प्रतिसंस्कृति
परिचय:
प्रतिसंस्कृति वा काउन्टर कल्चर १८औं शताब्दीको अन्त्यमा देखा परेको एक वैकल्पिक कलात्मक जिवनयापनको अभ्यास हो । प्रतिसंस्कृति एक सामाजिक शब्द हो, जसको शाब्दिक अर्थ सांस्कृतिक समूहहरूलाई जनाउँछ वा उपसंस्कृति भन्ने जनाउँछ, जसको मान्य, मूल्य र मापदण्डहरू सामाजिक मूलधारको विपरित चल्छ । यसलाई राजनीतिक विरोधको सांस्कृतिक समतुल्य मान्न सकिन्छ । यो संस्कृतिको विकास सन् १९५० को दशकमा औपाचिक रुपमा साइलेन्ट जेनेरेसनद्वारा प्रकाशित र लोकप्रिय भएको थियो । यसलाई बिटनिक भनिन्थ्यो । बिट पुस्ता एक साहित्यिक उपसंस्कृतिको आन्दोलन थियो । अमेरिकी लेखकहरूको समूहद्वारा सुरु गरिएको उक्त पुस्ताले दोस्रो विश्वयुद्ध पछिको युगमा अमेरिकी संस्कृति र राजनीतिलाई उच्च प्रभाव पारेको थियो । बिट संस्कृतिका केन्द्रीय तत्त्वहरू मानक तथा मूल्यहरूको अस्विकार, अध्यात्मिक खोज र चिन्तन, मानव अवस्थाको स्पष्ट चित्रण, साइकोडेलिक ड्रग्सहरूको प्रयोग र यौन मुक्तिको खोज रहेका थिए ।
एलेन गिन्सबर्गको हाव्ल (Howl) (१९५६), विलियम एस. ब्रोजको नेकेड लन्च (Naked Lunch) (१९५९) र ज्याक केरोकको अन द रोड (On the Road) (१९५७) बिट साहित्यका उत्कृष्ट उदाहरणहरू हुन् । बिट जेनेरेसनका सदस्यहरूले नयाँ बोहेमियन हेडोनिस्टहरूको रूपमा आफ्नो प्रतिष्ठा विकास गरे । बोहेमियन हेडोनिस्ट दुई शब्दको संयुक्त रूप हो । बोहेमियनहरू फ्रान्सेली कल्पनामा घुम्ने रोमानी मानिसहरूसँग सम्बन्धित थिए, जसलाई प्राय: जिप्सी भनेर चिनिन्छ । रोमानीहरूलाई फ्रान्सेलीमा बोहेमियन भनिन्थ्यो, किनभने तिनीहरू बोहिमियाबाट फ्रान्स आएका थिए । बोहिमिया आधुनिक चेक गणतन्त्रको पूर्ववर्ती राज्य थियो । अर्को शब्द हेडोनिस्ट, हेडोनिजमबाट व्युत्पन्न शब्द हो । हेडोनिजमले आफ्नो जीवनशैली कार्य र विचारहरूमा आनन्दको प्राथमिकतालाई बुझाउँछ । यो शब्दले दर्शन कला र मनोविज्ञानको धेरै सिद्धान्तहरू वा अभ्यासहरू समावेश गर्छ र दुवै संवेेदी आनन्द वा अधिक बौद्धिक कार्यहरू समावेश गर्दछ । सन् १९५० को दशकमा साहित्यिक आन्दोलनको वरिपरि गठित उपसंस्कृति गठन भयो । यद्यपि यसलाई बिट आन्दोलनका प्रमुख लेखकहरूले अक्सर आलोचनात्मक रुपमा हेरेका थिए । सन् १९६० मा विस्तारित बिट आन्दोलनका तत्वहरूलाई हिप्पी र ठूला प्रतिसंस्कृतिका आन्दोलनहरूमा समाहित गरियो । गिन्सबर्गको काम सन् १९६० को सुरुवातमा संस्कृतिको एक अभिन्न तत्व बन्यो, जसमा उनले सक्रिय रुपमा भाग लिए । बिट जेनेरेसनका केही सांस्कृतिक संस्कृति र प्रभावहरू जस्तै: स्वतन्त्र प्रेम र यौनमुक्ति, लागू औषधहरूको प्रयोग जुन बौद्धिक रुचीबाट प्रेरित थियो र धेरै बिट लेखकहरूको दृष्टिमा औषधिहरूको प्रयोगले अनुभवहरूको रचनात्मकता अन्तरदृष्टिमा बढुवा दिएको मान्यता थियो, रोमान्टिकवाद, ज्याज र ब्लुज संगीतको प्रभाव, फ्रान्सेली अतियथार्थवाद, बौद्ध र ताओ दर्शनको परिस्कृत रुप हिप्पीइज्मको प्रतिसंस्कृतिमा समाविष्ट भएका थिए ।
हिप्पीइज्म
अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशका प्रमुख अमेरिकी सम्पादक लेक्सीकोग्राफर जेली सिड डोबरले हिपस्टर र हिप्पी जस्ता शब्दहरू हिप शब्दबाट व्युत्पन्न भएको तर्क गर्छन्, जसको उत्पत्ति अज्ञात नै छ । यो शब्द पहिलोपटक सन् १९०२ मा ट्याड टोर्गनको कार्टुनमा प्रयोग भएको थियो र दोस्रोपटक जर्ज भेरे होबर्टको उपन्यास जिमी हक: अ स्टोरी अफ वान नाइट स्ट्यान्ड (१९०४) मा प्रयोग भएको थियो । हिप्पी शब्द हिपस्टरबाट आएको हो र यसलाई न्युयोर्क शहरको ग्रेनविच गाउँ स्यान फ्रान्सिस्कोको हाइट एस्परी र सिकागोको वल्ड टाउन समुदायमा सरेका बिटनिकहरूले वर्णन गर्न प्रयोग गरेका थिए । सन् १९४० सम्ममा दुबै अमेरिकी र अफ्रिकी समूहले स्ल्याङ् भाषाको रुपमा हिप्पी शब्दलाई प्रयोग गरिरहेका थिए ।
हिप्पीइज्म अर्थात् बेबी बुम जेनेरेसन, सन् १९६० देखि १९७० को दशकमा एक प्रतिसांस्कृतिक आन्दोलनको रुपमा जन्मियो, जसले मूलधारको अमेरिकी जीवनलाई अस्वीकार गर्यो । यो सांस्कृतिक आन्दोलन संयुक्त राज्य अमेरिकाका कलेज र क्याम्पसहरूबाट सुरु भई क्यानडा र बेलायतसहित अन्य पाश्चात्य देशहरूमा फैलियो । हिप्पीहरू मुख्यत: अमेरिकी गोरा किशोर/किशोरीहरूको मध्यमवर्गीय समूह थिए र आफूलाई बेबी बुम जेनरेसन भनेर सम्बोधन गर्थे, जसको अर्थ ‘फूलका कोपिलाहरू’ भन्ने बुझिन्थ्यो । हिप्पीइज्म प्रत्यक्ष रूपमा बिट जेनेरेसन र भियतनाम युद्धमा अमेरिकी संलग्नताबाट प्रेरित थियो । सन् १९६७ मा टाइम्स पत्रिकामा प्रकाशित एक लेखका अनुसार हिप्पी आन्दोलनमा पुरातन ग्रीकहरूको प्रतिसंस्कृतिको प्रभाव परेको दाबी देखिन्छ, जसलाई सियोनको डयोजेन्स र सिनिकहरू जस्ता दार्शनिकहरूले समर्थन गरेका थिए । उक्त लेखले हिप्पीइज्म येशु क्रिष्ट, बुद्ध, हिलेल द एल्डर, हेनरी डेविड थोरो, नित्से, गान्धी र अन्यका आदर्शहरूबाट प्रभावित भएको समेत दाबी गरेको थियो । हिप्पीहरूले आफ्नै समुदाय सिर्जना गरे, साइकोडेलिक संगीत सुने यौन क्रान्तिलाई अँगाले, चेतनाको बदलिँदो अवस्थाहरू पत्ता लगाउन गाँजा र एल.एस.डी (Lysergic acid diethylamide) जस्ता लागु औषधहरूको प्रयोग गरे । सन् १९६७ मा गोल्डेन गेट पार्क सन फ्रान्सिस्कोमा आयोजित ह्युमन वी.इन इन्टरनेशनल फेस्टिभलले हिप्पी संस्कृतिलाई लोकप्रिय बनायो, जसले अमेरिकाको पश्चिमी तटमा समर अफ लभको र पूर्वी तटमा वुड्स्टक फेस्टिभलको नेतृत्व गर्यो । उक्त फेस्टिभलमा जम्मा भएका ५०औं हजार अमेरिकी नवपुस्ताले हिप्पीइज्मको आह्वान गरे । हिप्पीहरूले स्थापित संस्थाहरूलाई अस्विकार गरे, मध्यमवर्गीय मूल्यहरूको कठोर आलोचना गरे, आणविक हतियार र भियतनाम युद्धको विरोध गरे, पूर्वी दर्शनका पक्षहरूलाई अँगाले र पर्यावरण र शाकाहारी जीवनशैली अपनाए । उनीहरूले वैकल्पिक कलाहरू जस्तै: सडक नाटक, लोकसंगीत र साइकोडेलिक रक, ज्याज र ब्लुज संगीतहरूलाई आफ्नो जीवनशैलीको एक अङ्ग र आफ्नो भावना, विरोध र सांसारिक दृष्टिकोण व्यक्त गर्ने तरिकाको रुपमा अपनाए ।
हिप्पी जीवनशैली
१९औं शताब्दीको अमेरिकन समाज आणविक हतियारहरूको कारखाना, युद्धको मैदान र प्रतिस्पर्धाको होडबाजी, कलिला हुर्किँदा मध्यमवर्गीय किशोर/किशोरीहरूले मध्यमवर्गीय समाजबाट अलग भएको महसुस गरे । आफ्नो समाज भौतिकवाद र दमनले हाबी भएको देखे । फलस्वरूप उनीहरूले आफ्नै विशिष्ट जीवनशैलीको विकास गरे, जसबाट उनीहरूले सिमान्तताको भावना निर्माण गरे । तिनीहरूले प्राय अप्रशोधित खानाहरूमा आधारित शाकाहारी आहाराहरू अपनाए, उनीहरू अनौठो शैलीको जीवनका लागि परिचित थिए । उनीहरू लामो कपाल, दाह्रीसहित रङ्गीचङ्गी साइकिडेलिक अपरम्परागत लुगाहरूमा ठाँटिए । लामो बहने तथाकथित ग्रान्नि लुगाहरू र चश्मा लगाए । महिलाहरूले फूलबुट्टा अंकित ब्यागी लुगाहरू र भिन्न मोती र पत्थरका मालाहरू लगाए, खाली खुट्टाले पृथ्वीको स्पर्श गरे । नियमित जागिर र करियर त्यागेर समाजबाट अलग्गिए । हिप्पीहरूले अहिंसा र प्रेमको वकालत गरे । हिप्पीहरूले प्रायः खुला यौन सम्बन्ध अभ्यास गर्थे र विभिन्न प्रकारका पारिवारिक समूहहरूमा बस्ने गर्थे । ‘प्रेम गर, युद्ध होइन’ भन्दै सिल्करोड (रेशम मार्ग) हुँदै संसारलाई सद्भाव बाँडे । उनीहरूले बौद्ध धर्म, हिन्दू धर्म र अन्य पूर्वी आध्यात्मिक चिन्तनको मार्गदर्शन रोजे । उनीहरूले मनोरञ्जनात्मक प्रयोगलाई बढवा दिए । चेतना विस्तार गर्ने तरिकाको रूपमा ध्यान र हेलोसिनोजिक ड्रग्सहरूको अभ्यास गरे । सन् १९५७ र १९७८ को बीचमा अमेरिका र पश्चिम युरोपबाट लगभग लाखौं युवाहरू डबल डेकर गाडीमा सिल्क रोड– युगोस्लाभीया, बुल्गेरिया, ग्रिस हुँदै टर्की मोरक्को, इरान, अफगानिस्तान, भारत हुँदै नेपाल काठमाडौसम्मको यात्रा गरे ।
संगीत, साहित्य र सिनेमा
एक सांस्कृतिक आन्दोलनको रूपमा विकसित भएको प्रतिसंस्कृतिको रूपमा हिप्पी संस्कृतिले संगीत, कला र साहित्यमा सबैभन्दा गहिरो र फराकिलो सिर्जना गर्यो । दुवै लोक संगीत र रक संगीत हिप्पी संस्कृतिको अभिन्न अङ्ग रह्यो । बब डिलन, जोन बेज र जन लेनन जस्ता गायकहरूले लोकसंगीतको इतिहासमा क्रान्ति ल्याए । अर्को तर्फ जेब्सेन एयरप्लेन, रोलिङ स्टोन, जिमी ह्यान्डरेक्स र जिम मोरिसन जस्ता गायकहरूले रक संगीतको उडान भरे । साथसाथै, बिटल्सका जर्ज ह्यारिसन र भारतीय सितारवादक रविशंकर पनि पाश्चात्य र पुर्वीय फ्युजनको चरम सिमामा मग्न भए । सन् १९६८ मा ब्रडवे थिएटरमा हिप्पी जीवनशैलीको उत्सवको रुपमा हेयर नामक सांगीतिक उत्सव मनाइयो । हिप्पी जीवनशैलीको सौन्दर्यशास्त्र पस्किन डेनिस हुपर जस्ता निर्देशनले इजी राइडर (१९६६), सिनेमाको निर्देशन गरे । बिस्तारै, रोजर कोरम्यानको द ट्रिप (१९६७), टोबी हुपरको एग सेल (१९६७), जाँ लुक गोडार्डको विकेन्ड (१९६७), भेरी शाहिरको वाइल्ड इन द स्ट्रिट (१९६८) आदिले बढ्दो प्रतिसंस्कृतिको सम्मान स्वरूप सिनेमाहरूको निर्देशन गरे । अर्कोतर्फ साहित्यको विरासत पहिलेदेखि जमेको थियो । बिट जेनेरेसन र हिपीइज्ममको मध्यस्थकर्ताको रूपमा प्रख्यात लेखकहरू गिन्सबर्ग, केन केसे, ज्याक केरोकहरू प्रसिद्ध थिए । प्रतिसंस्कृतिको अवधारणा पहिलेदेखि नै साहित्यको छत्रछायाबाट प्रभावित थियो । हेनरी डेविड थोरोको वाल्डेन, हरमन हेस्सेको डेमियान र सिद्धार्थ, जर्ज अर्वेलको 1984, ज्याक केरोकको अन द रोड, केन केसेको वान फ्लु ओभर द कुकुज नेस्ट, एन्थोनी ब्रोग्रेसको अ क्लकवर्क अरेन्ज, खलिल जिब्रानको काव्य द प्रोफेट, वाल्ट व्हिट्म्यानको लिभ्स अफ ग्रास, ग्यारि स्नाइडरको टर्टल आइल्याण्ड जस्ता पुस्तकहरूले प्रत्यक्ष रुपमा स्वतन्त्र जीवनशैलीको लागि पर्याप्त प्रभाव पारेका थिए ।
आध्यात्मिक चिन्तन
अमेरिकामा सन् १९६० को दशक, नयाँ धार्मिक आन्दोलन, आध्यात्मिक जागरण र अनुरूपताबाट स्वतन्त्रता जस्ता नयाँ विचारहरूको युग थियो । हिप्पीहरूले आफ्ना आमाबाबुको धर्म र सांस्कृतिक अपेक्षाहरू जस्ता स्थापित परम्पराविरुद्ध विद्रोह गर्न थाले । यो स्वतन्त्रता, शान्ति र समझभन्दा बाहिरी प्रेमको समय थियो । यस अवधिमा, धेरै नयाँ अध्यात्मिक गुरुहरू आफ्नो शिक्षा फैलाउन संयुक्त राज्यमा आए । हिप्पी संस्कृतिले यी नयाँ मार्गहरू अन्वेषण गर्न प्रोत्साहित गर्यो, जसले धेरै हिप्पीहरूलाई बौद्ध धर्म, हिन्दू धर्म र मूल अमेरिकी रहस्यवाद (mysticism) जस्ता अपरम्परागत विश्वासहरू अँगाल्न प्रेरित गर्यो । धेरै हिप्पीहरूले आफ्नो दिमागको क्षितिज विस्तार गर्न खोजे । हिप्पी युगको प्रारम्भमा बौद्ध धर्म, विशेषगरि जेन बौद्ध धर्ममा महत्त्वपूर्ण चासो थियो । टाइम म्यागजिनमा सन् १९७० मा प्रकाशित एक लेख अनुसार–
“बौद्ध धर्मका धेरै रूपहरूमध्ये, पश्चिममा सबैभन्दा राम्रो चिनिने जेन हो । यसको भित्री ध्यानको सिद्धान्त बेनाम सिद्धान्त, मस्तिष्क र संरचनाको विरुद्धको भिन्नता र सहजतामा जोड दिने, नैतिक तर्कको सट्टा प्रेरणाको प्रारम्भिक बिटनिकहरूद्वारा कब्जा गरिएको थियो, जुन आजका धेरै युवाहरूले लिएका थिए र अमेरिकाको काउन्टर कल्चरको रहस्यमा समाहित भएका थिए ।”
माथि उल्लेख गरिए अनुसार, जेन एक प्रकारको व्यक्तिगत ध्यान हो, जसले सोच्नुभन्दा बढी ध्यानमै केन्द्रित गर्यो, र अधिक परम्परागत पश्चिमी धर्महरूसँग सम्बन्धित सिद्धान्तबाट मुक्त थियो । यस अवधिमा, डाइसेट्ज टी. सुजुकी र एलन वाट्स जस्ता लेखकहरूले जेन सम्बन्धि आफ्ना पुस्तकहरूको लागि व्यापक लोकप्रियता प्राप्त गरे । अन्य महत्त्वपूर्ण सांस्कृतिक व्यक्तित्वहरू जस्तै बिट लेखकहरू, एलेन गिन्सबर्ग र ग्यारी स्नाइडरले जेनलाई सार्वजनिक रूपमा अँगाले, बौद्ध धर्मलाई लोकप्रिय वैधता र समर्थनको अतिरिक्त डिग्री प्रदान गरे । धेरै हिप्पीहरूले बृहत् आध्यात्मिक अन्वेषणको अंशको रूपमा बौद्ध धर्मको खोजी गरे । अरूहरूका लागि, भियतनामको युद्धको परिणाम स्वरूप बौद्ध धर्मप्रति उनीहरूको चासो विकसित भयो । धेरै अमेरिकी सैनिकहरूले त्यो द्वन्द्वको समयमा दक्षिणपूर्वी एसियामा तैनाथ हुँदा बौद्ध धर्ममा पहिलोपटक प्रवेश गरेका थिए । तिनीहरूमध्ये धेरैले, प्रायः आफ्नो युद्धकालका पीडित अनुभवहरूबाट बौद्ध धर्ममा शान्ति पाए । बौद्ध धर्मको प्रमुख अभ्यासहरू मध्ये एक ध्यान हो । बौद्ध धर्म र आध्यात्मिकताका अन्य पूर्वी रुपहरूले अमेरिकामा जरा गाडेपछि, धेरै हिप्पीहरूले ध्यान गर्न थाले, र यसलाई उनीहरूको व्यक्तिगत विकासको एक महत्त्वपूर्ण घटकको रूपमा देखे ।
हिप्पीहरूले दक्षिण एसियाली आध्यात्मिकताका अन्य पक्षहरूमा पनि विशेष चासो लिए । सन् १८९० को दशकको सुरुमा अमेरिका आएका भारतीय सन्तहरूबाट अमेरिकीहरूले एसियाली धर्महरूबारे सिके र अरुलाई आफूले सिकेको साधानाबारे सिकाउन र व्याख्या दिन थाले । परमहंस योगानन्द, एसी भक्तिवेदान्त स्वामी प्रभुपाद र महर्षि महेश योगी लगायत धेरैजना सेलिब्रेटी बने र आफ्नो विचारको लागि व्यापक दर्शक भेट्टाए । तिनीहरूको प्रभावको कारण, अमेरिकीले योग, ध्यान र पूर्वी आध्यात्मिकताको अन्वेषण गर्न थाले ।
६० को दशकको उत्तरार्धमा सबैभन्दा लोकप्रिय गुरुहरूमध्ये एक महर्षि महेश योगी थिए, जो सन् १९६८ मा बिटल्सले उनलाई भेटेका कारण केही हदसम्म प्रसिद्धिमा आएका थिए । सन् १९७१ मा टाइम पत्रिकाले उनको बारेमा लेखेको थियो–
“वर्षौंदेखि, बढ्दो संख्यामा मानिसहरूले शारीरिक शान्ति र मानसिक शान्ति पाएका छन् । ध्यानका विभिन्न रूपहरूको अभ्यासमा शान्ति हार्वर्डका अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्… [त्यो] पहिलेका अध्ययनहरूले देखाउँछन् कि उनीहरूले महर्षि महेशले सिकाएको योग-व्युत्पन्न प्रविधिहरू ध्यानको क्रममा कहिलेकाहीँ देखा पर्छन् । योगी, जसले बिटल्सलाई छोटो समयमा आकर्षित गरेर प्रसिद्धि कमाए…ध्यान, अन्वेषकहरूले सुझाव दिए कि योग-व्युत्पन्न प्रविधिहरूले मदिरापान र लागुपदार्थको लत जस्ता कठिन समस्याहरूलाई कम गर्न पनि साहयता गर्छ ।”
यस अवधिमा भारतीय आध्यात्मिकताको विकासको कारण, भारतीय संस्कृतिले व्यापक हिप्पी संस्कृतिमा ठूलो प्रभाव पारेको थियो । फलस्वरूप, धूप प्रज्वलन, भारतीय कला प्रदर्शन गर्ने, भारतीय संगीत सुन्ने, माला (प्रार्थना) प्रयोग गर्ने, रङ्गीन भारतीय शैलीको लुगा लगाउने, शाकाहारी बन्ने, मध्यस्थता गर्ने र योग गर्ने जस्ता अभ्यासहरू हिप्पीहरूका बीचमा पनि लोकप्रिय भए ।
पर्यावरण
मुख्य हिप्पी आदर्शहरू मध्ये एक पर्यावरणवाद थियो । धेरै हिप्पीहरूले आधुनिक समाज र यसको उपभोक्ता-संचालित औद्योगिकीकरणलाई पृथ्वीसँग मिल्दोजुल्दो सरल जीवन शैलीको पक्षमा अस्वीकार गरे । यी विश्वासहरूको लागि धेरै आध्यात्मिक आधार, मूल अमेरिकी दर्शनको हिप्पी संस्कृतिबाट उत्पन्न भयो । नतिजाको रूपमा, हिप्पीहरूले अँगाले र कहिलेकाहीँ मूल अमेरिकी संस्कृतिलाई आदर्श बनाए । सतही स्तरमा, यसले मूल निवासी अमेरिकी कपडा, गहना र कलाकृतिहरूको व्यापक लोकप्रिय उत्पादनको माग गर्यो । गहिरो स्तरमा, यसले साम्प्रदायिक जीवन, प्रकृतिको सम्मान, र शान्तिपूर्ण संवादमा हिप्पी विश्वासलाई आकार दिन मद्दत गर्यो । सन् १९६२ मा प्रकाशित रेचेल कार्सनको सर्वाधिक बिक्रि हुने पुस्तक साइलेन्ट स्प्रिङले धेरै अमेरिकीहरूलाई विषादीको ठूलो मात्रामा प्रयोगको विनाशकारी प्रभावहरू, विशेषगरि डीडीटी (dichloro-diphenyl-trichloroethane)को बारेमा परिचय गराएको थियो । सन् १९६० को दशकमा, अधिकभन्दा अधिक मानिसहरू वातावरणमा अन्य खतराहरू जस्तै: अटोमोबाइल उत्सर्जन, कार्बन उत्सर्जन र औद्योगिक फोहोरहरू बारे सचेत हुन थाले । पहिलो पटक हिप्पीहरूको सहायतामा २२ अप्रिल, १९७० मा, संयुक्त राज्य अमेरिकाभरिका स्कूल र समुदायहरूले पृथ्वी दिवस मनाए । हिप्पीहरूको एउटा पोर्जेक्ट ‘टिच-इन्स’ले अमेरिकीहरूलाई वातावरणीय प्रदूषणका खतराहरूबारे शिक्षा दियो ।
हिप्पी संस्कृतिको अन्त्य र वर्तमान प्रभाव
हिप्पी आन्दोलन अमेरिकी (र युरोपेली पनि) समाजलाई निःसन्देह अनुरुपता र कानुनी रूपमा लागु गरिएको नस्लवाद र लिङ्गवादबाट मुक्त गर्ने पहिलो र प्रमुख राजनीतिक आन्दोलन थियो, र त्यसमा यो राम्रोसँग सफल भयो । तर केही विवादास्पद तर्कहरूले हिप्पीहरूको संस्कृति असफल भएको जिकिर गर्छन् । हिप्पी संस्कृति बिस्तारै अस्त हुन थाल्यो । केही संवेदनशील कारण र घटनाहरूले हिप्पी संस्कृतिप्रतिको मोह खस्किदै गयो ।
ड्रग्स मार्फत उच्च स्तरको चेतना प्राप्त गर्नु हिप्पी आन्दोलनको केन्द्रीय सिद्धान्त थियो । तर लागूऔषधको प्रचुर मात्रामा उपलब्धताले ओभरडोज र अपराधमा परिणत गर्यो— वास्तवमा, सन् १९६७ को अन्तसम्ममा लागूऔषधबाट उत्प्रेरित हुने बलात्कार र हिंसात्मक अपराधहरूको संख्या उल्लेखनीय थियो ।
जघन्य म्यानसन हत्यापछि हिप्पी आन्दोलनको छविलाई थप क्षति पुगेको थियो । सन् १९६९ मा, चार्ल्स म्यानसनको आदेशमा, उनका परिवारले अभिनेत्री शेरोन टेटको निर्ममतापूर्वक हत्या गरे । अर्को काउन्टर कल्चर ट्र्याजेडी सन् १९७० मा अल्टामन्ट संगीत महोत्सवमा भयो, जब रोलिङ स्टोन्सले स्टेजमा प्रदर्शन गर्दा हेल्स एन्जलस (जसलाई उत्सवको लागि सुरक्षाको रूपमा नियुक्त गरिएको थियो) ले अनावश्यक रूपमा एक किशोरीको हत्या गर्यो । संयुक्त रूपमा, यी घटनाहरूले आम जनताको आँखामा हिप्पीहरूको विकृत छवि प्रस्तुत गरे ।
भियतनाम युद्ध (१९५९-१९७५) एक प्रमुख मुद्दा थियो, जसको हिप्पीहरूले कडा विरोध गरे । तर १९७० को दशकमा, युद्ध बिस्तारै समाप्त हुँदै गयो, जुन १९७१ मा ३५औं अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनद्वारा आधिकारिक रूपमा लागूऔषध विरुद्धको युद्धको उद्घाटन गरिएको थियो । हिप्पी आदर्शहरूको साथ क्षणभरमा डुबेपछि, आन्दोलनमा बाँचेकाहरू परिपक्क भए र सामान्य पेशाहरूको खोजीमा लागे । सन् १९७० को प्रारम्भमा, धेरैले काउन्टर संस्कृतिको आशावादी आदर्शवाद –जतिसुकै उत्कृष्ट भए पनि– व्यावहारिक थिएन भनेर महसुस गरे र वास्तविक संसारमा फर्किन थाले । वर्तमान पुस्ता र हिप्पी पुस्ताबीच केही दशकको अन्तर रह्यो । नवपुस्ताहरूले हिप्पी संस्कृतिका केही हिस्साहरूलाई आत्मसाथ गरेको देख्न सकिन्छ । आफूलाई शाब्दिक रुपमा हिप्पी भनेर पहिचान नगराए पनि उनीहरूको जिवनशैली, चिन्तन र दर्शन, अध्यात्मप्रतिको झुकाव, पर्यावरणीय प्रेम, यौन स्वतन्त्रताको अभिव्यक्ति अनि कलात्मक चेतको खोजीले वर्तमान पुस्ताको हिप्पी क्रेजलाई पुष्टि गर्छ ।
वर्तमान समय फेरि युद्धको चपेटामा फसेको छ । रुस र युक्रेनबीचको आणविक युद्ध, इजराइल प्यालेस्टाइन बीचको धार्मिक युद्धले पुन: एकपटक विश्व जगतमा संत्रास फैल्याएको छ । मानिसहरू पुन: एकपटक कलात्मक स्वतन्त्रताको खोजीमा छन्, भौतिकवादको चरम महत्त्वाकांक्षा, जीवन र मरणको द्वन्द्वात्मक अवस्था, व्यक्तिगत अभिव्यक्तिको खोजीले एकपटक फेरि कुनै प्रतिसंस्कृतिको उदय नहोला भन्न सकिँदैन ।
सन्दर्भ सामाग्री र श्रोत:
- The Hippies: A 1960s History John Moretta, 2017
- The Counterculture Hippie Movement of the 1960s and 1970s by Amy Hayes
- Hippie Modernism: The Struggle for Utopia | Walker Art Center
- Just Kids Patti Smith ; Bohemian Paris: Culture, Politics, and the Boundaries of Bourgeois Life, 1830-1930 Jerrold E. Seigel ; The Hedonism Handbook:
- The New Zealand Film Archive / Ngā Kaitiaki O Ngā Taonga Whitiāhua Archived from the origional.