काठमाडौं र बुटवल कति टाढा ?


Logo

Sabin Gyawali


जेन-जी आन्दोलन र त्यसको घटनापछिको अन्योलतामा मैले दुईवटा कुरा ख्याल गर्दै थिएँ:

१. पुरानो पुस्ता यसबारे पुरै अनभिज्ञ थियो र नयाँ पुस्तालाई सोध्दै थियो “यो सबै कसले गरेको हो ? तँलाई केही थाहा छ कि ?” यसमा नयाँ पुस्ता पनि धेरै हदसम्म अनभिज्ञ हुँदा-हुँदै पनि यसका अनुहारहरू नयाँ पुस्ताका साथीहरू जस्ता थिए र समाजको बागडोर अधबैंसे र बुढापाकाका हातबाट सकिदै थियो । 

२. पुराना सामाजिक मूल्य-मान्यताहरू जस्तै जात व्‍यव्स्था, लैङ्गिक र जातीय विभेद, नयाँ पुस्तालाई “तँ तयार छैनस् !!” भनेर असुरक्षित बनाइरहने बानीलाई मुख्य तय प्र्याक्टिस् गर्ने र बचाइराख्ने पुराना पुस्ताका विचारहरू नाजुक(fragile) स्टेटमा रहेको र सुधारउन्मुख बनाउन चाहे बनाउन सकिन्छ भन्ने सोच । त्यही मुल्य मान्यताहरूको निरन्तरताले वर्षौंदेखि बसालेको आफू खुसी रमिरहने बानी र त्यसले निम्त्याएको सामाजिक निष्क्रियता (social passivity) र पुराना रुढीलाई अंगीकार गर्नुको विकल्प नदेखेको नयाँ पुस्तासँग अन्तरक्रिया गरेर सामाजिक वैचारिकतालाई चलायमान गराउन सकिन्छ ।

मानवशास्त्रको विद्यार्थी भएकाले पनि होला, कुनै पनि समाजको प्रगति त्यहीं स्थाइ रुपले बसिरहेका मान्छेको इच्छा, बुझाइ र संघर्ष अनुसार हुनपर्छ भन्ने लाग्छ । र, आफू बुटवलको भैकन पनि काठमाडौं बसिरहेको लामो समय भएकाले, मैले जति चाहे पनि आफ्नो कर्मको स्थायित्व र सोचको केन्द्र-बिन्दु काठमाडौंबाट बुटवल सरिसकेको ठहर गर्न सक्दिनँ । आफ्नो बसाइँलाई बुटवलमा निरन्तरता दिन सक्ने भएपछि मात्र मनको कुनै कुनामा यस ठाउँलाई जिस्काएर छोडिजाने ग्लानी बिना आफ्नो विचारको माध्यमबाट यहाँको सामाजले सोच्ने तरिकालाई चलाउँ जस्तो लागिरह्यो । अचम्मको कुरो के भने, यहाँको तिनाउ खोला, सिद्धबाबा मन्दिर, श्री ७ मन नारायण मन्दिर, रामापिथेकस, सोह्र-छत्तिस मौजा सामुदायिक कुलोको बारेमा खोज अनुसन्धान गर्दा मनमा कत्तिपनि दोसाँध  भएन, तर, यो अमूर्त, ठ्याक्कै नदेखिने र लगातार लागि परिरहनु पर्ने समाजिक संघर्षका पक्षहरू जस्तै सामाजिक बहस र समाजलाई चलायमान राख्ने चेतनामा भाग लिइँरहदा भने सहभागी भैरहन मन लाग्ने र निरन्तरता दिन नसकिने सोचले यसको कुनै पनि खालको नेतृत्व गरुँ कि नगरूँको दोधारमा राख्दो रहेछ । 

यो मनको दोसाँधलाई एउटा प्रश्नको उत्तर खोज्ने प्रयासमा हेरौँ— बुटवल र काठमाडौं कति टाढा ? 

काठमाडौं र बुटवल दुई नितान्त फरक ठाउँहरू हुन् भन्ने कुराले बुटवलको आफ्नोपनलाई (जस्तै साँझमा एक पटक घर छोड्नु, खुल्ला ठाउँहरू हुनु, सामाजिक निकटता हुनु, जुन मलाई प्रिय लाग्छ) सम्झनामा राखिरहन्छ । तर फेरि काठमाडौंसँग भएका कला-साहित्य-अनुसन्धान-राजनीति-शिक्षा र पहुँचको ईकोसिस्टमले एउटा व्यक्ति र समाजलाई दिने अभिव्यक्तिको क्रिएटिभ सहुलियतको आधारमा यी दुई ठाउँको दूरी भौगोलिक रुपमा २६० किलोमिटर मात्र नभएर सांस्कृतिक पनि छ र यो दूरी यति धैरै छ कि काठमाडौं पुगेपछि एकै रातको नाइट बसको यात्रा २६० किलोमिटर भन्दा साह्रै लामो लाग्छ । सोसल मिडियाबाट देखिने काठमाडौंका सामाजिक अभियन्ताहरू, सामाजिक संस्थाहरू,सामाजिक छलफलका फोरमहरू, कलाकारहरू, लिगल फोरममा काम गरेका युवापुस्ताका वकिलहरू (जो अहिले नेताहरूको रुपमा आइरहेका छन्), फेमिनिज्मको स्तर, मिडियाको पहुँच, फोटोग्राफी र डकुमेन्ट्री कार्यशालाहरू, विकसित शहरको इमेज, कस्मोपोलिटन सोच र जीवनशैली, ग्लोबलाइज्ड व्यक्तिको ईमेज, र त्यस्तै थुप्रै अरु विधाहरूले केन्द्रबाहिरका ठाउँहरूलाई मोफसल मात्र हैन, शहरी सांस्कृतिक चेतना (urban cultural consciousness) र त्यसको आधारमा निर्माण हुने मनोवैज्ञानिक सामाजिक स्ट्याटसमा पनि पिछडिएको महसुस गराउँदछ । यो पिछडिएको सोचले केन्द्रबाहिरका ठाउँलाई बनाउनुभन्दा, केन्द्रसँग मिसिएर आफ्नो व्यक्तित्वको विकास गर्ने बाटोतर्फ लगिरहेको देखिन्छ । प्रश्न गर्न जरूरी छः अहिले सामाजिक सञ्जाललाई नै ज्ञान आर्जन गर्ने मुख्य स्रोत बनाइरहेको पुस्ताले कसरी हेरिरहेछ आफ्नो ठाउँलाई ? कस्तो छवि/ईमेज बनाइरहेछ काठमाडौं र आफ्नो ठाउँको ? 

सेप्टेम्बर १८ गते, राजन कठेतको एउटा कविता राजन श्रेष्ठले आफ्नो ईन्स्टाग्राम ह्यान्डल (@phatcowlee) बाट प्रकाशन गरे । कवितामा काठमाडौंले काठमाडौंबाहिर बाट आएका मानिसहरूलाई हेर्नु पर्ने दृष्टिकोणबारे लेखिएको छः 

“जब जब देशले क्रान्तिको महशुस गर्छ
काठमाडौंले बोझिल, गुलिया नारा लेख्छ
मोफसलले यी नारा बोक्न नौजवाल पठाउँछ
जो यी नारा निधारमा खोपेर सडकमा निक्लिन्छ
र, शासकको नालमा गएर छाती थापिदिन्छ ।

तर काठमाडौं स्वार्थी छ ।
जब यो नौजवाल कोठा माग्न आउँछ
काठमाडौंले थर सोध्छ, ठेगाना खोज्छ र धपाउँछ ।

त्यसैले काठमाडौं तिमीले आफूलाई बदल्नुपर्छ,
अब दशैँ लाग्दैछ-
सडक, चोक, घर खाली हुँदै छन्;
जब तिमी पुतलीसडक, डिल्लीबजारका
फुटपाथमा निक्लिन्छौ
तिम्रो मनले त्यो तिमीभन्दा सस्तो पहिरन
र झोला बोक्ने नौजवानलाई खोज्नुपर्छ,
तिनको सम्झना र अभावमा
तिम्रो आँखा टिल्पिलाउनुपर्छ ।

काठमाडौं
अब तिमीले यो नौजवानलाई
आफ्नो ठान्न सुरु गर्नुपर्छ ।”

ईन्स्टाग्राममा केही दिन यो पोस्ट र कविता साह्रै रुचाइयो । यो कवितासँग रिझिनेमध्य अधिकांशहरू ईन्स्टाग्रामको साघुँरो परिधी नै भएतापनि काठमाडौंमा विभिन्न क्षेत्रमा उच्च मध्यम सांस्कृतिक चेतमा बहस पैरवी गर्ने ल्याकत भएका, अध्ययनका लागि काठमाडौं आइबसेकाहरू थिए । केही समयलाई मात्र भएपनि काठमाडौं र बाहिरको दूरी नाप्ने प्रयास बहसहरूमा भयो । यो विषय केन्द्रमा उठे पनि यसले काठमाडौंका मिडिया र संस्थाहरूबाट स्थान पाउन संम्भव पनि हुँदैन र सायद त्यो आशा व्यवहारिक पनि हुँदैन । या त “मोफसल-काठमाडौं सम्पर्क समाज” खोल्न पर्यो । कुरो के भने—“काठमाडौँ र बुटवल (या अन्य कुनै पनि ठाउँ) कति टाढा?” भन्ने प्रश्न काठमाडौंबाट पनि सोध्ने मजस्ताहरू काठमाडौंको स्थानीय विकास/टोल विकास समितिसँग कुनै प्रकारको साक्षात्कारमा हुँदैनन् । हामीहरूले या त गैर-सरकारी संस्थाको निकटतामा गएर काठमाडौं बाहिरको भौतिक विकासको, काठमाडौंकै ठूला मुद्दा जस्तै सम्पदा, बाग्मती, धुलो-मैलो’को र आफ्नो स्थानीयता संलग्न बिनाका राष्ट्रिय स्तरमा महत्व हासिल गरेका स्थानीय सामाजिक मुद्दाहरू (जस्तै कुपोषण, छाउपडी..)मा सहभागी हुने गर्छौँ, या त राष्ट्रिय स्तरकै निति-नियम परिमार्जनको भाष्यमा सहभागीता जनाउँछौँ । त्यसरी त्यहाँको स्थानीयतमा हामो संलग्नता नहुनाले सामाजिक समस्याको ज्ञान र निरुपणको योगदानबाट बिमुख हामी, हाम्रो आवाज सबैभन्दा चर्को र मिहिन हुने ठाउँ भनेको आफ्नै घर-गाउँ हो भन्ने कुरालाई स्मरण गर्न आवश्यक छ । मेरो आफ्नै अनुभवमा बुटवलमा स्थानियताकै आधारमा, कुनै पनि गैर-सरकारी संस्थाको नेतृत्व बिना सामाजिक बहस गर्न गराउन सम्भव छ र ती बहसको नतिजा कार्यन्वयन गर्ने क्षमता पनि अनुकुल छ । 

एकजना बुटवलकै साथीले भनेको याद आउँछ—“कलाको दृष्टिकोणमा बुटवल मृत-मृत लाग्छ ।” यसलाई पहिलो पटक म कोलकाता जाँदाको अनुभवसँग हेर्छु । पाँच दिनको कोलकाता भ्रमणमा इयरफोनमा बङ्गाली गीत र सत्यजित रेका फिल्मका ईमेज सम्झिँदै डुल्दा, मैले कल्पना र यथार्थको कोलकातामा केही पनि सामञ्जस्यता पाउन सकिनँ । चौथो दिन यसै डुल्दा रविन्द्र सरोवर ताल नजिकै एउटा एक्जिबिसन हलमा पुगेँ । त्यहाँ निम्न विषयमा, फोटो र मल्टिमिडिया प्रदर्शनी भैरहेको थियोः

१. कोलकाता ठाउँको पहिचान नै बनिसकेको ‘स्कार्फ’ बनाउने प्रक्रिया, त्यसमा सहभागी मजदुरहरू र उनीहरूको जीवन दर्शाउने क्रियटिभ फोटो शैली ।

२. झ्यालका फोटोहरू जहाँ लेखिएको थियो— “झ्यालले मध्यम वर्ग र उच्च वर्गमा प्रकाशसँगै सौन्दर्य देखाउने काम गर्छ भने, निम्न र अति निम्न वर्गमा जसोतसो प्रकाश छिराउने काम गर्छ !” त्यहाँ देखाइएको थियोः स-साना झ्यालजस्ता, भेन्टिलेटर जस्ता प्रकाश छिर्ने प्वालहरू ।

३. मूर्तिकला— कुनैबेला कोलकाताका खेतीयोग्य जमिनमा बड्दो शहरीकरण; खेत जोत्दै गरेका दुईजनाको वरपर छड राखेर, छडमाथि अडिएको अहिलेको कोलकाता शहर !

नयाँ ठाउँलाई हेर्ने दृष्टिकोणको अभावमा रनभुल्ल भैरहेको बेला, त्यस दिन मलाई महसुस भयो— कलाको महत्व एउटा ठाउँको कथा बोक्न, देखाउन र शहरको प्रतिनिधित्व गर्दै यसको पहिचान दिनमा हुँदो रहेछ । बुटवल र यसका महत्वपूर्ण इतिहास (जस्तै नुवाकोट गढी, बुटवल टेक्निकल ईन्स्टिच्युट) र र समसामायिक विषयहरू (जस्तै छत्तिसे कुलोको प्रदुषण, गुठस्तरीय उच्च शिक्षाको अभाव) लाई कसरी देखाउन सकिन्छ होला ? यो प्रश्न रह्यो ! यस्ता कलात्मक अभिव्यक्तिहरू कुनै क्याफेमा सजावटको रूपमा मात्र नभै, सामाजिक फोरम जस्तै प्रदर्शनी कोठाहरू, खुल्ला मञ्चमा राखिँदा, इतिहासका ठाउँहरू घुम्दा, यसले सुरु गराउने गफगाफ, ब्रेन-स्टोर्मिङ, रिसर्च, हेरिटेज र इतिहाससँगको खुलदुलीमा ठूलो सहयोग पुग्छ भन्ने मेरो ठहर छ । 

बुटवलमा लाउन्ज-बार-क्लब-क्याफे खुलेसँगै म्युजिकमा रूची भएकाहरूलाई अडिने ठाउँ भयो । तर एकजना दाइले भनेको याद आउँछ “मेरो क्याफेमा म्युजिकमा प्यासन भ’को टन्नै आउँछन्, तर गीत लेखन र म्युजिक कम्पोजिसनमा क्रिएटिभिटिको धेरै आवश्यकता छ ।” यो क्रियटिभिटी के एउटा मात्र संरचनाबाट सम्भव छ ? सोच्न पर्ने कुरा छ— सिक्किम/दार्जिलिङबाट आउने म्युजिकमा लिरिक्स र सङ्गीत दुवै दमदार हुन्छन् । के यो त्यहाँ सानै उमेरदेखि हुने म्युजिक प्रशिक्षण र उच्च साहित्यको प्रभावका  कारण नहोला ? जुनसुकै अवस्थामा पनि एउटा व्यक्ति क्रिएटिभ निस्केर योग्य ठहरिन सक्ला, तर समाजनमा नै सिर्जनात्मकता आउनु भनेको नेपालको औसत सिनेमाको स्तर नै ‘छक्का-पञ्जा’बाट माथि उठ्नु भनेजस्तो हो; द्वन्दकालमा सामाजिक चेतना र सङ्गीतको आम स्तर नै उकासिएको जस्तै । 

काठमाडौंमा देखिने शिक्षा, कलाकारिता, सामाजिक संस्था, व्यापार व्यवसाय, राजनीति, आदिले एक-अर्कालाई दिने मानव संसाधन र सहयोगको कारणले काठमाडौंमा एउटा पेशाको मान्छे अरु विधासँगको अन्तर-संलग्नता अडिरहन सक्छ । यसले व्यक्ति-व्यक्ति, समूह-समूह गर्दै पुरै समाजको विचार निर्माण गर्ने गर्छ । ४-५ दशक अघि देखिएको बुटवल टेक्निकल ईन्स्टिच्यट – बुटवल पावर कम्पनी – बुटवल ईन्जिनियरिङ वर्क्स – डि.सी.एस्. कन्सल्टेन्ट – साना ठूला उद्द्यमी र अन्यको सहकार्यले बुटवलको औधोगिक विकासमा गरेको योगदान यसै परिवेशमा बुटवलबाट उदाहरणीय छ ।अझै हेर्ने हो भने— यसबारे इतिहास लेखिएको किताब ‘पावर फर नेपाल’ मार्टिन चौतारीबाट अङ्ग्रेजीमा प्रकाशन भएसँगै यसको नेपाली अनुवाद, यसबारे विमर्श र स्थानीय शिक्षामा यसको संलग्नताको अर्को ईकोसिस्टम खुलेको छ । यसले एउटा विधा समाजमा एक्लै चल्न खोज्दा खोज्दै टाँट पर्ने स्थिति बन्द हुने आशा बिउँताउछ । मोफसलमा छिट-फुट नाटक, पेन्टिङ, साहित्य, फोटोग्राफी र शिक्षा, कानुन वित्तसँग जोडिएका कार्यशालाहरू, प्रशिक्षणहरू हुनु सह्रानीय छ । कुनै दिन यी सबैलाई स्थायित्व दिने, संस्था बनाएर लैजाने दिन आउँदा— जनशक्ति तयार पार्न र यसको कल्पनाशीलता ज्युँदो राख्न— सामाजिक छलफलका कार्यक्रमहरूको आवश्यकता रहिरहने छ ।

तस्बिर: रामचन्द्र श्रेष्ठ
आगोका फूलहरू हुन् ! र पाठक मञ्चको सहकार्यमा बुटवलमा भएको कार्यक्रममा विषय प्रवेश टिप्पणीः २०८२/०७/०२