एक ब्रह्मण्डीय अनुराग – कामोन्माद


Logo

Abiral Acharya


तिम्रा परिकल्पना कहाँ सम्म पुग्छन् ?
मेरा बस् आकाशगङ्गाका योनिमा
ब्रह्मलुटका ध्वनीमा
छिन्न भिन्न – विभिन्न
तर अभिन्न
यस्तै त छ यहाँ होस हराएपछि
कायाहरू मायासँग रिस पोख्छन्
मायाहरू कण्ठमा विष बोक्छन्,
खै अग्नि बोलाऊ
म शिवक्रोध हुन्छु
म सतीलाई छुन्छु
अरे जाबो दुनियाँ त रेवतीमा पनि नाच्छ
कामुकता त लज्जावतिमा नि जाग्छ
यस्तै लाग्छ
शून्यका पाउहरू स्पर्श गरी प्रेम-आलय धाएपछि
यस्तै लाग्छ,
यहाँ दोष योजन दुर छ
बस तोष भरपुर छ ।

काल भूमरीका रित नूर भई
कामोन्मादमा आई
एकले अनेक पार्दा
शून्यले शून्य चहार्दा
तिम्रो कल्पमा कुन मसानघाट थियो
मेरो विकल्पमा कुन ललाट थियो ?

अहम् आकारका अनुहार अस्तव्यस्त
आलाप अन्तर्ध्यानका अस्तुती
अनुकरण अनुकुल, अनिश्चत आभाहरू
अकाल अपरम्पार अगस्ती,
एक मित्रवरुण निर्लज्ज आए एक प्राणमोहक ध्वनिमा
कि उर्वशी उसको कणमा छ
जस्तो कृष्ण सैन्य, कुरुको गणमा छ,
त्यहाँ एक ब्रह्माण्डको लुट भयो,
त्यहाँ एक झुट भयो
लुटपुट भयो ।

मानुष देह त्याग गर्दछ, योगमाया रोगमा छ
कि शेषको अस्मिता यहाँ बस भोगमा छ,
म कराउँछु–
के कल्पन्छौ कि वशीभूत भएर ?
एक काँपेको ब्रह्माण्डको भारमा – साभार भएर
एक हाँसेको अणुको लाचारमा – आभार भएर
तिमी पनि त काँपिरहेछौ 
तिमी पनि त कल्पिरहेछौ
बिम्बका डिम्बमा कोरिएर
छताछुल्ल पोखिएर
एक लाचार सपना उन्मादको
कि आकाश जलिरहेछ
कि सकस गलिरहेछ
जबसम्म युरानियम गल्दछ,
हाइड्रोजन जल्दछ
बिस्मातलाई किस्मत बनाऊ
महाबिस्फोटलाई अकस्मात बोलाऊ
मलाई चलाऊ 
दोष भूलाऊ
तिम्रो ईश्वर नि लिप्त छ
तिम्रो नश्वर नि दिप्त छ
जलाऊ
गलाऊ
यही रितमा जित छ
पतन (अ)निश्चित छ ।