निर्बाक: एउटा सशक्त ‘भिजुअल स्टोरिटेलिङ’


Logo

युनेश


१२५ वर्षको लामो यात्रामा अनेकन प्रयोग भएका छन्, सिनेमाजगतमा । सिनेमा ताते सर्दै गर्दादेखि अहिले दौडिरहेको अवस्थासम्ममा पनि अनेकन प्रयोगहरू भइनैरहेका छन् । त्यस्तै एउटा प्रयोगले सिनेमाजगत फेरियो । त्यो प्रयोग थियो, सिनेमामा संवादको प्रयोग । अझै खुलाएर भन्ने हो भने सिनेमामा आवाजको प्रयोग । सुरुवाती दिनहरूमा सिनेमामा आवाज हुँदैन थियो । त्यतिबेलाका प्रविधिबाट आवाजलाई कैद गरेर सिनेमासँगै मिसाउनु कठिन काम थियो । प्रयास भने भइरहेकै थियो तर फिचर फिल्ममा व्यापारिक रुपले भने प्रयोग गरिएको थिएन । पहिलो पटक ‘The Jazz Singer’मा आवाजको प्रयोग भयो । त्यसपश्चात् अन्य सिनेमाहरूले पनि सो पथ पछ्याए र अन्त्य भयो ‘अर्लि साइलेन्ट एरा’को ।

संवाद, दुई पात्रबीच कुराकानी गरेको देखाउन मात्रै प्रयोग गर्ने होइन, यो प्रयोग गर्ने हो जानकारी दिन । पात्रहरू बोलिरहँदा उनीहरूले जानकारी पनि दिइरहेको हुनुपर्छ । तर के सबै कुराहरू संवादमा अटाउन सकिन्छ ? के सबै भावना बोलेर बयान गर्न सकिन्छ ? उत्तर सजिलो छ, सकिँदैन । यस्तो बेला ती भावनाहरूलाई देखाउनु पर्ने हुन्छ दृश्यमा । त्यस्ता भावनाहरूद्वारा सानोभन्दा सानो कुराहरूलाई नभनि देखाउँदा सिनेमाको स्वाद नै फेरिन्छ, त्यो उत्कृष्ट हुन्छ । 

जबसम्म संवादको आवश्यकता पर्दैन र जबसम्म नबोलि देखाउन सकिन्छ, नबोलि देखाएको बेस, यस्तो मलाई लाग्छ । एउटा उदाहरण दिउँ । मान्नुस् एउटा बच्चा पात्र छ । उसलाई चकलेटका खोलहरू जम्मा गर्ने शोख छ । यो जानकारीलाई दर्शकमाझ दुई तरिकाले पेस गर्न सकिन्छ । एक– बच्चालाई ‘मेरो शोख चकलेटका खोलहरू जम्मा गर्ने हो’ भन्न लगाएर । दुई– बच्चाले, खाएको वा भेट्टाएको चकलेटको खोललाई अन्य थुप्रै खोलहरूसँगै मिसाएर र त्यसलाई जतनका साथ राखेको देखाएर । यो त सानो उदाहरण मात्र भयो, यसरी धेरै जानकारीहरू फरक प्रस्तुतीको भरमा दिन सकिन्छ । भनाइ नै छ नि, ‘सो, डन्ट टेल ।’ 

दृश्यहरूको मार्फत कथा भनिने, कथाको जानकारी दिने शैलीलाई नै ‘भिजुअल स्टोरिटेलिङ’ भनिन्छ । ‘भिजुअल स्टोरिटेलिङ’ अझै एक तहमाथि उठिदिन्छ, जब त्यसमा थप सहयोग मिल्छ सुहाउने रंग, मिलेको प्रकाश, राम्रो ‘इडिट’, ‘ब्याकग्राउण्ड स्कोर’, वा ‘ब्याकग्राउण्ड संगीत’को । यसको मतलब संवाद प्रयोग गर्न नपाइने भन्ने होइन । कुनै पनि दृश्यमा संवाद राख्दा त्यसलाई  ‘भिजुअल स्टोरिटेलिङ’ नभनिने भने होइन । साँच्चै भन्नु पर्दा कहाँ के प्रयोग गर्ने त्यो कथाले नै भनिरहेको हुन्छ र कतिपय कुराहरू निर्देशकको हातमा हुन्छ, कति छाँटकाँटमा पनि भर पर्छ । ‘Subtext’ र ‘Props’को प्रयोगले पनि ‘भिजुअल स्टोरिटेलिङ’लाई सहयोग पुर्याउँछ । ‘भिजुअल स्टोरिटेलिङ’ कुनै सिमित कुरामा निर्धारित हुँदैन, यसलाई कथा, पात्र, परिवेश अनुसार मोड्न सकिन्छ र सकिन्छ नयाँ-नयाँ परिक्षणहरू गर्न ।  

सिनेमामा दृश्य प्रयोग गरेर कथा प्रस्तुत कसरी गरिन्छ ? यो जान्न, ज्ञान लिन, अब्बलभन्दा अब्बल ‘फिल्ममेकर’हरूले ‘साइलेन्ट एरा’मा बनेका सिनेमाहरू पढ्छन्, जुनबेला केबल ‘भिजुअल स्टोरिटेलिङ’ चल्तीमा थियो, त्यो पनि बिना आवाज । सोच्नुस् त, कति मिहिनेत लाग्थ्यो होला बिना संवाद तमाम कुराहरू सही तरिकाले देखाउन ।   

सन् २०२० मा ‘भिजुअल स्टोरिटेलिङ’ले भरिपुर्ण ‘Parasite’ले ओस्कर हात पार्यो । तर म यहाँ ‘Parasite’को कुरा गर्न गइरहेको छुइँन । म कुरा गर्दैछु, बङ्गाली चलचित्र ‘निर्बाक’को । कसरी ‘भिजुअल स्टोरिटेलिङ’को प्रयोग गरेर निर्देशकले आफ्ना कुरा प्रस्तुत गरे ? यो जान्नु अघि, जानौं कस्तो चलचित्र हो त ‘निर्बाक’ ? तपाईंले ‘निर्बाक’ हेर्नु भएको छैन भने कृपया पहिला हेरेर मात्रै यहाँभन्दा मुनिका कुरा पढ्नु होला ।

लेखक/निर्देशक श्रिजित मुखर्जीले ‘बेबाक’ भएर बनाएको चलचित्र हो, ‘निर्बाक’ । यसलाई प्रयोगात्मक चलचित्र भन्दा गलत नहोला । प्रख्यात चित्रकार ‘साल्वादोर दाली’को चित्र अवलोकन गर्दै गर्दा उनको दिमागमा यो चलचित्रको कथाको बिजारोपण भयो । यसकारण यो चलचित्रको केही भाग ‘सर्रिअल’ पनि त छ । धन्यवाद, ‘साल्वादोर दाली’ ! 

‘निर्बाक’मा जम्माजम्मी चार कथाहरू छन् । तर, यो Anthology भने होइन । यी हरेक कथालाई जोड्ने काम सुष्मिता सेनको पात्रले गर्छ, जसको नाम हामीलाई चलचित्रको अन्तिमसम्म पनि थाहा हुँदैन । (त्यसैले उसलाई सुस्मिता नै भनौं । ) चलचित्रमार्फत् प्रेम, वासना, इर्ष्या र विछोड जस्ता मानव भावना ( के यस्ता भावना मानवमा मात्र हुन्छन् ? ‘आर यू सियोर ?’) लाई एउटा स्व:प्रेमी बुढो, रुख, कुकुर र लासको कथा मार्फत देखाउन खोजिएको  छ । ‘निर्बाक’ जति ‘सर्रिअल’ छ उति नै ‘डार्क’ पनि छ । निर्देशकले रचेको यस दुनियाँमा आफैंलाई सम्झिएर हस्तमैथुन गर्ने पात्र छ, तरुनी युवतीको छाती चिहाउँदै स्खलन गर्ने रुख छ,  आफ्नो मालिकलाई अर्को युवतीसँग देखेर डाहा गर्ने कुकुर छ,  लाससँग प्रेम गर्ने ‘प्रेमी’ छ र लासलई भोग्न चाहने ‘भिलेन’ पनि छ । 

मैले यहाँ दोस्रो कथाको कुरा गर्न चाहेँ । दोस्रो कथा एउटा रुखको कथा हो । त्यस्तो रुख, जसले सुस्मिताको पात्रलाई वासनाले हेर्छ । हो, हो ! यही हो दोस्रो काहानी । छैन त सर्रियल ? तर रुखको कामवासना देखाउने कसरी ?  

पहिलो कथाको अन्तिम-अन्तिमतिर सुस्मितालाई हामी पहिलो पटक देख्छौँ । हामीलाई थाहा हुन्छ उसलाई उसको प्रेमिसँग केही समस्या छ । एउटा रुखको मुनि रहेको बेन्चमा बसेर, उसले स्व:प्रेमी बुढोलाई आफ्ना सारा काहानी सुनाउँछे र त्यसैबेला एक हुल प्रदर्शनकारीहरू फ्रेममा प्रवेश गर्छन् र सुस्मिताले सुनाउँदै गरेको समस्या हामीले सुन्नु पाउँदैनौ । यसले हामीलाई सुस्मिताको पाटोको कथाको लागि तयार पार्छ । 

सुस्मिताको प्रेमी कोलकोत्ता भन्दा बाहिर बस्ने हुन्छ । उसले सुस्मितालाई कोलकोत्ता छोडेर आफूसँग बस्न बोलाइरहेको हुन्छ तर सुस्मिता, जो सानैदेखि कोलकोत्ताको माहोलमा हुर्किएकी हुन्छे, ऊ कोलकोत्ता छोड्न चाहदिन । त्यही रुख मुनिको बेन्च, जसमा उसले त्यो स्व:प्रेमी बुढोलाई आफ्नो समस्या सुनाएकी हुन्छे, त्यहीं बसेर ऊ रुन्छे । अनि अचानक हामी रुखको दृष्टिकोणबाट उसलाई हेर्छौँ । (यसरी अचानक दृष्टिकोण परिवर्तन हुँदा म अचम्ममा परेँ । किन, किन रुखको यो दृष्टिकोण ?) रोहिरहेकी सुस्मितालाई आफ्ना हाँगाबाट पात खसालेर रुख सान्तवना दिन खोज्छ । जब सुस्मिताले टाउको उठाएर रुखलाई हेर्छे । हावा चल्छ । पातहरू हल्लिन्छन् । रुख खुशी हुन्छ र नाच्छ । 

Still from Nirbaak

त्यसपछि कम्प्युटर अगाडि बसेर, ऊ आफ्नो बाबाले कोलकोत्ताको बारेमा भन्ने गरेको कविताको उल्लेख गर्छे । कोलकोत्ताको बारेमा भन्छे । त्यो भन्दै गर्दा ऊ कोलकोत्ताको सडकमा पुग्छे र हामी पनि सयर गर्छौं ऊ सँगसँगै । त्यही बखत उसले रुखको पनि कुरा गर्छे । रुखले उसलाई सान्तवना दिएको जस्तो महसुस भएको कुरा ऊ बताउँछे । त्यसबाट हामीले अघि देखाइएको रुखको दृष्टिकोणको कारण थाहा पाउँछौँ । 

Still from Nirbaak

अर्को दृश्यमा सुस्मिता उसैगरी रुखमुनिको बेन्चमा बसिरहेकी हुन्छे र हामी उसलाई हेरिहेका हुन्छौं, रुखकै दृष्टिकोणबाट । रुखले उसलाई नियालिरहेको हुन्छ । केही समयपश्चात् ऊ किताब निकालेर पढ्न थाल्छे । कर्के नजरले रुखले उसलाई हेरिरहेकै हुन्छ । किताब पढ्दा पढ्दै ऊ निदाउँछे । हावा चल्छ र उसले ओढेको सल उड्छ । उसको छातीलाई क्यामराले रुखको दृष्टिकोणबाट चिहाउँछ । हाँगाबिँगाहरू हल्लिन थाल्छ । अनि लिङ्गजस्तो हाँगाबाट तप्प सेतो वीर्यजस्तो केही चुहिन्छ । स्खलित हुन्छ रुख । सुस्मिता उठर जान्छे । अनि रुखबाट फल झर्छ । यसरी रुख पूर्ण हुन्छ । 

Still from Nirbaak

राती रुखले कलपन्छ– सुस्मितालाई आफ्नी प्रेमिकाको रुपमा । जहाँ ऊ  सेतो कपडामा नाचिरहेकी छे उसका लागि । ऊप्रति दर्शाइरहेकी छे प्रेम, मधुर धुनको तालमा । अनि रुखले कलपन्छ– सुस्मिताको ‘डोमिनेटेड’ रुप । कालो लुगा लगाएर, ‘हाई पिच्ड’ धुनमा ऊ नाचिरहेकी छे । हातमा छडी लिएर रुखलाई पिटिरहेकी छे, सजाय दिइरहेकि छे । यसरी रुखले आफ्ना यौन भावनाहरूलाई प्रस्तुत गरेको छ । 

Still from Nirbaak
Still from Nirbaak

रुखको त्यही बेन्चमुनि आउँछन् सुस्मिता र उसको प्रेमी । उसको प्रेमीले फकाउन खोजिरहेको छ उसलाई, कलकत्ता छोड्नका निम्ति । बीच-बीचमा चराले त्यो प्रेमीको सर्ट र टाउकोमा बिस्ट्याउँछन् । कमिलाले उसको खुट्टामा टोक्छन् । रुखलाई डाहा लागिरहेको छ । रुखले सजाए दिइरहेको छ सुस्मिताको प्रेमीलाई । मानौं ऊ जान्दछ सुस्मिताको प्रेमीले सुस्मितालाई ऊबाट टाढा लैजाने कुरा र ऊ त्यो हुनबाट रोक्न चाहन्छ । तर रुख सुस्मिताको प्रेमीलाई रोक्न असफल हुन्छ । ऊ फकाउँछ सुस्मितालाई । रुखको दृष्टिकोणबाट हामी दुई प्रेमिलाई नजिकिरहेको देख्छौँ ।

Still from Nirbaak
Still from Nirbaak

उनीहरू एकअर्कालाई चुम्छन् । पानी पर्छ । परिरहेको पानीले दुई प्रेमीका लागि ‘रोमान्टिक’ माहोल खडा गर्छ । त्यो वर्षाले रोइरहेको रुखको मनलाई पनि दर्शाएको छ । त्यही रात धुनधान आँधी चल्छ र रुख ध्वस्त हुन्छ । मानौं, प्रेममा उसले आफ्नो प्राण त्यागिदियो । यसरी अन्त्य हुन्छ रुखको काहानी । अनि हामी सिनेमाको तेस्रो कथातर्फ बढ्छौँ ।

*** 

लेखक तथा निर्देशक श्रिजित मुखर्जीले दृश्य, संगीत, नृत्य र बिम्बको प्रयोगबाट हामीलाई रुखको भावना देखाउँछन् । आजकल सिनेमामा संवादको प्रयोगले निम्त्याएको सजिलोपनले हो वा अन्य कुनै कारणले हो, निर्देशकहरूले कतिपय कुराहरू ‘ल बाबु, यो..यो हो, ल खाऊ र पचाऊ’ भनेर मुखैमा कोचिदिने प्रयास गरेको महसुस गर्छु । ‘भिजुअल स्टोरिटेलिङ’मा तगडा भएको सिनेमा हेर्दा दृश्यहरूलाई हेरेर मात्र पनि दर्शकले छुट्टै अनुमान लगाउन सक्छन् । सिनेमा हेर्नुको वास्तविक मजा पनि त्यसैमा छ । ‘भिजुअल स्टोरिटेलिङ’ एउटा सशक्त माध्यम हो, जसको कारणले सिनेमा बनाउन र हेर्न, दुवै चुनौतीपूर्ण काम हुनसक्छ । यसको सहायताले सिनेमाको बनावट र हेराइ, दुवै कलात्मक हुन जान्छ । 

पछिल्लो समय, तपाईंले हेर्नुभएको र ‘भिजुअल स्टोरिटेलिङ’ले भरिपुर्ण भएको, त्यो कुनचाहिँ सिनेमा हो, जसले तपाईंलाई अवाक् बनायो ?