लोकतन्त्रको अन्तिम व्याख्या 


Logo

Kanchan Basnet


लोकतन्त्रको लोकप्रियता, सर्ववन्द्य चरित्र र आलोचनाप्रतिको घृणा देखेपछि सहजतापूर्वक स्वीकार गर्न सकिन्छ कि- लोकतन्त्रमा अवश्य सन्देहास्पद तत्त्वहरू छन् । हैन भने यस तह र तीव्रताका साथ आत्मश्लाघाको आत्मप्रकाशन गर्न हत्ते गरिराख्नु पर्ने थिएन । 

सम्झौँ जेन्-जेड विद्रोहको बेलाको करियरमुखी विद्वत् वर्गको लोकतन्त्रमोह ।  

हुनत: लोकतन्त्रका व्याख्या दूरन्त हुने गर्दछन् । तर श्रोत विचार, माउ अवधारणा बोध गर्नेहरूले यी विचार र तर्कलाई गुणनफल रूपमा फैलाउँदै लैजान सक्छन् ।

तिक्ष्ण, कुशाग्र बुद्धि भएको व्यक्तिले शुरुका दुई वाक्य पढ्ने बित्तिकै अ को अलङ्कार बुझ्न सक्छ । नसक्नेहरूको लागि बाँकी लेख अर्पित छ । 

१. 

लोकतन्त्रको जनक-राष्ट्रका राष्ट्रपति लिङ्कनले भनेका छन्- जनताको जनताद्वारा जनताका लागि गरिने शासन नै लोकतन्त्र हो । 

असत्यको चातुर्य केवल शब्द र वाक्यमा देखिन्छ । व्यवहारमा चातुर्यको कार्यनवन्यान केवल धूर्ततामा देख्न सकिन्छ । अर्को कारण, के हुन सक्छ भने लिङ्कन अल्पबुद्धिका थिए । 

व्यवहारको धूर्तताले भन्दछ- लोकतन्त्रमा जनता नै हुँदैन । केवल कार्यकर्ता या सेवाग्राही भन्छ । 

२. 

लोकतन्त्रलाई सजिलोसँग टुक्र्याएर हेर्दा प्रष्ट हुन सकिन्छ । लोकतन्त्र= लोकको शासन, लोक= बहुजन , लोकतन्त्र = बहुतन्त्र । 

कुनै पनि शासनव्यवस्थामा दुईवटा प्रश्न महत्वपूर्ण हुन्छन्- जनताले के चाहन्छन् र जनताले के चाहनु पर्छ । दोस्रो प्रश्न सर्वाधिक महत्पूर्ण हुन्छ । 

आखिर बहुजनले, भीडले मनुष्यलाई एउटा औसत एकाईभन्दा अन्यत्र सोच्न सक्दैन् । 

भीडको मनोविज्ञानले सदैव सोच्दछन्- जे कुरा बहुप्रिय छ, त्यो पूर्णरुपेण सर्वप्रिय हुनै पर्छ । 

३. 

ऐतिहासिक रूपमा हेर्ने हो भने लोकतन्त्र राष्ट्र विग्रहको एउटा महत्वपूर्ण चरण हो । प्लाटोले भनेजस्तै कमजोर समेतले शासन हाँक्ने बुभुक्षा भएका मानिसहरू र फ्रेडरिख नीच: ले भने जस्तै गोठालोविनाका भेडाहरू लोकतन्त्रका प्रमुख खेलाडी हुन्छन् । 

हाम्रै देश हेरौँ । शक्तिहरू यस सीमासम्मन् विकेन्द्रित र जालो-गाँठोमय भएको छ कि यसले अनेक कार्यहरूको प्रभाव घटाउने र नेतृत्वमा दीर्घसूत्रता (procrastination) बढाउने गरेको छ । 

४. 

लोकतन्त्रलाई अध्ययन गर्न मन पर्ने विषय हो- तथ्याङ्कशास्त्र (Statistics), एउटा छद्म विज्ञान । 

लोकतन्त्रले साक्षरता र शिक्षितलाई पर्यायवाची शब्द मान्छ । यस उद्देश्यले मानिसलाई साक्षर बनाउँछ कि आम मानिसलाई आफ्नो बेग्लै शब्दकोश घोकाउन सकियोस् । 

लोकतन्त्रले आर्थिक वृद्धिदरलाई विकासको मानक मान्छ । उसले यो कुरालाई ध्यान दिदैन कि ऊ कस्तो मानिस निर्माण गर्दैछ । आर्थिक वृद्धिदरको खेलमा अन्धाधुन्ध प्रवेश गर्दा समग्र शरीर र मन च्याप्टिएर यन्त्र भएको आम मानिसले थाहै पाउँदैन । 

५. 

लोकतन्त्र स्वतन्त्रता र समानताको वकालत गर्छ । तर स्वतन्त्रता र समानता एक साथ अस्तित्वमा रहनै सक्दैन भन्ने आधारभूत नियमलाई ऊ बुझ्नै सक्दैन । 

तपाईंले कुनै दिन लोकतन्त्रलाई सोधे हुन्छ- के हो स्वतन्त्रता ? कसरी आउँछ समानता ? 

लोकतन्त्रले तपाईंको विचारलाई लोकापवादको संज्ञा दिने छ । लोकापवाद हुनु भनेको शत्रु हुनु हो । तपाईंको प्रश्नको गहिराइ देखेर तपाईंबाट त्रस्त हुनेछ । 

६. 

लोकतन्त्रले विचारको स्वतन्त्रता दिन्छ तर स्वतन्त्रतामाथि विचार गर्न दिँदैन, स्वतन्त्रताले निर्माण गरेका शून्य, प्रतिस्थाप्य मानिसहरूको कथा लेख्न दिँदैन । 

लोकतन्त्र राष्ट्रवादलाई अमूर्त विषय भन्छन्, तर त्यसको साटो सबैभन्दा अमूर्त अवधारणाको जन्म दिन्छ- स्वतन्त्रता । 

लोकतन्त्रले निर्माण गरेको स्वतन्त्रताले विरोधाभाषी मनुष्यको निर्माण गर्छ । जीवनको आधारभूत नियमितताबिना अकल्पनीय मनुष्यलाई सोही नियमितताको निषेधमा खडा गरेर लोकतन्त्रले मानवतालाई एक तह तल्लो बिन्दुमा झारिदिन्छ र भन्छ- मानिस सांयोगीक हो ।

७. 

लोकतन्त्र आफूलाई निरंकुशता विरूद्धको लडाईं लडेर आएको आत्माश्लाघी तर्कना गर्छ । तर लोकतन्त्र वास्तवमा अर्को निरङ्कुशताको आधारभूमि हो । 

कमजोरहरूबाट राष्ट्र धेरै समय शासित रहन सक्दैन । त्यसको ठाँउ कुनै शक्तिशाली र स्वछन्दले अवश्याम्भी लिनेछ । त्यो समय शक्तिवान बन्न नसकेकाहरूलाई चरम निरङ्कुशता प्रतीत हुनेछ । 

८. 

प्रगति व्यवस्थासापेक्ष मात्र हुन्छ भन्नु लोकतन्त्रको कातरताको अर्को तर्फ हो । इतिहासको रथपाङ्ग्रा जति अघि बढ्दैछ, मानिस झन् झन् कमजोर बन्दैछ । मानवताको परिचायक साहस हैन, आँशु बन्दैछ । केलाई भन्ने प्रगति ? कृत्रिम आर्दशको निर्माण ? जरा उखेलेर फ्याकिएको फ्रान्सको ओइलाएको कायमाथि जन्मिएको स्वतन्त्रता, समानता र विश्वबन्धुत्व ? के यी आदर्शहरू भन्दा त अनैतिकता नै ज्यादा नैतिक छैनन् र ? 

के हो विश्वबन्धुता? अरुको गन्हाएको काखीको परवाह नगरी अनन्तकालसम्म अङ्गालोमा बाँधिनु ? 

९. 

ओहो! म सम्झन्छु- आधुनिक संसदको जननी बेलायत । जब इतिहासको दुःख र दैन्य झेलेर निर्माण गरेको सभ्यता, भाषा र संस्कृतिमाथि बहुलवादको रजाइँ भयो, बेलायत रहेन बेलायत । क्रमशः क्षय हुँदै गयो उसको राष्ट्रियता । अनेकन् स्वन्त्रतारूपी अराजकहरू अरुको सफलताको भाग खान गए । 

१०. 

म नेपालकै लोकतन्त्र सम्झिन्छु । कस्तो उत्साहको साथ ल्याइएको लोकतन्त्रको विडम्बना भने अर्कै छ । यसका केही परिणामहरू हेरौँ । 

   – सबैभन्दा बढी अपनाइएको पेशा राजनीति । 

   – पारम्परिक संस्कृतिको क्षय र नयाँ संस्कृतिको असम्भावना । 

   – नयाँ र पुरानोको सीमानामा शरणार्थी बन्न बाध्य नागरिक । 

   – आफ्नो निर्माणमा अरूको परियोजना । 

   – औसत मानिसको आहत अहंको निर्मिति । 

११. 

जनतालाई शक्तिशाली भनेर वादा र दावा दुवै गर्ने देशको संविधानमा अधिकारको पहाड र कर्तव्यको सानो दाना राखिएको छ । 

शक्ति कर्तव्य र सहभागिताबाट नआएर केबाट चाहिँ आउँदो रहेछ ? 

लोकतन्त्र व्यवस्थाविषयक व्याख्यानहरूको सारांशलाई एक वाक्यमा उल्लेख गर्न सकिन्छ- लोकतन्त्रको लोकसुख निरावधि र निर्वाध सुख र लोकतन्त्रइतरका समग्र विशेषता प्रतीयमान सुख हुन्, बन्धनयुक्त सुख ।

जनता प्रधान हुने व्यवस्थामा जिम्मेवारीको बोझ बोकाउनु पर्ने साटो निरावधि सुखको स्वप्न देखाउनु- योभन्दा छलकर्म के होला ! 

१२. 

यदि सर्वोन्नत लोकतान्त्रिक व्यवस्थाले समग्र जनतालाई जीवनका आधारभूत सुविधा र अधिकारहरू मात्र झुलाएर बस्छ भने आश्चर्य नमान्दा हुन्छ । लोकतन्त्र ‘औसत’ मानिसको कल्पना र निर्माण गर्छ । लोकतान्त्रिक मनोविज्ञान उत्कृष्टतादेखि डराउँछ । 

कस्तो मानिसको निर्माण गर्ने ? यस प्रश्नमा लोकतन्त्रको विकल्प धेरै र परिधि कम छ । 

१२. 

यी सब दुर्गुणको विजय पश्चात् पनि लोकतन्त्रइतर सोच्न नसक्ने कतार बुद्धिलाई ऊर्जावान शरीर र मष्तिष्क भएका मानिसहरूले कुल्चिएर अघि बढ्नु पर्ने देखिन्छ। 

यति उल्लेखपश्चात् पनि लोकतन्त्रले प्रदान गरेको स्वतन्त्रता र समानताको मोह गर्नु अनवस्थादोषमा प्रवेश गर्नु हो । ‘आउट अफ दी बक्स’ सोच्न नसक्नु, वैचारिक दरिद्रताको लक्षण देखाउनु हो ।