सडकमा मातेर हिँडेका कविका नाममा


Logo

आदि पुरुष


विद्रोह उठेको

भविष्य ढलेको
एउटा कहालिलाग्दो साँझमा
कविहरू
हिँडिरहेका थिए सडक-राजमार्गमा

निकैदिन हिँडेपछि
कविहरू सडकका माझमा बान्ता गर्न थाले
कविहरूका मुख र नाकबाट
ह्वाल्ह्वाल्ती बग्न थाल्यो गन्हाउने ‘मानिस’
अहो ! यो के भयो
‘कवि’ भित्रको ‘मानिस’ यतिधेरै दुषित कसरी हुन गयो ?
थामिए पश्चात् बान्ताका धारावाहिकता
कविहरूका कलमबाट
पुत्ताउन थाल्यो बारुद ।

कवि जड्याहा हुनसक्छ/ परन्तु
कवि शीतयुद्धको कमान्डर हुन सक्दैन
न त फुक्न सक्छ बारुद
कवि दङ्गा भड्काउन सक्दैन !

को हुन् सडकमा कलमद्वारा बारुद पड्काउनेहरू ?

अर्कोदिन बिहान देखिए
किरा/कमिला/पक्षीहरू (मौरी, भँवरा समेत)
घिन लाग्नेगरि खोस्रिरहेका कवि
आदर्शहरू
संवेदनाहरू
इमान र सत्यहरू
अग्रगामी सोचका पोट्रेटहरू
रङ्ग, ध्वनि, रुपक अनि तालहरू
विम्बहरूमा दुखेको कविको छातीको देब्रे भाग
अनि प्रतीकमा अर्थिएको कविको आँसु
जम्मामा कवित्व खोस्रिए ।

उफ ! कविका बान्ताहरूमा भेटिएनन्
स्वविचार ।
पुनर्विचार ।
निष्ठा ।
जवाफदेहिता र दायित्वबोधका अन्नहरू

सडकमा निर्लज्ज लम्पसार परेको कविले
माथि,
निकै माथि आकाशमा देख्यो
फनफनी घुमिरहेको चिल
जो चपाइरहेको थियो
कविले जलाएका आफ्नै कविताका धुँवाहरू

कविता जलेपछि कस्तो धुँवा निस्कन्छ
रङ्गहीन धुँवा कि रङ्गीन धुँवा ?

कविता जल्दा के जल्छ
शब्द कि विचार ?

यतिबेला घाइते समय
खोक्दै ।
र्याल चुहाउँदै ।
खोच्याउँदै ।
कविका प्रकाशित/ अप्रकाशित
कृतिहरू समक्ष शरण माग्न पुगेको छ
तर
तर कविहरू बेपर्वाह
सडकछेउको
जुवा खालमा बसेर
‘आमा’का नाममा फोहोर गाली बक्दै
फिटिरहेका छन्
सस्ता/कमसल/नक्कली
प्रायोजित विचारहरूका गड्डी

अब कसले मार्ला बाजी ?

पहिलो पटक आज
पाठक– टुहुरो भएको छ
भावक– भुत्ते भएको छ
मातेका कविका कविताहरू पनि आधा जलेर
बिस्तारै सिनो बन्दै छन्

पाठकले देखिरहेको छ
चिलाउनेको रुखका टुप्पामा
सिनो ढुकेर बसेका गिद्धहरू ।

यी कविहरूका आँसुमा पानी होइन खनिज हुने रहेछ
आँसुको मसीले लेखेको कवितामा
आगो कसरी सल्कियो होला ?

कविताका काखमा सुस्ताउने फूल डढेका छन्
फूल डढे, यसर्थ पुतलीहरू पनि
गए होलान् बसाईं सरेर
पुतलीहरू अङ्गार चुम्दैनन्

ए कवि !
निस्क सडकबाट
ब्युँताउ आफ्नै कविताहरु !
निभाउ कलमका निभमा बलेको बारुद

आज लागेको आगो
भोलि बग्ने करुण आँसुले निभाउन सक्दैन ।

ए कवि उठ,
तिमी निकै गनाइसक्यौ ।