अमर अस्पताल
भानुनगर, नेपाल
वैशाख ११ गते, २०१०
प्रिय गोमा,
परिस्थिति प्रतिकूल हुनाले तिम्रो चिट्ठीको जवाफ समयमा दिन सकिनँ । अन्यथा नसम्झनु । तीन साता भयो, हाम्रो अस्पतालमा साह्रै मायालाग्दो रोगी आएको छ । जसको सेवामा म खटिएकी हुनाले यति दिनसम्म तिमीलाई केही लेख्न सकिनँ, तर आज लेख्न बसेपछि अन्तरको सबै खोलेर भन्छु, केही लुकाउँदिनँ ।
तिमीलाई त थाहा छ– यो मेरो नर्सिङ्गको तेस्रो वर्ष हो । अझ अरु एक वर्ष यो अस्पतालमा मैले तालिम पाउन बाँकी छ । पोहोर साल हाम्री पुरानी ‘मेट्रन’ बेलायत गईन् र उनको ठाँउमा अर्की मेट्रन आएकी छन् । उनको नाउँ ‘हन्ना’ हो । हन्नालाई सबैले मन पराउँछन् । हामी छात्रा नर्सहरूप्रति उनको व्यवहार साँच्चै गजबको छ । हाम्रो होस्टलमा सबै कुराको राम्रो प्रबन्ध छ । तर एउटा नराम्रो कुरा पनि हामी उनमा देख्छाैँ– त्यो के भने उनको अनुशासन साह्रै कठोर छ । अझ पनि उनी सत्राैं शताब्दीका अस्पतालमा झैं हामीलाई शासन गर्छिन् । तर आज म ‘मेट्रन’को विषयमा होइन तर रोगीको विषयमा लेख्न लागेकी छु ।
तीन साताअघि सर्जिकल वार्डको विशेष कोठा नं.११ मा एउटा रोगी भर्ना भए । अस्पतालमा आउँदा तिनी अचेत थिए । तिनी फिनलैण्डका गोरा जातका मानिस रहेछन् । हाम्रो देशको रहन-सहन, रीतिस्थिति बुझ्न आएका रहेछन् । उकालो चढ्दा लडेर तिनको टाउकोमा चोट लागेको हुनाले तिनी अचेत भएछन् र यस्तै अवस्थामा हाम्रो अस्पतालमा भर्ना गराए । मेट्रनले मलाई उनकै सेवामा विशेष ‘ड्युटी’ गर्न खटाईन् । अचेत भएर सुतिरहेका तिनलाई गएर मैले हेरेँ । तिनको कपाल सुनाैला, आँखा साना तर आकाशजस्ता नीला, मोहोडाको रोहनचाहिँ तामाजस्तो रातो थियो ।
रातभरि म तिनको पलङ्गको छेउमा बसेर तिनको सेवा-टहल गर्थेँ । तेस्रो रात रोगी राम्ररी सुत्न सकेनन् । उनले छट्पटाउँदै दुवै हात पसारेर कसैलाई खोजेजस्तो ‘एलभी, एलभी’ भने । उनलाई राम्ररी ओढ्ने ओडाएर हनका हात सिरकभित्र छोपिदिऊँ भनी यसो समाएको ता उनले गजबले मेरा दुवै हात बलियोसँग समाते । म चिच्याउन लागेकी थिएँ तर उनले बिस्तारै मेरो हात छोडिदिएर तिनलाई स्नेहसाथ मुसार्न लागे । केहीबेरपछि मेरा हात आफ्नो दाहिने गालामा जोरेर ‘एलभी, एलभी, डार्लिङ्ग’ भन्दै सन्तोषको लामो सास फेरे । किन हो कुनि !! मैले आफ्नो हात तानिनँ । तान्न मन लागेन । सुतिरहेको तिनको अनुहारमा सन्तोषको झलक देखेर मलाई साह्रै माया लाग्यो ।
एक साताभरि मेरो रोगी अचेत नै रहे । अचेत अवस्थामा तिनले सधैं मेरो हात मुसारेर आफ्नो गालामा जोरेर सुत्थे । कहिले ता मेरा हातमा बारम्बार म्वाइँ पनि खान्थे । त्यसपछि सारा रात छट्पट् नगरी सुत्थे ।
एक रात त्यसरी नै बडो व्यग्रतासँग तिनले मेरो हातमा म्वाइँ खाइरहेका थिए, झ्वाट्ट ‘मेट्रन’ आइपुगिन् । खोइ, कसरी भनुँ गोमा ! तिनको हेराइ, उफ् ! त्यो दृष्टिमा विस्मय, उपेक्षा, र तिरस्कार थियो । मलाई उनले सधैं साह्रै राम्रो गर्थिन् । त्यो रात एउटा अपरिचितले त्यसरी व्यग्रतासाथ मेरो हातमा म्वाइँ खाएको देखेर उनले नराम्रो ठानिहोलिन् । साधारण मानिसको निम्ति त्यस्तो परिस्थितिमा यस्तो विचार स्वभाविक पनि हुनसक्छ तर मलाई भने तिनको त्यो हेराइ असह्य भइरहेको थियो ।
भोलि बिहान उनले मलाई आफ्नो अफिसमा डाकिन् । उनको अघि म अपराधिनीजस्तै शिर निहुराएर उभिएँ । उनले कडा स्वरमा बोले पनि उनको स्वरमा सहानुभूतिको केही अंश भएजस्तो लाग्यो । मेट्रनले भनिन्– ‘कृष्णा, अस्पतालको अनुशासन तिमीलाई थाहै छ । बिरामी र नर्सको बिचमा कुनै प्रकारको व्यक्तिगत सम्बन्ध अथवा आत्मीयता हुनुहुँदैन । हिजो मैले आफ्नै आँखाले त्यो नियम भङ्ग भएको देखेँ । म तिमीलाई अस्पतालबाट निकालिदिन सक्छु तर यो तिम्रो पहिलो दोष हुनाले म क्षमा गर्दैछु, दोस्रोपल्ट मैले सम्झाउन नपरोस् ।’
मैले प्रतिवादको एक शब्द पनि भनिनँ । मेरो आत्माभिमानले मलाई त्यसो गर्न दिएन । मेरो हृदयमा कलुषित भाव नै नभएपछि मैले कसरी दोष स्वीकार गर्नु ? बरु मलाई ता मेरो रोगीलाई अँगालो हालेर रोइरहुँजस्तो लाग्यो । मेट्रनको अफिसबाट निस्कँदा मेरो हृदयमा एउटा मात्र भाव थियो, त्यो हो– रोगीप्रतिको मेरो आन्तरिक प्रेम । ‘एलभी’ उनकी अत्यन्त प्रिय सम्बन्धी हुँदिहुन् । जसलाई अचेत अवस्थामा पनि उनले बिर्सन सकेका थिएनन् । हजार-हजार कोस टाढा फिनलैण्डको एकान्त कोठामा बसेर एलभीले पनि ता यी बिरामीलाई सम्झिरहेकी होलिन् । मर्न लागेका यिनले मलाई एलभी सम्झी मेरै काखमा शान्तिसँग मर्न पाए भने मलाई कति धर्म होला ! रोगी मर्छन् नै भन्ने सबैले ठानेका थिए ।
मैले मेट्रनको कुरा खाइनँ । रोगीले हात मुसार्दै गरेको उनले फेरि दुईपल्ट देखिन् ।
रोगी अब त राम्रै जाती भए । हामीले मर्छन् नै भन्ने सम्झे पनि यिनी मरेनन् । शायद एलभीको प्रेम मृत्युभन्दा बलियो रहेछ । त्यस्तीलाई मैले एकपल्ट भेट्न पाए कस्तो हुने थियो । हिजो मैले मेरो रोगीसित ‘एलभी हो हुन्, तिनी राम्री छन् ?’ भनेर सोधेँ ।
उनले स्मित हाँसो हाँसेर भने– ‘हो, एलभी साह्रै राम्री छ, तर उसको साैन्दर्य शारीरिक मात्र होइन, मानसिक पनि हो । उसलाई म प्राणभन्दा बढी प्यारो गर्छु । यो संसारमा ऊ बाहेक मेरो अरु कोही छैन । दश वर्षकी एलभी मेरी एक मात्र पुत्री हो ।’
ओहो, कस्तो स्निग्ध थियो रोगीको मुहार त्यसबेला ! तिनको अन्तरको प्रेमले नै तिनलाई बचाएछ ।
तर मेट्रनलाई यी कुरा कसरी बुझाउँ ? बुझाएँ भने पनि उनले मेरो दृष्टिले यो परिस्थिति हेर्न सक्लिन् र ? जे भए पनि मेरो हृदयमा आत्मग्लानिको भाव छैन, मलाई आनन्द लागिरहेछ । रोगी आफ्नो देश फिनलैण्डमा फर्केर एलभीलाई म्वाई खाँदै मेरो विषयमा कुरा गर्छन् होला । एलभी पनि मलाई भेट्न उत्सुक हुन्छे होली । परदेशका यी दुई प्राणीका महत्वपूर्ण सम्झना नै मेरो पुरस्कार हुन्छ ।
तिमीलाई यी सबै कुरा लेखेर म ठूलो भारदेखि मुक्त भएजस्तो लाग्छ । अरुले जे सम्झेपनि तिमी मेरी आत्मीय साथी हुनाले भूल बुझ्ने छैनाै ।
सस्नेह सम्झिरहने,
कृष्णा