हरेक नयाँ दिनमा छ/सात चोटि त सोच्छु होला, सबथोक छोडिदिऊँ, हरेक कुरा त्यागिदिऊँ, ढोका बन्द गरौं र कहिले बाहिर ननिस्किऊँ– दिन होइन, महिना होइन, वर्षौंवर्षसम्म ! सधैं त्यो एउटा मजबुत ख्यालले बेस्मारी टोकिरहन्छ– कोही ढोका ढकढकाउन नआओस्, कसैले नबोलाइदेओस्, मोबाइल स्वीच-अफ गरौं र फ्याक्दिऊँ एक कुनामा र लम्पसार सुतिदिऊँ बिस्तारामा, उठूँ– किताब पढूँ, फिल्म हेरूँ, गीत सुनूँ, लेखूँ र फेरि पछारिऊँ ओछ्यानमा लम्पसार– कसैको बारेमा न आफ्नै बारेमा केही पनि नसोची, दिन होइन, महिना होइन, वर्षौंवर्षसम्म !
हरेकचोटि आकाश हेर्दा पुँजीवादका बलिष्ठ हातहरूले थप्पड हिर्काइनरहने भए, हरेकचोटि पैताला उचाल्दा जिम्मेवारीको ढाकर झन्झन् गह्रौं हुँदै नजाने भए, हरेकचोटि सास फेर्दा सपनाको पखेटाबाट प्वाँखहरू नखस्ने भए– सोचेजस्तो जिन्दगी सजिलो हुने भए, वास्तविकता यति कुरुप कहाँ हुन्थ्यो ? यी सब कुराहरूले मेरा सोचहरूलाई क्षणभरमै क्षणभङ्गुर बनाइदिन्छ ।
तर संसारमा लाखौं मान्छेले आफैले आफैलाई एउटा कोठामा, एउटा अपार्टमेन्टमा, एउटा घरमा कैद गरिरहेका छन् । जापानिजमा एउटा टर्म/शब्द छ– ‘हिकिकोमोरी’, जसको अर्थ हुन्छ– ती मान्छेहरू, जो आफूलाई समाजबाट टाढा राखेर एकान्तबास बस्न रुचाउँछन् ।
के हो हिकिकोमोरी ?
सामान्यतया हिकिकोमोरीले एक्लो मान्छे या ‘आधुनिक समयका सन्यासी’ दुबैलाई जनाउँछ । यो टर्मलाई सन् १९९८ मा प्रकाशित मनोवैज्ञानिक साइतो तामाकीको पुस्तक ‘हिकिकोमोरी: एडोलेसेन्स विथआउट इन्ड’मा पहिलोपटक औपचारिक रुपमा परिभाषित गरिएको थियो । उक्त पुस्तकमा लेखकले बिरामीहरूसँगको आफ्नै क्लिनिकल अनुभवलाई चित्रण गर्दै जापानमा करिब १० लाख किशोर तथा युवा अवस्थाका मान्छेहरू हिकिकोमोरी अर्थात् बाहिरी संसार त्यागेर, समाजबाट अलग भएर महिनौं वा वर्षौंसम्म आफ्नो कोठाभित्रै बाँचिरहेका छन् भन्ने कुरा उल्लेख गरेका छन् । त्यस्तै, उनले किताबमा हिकिकोमोरी कुनै डिप्रेसनको लक्षण नभई यो आफैमा एउटा छुट्टै मानसिक अवस्था हो भन्ने पनि तर्क गरेका छन् ।
जब एक व्यक्ति कम्तिमा छ महिनाको लागि समाजबाट बिल्कुल छुट्टिएर बस्छ, उसलाई हिकिकोमोरी डाइङ्नोस्ड हुन्छ । उसका व्यवहारहरूमा एकलकाँटे स्वभाव आउँछ र ऊ घर बाहिर जादैन या कम निस्किन्छ, काममा जान वा विद्यालयमा उपस्थित हुन अस्विकार गर्छ र सामाजिक संचारबाट अलगिन्छ । यस्ता व्यक्तिहरूसँग भविष्यको कुनै चिन्ता हुँदैन र आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्न उनीहरू परिवारमै निर्भर रहन्छन् ।
यसलाई अहिले मानसिक रोगको रूपमा वर्गीकृत गरिएको छैन, तर मानसिक रोगका केसहरू जस्तै: अटिजम स्पेक्ट्रम विकार (autism spectrum disorder), स्थिति विकार (mood disorders), मनोवैज्ञानिक विकार (psychotic disorders), र व्यक्तित्व विकार (personality disorders)ले कुनैपनि व्यक्तिलाई हिकिकोमोरीसम्म धकेल्न सक्छ । यद्यपि, मनोवैज्ञानिकहरूका अनुसार कुनै मानसिक रोग बिना पनि मान्छे हिकिकोमोरीलाई अगाँल्न पुग्छ, जुन अवस्थालाई प्राथमिक हिकिकोमोरी (primary hikikomori) मानिन्छ भने जब यो एक मानसिक रोग सँगसँगै आउँछ, उक्त अवस्थालाई माध्यमिक हिकिकोमोरी (secondary hikikomori) भनिन्छ ।
यसका कारणहरू
सन् २०२३ मा ‘क्लिनिकल चाइल्ड एण्ड फ्यामेली साइकोलोजिकल रिभ्यु’मा प्रकाशित पिटर मुरिस र थोमस एच. ओलेन्डिकले गरेको एक अध्ययनका अनुसार, हिकिकोमोरी सामाजकबाट अलगिने स्वभावको चरम रूप हो, जसका कारणहरूमा विभिन्न मनोवैज्ञानिक अवस्थाहरू, खराब व्यक्तित्व लक्षण, प्रतिकूल पारिवारिक गतिशीलता, अभिभावकत्वको कमजोरी, साथीहरूसँगको नकारात्मक अनुभव, सामाजिक दबाब, अत्याधिक इन्टरनेट र डिजिटल मिडिया प्रयोग समावेश छन् ।
हिकिकोमोरीको कारण भिन्न भिन्न हुन्छ, हरेक मान्छेको सामाजलाई नै बहिष्कार गर्ने कारण छुट्टाछुट्टै हुनसक्छ । विभिन्न तनावपूर्ण घटनाले मान्छेको सामाजिक रूपमा टाढिने व्यवहारलाई ट्रिगर गर्दछ, जुन पछि गएर हिकिकोमोरीको रुप लिन्छ । साइन्टिफिक रिसर्च पब्लिसिङ (SCIRP) मा प्रकाशित एक अध्ययनका अनुसार निम्न कारणहरूले मान्छेलाई हिकोकोमोरी हुन प्रोत्साहन गर्छ:
* धेरैले विगतका आघातग्रस्त अनुभवहरू बिर्सिन सक्दैनन् र भविष्यका चुनौतिहरूसँग जुध्ने आँट फेला पार्दैनन्, जसले गर्दा उनीहरूभित्रको आशा मर्छ र असक्षमताको भावना प्रकट हुन्छ ।
* विद्यालय, कार्यस्थल वा घरबाट उत्पन्न हुने विभिन्न मानिसहरूसँगको नकारात्मक अनुभवले मान्छेहरू समाजबाट टाढिँदै जान्छन् र उनीहरूलाई लाग्छ त्यस्ता मानिसहरूसँग व्यवहार गर्नुभन्दा एक्लोपननै जाती हुन्छ ।
* केही गर्न सक्दिनँ भन्ने हिनताबोध, भाग्यमै छैन भन्ने कुराको विश्वास र अरुले के भन्लान्, के सोच्लान् भन्ने मानसिकताले मान्छेको आत्मसम्मान र आत्मविश्वास कम हुँदै जान्छ र वास्तविकतासँग अन्तरक्रिया गर्न सकस पर्छ ।
त्यसैगरी, आफूभित्रको कमजोरी, प्रतिस्पर्धा गर्न सक्दिनँ भन्ने भाव, कसैसँग गएर बोल्न सक्ने कौशलको कमी, असफलता, तनाव, घमण्ड, जागिरको असुरक्षा, निन्दा, र धम्की जस्ता कुराहरूले मान्छेलाई यस्तो ठाउँमा जान प्रेरित गर्छ, जहाँ उनीहरू चुनौतीविहीन हुन सक्छन् ।
जापान र विश्वमा हिकिकोमोरीको अवस्था
सन् २००३ जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हिकिकोमोरीलाई यो कुनै स्रिजोफ्रेनिया या अन्य मानसिक विकार नभइ, यो एउटा अवस्था हो र उक्त अवस्थामा रहेका मान्छेहरूले व्यक्तिगत विकास, मित्रता, सामाजिक संचारप्रति ६ महिना वा त्योभन्दा बढी समयसम्म कुनै चासो देखाउँदैनन् भन्ने कुरा उल्लेख गर्दै एक रिपोर्ट तयार पारेको थियो । सन् २०१६ मा प्रकाशित एक सरकारी सर्वेक्षणका अनुसार १२६ मिलियन जनसंख्या भएको देश जापानमा १५ देखि ३९ वर्ष उमेर समूहका करिब ५४१,००० मानिसहरू सामाजिक सम्पर्कबाट टाढा रहेर आफूलाई घरमै बन्द गरिरहेछन् भन्ने कुरा उल्लेख गरिएको थियो ।
सन् २०२२ मार्च ३१ मा, जापानमा हिकिकोमोरीको अवस्थाबारे जापानिज क्याबिनेट अफिसले ‘बालबालिका र युवा मानिसहरूको जागरूकता र जीवनशैली सर्वेक्षण’को रिपोर्ट जारी गर्यो, जसअनुसार जापानको २% जनसंख्या अर्थात् लगभग १.४६ मिलियन (१५ देखि ६४ वर्षका) मानिसहरू हिकिकोमोरीको रूपमा बस्दै आएका छन् । उक्त सर्वेक्षणमा देशभरबाट अनियमित रूपमा छानिएका १५ देखि ६४ वर्षका लगभग ११,३०० व्यक्तिहरूबाट प्रतिक्रियाहरू प्राप्त भएको थियो भने लगभग पाँचजनामध्ये एक जनाले ‘कोभिड-१९’ महामारीलाई हिकिकोमोरीको एउटा कारणको रूपमा उद्धृत गरेका थिए ।
पहिलो परिभाषादेखि नै हिकिकोमोरीलाई मनोचिकित्सा विकार (psychiatric disorder) को रूपमा हेर्ने कि यसलाई सांस्कृतिक रोगको लक्षण (cultural syndrome) मान्ने भन्ने कुरामा मनोवैज्ञानिकहरूबीच नै बहसको विषय बन्दै आएको छ ।
सुरुवातमा, जापानको कठोर सामाजिक संरचना र संस्कृतिको उपजको रुपमा मात्र हेरिएको हिकिकोमोरी अहिले जापानमा मात्रै सीमित छैन । डिजिटल रूपमा जोडिएका अधिकांश देशहरू जस्तै अमेरिका, चीन, भारत, ब्राजिल र अन्य युरोपेली देशहरूमा पनि यो सिन्ड्रोम फैलिरहेको छ । गत वर्ष मात्रै, दक्षिण कोरियाको ‘लैङ्गिक समानता र परिवार मन्त्रालय’ले हिकिकोमोरी जीवशैलीमा गाँजिएका आफ्ना जनतालाई पुन: सामाजिक बनाउन, विद्यालयमा उपस्थित गराउन र रोजगारी खोज्न प्रेरित गर्न मासिक ४९० डलर भत्ता प्रदान गर्ने कार्यक्रम सुरु गरेको थियो । कोरिया इन्स्टिच्युट फर हेल्थ एन्ड सोसल अफेयर्सले हालै गरेको एक सर्वेक्षणका अनुसार दक्षिण कोरियामा १९ देखि ३९ वर्ष उमेर समूहका करिब ३५०,००० व्यक्ति सामाजिक सम्पर्कबाट टाढा रहेर एक्लै बस्छन्– जुन उक्त उमेर समूहको जनसंख्याको करिब ३% हो ।
विश्वका थुप्रै देशहरूले हिकिकोमोरीलाई स्विकार गरेता पनि, यसमाथिको अध्ययनको अभाव र अन्य मानसिक रोगहरूको लक्षण र हिकिकोमोरीको लक्षणबीचको एकरुपता र दुविधाले यसलाई डाइङ्नोस गर्न गाह्रो बनाएको छ ।
भोलिको हिकोकोमोरी
मेरो भाइ दिनभर घरमै बसेर मोबाइल चलाउँछ, उसलाई बाहिर गएर फुटबल खेल्नुभन्दा आफ्नो मोबाइलमै पब्जी खेल्न मजा लाग्छ । यो कुरा ममा पनि लागु हुन्छ, कुनै समूहमा गएर गफ गर्नुभन्दा मलाई आफ्नै बिस्तारामा पल्टेर सिनेमा हेर्न प्रिय लाग्छ । इन्टरनेटले हामीलाई शारीरिक रूपमा सँगै उपस्थित नभई पनि सञ्चार गर्न र विभिन्न समूहहरू बनाइ बातचित गर्न सहज बनाएको त छ तर यसले विश्वाससहितको भावनात्मक सम्बन्ध बनाउन सक्ने क्षमतालाई भने कम गरिरहेको छ । के यसले हामीलाई हिकिकोमोरीतर्फ धकेल्दैछ ? फेरि इन्टरनेट र सोसल मिडियाका सकारात्मक प्रभावहरू पनि छन्, यसको माध्यमले हिकिकोमोरीबाट पीडित मानिसहरूसम्म पुग्न पनि सकिन्छ । सोसल मिडिया, इन्टरनेट तथा टेक्नोलोजीले हिकिकोमोरी सम्बन्धित जानकारीहरूको संकलन, विश्लेषण र व्याख्या गर्न सहयोग पुर्याउँछ ।
यो कुरा महत्त्वपूर्ण छ कि हिकिकोमोरीको मनोवैज्ञानिक उपचार सम्वभ छ र सबै हिकिकोमोरी उपचारविरुद्ध हुँदैनन् । वास्तवमा, कसैले न कसैले सहयोग त खोजिनैरहेको हुन्छ । एउटा अनुसन्धानको रिपोर्ट अनुसार धेरै हिकिकोमोरी व्यक्तिहरू परिवारका सदस्यहरूसँग बस्छन् र उनीहरूको उपचार घरबाटै सुरु गर्न सकिन्छ ।
* हिकिकोमोरीका अभिभावकहरूले आफ्ना बच्चाहरूलाई राम्ररी भनेर या आदेश दिएर धैर्यपूर्वक प्रोत्साहन गर्दै बातचित सुरु गर्न र उनीहरूका अपेक्षाहरूलाई बुझ्न र त्यसलाई समायोजन गर्दै हौशला प्रदान गर्न सक्छन् ।
* ससाना कदमबाटै सुरुवात गर्ने, जस्तो कि कोही नभएको बेला बिहान सबेरै कोठाबाट बाहिर निस्किने, हिँड्न जाने बानीले हिकिकोमोरीलाई बाहिरी दुनियाँसँग अभ्यस्त हुन मद्दत गर्न सक्छ ।
* अनलाइन र अफलाइन समुदायहरूले हिकिकोमोरीहरूको चुनौतीपूर्ण परिस्थितिहरूलाई मध्यनजर गर्दै विभिन्न सहयोग प्रदान गर्न सक्छन् । जस्तो कि एउटा मनोचिकित्सकले हिकिकोमोरीको वर्तमान अवस्थालाई बुझेर, उनीहरूको संघर्षलाई सम्बोधन गर्दै, सकारात्मक मार्गदर्शन प्रदान गरेर उनीहरूको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
विभिन्न सामुदायिक गतिविधिहरूले पनि हिकिकोमोरीहरूबीच सम्बन्धको भावना प्रदान गर्न र एक्लोपनको भावनालाई कम गर्न सक्छ । हिकिकोमोरी या अन्य कुनै मानसिक अवस्थासँग लड्न या यसलाई सहज बनाउन– यस्तो वातावरण सिर्जना गर्न आवश्यक छ, जहाँ व्यक्तिहरूले आफूलाई योग्य, सशक्त र मूल्यवान महसुस गरुन् ।