एक दिन तिनीहरू भेला हुनेछन्
र सँगै खेल्नेछन्
तिनले तिम्रा सफा-सुग्घर सेता भित्ताहरूमा
पेन्सिलको कालो नाक पुछ्नेछन्
अनि गफ गर्नेछन् कुकुरहरूसँग
बाख्राहरूसँग
हरिया फट्यांग्राहरूसँग
अनि कमिलाहरूसँग पनि…
तिनीहरू बेतोड दौडिनेछन्
निरन्तर घाम र बतासको नजरमा
तिनको पाइलामुनि
धरती बिस्तारै फैलिनेछ
र फैलिनैरहनेछ…
हेर !
एक दिन तिनले तिम्रा ट्यांक र तोपहरूमा
बालुवा मुछिदिनेछन्
तिम्रा बन्दुकहरू
माटोमा गहिरो पुरिदिनेछन्
अनि तिम्रा सडकभरिका खाल्डामा
समुद्र भरेर
खेल्ने छन्, नाचेर छमछमी…
प्रेम गर्नेछन् तिनीहरूले ती सबैलाई एक दिन
ज-जसलाई तिमीहरूले घृणा गर्न सिकाएका छौ
तिमीले ठड्याएका पर्खालहरूमा
एक दिन तिनले दुलो खनेर चियाउनेछन्
अनि अचम्म मान्दै चिच्याउनेछन्–
“अरे ! उताको मौसम त यताको जस्तै छ !”
तिनले आफ्नो गाला वरिपरि
बतास र घामको स्पर्ष महसुस गर्नेछन्
र त्यसदिन तिनीहरूलाई रोक्ने सामर्थ्य
तिमीमा हुने छैन…
बच्चाहरूले एकदिन
तिम्रा सुरक्षित घरहरू त्यागेर
रुखमा गुँड बनाउनेछन्
र उनीहरूलाई असाध्यै मनपर्ने
चुलबुले लोखर्के सँगै हुर्कन चाहनेछन् ….
तिमीले देख्नेछौ
जब तिनीहरूले हर एक चीज उलटपुलट पार्नेछन्
त्यसलाई अझ सुन्दर बनाउन…
मेरा संसारका सबै बच्चाहरू
कमिलाहरू, किराहरू
नदीहरू, पहाडहरू, समुद्रहरू
र सबै वनस्पतिहरूसँग मिलेर
जाई लाग्नेछन् एकदिन
अनि तिमीले रचेका हरेक कुराहरूलाई
खेलौना बनाइदिनेछन्…
***
(भारतीय कवि अदनान कफ़ील दरवेशको कविता ‘मेरी दुनिया के तमाम बच्चे’लाई रजत थापाले गर्नुभएको नेपाली अनुवाद)