मर्ने मौरी मार्ने


Logo

दृष्या फुएल


हामी कुनै जमानामा मौरिका घर थियौँ
मिठासले भरिएको हावा
गर्मीहरू गन्ने दिनहरूमा

कसैले सुनायो रानीले काम गर्दिनन्
त्यसैले कठिन काम गर्दै
सास फेरेको समेत कर तिर्‍यौँ

ऋतु फेरिन नपाउँदै पखेटा पातलिँदै गए
दिनहरू लम्बिदै गए
भोकलाई घारप्रेमको नाम दिइयो

हरेकपटक जब जमिन काँप्यो
त्यसलाई ‘नयाँ सुरुवात’ भनियो
तर मलाई लाग्यो उही पुरानो कथा
केवल पोसाक फेरिएको

म अब चिच्याउँदिनँ म सुन्छु
आजकल शक्ति मञ्चबाट बोल्दैन
ऊ खुट्टामुनि सरसराउँछ

जमिनमुनी ढुसीले हाम्रा नाम सिकिसकेको छ
उसलाई थाहा छ को बाँच्छ, को चुपचाप सुक्छ
र को आफ्नो वजनले मात्रै याद गरिन्छ

अब रुखहरू हामीसँग बोल्दैनन्
उनीहरूले धेरै सरकार देखेका छन्
मनसुनझैं आउने, हिलो छोडेर जाने

मैले देखेँ बिहान र साँझको बीचमा
मौरीहरू हराए
न शोर, न शोक प्रतिवेदनमा मात्रै मह बढिरह्यो