अस्ट्रियाली मनोचिकित्सक सिग्मुन्ड फ्रायडको मानवसभ्यताप्रति निराशाजनक दृष्टिकोण थियो । उनले मानिसलाई जहिल्यै पनि विरोधाभासमा बाचिरहेको देखे । उनले मनको संरचनालाई आकारात्मक र गत्यात्मक दुबै ढङ्गमा देखाएका छन् । उनका अनुसार मानिसको अहम् ले इद(id) मा रहेको आग्रगशील, अतार्किक, असामाजिक, उच्छृङ्खल र अनैतिक पक्ष र पराहम् (super ego) मा रहेको नैतिक र आदर्श पक्ष बीच सन्तुलन खोजिरहन्छ । इदलाई जैविक पक्ष, अहम् लाई मानविय पक्ष तथा पराहम् लाई सामाजिक पक्षसँग सम्बद्ध मानिन्छ ।
उनको विचारमा धर्मग्रन्थहरू केबल सामाजिक र प्राकृतिक घटना बुझ्ने संघर्षमा सिर्जना गरिएका भ्रमहरू मात्र हुन्, जसले भक्तहरूमा केही हदसम्म मानसिक रोगको जोखिमबाट उसलाई बचाउँछ किनकि सर्वभौमिक न्युरोसिस(neurosis) ग्रहण गर्दा व्यक्तिगत न्युरोसिसलाई लुकाउन सहज बनाउँछ । तर संस्कृतिका नियमहरू उत्प्रेरकको रुपमा हाम्रो यहीँ असामाजिक र वाध्यात्मक प्रवृत्तिहरूले विशेष भुमिका खेलेका हुन्छन् । त्यसैले मनोविश्लेषण गर्ने प्रकृयामा कर्ताको धार्मिक मान्यताहरूले पनि उसको दमित भावनाहरूलाई बुझ्न सहयोग गर्छ ।
कला, साहित्य, समालोचना र अन्य विविध क्षेत्र पनि कुनै न कुनै मनोविज्ञानमा आधारित हुन्छ । मानव मनका मातृरति (oedipus) र पितृरति (electra) जस्ता मनोवृत्ति एवं प्रवृत्तिहरूको चित्रण साहित्य र अन्य क्षेत्रमा प्राचीन कालदेखि निरन्तर हुँदै आएको देखिन्छ । फ्रायडको मनोविश्लेषणात्मक सिद्धान्तले प्रत्येक कृतिलाई सर्जकको व्यक्तित्व र मानसिक अवस्थासँग जोडेर बुझ्न सिकाउँछ र साथै पाठकमा पर्ने मनोवैज्ञानिक असरको पनि अध्ययन गर्छ । नेपाली साहित्यमा विशेषतः बि.पी कोइराला, पारिजात, विजय मल्ल, प्रेमा शाहका लेखहरूलाई व्याख्या गर्न फ्रायडका मनोवैज्ञानिक सिद्धान्तहरू प्रयोग गरेको देखिन्छ ।
जब प्रथम विश्वयुद्धका सैनिकहरू PTSD (पोस्ट ट्रमटिक सिस्ट्रर्स डिस्अडर) लिएर फ्रायड कहाँ आएक थिए, उनले महसुस गरे कि मानिसहरू केबल आनन्दतर्फ मात्र उन्मुख हुँदैनन् । ती केबल आफ्नो इच्छा पुर्तिको लागि विभिन्न तरिकाहरू अपनाउँदै वातावरणलाई आफू अनुकुल ढाल्न खोज्दैनन् । ती सैनिकहरूको अन्तरमनमा दबिएका विगतका दुर्घटना र आघातहरू समकालीन परिपेक्ष्यमा पनि पुन: अनुभव भइरहन्छ । यही घटनाबाट प्रेरित फ्राइडले आफ्नो जीवन प्रवृतिको सिद्धान्तसँग मृत्यु प्रवृति पनि जोडेका थिए । हामी यी दुवै आधारभूत प्रवृत्तिलाई चिन्छौं, जो आ-आफ्नै लक्ष्यमा हिँडिरहन्छन् ।
जीवन प्रवृत्ति (इरोस) मा बाँच्नको लागि चाहिने आधारभूत आवश्यकताहरू समावेश गरिएको छ, जसअन्तर्गत यौन प्रवृत्ति, बाँच्ने इच्छा, तिर्खा र भोक इत्यादि पर्दछ । यी कुराहरू मानव जीवनको संरक्षण र परिचालनको लागि आवश्यक छन् । मानिसहरू बीच रहने सद्भावना, सहयोग र साथ पनि यसमा पर्दछ । आत्मरक्षाको लागि लड्नु, बाच्नको लागि चेतनाको स्तर बढाउनु, जिजीविषाहरूलाई कलात्मक ढंगमा प्रस्तुत गर्नु इत्यादि हामी भित्रको जिउने चाहनाहरू हुन् । डार्विनको ‘survival instinct’ सिद्धान्तसँग पनि यसका अनेक विशेषताहरू मिलेको देखिन्छ । यसलाई फ्रायडले सिर्जनात्मक प्रवृत्ति पनि भनेका छन् ।
मृत्यु प्रवृत्ति मानिसको मनमा रहेको यो यस्तो शक्ति वा ड्राइभ (drive) हो, जसले जीवित प्राणीलाई पुन: निर्जीव अथवा (inorganic) अवस्था तर्फ उन्मुख गराउने प्रयास गर्छ । यो एक घातक ड्राइभ हो र यसको मुख्य उद्देश्य अराजकता, विघटन वा विनाश हो । यो मृत्यु प्रेरक छ र केही हदसम्म हाम्रो अहम् सँग सम्बन्धित छ । यसको बाहिरी स्वरुप विशेषतः परपिडक (sadism) चरित्र भएर आउँछ । जर्मन दार्शनिक आर्थर शोपेनहाउरको निराशावादले उनलाई इच्छाको पुर्ति नकारात्मक र अनैतिक कुरो हो र जीवनले खुसीभन्दा बढी दु:ख उत्पन्न गर्छ भन्ने विश्वास भयो र त्यसै अनुरुप उनको विचारहरू निर्माण हुँदै गए । फ्रायडको यो सिद्धान्तले उनैबाट थप प्राथमिकता पायो । उनका अनुसार मृत्यु प्रवृत्तिको एक अंश सधैं वाह्य संसारतिर मोडिएको हुन्छ र आक्रामक र हिंस्रक प्रवृत्तिको रुपमा प्रकाशमा आउँछ । प्रत्येक मानिसमा रहेको दमित अपराधिक मानसिक यसको उदाहरण हो । हामीले लगातार विवेक, कला र संस्कृतिको आधार बनाएर यसलाई नियन्त्रण गरिरहेका हुन्छौं वा सुक्ष्म रुपमा प्रस्तुत गरिरहेका हुन्छौं ।