आत्मालाप-१
बिष्टा परेको हो धेरै पहिले मेरै काँधमा
र त्यै जगमा उम्रिएको हो ऊ ।
बिस्तारै हुर्कदै बढ्दै जाँदाजादै
ढाकेको हो उसले
बिस्तारै बिस्तारै मेटाइदिएर…
आफूमाथि अरु कसैले जरा फिँजाउदै जादा
सक्किदै गएको रुख हुँ म ।
उसले जबरजस्ती बनाएको हो आफ्नो साम्राज्य
मै माथि ।
ऊ अग्लो उभिएको छ –
सक्काइदिएर सुरुमा आफुले टेकेको जराको आड ।
अहिले म बाट सरेर चराहरूले लगाउने गुँड
उसकै लर्खर उभ्याइमाथि छ…
आत्मालाप-२
कति थेगोस्
थामिनसक्नुका जिर्णता ।
एकेक एकेक गर्दै सकिदैका
आफ्नै भग्नता बोकेर कति उभियोस् फगत निस्सारै-निस्सारताबीच ।
थकानै थकानका चाङले
थाकेपछि केले थेगोस् र केले थेगिउन् जिर्णताहरू…
आत्मालाप-३
बगरको ढुङ्गा ,
कहिलेकाहीँ , पानीको छालको स्पर्शले
कुत्कुतिएर
सोच्दो हो –
नदीमै भै’
लगातारको स्पर्शले
‘निथ्रुक्कै’ हुन पाए !
लागातारको भेलको चापले
‘निथ्रुक्किदा – निथ्रुक्किदा’
[ र, टुक्रिदै जादा ]
सोच्दो हो –
बगरमै भै’ बरु ,
‘रुखिन’ पाए ।