पारी गाउँको एउटा कुनामा
छ सानो पोखरी
पानी घुँडासम्म पनि नआउने
न माछा तैरिन्छन् त्यहाँ
न कुनै कमलको फूल नै फुलेको छ
छ त केवल युगौंदेखि लागेको लेउ
त्यो पोखरीको बाटो हिँड्दा
गाउँलेहरू
त्यसमा पिच्च थुक्ने गर्छन्
मुत्ने गर्छन्, बिस्ट्याउने गर्छन्
साहै गन्हाउँछ तिनीहरूलाई
त्यो पोखरी
उठाउनै नमिल्ने एउटा लासझैं
त्यो पोखरी त्यो गाउँमा
यत्तिकै पडिरहेको छ
न त्यसमा वेग छ, न त गति नै
न त छाल छ, न त जीवन नै
एउटा अकर्मण्य जुनी जिउँदै छ
पारी गाउँको त्यो सानो पोखरी