बाँदर बस्तीमा हर्षोल्लास छाएको छ । सबै बाँदर दश भित्तामाथि उफ्री-उफ्री जस्न मनाइरहेका छन् । रुखका हाँगाहरूमा मच्चिदै हाई-हाई र हुई-हुई गर्दै उत्सव मनाइरहेका छन् । भर्खरै बाँदर बस्ती भित्र कयौं वर्षदेखि एकलौटी शासन चलाएर बसेका ढेडु बाँदरले सुनको नरिवल बस्तीका आम बाँदरहरूलाई हस्तान्तरण गर्दै आफूले सिंहासन छोडेको खबरले जमीनमा बस्ने बाँदर रुखमा बस्ने बाँदर र मन्दिरमा बस्ने बाँदरहरूबीच अब असमानताको पर्खाल भत्किएको र सबै समान भएको पुष्टि भएको छ । अबदेखि जमिनमा बस्ने बाँदरले पनि रुख चढ्न पाउने र रुखमा फलेका फलको अधिकार पाउने अनि रुखमा बस्ने बाँदरले मन्दिरमा पस्न अनुमति पाउने र चढाएका विभिन्न स्वादिष्ट हाई-क्लासका प्रसादहरू खान पाउने जस्ता अधिकारहरू स्वीकृत भएका छन् ।
असमानताको विरुद्ध विद्रोह गरेका जमिनमा बस्ने बाँदरहरूले गर्दा आज बाँदर बस्तीमा ठूलो परिवर्तन आएको छ । त्यसैले आज अरु दिनको भन्दा बाँदरहरूको हाई-हाई र हुई-हुई जङ्गलभित्र तेब्बर-चौबर भएको छ ।
नरिवल हस्तान्तरण पश्चात् ढेडु बाँदरको अत्तोपत्तो भएन । बाँदर बस्तीलाई परिवर्तनको मार्गमा दौडाउने बाँदर चंखेले रुखमा बस्ने बाँदर संखे र मन्दिरमा बस्ने बाँदर पंखेसँग सम्झौता गरेर सुनको नरिवललाई साक्षी राखी बस्ती भित्र नयाँ तौरतरिका लागु हुने घोषणा भयो । रुखमा बस्ने बाँदरले मात्र नभई जमिनमा बस्ने बाँदरहरूले पनि मन्दिरमा आएका हाई-क्लास प्रसादको पहुँच पाउने र प्रवेश गर्न पनि अनुमति पाउने तय गरियो । उक्त नयाँ घोषणाले मन्दिरका कुकुरहरूसँग समन्वय बनाएर बसेका बाँदरहरूबीचको सम्बन्धमा केही दखल पैदा भयो । कुकुरहरूले आपत्ति जनाउँदै भने “मन्दिरको प्रसाद हामीलाई पुगनपुग छ, जमिनका बाँदरहरूलाई मन्दिर भित्र अनुमति गरियो भने एकाधिकार जमाउने निश्चित छ, त्यसैले यो नयाँ घोषणा हामी मान्दैनौँ ।”
चंखे बाँदर जसरी पनि सो घोषणा लागु गर्ने पक्षमा थियो । मन्दिरका कुकुरहरूले घोर आपत्ति जनाए । कुकुर र बाँदरबीच ठूलो झडप नै सुरु भयो । कैयौं बाँदर मारिए एक दुई संख्यामा कुकुरहरूले पनि प्राण गुमाए । कुकुरको समूहलाई नेतृत्व गरिरहेको खैरेले चेतावनीका साथ भन्यो “अफ सिजनको समय मन्दिरबाट बस्तीमा आयात हुने सबै प्रसादमा रोक लगाइने छ ।”
मन्दिरमा बस्ने बाँदरको मुखिया पंखेले पनि अदृश्य रुपमा कुकुर खैरे कै समर्थन जनाएको अनुमान गरियो । कुकुर मात्र नभई जमिनमा बस्ने बाँदरले गर्दा आफू र आफ्नो समूह पनि अल्पमतमा पर्ने भयले गर्दा उसले आफ्नै प्रजाति बाँदरको पक्षमा बोल्न असहमति जनायो । आफ्नै प्रजातीहरू कुकुरबाट मारिएको टुलुटुलु हेरिरह्यो । जति नै समानता आए पनि आफ्नो वर्षौंदेखिको जग उसले छोड्न चाहेन र गलत समूहको हातमा पर्न नहुने भित्रि मत राख्दै मुखमा बुजो हालेर बस्यो । आफ्नो भाग पनि खोसिन सक्ने डरले पंखेले प्रतिवाद गर्न चाहेन ।
चंखे यता आफ्नो जमिनबासी बाँदरहरूलाई वाचा गरेको अधिकार प्रदान गर्न नसकेकोमा रन्थनिएको थियो । मन्दिरमा बाँदरहरूको उच्छृंखल व्यवहारले गर्दा पण्डितहरू बाँदरदेखि रुष्ट भएका थिए, बरु कुकुरलाई काखैमा सुताउँला झैं व्यवहार गर्दथे । पण्डितहरूले करिब-करिब मन्दिरमा कुनै पनि बाँदरलाई अनुमति निषेध नै गरिसकेका थिए ।
यता रुखमा बस्ने बाँदर समूहको नेतृत्व गर्ने संखे भने बीचमा बसेर ठूलो भागको दाउ पर्खिरहेको थियो । जबसम्म रुख छ, तबसम्म फल छ, जबसम्म फल छ, तबसम्म चिन्ताको केही आवश्यकता नै छैन भने जसरी रमिता हेरिरहेको थियो ।
मौसमले समय फेर्यो, रुखका हाँगाहरू भाच्चिएर झर्न थाले, पातहरू पतिङ्गरमा परिणत हुन थाले । फल त रुखमा एकाधिकार जमाएर बसेका बाँदरहरूले झर्नु अगावै सिनित्तै पारिसकेका थिए । जमिनमा बस्ने बाँदरहरू भोकले प्याकप्याकिन थाले । चंखेले मन्दिर छोडेर अब छेउमा रहेको गुम्बामा आफ्नो जमिनबासी बाँदरहरूलाई प्रवेश गराउने निर्णय गर्यो । उक्त निर्णय चाल पाउन साथ पंखेले निन्दा गर्दै भन्यो “यो त हाम्रो परम्परा, रिति-रिवाज, संस्कार, धर्मको खिलाफ हुनजान्छ, हामीले हिन्दु देवतालाई चढाएको मात्र खान इजाजत छ ।” आफ्नो प्रजातिले परम्परा लत्त्याए भन्ने विषयलाई उछालेर कुकुर खैरेसँग मिलेमतोमा जङ्गलमा आयात हुने हाई-क्लास प्रसादमा रोक लाइदिए पछि रुखमा बस्ने संखेका समूहले चंखेको समूहप्रति ठूलो विरोध जनायो ।
आफ्नो मन्दिर त्यागेर गुम्बा धाउने बाँदरहरूदेखि मन्दिरका पण्डित पनि केही चिढिएका थिए ।
नयाँ सहमति भयो । आउने फल फल्ने मौसमदेखि जमिनका बाँदरहरूलाई रुखै चढेर फल खान मिल्ने अधिकार दिने र केही प्रतिशत रुखमा बस्ने बाँदरहरूले मन्दिरमा प्रवेश स्वकृति पाउने । कुकुर खैरेको समूहलाई पनि बस्तीमा अधिकार दिने र बस्तीको ढेडु पदबाट चंखेलाई बर्खास्त गरी पंखेलाई नियुक्त गरिने अनि सुनको नरिवललाई नामकरण गरेर सबैको साझा नरिवल बनाइने । बस्तीबासी बाँदरहरूले पनि सबैको साझा नरिवलको माग गरे र गर्न लगाइयो ।
सबैको साझा नरिवललाई साक्षी राखेर पूर्ण नयाँ तौरतरिकाको घोषणा गरियो । चंखे, संखे, पंखे र खैरेको गठबन्धनले बस्तीलाई नयाँ आयाम दिने संकल्प गरियो । सबैको साझा नरिवलमा घोषणा भएको नयाँ तौरतरिकालाई कसैले अपनाए त कसैले खारेज गर्ने नारा लगाए । बाँदरले आफ्नो पनि घर बनाउदैन र अरुको पनि बनाउन दिदैन भने झैं चंखेलाई चित्त बुझ्दा पंखेले प्रतिकार गर्ने त संखेले सहमति जनाउदा चंखेले असहमति जनाउने प्रक्रिया चलिनैरह्यो ।
अधिकार त प्राप्त गरे तर अधिकारलाई कसरी प्रयोग गर्ने र अधिकारको पहुँचमा कसरी पुग्ने ती जमीनबासी बाँदरहरूले जानेनन् । सुरुवातदेखि नै जमिनमै बस्दै आएका जमिनका बाँदरहरूलाई रुख चढ्ने अधिकार त दिइयो तर रुख कसरी चढ्ने भन्ने अभ्यास गराइएन । बाँदरको प्रजाति भएकाले र वंशाणु गुणबाट प्राप्त क्षमता अनुसार रुखको हाँगासम्म चढ्न त सके तर टुप्पोसम्म पुग्न सकेनन् । जसले गर्दा जमिनका बाँदरबासीहरू फलदेखि वञ्चित भए । जमिनबासी बाँदरहरू पाएको अधिकारको उपयोग गर्न सायद सक्षम भइसकेका थिएनन् । अधिकार कति दिने, कस्तो दिने, कुन बेला दिने, के आधारमा दिने र कस-कसलाई दिने भन्ने किसिमका ठोस सूचीका नभएता पनि पौडिरहेको माछालाई पखेटा हाल्दिदैमा त्यो चरा बनेर उड्दैन, त्यसको पृष्ठभूमि भनेको जलक्रीडा नै हो । बस् उसलाई चाहिने आहारा जलमा पर्याप्त भए उसले जल छोडेर आकाशमा उड्ने परिकल्पना गर्ने छैन । त्यसैगरि जमिनबासी बाँदरलाई पनि उक्त अधिकार पौडिने माछालाई पखेटा हाल्दिए सरह हुन पुग्यो । त्यस्तो अधिकारको के अर्थ जसको पहुँच नै छैन । एउटा विद्रोह गरेर आफूहरूलाई असमानताको घेराबाट त मुक्त गराए तर समानताको पहुँच रुखको टुप्पोसम्म पुग्न सकेन । जमिनबासी बाँदरहरू दिक्दारिएका थिए ।
रुखबासी बाँदरहरू सदैव जमिनका बाँदरहरू आफू सामीप्य नहोउन् भन्ने मनसाय राखेकाहरू पनि अधिकारको पहुँचसम्म नपुगुन् भन्ने चाहन्थे । जतिसक्दो अधिकार पाउनबाट वञ्चित गराए, त्यतिनै जमिनबासीहरूको रिस चंखेप्रति सोझिने छ र रुखका फल पनि आफू रुखबासीहरूको लागि पर्याप्त हुनेछ भन्ने खालको भित्री नीतिनिर्माण भइसकेको थियो । नयाँ सहमति अनुसार केही प्रतिशत मन्दिर प्रवेश गर्न पाएका रुखबासी बाँदरहरूले भने अधिकारको व्यापक फाइदा उठाए र लिनुसम्म लाभ लिए । छाडा छोडिएको गोरु गाईमाथि गएर जाई लाग्छ भने जस्तै, सहमति अनुसार अनुमति पाएका केही प्रतिशत रुखबासी बाँदरहरूको भने मन्दिर परिसरमा छाडा छोडेका गोरु सरह विकृति र अभद्र व्यवहार देखा पर्न थाल्यो । यहाँनिर सायद रुखबासी बाँदरहरूको उदण्ड व्यवहारलाई मध्यनजर गरेर अधिकार कति दिने, कस्तो दिने, कुन बेला दिने, के आधारमा दिने र कस-कसलाई दिने भन्ने किसिमका ठोस सूचीको निर्माण हुनुपर्थ्यो । दर्शनार्थीहरूको हातैबाट प्रसाद खोस्ने सरसामाग्री खोस्ने, लो-क्लासदेखि हाई-क्लाससम्मको प्रसादलाई करपझ्याप पार्ने मन्दिरको मुख्य देवालयभित्रै पसेर प्रसादहरू चोर्ने जस्ता प्रवृत्तिहरू देखा पर्न थाले । कुकुर समूहको मुखिया खैरेले पनि यसको विरोध जनायो । मन्दिरका पण्डितले भने दक्षिणालाई मात्र प्राथमिकता दिएर रुख बासी बाँदरहरूको हर्कतलाई आँखा चिम्लिदिए । रुखको फल देखि लिएर मन्दिर परिसरका सबै प्रसादको अगुवा रुखबासी बाँदरहरूले गर्न थाले । पछि ढेडु पदमा बसेका मन्दिरबासी बाँदरहरूको मुखिया पंखेले रुखबासी बाँदरहरूको मुखिया संखेसँग मिलेमतोमा प्रसाद र फल बाँडीचुँडी खाने प्रबन्ध मिलाए । रुखबासी बाँदरहरूले मन्दिरबासी बाँदरहरूलाई सहमति भए अनुसारको फल र प्रसाद दिइरहे, ढेडु पदका पंखे बाँदरको समूहले पाउञ्जेलसम्म खाई नै रहे । थप केही प्रतिशत रुखबासी बाँदरहरूलाई मन्दिर प्रवेश गर्न ढेडु पद सम्हालेर बसेको पंखे बाँदरले सहजीकरण गरिदियो । अधिकारभन्दा माथिको पहुँच प्राप्त गरेपछि रुखबासी बाँदरहरूलाई रोक्ने कसले ? ढेडु बाँदर सरह रुखबासी बाँदरहरू पनि टन्न खान पाएर ढाडिन थाले । अटसमटस भएर बोसो लागेका बाँदरहरूलाई हाँगाले पनि थाम्न नसक्ने अवस्था पुगिसकेको थियो । जमिनबासी बाँदरहरू भने खान नपाएर शिशुपाल जस्तो छाला र हड्डी मात्र बाँकी भए जस्ता देखिन थाले ।
जमिनबासी बाँदरहरू छेउछाउका गुम्बा र साना-साना मन्दिरतर्फ बसाइँ सर्न थाले । मानिस बस्तीतर्फ पनि एक हुल बाँदरको जमात छिटफुट देखा पर्न थाले । बत्तीका लत्रिएका तारहरूमा झुल्लिदै एक ठाउँबाट अर्को ठाउँ बाँदरहरूको बसाइँसराइ प्रशस्त रुपमा देखिन थाल्यो । केही संख्यामा जमिनबासी बाँदरहरू उतै पलाएन भए । केहीलाई भुस्याहा कुकुरले खेदे त केहीलाई लखेटी-लखेटी टोकेरै मारे । केही बिजुली तारको बाटो अपनाउने हुँदा नाङ्गो तारको झट्कामा परेर मृत सावित भए । जमिनबासी बाँदरहरूको जनसंख्यामा दिन प्रतिदिन गिरावट आउन थाल्यो । रुखबासी र मन्दिरबासी बाँदरहरूलाई जमिनबासी बाँदरहरूको पलायन हुँदै गरेको देख्दा कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडाएर लगिदियो भने जस्तै भएको थियो । मन्दिरबासी र रुखबासी बाँदरहरूको एकछत्र राजलाई उल्ट्याउन असम्भव भइसकेको थियो ।
एकाएक मन्दिर परिसरमा बाँदरहरूको संख्या कम देखिन थाल्यो । पहिलाको मात्रामा बाँदरहरू नदेखिएपछि पण्डितले पनि अनिष्टको संकेत देखा परेको भन्न थाले । ठूलो यज्ञ पूजा गरियो तर मन्दिरमा आउने बाँदरहरूको संख्यामा भने वृद्धि भएन ।
एकदिन एउटा अजङ्गको बुढो ढेडु बाँदर मन्दिर परिसरमा देखा पर्यो । ऊ मुख्य देवालय भित्र पसेर मुर्तिको छेउ भलाद्मी भएर गमक्क परेर बस्यो । कयौं दिनपश्चात् बाँदर देखा परेकोमा पण्डित पनि खुसी देखिए । मुर्तिबाट बुढो ढेडु बाँदरलाई लखेट्ने दुस्साहस पनि गरेनन् । त्यस दिनपछि निरन्तर त्यो बुढो ढेडु बाँदर देवालयमा देखा पर्न थाल्यो । सधैं जस्तो मुर्तिको छेउ आएर गमक्क परेर भद्र शैलीमा बिना चकचक बसिरहन्थ्यो । दर्शानार्थीहरूले चढाएको प्रसाद बिना अनुमति हेर्दा पनि हेर्दैन थियो । बेलुकाको आरती सकिए पश्चात् पण्डितले आज्ञा गरे पछि मात्र प्रसाद खाने गर्थ्यो । दर्शनार्थीले टाउको निहुर्याएर मुर्ति ढोग्ने क्रममा मुर्तिछेउ बसेको बुढो ढेडु बाँदरले आफ्नो काखी कन्याउन हात उठाउदा दर्शनार्थीको शीरमा पर्यो । उक्त दृश्य देखिरहेको पण्डितले भने “श्री हनुमानले तपाईंलाई आशिर्वाद दिनु भयो, यो बुढो ढेडु बाँदरमा श्री पवन पुत्र हनुमानको बास छ” भनेर ठोकुवा गरिदिए । बुढो ढेडु बाँदर चर्चाको चुलीमा पुग्यो । मुर्तिलाई भन्दा पनि दर्शनार्थीहरू बुढो ढेडु बाँदरको आशिर्वाद लिन लाम लाग्न थाले । भद्र-भलाद्मी, शालीन हनुमानको अवतार बुढो बाँदर हेर्न मन्दिरमा ठूलो घुइचो लाग्न थाल्यो । मन्दिरको पण्डितले बुढो ढेडु बाँदरलाई नयाँ शक्तिको रुपमा स्थापित गरिदिए ।
मन्दिरका सबै हाई-क्लास र लो-क्लासका प्रसादहरू अब हनुमानको अवतार बुढो ढेडु बाँदरको भागमा पर्न थाल्यो, भद्र-भलाद्मी र शालीन भएकाले हकदाबीको बहुमत पनि उसैले पायो । जंगलमा ढाडिएर बसेका रुखबासी र मन्दिरबासी बाँदरहरूको निम्ति त्यस बुढो बाँदर ठूलो चुनौती बन्न पुग्यो । पछि थाहा भयो त्यो बुढो ढेडु बाँदर, जसलाई विद्रोहपछि शासन सत्ताबाट निकालेर सुनको नरिवल खोसिएको थियो ऊ नै फर्किएर आएको रहेछ । रुखबासी र मन्दिरबासी बाँदरहरूबीच खैलाबैला मच्चियो । चंखे, संखे, पंखे जमिन, रुख, मन्दिरका तीनैजन मुखियाहरू भयभीत भएका थिए । दिनप्रति दिन मन्दिरको मुख्य देवालयको सिंहासनमा अड्डा जमाएर बसेको बुढो ढेडु बाँदर चर्चाको शिखरमा उक्लिदै थियो । दर्शनार्थीहरूको घुइँचोलाई चकचके बाँदरहरूले बिथोल्न नसकुन् भनेर मन्दिर परिसरमा त्यस्ता बाँदरहरूलाई लगभग निषेध नै गरिएको थियो ।
कुकुर समूहको नाइके खैरेलाई बोलाइयो । सहमति अनुरुप मन्दिरको मुख्य देवालयमा पुगेर खलबल मच्च्याउने र बुढो ढेडु बाँदरलाई लखेट्ने त्यसको बापत जमिनबासी बाँदरहरूको केही भाग कुकुर समूहलाई उपलब्ध गराइने सम्झौता तय भयो ।
खैरे आफ्नो समूह लिएर मन्दिर परिसर भित्र प्रवेश गर्यो । दर्शनार्थीहरूको घुइँचोबाट लुसुलुसु मुख्य देवालयको ढोकामा पुग्यो । बुढो ढेडु बाँदर मुर्तिछेउ शालीन अवस्थामा फूलमालाले सज्जिएर गमक्क परेर बसेको थियो । सबै दर्शनार्थीलाई पालैपालो आशिर्वाद दिइरहेको थियो । हठात् कुकुर समूहले छेउमा राखिएको हाई-क्लास प्रसादतर्फ आक्रमण गरे । बुढो ढेडु बाँदर तर्किएर भित्ता समाउदै सानो झ्यालबाट फुत्त बाहिर निस्कियो । कुकुर समूहले केही क्षण मै अराजकता मच्चाएर गए । कुलेलम ठोकेको बुढो बाँदरलाई देख्दा प्रकट भएका भगवान् हनुमानप्रति दर्शनार्थीहरूको झिनो आशा तुहिएर गयो । मन्दिर परिसर फेरि शून्य भयो ।
कुकुर समूह पनि अब मैदानमा आए । मन्दिरको प्रसाद र रुखको फलमा हक उनीहरूले पनि पाए तर एकाधिकार भने रुखबासी र मन्दिरबासीले नै जमाए । बुढो ढेडु बाँदर लखेटेपछि रुखबासी बाँदरहरूको मनोमानी गतिविधि झन् दोब्बर मात्राले वृद्धि हुन थाल्यो । सक्ने जमिनबासी बाँदरहरू बसाइँसराइ र पलायन हुँदै गए, नसक्नेहरू सधै जसो रुखको फल खस्ला र खाउला भनि ठाडो मुन्टो लाएर पर्खिरहे । खैरे, पंखे र संखे यी त्रि-शक्तिको खिलाफ जाने सामर्थ्य जमिनबासी बाँदरहरूले राख्न सकेनन् । चंखे जमिनबासी बाँदरहरूको निम्ति मरे सरह भइसकेको थियो । हुनु र नहुनुको केही अर्थ थिएन ।
बाँदरको हातमा नरिवल भने झैं सुनको नरिवलको स्तर अहिले बाँदर बस्तीमा पित्तल बराबर भएको छ । ढाडिएर, कक्रिएर कक्रक्क परेका ढेडु बाँदरभन्दा जमिनबासीहरू सायद अब त्यस्तो कुराको पर्खाइमा थिए, जसले पौडिने माछालाई पखेटा हालेर उड्ने सपना होइन, पोखरीबाट समुन्द्रमा लगेर स्वतन्त्र पौडिने विपना दिओस्, जमिनमा बसेर रुखको फल कुरेर बस्ने होइन, रुखको टुप्पोमा पुगेर फल टिप्न सक्ने सक्षम बनाओस्, अधिकारको पहुँच मन्दिरमा पाइने हाई-क्लास र लो-क्लास प्रसादभन्दा सबैले चढाउने सबैको साझा नरिवल जस्तो होस् ।
तसर्थ, चकचके बाँदरहरूलाई संगठित गराई अनुशासित बनाउन एउटा एकल मदारीको आवश्यकता पो परेको छ कि ?