” र हरेकले उसको पाखुरामा बुट्टी बानिदिए । उसको दाइने पाखुरामा बुट्टीहरू फेरिरहे तर उसको बैचेन निद्रा जस्ताको त्यस्तै रह्यो, र हरेक रात त्यो निद्राको आयतन बढ्दै गयो र झनझन क्रुर र कुरुप हुन थाल्यो ।
कहिलेकाहीँ सोच्छु, उसलाई जुन मसानले सताइरहेको छ, त्यसलाई मैले नै त घरमा ल्याइरहेको छुँइन ? मुर्दासँगको यति लामो संगतपछि मलाई यति त विश्वास भइसक्यो कि उनीहरूको अस्तित्व चिताभन्दा पर जाँदैन, कम्तिमा मलाई त यस्तै लाग्छ । यदि साच्चिकै मान्छेहरू जिन्दगीको उल्टोपट्टी पनि बाँच्ने लालसा राख्छन् भने ती धुवाँ र खरानीमा बिलिन भएका मासुका चोक्टा र हड्डीका टुक्राहरू त्यति डरलाग्दा त हुनै सक्दैनन् जति मान्छेहरू ठान्छन् । तर यो मेरो विश्वास पछिल्लो केही समयदेखि धर्मराएको छ । अचेल म घाटबाट फर्किदा, आफ्नो शरीरलाई ननियालिकन, नटकटकाइकन या नफखालिकन घरभित्र छिर्न सक्दिनँ । चप्पलमा लागेका खरानीहरूसँग डराउँछु, आफ्नो जिउबाट आइरहेको डढेको मासुको गन्धदेखि तर्सिन्छु । तर मनमा हुण्डरीजस्तो दिशाहिन बतासिरहेको त्यो भय आफ्नो लागि भने कदापि होइन ।
२.
विगतको बिस्कुन पल्टाउँदै जाँदा म ३० वर्षअघिभन्दा उता जानै सक्दिनँ । त्यतिबेला हामी गाउँमा थियौँ, हामीबीच सबै ठिक थियो, ऊ ठिक थिई, म पनि ठिकै थिएँ, ठिक नभए पनि हामी हरेक समयलाई, समस्यालाई हल्का बनाउने प्रयास गर्थ्यौं । हुन त हाम्रो मागी विवाह भएको थियो तर हामीले एकअर्कालाई छोटो समयमा नै चिन्यौँ, बुझ्यौँ, हामीले सँगै टेकेका जमीनमा बिस्तारै प्रेम नामक बिजका मसिना टुसा पलाउँदै गए ।
म गाउँकै स्वास्थ्य चौकीमा कम्पाउन्डरको काम गर्थेँ ।
बिहे गरेको दुई वर्षसम्म हाम्रा कुनै सन्तान भएनन् । त्यस अन्तरालमा हामी दुबै पटकपटक गाउँकै स्वास्थ चौकी पुग्यौँ तर डाक्टरले हामी दुबैमा कुनै खोट भेटाएनन् । हामीले गाउँका धामीलाई पनि देखायौँ, उसका माइती गाउँको धामिनीको घरमा पनि पुग्यौँ, उनीहरूले भनेका सबै विधी अपन्यायौँ । र अन्ततः एउटा लामो कुरुवा व्याकुलताले पूर्णबिराम पायो । विवाहको तीन वर्षपछि ऊ दुईज्युकी भई र मर्दै गएको हाम्रो आशको टुसा पुनः पलाउन थाल्यो ।
जेठो सतान भएकाले मुलघरबाट छुटिएर हामी आफ्नै सानो घरमा बस्न थालेको एक वर्ष हुन लागेको थियो । बिहे भएको दुई वर्षसम्म पनि सन्तान नभएपछि घरमा किचलो सुरु भयो । आमाले उसलाई वचनको खाप्सियोले घोच्दा त्यो सिदै आएर मेरो छातीमा बेस्मरी बिजाउँथ्यो । तर उसले ती वचनहरूको विरुद्धमा कहिल्यै केही बोलिन, मसँग पनि कहिले कुनै गुनासो गरिन । मलाई लाग्न थालिसकेको थियो कि नपुंसकताको बिरुवाले मभित्रै जरा गाडेको छ । त्यसलाई सहन नसकेर मैले एकदिन घरबाट छुटिने निर्णय लिएको थिएँ ।
ऊ दुईज्युकी भएपछि मुलघर आफ्नो मनले नमान्दानमान्दै पनि मुस्कुराउन थाल्यो । तर त्यो मुस्कान छ महिनाभन्दा ज्यादा टिक्न सकेन । उसको गर्भ तुहियो, गर्भसँगै उसको खुशी योनिबाट चुहियो, मेरा आँखाबाट र घरको धुरीबाट । उसले आफूलाई सम्झाल्न खोजिरही, मैले आफूलाई सम्झालिरहेँ, घर ठडिरह्यो ।
समयले घाउमा पाप्रा बुन्दै गयो, बिस्तारै हाम्रो जिन्दगीले सबथोक ठिक हुन्छ भन्ने अभिनय गर्न थाल्यो । त्यसको करिब डेढ वर्षपछि ऊ फेरि दुईज्युकी भई । योपालि हाम्रो मनमा खुशीभन्दा धेरै डर थियो, र असाध्यै बेचैनी पनि । फेरि त्यही घटना दोहोरियो भने हामीले आफूलाई कसरी सम्झाल्ने, म आफ्नो मन कसरी बुझाउँला, अझ म उसलाई कसरी सम्झाउँला ! दिन बित्दै गयो र एकदिन त्यो त्रास यथार्थमा परिणत भयो । त्यसपछि मलाई कति दिनसम्म म आफ्नै घरको धुरीबाट खसिरहेको छु भन्ने महसुस भइरह्यो । तर उसले यो कुरालाई सहन सकिनँ, त्यो घटनापछि ऊ बिना हलचल बिस्तारामा लडिरहन थाली– मुर्दा जसरी, न खानालाई उसको मुख खुल्थ्यो न बोल्नलाई । ऊ अधिकांश समय एकोहोरो भई टोलाइरहन्थी र बाँकी समय अबेरसम्म निदाउन्थी ।
उसको शरीर सुक्दै गइरहेको थियो ।
केही समयपछि बाआमाले मलाई अर्को बिहे गर भनेर कर गर्न थाले । धेरैचोटि मैले उनीहरूको कुरालाई बेवास्ता गरिरहेँ । एकदिन मैले उनीहरूलाई भनेँ, ‘म भोलि उसलाई बजारको अस्पताल लैजान्छु, ठूलो अस्पतालमा केही होला कि !’ कसैले मेरो कुरालाई ध्यान दिएर सुनेनन् । स्वास्थ्य चौकीमा मैले हिजै छुट्टी मिलाइसकेको थिएँ र हिजै मात्र मेरो तलब पनि आएको थियो, थप खर्चको लागि दुईवटा खसी पनि बेचिसकेको थिएँ । गाउँसम्म गाडी कुद्ने बाटो बनिसकेको थिएन, गाउँबाट बजार पुग्न करिब ६ घण्टा लाग्थ्यो । भोलिपल्ट सबेरै मैले उसलाई डोकोमा बोकेर बजार झरेँ, मलाई त्यतिबेलै एकप्रकारको आभास भइसकेको थियो– अब म फेरि गाउँ फर्किएर आउँदिनँ ।
कति हलुका भारी ! मलाई यस्तो लाग्यो, म डोकोमा मकैका खोस्टा बोकेर गाउँ छोड्दैछु ।
बजार पुगेपछि मैले उसलाई अस्पताल लिएर गएँ । ठूलो ठाउँको ठूलो अस्पतालले मलाई भयङ्कर झड्का दियो । उसलाई पाठेघरको क्यान्सर भएको थियो, जुन के थियो र कस्तो रोग थियो, त्यो मेरो समझबाट धेरै पर बसेर हाँसिरहेको थियो– एक अज्ञात खित्का ! क्यान्सर फ्याक्न पाठेघर सिङ्गै निकालेर फ्याक्नु पर्ने भयो । झडपमा गम्भीर घाइते भएको आन्दोलनकारी जस्तो म निरीह बनेँ, मसँग कुनै विकल्प थिएन, मैले आफूसँग भएको पुगनपुग पैसा अस्पतालको काउन्टरमा बुझाएँ ।
डाक्टरले उसको पाठेघरसँगै हाम्रो वंशको आश पनि हुत्याइदिए ।
त्यही बेलुका मैले अस्पतालको छेउको पसलबाट गाउँको सिडिएमएमा फोन लगाएँ । घरबाट कसैलाई बोलाउन आग्रह गरिनँ, सिर्फ एउटा सन्देश घरसम्म पुर्याइदिनु भनेँ–
‘अब म गाउँ फर्किन्नँ, तल्लो घर पनि हेर्दिनु होला !’
३.
अजिब लाग्छ, हरथोक सम्भावित सत्य हो, लाग्छ जन्म पहिला नै निर्धारित छ– मृत्यु यथावत छ, तर देखिदैन, बरु सँगसँगै हिँडिरहेको छ, हरेक अस्तित्वको बाहुपास सामु टुक्रुक्क बसेर पर्खिरहेको छ, एउटा मौका चाहिएको छ त्यसलाई, उडिरहेको झिंगालाई नियालिरहेको भोको भ्यागतो जसरी, मृत्यु जिन्दगीलाई गिद्धे नजर फ्याकिरहन्छ, जहिले मौका मिल्छ आफ्नो लामो जिब्रो स्वात्त बाहिर निकाल्छ, झिंगालाई न्याक्छ, र सुलुत्त निल्छ । यो कति हाँस्यस्पद कुरा छ– जन्मिनु छ, फेरि मर्नु पनि छ र त्यो दुईटा सत्यको बीच बाँच्नु त छदैँछ । फेरि बाँचेर मात्र पनि त पुग्दैन, आफ्ना संवेदनाका दास को बनिदिन्छ ? – हाँस्नु पनि छ, रुनु पनि छ, निदाउनु छ, जाग्नु छ, रमाउनु पनि छ, गुमाउनु पनि छ ।
मान्छेका झिंगे जिन्दगीलाई कतिविग्न हतार छ, फेरि सबै यतिविग्न उदास पनि त छन् । उपलब्धि छैन– उदासी छ, सन्तुष्ट छैन– उदासी छ ।
हुन त, यहाँ उदास के छैन ? उदासी कोसँग छैन ?
दुःख कसलाई छैन ? दुखेको को छैन ?
इतिहास उदास छ, वर्तमान बोकेर उडिरहेका झिंगाहरू यतिविग्न किन गन्हाउँछन्– गन्हाइरहेका छन् ? तीनै झिंगाहरू हुन्, जो भोलि भविष्य बन्ने छन् । एउटा झिंगाको भविष्य के हो ? – मृत्यु ? मर्ने छन्, भविष्यतर्फ सुख खोज्न उडिरहेका झिंगाहरू । झिंगाहरूका मलामी हुने छैनन्, झिंगाहरूको काजकिरिया हुने छैन । झिंगाहरू न गाडिनेछन्, न चितामा चढ्ने छन् । झिंगाहरू सढ्ने छन्, सिनो बन्ने छन् । र ती भविष्यका झिंगाहरू, वर्तमानका झिंगाहरूभन्दा बेसी गन्हाउने छन् र त्यो दुर्गन्ध असय्य हुनेछ ।
बेतुकका यी सोचहरूबाट आफूलाई बाहिर निकाल्न, आफ्नो मामुली गोजीबाट सस्तो चुरोट निकाल्छु र सल्काउँछु । उस्तै, एउटै, आवर्ती दिनहरू, केही फरक छैन, आजको लागि मैले अन्तिम लासलाई जलाइसकेँ । घाम डुबिसकेको छ, साँझले अन्धकारलाई आफ्नो आँगनमा बोलाउँदैछ । चित्ताहरू पुतपुताइरहेका छन्, धुवाँहरू आकाश छुने तरखर गर्दैछन्, लासहरू सेकुवाको गन्ध बोकेर घाट वरपर घुमिरहेका छन् । बूढा हातसँग अभस्त भइसकेका बाँसका घोचाहरू लासलाई बेपरवाह घोचिरहेका छन् । मृत्यको स्वरुप शायद एउटै हुन्छ, मलाई उस्तै लाग्छ, यो पनि मुर्दा हो, त्यो पनि मुर्दा हो । म हरेक चितासँग इमानदार छु, कुनै हतारो छैन, ढिलासुस्ती पनि गर्दिनँ । मुर्दालाई घोचोले ठेलिरहँदा कहिलेकाहीँ सेकुवाभन्दा फरक हरक मेरो नाकभित्र पस्छ । त्यो गन्धले मभित्र छुट्टै भोक जगाउँछ, पेटभित्रको अदृश्य मनलाई मासुको तलतल लाग्छ । घर फर्कँदै गर्दा मासु पसलबाट एक पाउ बोइलरको मासु लान्छु, र आफै बनाउँछु । उसलाई खुवाउँछु र आफू खान्छु– खाइसकेपछि पनि त्यो तलतल धेरै समयसम्म मेटिँदैन, सोच्छु– यो मान्छेको नैतिकताभन्दा कति परको कुरा हो, सायद बिस्तारै म आफ्नो मानसिक सन्तुलन गुमाउँदैछु ।
चुरोटको लामो सर्को लिन्छु, पर त्यो पुराना तम्तयार चिता उस्तैगरी उभिरहेको छ, त्योभित्र भोक छ, पर्खाइ छ, भनौं न त्यो मलाई नै कुरिरहेको छ । त्यो मैले नै तयार पारेको चिता हो, आफ्नो लागि । मेरी स्वास्नीभन्दा म पहिला गएँ भने, मेरो अन्तिम संस्कारमा उसलाई कुनै प्रकारको दुःख नहोस् । जसको सबै व्यवस्थाको लागि मैले मरिचमानलाई भनिसकेको छु । यो हुन्छ र यसलाई हुनु नै छ– मभन्दा ऊ पहिला जाओस्, म यही चाहन्छु, मबिना कसरी उसले आफ्नो कछुवाको घाँटीजस्तो चाउरिएको जिउ लिएर यो संसारअघि उभिन सक्छे ?
म यो कल्पना पनि गर्न सक्दिनँ ।
“काका..”
म मुन्टो पछाडि फर्काउँछु, मेरो सन्मुख मरिचमान उभिरहेको छ, त्यही झुसे दाह्री र चिम्सा आँखा लिएर, ओठमा फिक्का मुस्कान टांसेको छ । ऊ भिन्न, साबिकभन्दा अर्कै मान्छे हो झैं देखिएको छ, हिजो-अस्तिभन्दा आज उसको पहिरनमा अन्तर देख्छु । उसले नयाँ अनि चिटिक्कको कपडा लगाएको छ ।
“एई.. झुसे, म दिनभर तँलाई नै सम्झिर’को थेँ । आज किन आएन यो भनेर..”
उसका पातला आँखीभौं एकपटक जुरुक्क उभिन्छन् ।
“फेरि बिर्सिनु भएछ.. तपाईंको बिर्सिने बानी पनि बढ्दै गा’को छ आज्कल । मैले हिजै भनेको होइन, म आज गाउँ जाँदैछु भनेर ।”
म आफ्नो मस्तिष्कमा त्यो याद खोतल्न थाल्छु, तर उसले हिजो मलाई भनेको कुरा मेरो मानसपटलको कुनैपनि कुनामा भेट्दिनँ ।
“ए.. मैले त भुसुक्कै बिर्सेछु, अनि कहिले फर्किन्छस् त ?”
उसको अनुहारमा भरखरै छापिएका आश्चर्यका धर्साहरू झनै मोटा हुन्छन् । प्रश्न सोधिसकेपछि मलाई लाग्छ, यसको उत्तर पनि उसले मलाई हिजै दिइसकेको छ ।
“अब म फर्किन्नँ काका, यो कामले मलाई चुसेर खोक्रो बनाइसक्यो । सपना पनि नराम्रो मात्रै देख्छु । बरु गाउँमै गएर हलो जोत्छु ।”
म केही भन्दिनँ । ऊ पनि एकछिन मौन रहन्छ र फेरि भन्छ–
“माफ गर्नु काका, मैले तपाईंलाई जलाउन नपाउने भएँ ।” ,उसको अनुहारको निर्धो मुस्कानले पनि माफी मागिरहेको छ ।
“केही छैन झुसे, यत्रा मान्छे छन्, कसै न कसैले त जलाइदेलान् नि । बरु तेरो गाडी कति बजेको छ ?”
ऊ एकपटक आफ्नो नाडीको घडीलाई पुलुक्क हेर्छ र भन्छ– “भरे.. ८ बजे ।”
“लु हिँड् न त, अलिकति… तँलाई पनि बिदा गर्नु पर्यो ।”
“त्यसैको लागि त बोलाउन आ’को तँ’पैलाई ।”
४.
आफ्नो पुरानो स्टकोटको झुत्रो खल्ती छाम्दै, म मरिचमानसँगै त्यो थोत्रो ढोकाबाट त्यही साँघुरो भट्टीमा छिर्छु । रक्सीको माधकतामा लठ्ठिएको भट्टी, आज पनि हिजो जस्तै हल्ला गरिरहेको छैन– चुपचाप छ । भट्टी छिर्नसाथ मेरो नाकले रक्सीको गन्धलाई सर्लप्प निल्छ । एकपटक भुँडी नमजाले बाउँडिन्छ, मलाई आफ्ना आन्द्रा बिस्तारै बट्टारिन थालेको भान हुन्छ ।
कुनै कुनाबाट पनि घाम नछिर्ने यो भट्टीमा– बिहान, दिउँसो, साँझ, राती त्यही एउटा मधुरो बत्ती बलिरहेको हुन्छ । यही बत्तीमा भट्टीको परिसर आफूलाई उज्यालिएको महसुस गर्छ, बाटो बिराएर पनि घाम यहाँ पस्दैन । त्यसैको वियोग या शोकले हुनुपर्छ ओस लागेका भट्टीका भित्ताहरू सधैं ढुसी-ढुसी गन्हाइरहेका हुन्छन् ।
सदाझैं त्यो कुनाको टेबुलमा कोही बसेको हुँदैन, म र मरिचमान हाम्रो त्यही पुरानो ठाउँमा गएर बस्छौं । यो टेबुलमा खासै कोही मान्छे आएर बसिहाल्दैन किनकि यो टेबुल छेउको भित्तामा लेउ लागेको छ र त्यहाँबाट नाकका पोरै चिलाउँने गरी एकप्रकारको हरक आउँछ । हुनत यो गन्ध त्यही भट्टी पछाडिको ढलबाट आएको हो, तर यो कुराले हामीलाई कहिलेपनि असर गरेन, कहिले त्यतिविग्न वास्ता पनि लागेन । सिनोको रुप धारण गरेका यस्ता गन्धहरूसँग हाम्रा नाक अभ्यस्त भइसकेका छन् ।
एकपटक चारैतिर नजर दौडाउँदै मरिचमानले साहुनीलाई इसारा गर्छ । उसको मुखबाट बोली निस्किदैन, उसले आफ्ना हातका दुई औंला देखाउँछ, साहुनीले उसको संकेतलाई बुझ्छे । यो भट्टीमा प्रायजसोः बुढापाकाहरू मात्र आउँछन् । सधैँझैं मैले केही परिचित अनुहारहरू पनि देखिरहेको छु, हामीजस्तै केही चण्डालहरू पनि एकएक कुना पकडेर रक्सी पिइरहेका छन् । र सबै शान्त छन्, यस्तो लाग्छ, यो भट्टीमा जस्तो शान्ती अरू कहीँ छैन, कोही बोलिरहेकै छैनन्, बोल्नुपर्ने आवश्यकता पनि छैन । सबै यहाँ आफूलाई एक्लो बनाउनको निम्ति आउँछन्, सबै एक्लिन चाहन्छन् ।
साहुनीले दुई गिलास रक्सी लिएर हाम्रो टेबुलमा राख्दिन्छे । पहिला त ऊ रक्सीको गिलासलाई नाक छेउमा पुर्याउँछ, त्यसको गन्धलाई पहिला आफ्नो नाकले निल्न दिन्छ र एकै स्वाटमा आफ्नो घाँटीमुन्तिर रित्याइदिन्छ । म पनि उसकै सिको गर्छु, घाँटी एकपटक नमीठो चर्हाउँछ, रक्सी पेटसम्म पुगेको मलाई महसुस हुन्छ । मरिचमान काउन्टरछेउमा पुगेकी साहुनीलाई फेरि इसारा गर्छ । एकछिनपछि साहुनी फेरि अर्को दुई गिलास रक्सी लिएर हाजिर हुन्छे र हाम्रो टेबुलको रित्तो गिलास उठाएर जान्छे । यसपटक भने गिलासको रक्सी ऊ हतार नगरि बिस्तारै पिउन थाल्छ, म पनि फेरि उसैको नक्कल गर्छु ।
भट्टीका अरु मान्छे जस्तै हामी पनि चुपचाप रक्सी पिइरहेका छौँ । सबैले सास फेरेको आवाज, गिलास टेबुलमा राख्दाको आवाज, रक्सी पिइसकेपछि मुख मिठ्याको आवाज र बेलाबेला साहुनीले भाडा माज्दाको खत्र्याङखुत्रुङ– सबैको कानमा रुमल्लिरहेको छ । कसैको मुखबाट कुनै शाब्दिक आवाज भने बाहिर निस्केको छैन । यो कसैले लागु गरेको कानुन त होइन, तर भट्टी लामो समयदेखि कसैको शोकमा मौन धारण गरिरहेको छ । यो आफै बनेको व्यवस्था हो र मान्छे यहाँ रक्सी पिउनभन्दा ज्यादा, यो मौनताको खोजीमा आउँछन्– कम्तिमा म त यसैको निम्ति यहाँ आउने गर्छु ।
मरिचमान र मैले एकपछि अर्को गिलास थप्दै जान्छौँ । मेरो निधार गह्रौं हुँदैछ तर मैले आफूलाई रोक्ने प्रयास गरिरहेको छैन, गिलासपछि गिलास हाम्रा घाँटीमुन्तिर रित्तिदै गइरहेका छन् । मरिचमानले आफ्नो नाडीको घडीतिर नजर पुर्याउँछ र ‘अब निस्किनुपर्छ’ भन्ने जनाउ गर्छ । मेरो मगजमा पनि मेरी स्वास्नीको अनुहार झिमिक्क झुल्किन्छ, म धेरै पहिला बिर्सिएको पुरानो कुरा सम्झिएझैं झसङ्ग हुन्छु, रक्सीले लठ्ठ भएको मेरो चेतनामा उसको अनुहार धमिलो देखिन्छ । मन चिसो हुन्छ, म सतर्क भएर जुरुक्क उठ्छु । एक्कासी उठ्दा मेरो टाउको टिनन घुम्छ, म आफूलाई सम्हाल्न सक्दिनँ, फेरि कुर्सीमा थचक्कै बस्छु । मेरो अनियन्त्रित बसाईँले कुर्सी धर्मराउँदै लड्न खोज्छ तर मरिचमानले हत्तनपत्त कुर्सी र म, दुबैलाई सम्हान्छ । मलाई भट्टीका सबैले मेरो स्थितिलाई चुट्किलाको तराजुमा जोख्दै हाँसिरहेका छन् भन्ने बोध भइरहेको छ ।
मरिचमान काउन्टरतिर जान्छ, म सम्झालिँदै बिस्तारै उठेर भट्टीबाट बाहिर निस्किन्छु । मेरो मगजमा एकोहोरो खोकेको बूढो आवाज मात्रै घुमिरहेको छ, मलाई जतिसक्दो चाँडो घर पुग्नुछ । ऊ आत्तिसकी होला ! मरिचमान पनि भट्टीबाट बाहिर निस्किन्छ । बिरालोले मुसो च्यापेझैं ओसिलो भट्टीले आफ्नो दाँतको बीचमा अघिसम्म च्यापेको उसको आवाज बाहिर निस्किन्छ–
“काका.. जान सक्नुहुन्छ कि ट्याक्सी बोलाइदिम् !”
“गइहाल्छु नि.. तैँ त हो.. बरु कति पो बज्यो ?” मेरो जिब्रो रक्सीले लठ्ठिरहेको छ, मन भने आत्तिन खोजिरहेको छ ।
“साढे ७ भयो काका.. म पनि बसपार्कतिर लाग्छु । फेरि गाडी छुट्यो भने.. जान सक्नुहुन्छ नि तपाईं ?”
“जान्छु.. जान्छु.. बरु तँ राम्ररी जा । अब भेट कहिले हुने हो थाहा छैन ।”
“ह्या..काका ! म तपाईंलाई भेट्न आइहाल्छु नि ! ल अहिलेलाई लाग्छु.. तपाईं पनि राम्ररी जानु !”
“लौ त, रामरी जा..”
५.
आकाशमा एउटा बडेमानको सुतुरमुर्गले पारेको विशाल अण्डाजस्तो झुन्डिएको छ चन्द्रमा, जो रक्तिम देखिएको छ र जो मेरा खुट्टाहरूलाई उज्यालो दिन तत्पर छ । फुटपाथलाई छोडेर म गल्लीतिर मोडिन्छु, मेरा सोचहरू रक्सीले मातिएका छन्, अरु दिनभन्दा आज कोठा मलाई निकै टाढा लागिरहेको छ । टाउको रन्थनिरहेको छ, परपर कुकुरहरू भुकिरहेका छन्, मनमा एउटा सोच मडारिरहेको छ– जसरी भए’नि कोठासम्म पुग्नु छ !
हिजो, अस्ति, जति खाएपनि मलाई रक्सीले यतिविघ्न लागेको बोध मलाई कहिले भएको थिएन । रक्सीको नशामा आज म आफ्नो शरीरलाई चिन्न सकिरहेको छुइनँ, खुट्टाहरू लड्खडिरहेका छन्, मस्तिष्कमा बारम्बार एउटै मात्र दृश्य घुमिरहेको छ— हुर्हुरी चिता जलिरहेको छ र एक जोडी कक्रिएको हातमा बन्दी भएको घोचोले त्यो चितालाई लगातार घोचिरहेको छ, र त्यस चिताबाट कोही रोएको आवाज आइरहेको छ, त्यो रुवाइ बिस्तारै ठूलो, ठूलो अनि ठूलो हुँदै गइरहेको छ । मेरो मस्तिष्कमा लरखराइ रहेको त्यो दृश्यलाई सेतो पर्दाले डाक्न म असक्षम छु, म आफ्नो मगजलाई काबु गर्न सकिरहेको छुइनँ । मलाई रिंगटा लाग्न थाल्छ, म आफूलाई सम्हाल्न सक्दिनँ, आफ्नो जिउलाई थेग्न सक्दिनँ…
अँध्यारो ।
६.
मलाई समयको कुनै हेक्का छैन, खुनमा चुर्लुम्म डुबाएर निकालेको रक्तमत्त चन्द्रमा अहिले विधुवाको नयाँ सुतीको सारीजस्तो श्वेत भएको छ । म बस् दौडिरहेको छु, मेरो मगजमा एउटै मात्र अनुहार घुमिरहेको छ– उसको । रक्सीको नशा मेरो जिउबाट पखालिइसकेको छ, चिन्ताका नङ्ग्राहरूले मेरो छाती कोतरिरहेका छन्, मैले आफ्नो मुटुको धड्कनलाई सुनिरहेको छु, धड्कन बेस्सरी आत्तिएको छ, त्यो मेरो गतिले भन्दा बढी एउटा अनौठो भयले ज्यादा उफ्रिरहेको छ । मेरा पैतालाहरू कतै पनि रोकिन मान्दैनन्, मलाई विश्राम लिनु छैन, मस्तिष्कभित्रको एउटै सोचमा मैले आफ्ना हरेक अवयवलाई लाचार छोडिदिएको छु– म त्यही सोचले लछारिएर कोठा पुग्छु ।
घरको मुल ढोका खुल्लै छ, तर भित्र छिर्ने गल्लीभरि अँध्यारो छरपस्ट व्याप्त छ । म अनुमान लगाएर बत्ती बाल्नलाई भित्तातिर स्वीचबोर्ड खोज्न थाल्छ, मेरा नाङ्गा पैतालामा चिसो महसुस हुन्छ, मलाई हिलो कुल्चिएझैं भान हुन्छ । स्वीच भेटाउँछु, बत्ती बाल्छु… म झसङ्गै हुन्छ, मुटुको रफतार झन् तेज हुन थाल्छ । भुईँभरि रगत लत्पतिएको छ, त्यो कंक्रिट गल्लीभरि रक्ताम्य पैतालाका छाप छन्, मनमा चिसो पस्छ, म ती छापहरूसँग अन्जान छैन, मेरा आँखाले ती ड्याब्रे छापहरूलाई पछ्याउन थाल्छ, जुन हाम्रो कोठाभित्र पसेको छ । म हतासिदै कोठाभित्र पस्छु, कोठा भने उज्यालो छ– ऊ बिस्तारामा घोप्टो पल्टिरहेकी छे, रगत लत्पतिएको उसको एउटा हात खाटबाट तल तुर्लुङ्ग झुन्डिएको छ, र त्यसको ठिक भुईँमा पुरानो मार्तोल ठिक उसैको प्रतिबिम्ब बनेर लडिरहेको छ, जसको टाउको भरखरै रगतको भाँडोमा डुबाएर निकालेको जस्तो देखिन्छ ।
म बिस्तारा छेउमा जान्छु, उसको अनुहार नियाल्छु, त्यो चाउरिएको निद्रालु अनुहारमा छुट्टै उर्जा छ, खूनका ससाना छिट्टाहरू सुक्दै गइरहेका छन्, उसको अनुहारका छालामा हरबखत मौजुद बेचैनीका जम्मै धर्साहरू अहिले बिलाएका छन् । ऊ हिजो-अस्तिभन्दा बिल्कुल अलग, चैनसित निदाइरहेकी छे । मेरो मुखबाट हैरानीको लामो सुस्केरा निस्किन्छ..
खुईय्या !
मलाई मेरो मुटुबाहिर निस्किएर कोठाभरि नै ढुकढुक गरिरहेझैं लाग्छ, टेबुलमाथिको भित्ते घडीको आवाज झनझन तिक्खर, चर्को सुन्न थाल्छु । म घडी हेर्छु–
१२ः३५
टिक..टिक..
भान्सा छेउको ड्याम्लीबाट पाँच जग पानी डेक्चीमा सार्छु र गोजीबाट रुमाल निकालेर त्यसलाई पानीमा डुबाउँछु । म बिरालोको चालमा सुस्तरी खाटको खुट्टा छेउमा बस्छु, र होसले उसले पत्तो नपाउने गरी उसका हातलाई भिजेको रुमालले पखाल्न थाल्छु । भुईँबाट मार्तोल टिप्छु र त्यसलाई पानीमा चोबलेर धुन थाल्छु, उसका अनुहारमा लागेका छिट्टाहरू भने सुक्दै गइरहेका छन्, त्यसलाई त्यतिकै छोड्दिन्छु, उसलाई उठाउने मेरो कुनै मनसाय छैन, ती भोलिसम्म त्यति शंकास्पद देखिनन् भन्ने कुरामा म विश्वस्त छु ।
खाटमुनिबाट एउटा बडेमाको कालो प्लास्टिक, सुत्रीको डल्लो र जुटको बोरा निकाल्छु र कोठाबाट बाहिर निस्किन्छु । मलाई थाहा छ, मेरो अघि के आउँदैछ, म यो बाटो पहिला पनि हिँडिसकेको छु । गल्लीका ठाउँठाउँमा लत्पतिएका रगत सुक्न थालेका छन् । पल्लो कोठाको ढोका आधा खुलेको छ, म बिस्तारै ढोका खोल्छु । बत्तीको चर्को उज्यालो छरिएको भुईँमा एउटा वयस्क शरीर लम्पसार उत्तानो लडिरहेको छ, उसको टाउकोबाट केही समयको अन्तरालमा हुलुक्क-हुलुक्क रगत निस्किरहेको छ ।
म त्यो लासलाई प्लास्टिकमा बेर्न थाल्छु, मेरो मनभित्रको संत्रास अहिले गायब भइसकेको छ । कसैले देख्ला, कसैले रंगेहात पक्रेला भन्ने भयबाट म कोसौं दुर छु । म लासको पोकोलाई सुत्रीको डोरीले बाँध्न थाल्छु र त्यो मुडाजस्तो लासलाई बोरामा कोच्छु, बोराको मुख पनि डोरीले टालिदिन्छु । एउटा भारी तयार हुन्छ, म त्यस भारीलाई भित्तामा ठड्याउँछु, जसको छेउमा नयाँ कुचो उत्तानो उभिएको छ । म फेरि आफ्नो कोठामा गएर दराज खोल्छु, र उसको एउटा पुरानो सारी निकाल्छु । त्यसलाई नाम्लो बनाउँछु र जन्मिदै गरेको शीतल भोरमा म चिसो भारी बोकेर घरबाट बाहिर निस्किन्छु ।
गल्लीका कुकुरहरूसँग बच्दै म घाट पुग्छु, घाट सुनसान छ, र त्यहाँ लामो समयदेखि कठ्याङ्ग्रिएको एउटा चिसमिरो चिता आगोको न्यानोपन अँगाल्न तम्तयार छ ।
अरु रातजस्तो छैन यो रात । तरल छैन । बगिरहेको छैन । यो रात जमेर ढिक्का ढिक्का बनेको छ ।
उपसंहार
घरको कंक्रिट आँगनको एक कुनामा एउटा इनार छ, त्यही इनारछेउ उभिएर बूढो चुरोट पिइरहेको छ । ऊ घरिघरि आकाशतिर हेर्छ, बिहानको कलिलो घामले उसको निधार चुमिरहेको छ । केही सम्झिन खोजेझैं गर्छ, तर उसलाई आफ्नो मष्तिस्क खाली-खोक्रो लाग्छ । चुरोटको ठुटोलाई खुट्टाले कुल्चिएर ऊ घरभित्र पस्छ । सफा, सनक्क घरको गल्लीमा ऊ एकछिन रोकिन्छ, पल्लो कोठाको ढोकातिर कर्के आँखा फ्याक्छ– त्यहाँ एउटा नयाँ ताल्चा लागेको छ ।
ऊ आफ्नो कोठातिर जान्छ, उसकी बूढी बिमार स्वास्नी कोठा बडारिरहेकी छे । उसले एकचोटि आफ्नो घाँटी खसखसाउँछ, र भन्छ–
“नयाँ कुचो ल्याइदे’को छु त !”
“तपाईंले बल्ल सम्झिनु भो, कति दिनदेखि भनिरा’थे ।”, बूढीलाई केहीबेर लहरे खोकी चल्छ ।
उसको धर्मराएको रोगी स्वर र खोकीको बीचमा बूढो एकपटक मुस्कुराउँछ मात्र, केही भन्दैन । उसले खाटमुनिबाट नयाँ कुचो निकाल्छ र आफ्नी स्वास्नीलाई दिन्छ । स्वास्नीले एकपटक अम्लिसोको नयाँ कुचोलाई वल्टाइपल्टाइ हेर्छे । कुचोका डाँठमा राता छिर्केमिर्के छिट्टाहरू टांसिएका छन्– त्यसलाई बेवास्ता गर्दै ऊ फेरि भुईँ बडार्न थाल्छे ।
उपसंहारपछिको अन्त्य
बूढो आफ्नो टेबुल छेउ उभिएर एकछिन टोलाउँछ । टेबुलमुनिको ड्रयर खोल्छ, गोजीबाट एउटा चाँबीको झुप्पा निकाल्छ, त्यो ड्रयरभित्र पहिला नै पुरानो चाँबीको अर्को गुच्छा छ । उसले त्यस चाँबीको गुच्छालाई एकछिन एकटकले नियाल्छ र आफ्नो हातको चाँबीलाई त्यही ड्रयरमा हुत्याइदिन्छ– दुईटा चाँबी जुध्दा झ्याङ… आवाज निस्किन्छ, त्यही आवाजको मध्यविन्दुमा उसले झल्यास्स्… मरिचमानको कुरा सम्झिन्छ ।
‘तपाईंको बिर्सिने बानी पनि बढ्दै गा’को छ आज्कल..’
उसको गिदीको पुन्तुरामा सानो प्वाल परेको छ । त्यसबाट तोरीका जस्ता ससाना यादका काला गेडाहरू एउटा अज्ञात अनि गहिरो अँध्यारोतिर खस्दै गइरहेका छन् । अचानक, उसको मनमा सिरेटो चल्छ–
‘कुनैदिन मैले उसलाई प्रेम गर्छु भन्ने कुरा बिर्सिएँ भने…’