सौन्दर्यचेत | नवीन घर्ती मगर


Logo

नवीन घर्ती मगर


सुन्दरता + चेतना = सौन्दर्यचेत ।

अर्थात, सुन्दर भनेको यस्तो हो भनेर सोच्ने हाम्रो चेतना ।
.
ल तपाईं एकछिन आँखा बन्द गर्नुस—
.
‘सुन्दर महिला’ सुन्ने बित्तिक्कै, तपाईंको दिमागमा कस्तो चित्र आउँछ ?
‘सुन्दर पुरुष’ भन्ने बित्तिक्कै तपाईंको मानसपटलमा कस्तो खयाल आउँछ ?
.
मैले सोधेको प्रश्न भुईंमा झर्न नपाउदै—
.
‘राम्री महिला’ भनेकी, यस्तो यस्तो गुण, सिप, लक्षण, चरित्र, निपुगणता भएकी …
‘राम्रो पुरुष’ भनेको, त्यस्तो त्यस्तो दोष, दाग, खराबी, दुर्गुण, कमी-कमजोरी नभएको …
.
तपाईंको दिमागमा एउटा रेडिमेड जवाफ छ । मुखमा ‘त्यही’ जवाफ आइसक्यो ।
.
अझ भनु, सुन्दरता भनेको यही मात्रै हो भनेर बुझ्ने गरेको एउटा बुझाइ मुखाग्र छ हामी सबैलाई ।
.
हाम्रा बा-आमा, छर-छिमेकी, हाम्रा साथीभाइ, आफन्तजन । हामीले पढ्ने गरेका किताब, हामीले सुन्ने गरेको रेडियो, हामीले अध्ययन गर्ने गरेका पत्र-पत्रिकाहरू । सबै-सबैले नजानिदो गरि, कलिलो उमेरदेखि नै थुपारिदिँदा रहेछन्, यस्ता बकम्फुसे कुराहरू हाम्रो कलिलो मस्तिष्कमा । भरिदिँदा रहेछन् यस्ता निरर्थक कुराहरू हाम्रो खाली खोपडीमा ।
.
हामीले ‘सुन्दरता’ भनेर देख्ने गरेको दृष्टि जन्मजात होइन, सिकेको हो । अनभिज्ञ रुपमा सिकाइएको हो ।
.
सानैदेखि हाम्रो वरिपरि हामीहरू जे देख्छौँ, जसरी सुन्दरताको बखान सुन्छौँ, त्यसले बिस्तारै हाम्रो ‘सौन्दर्यचेत’ अर्थात्, सुन्दरताप्रतिको चेतना बनाउँछ । घरमा, आमाले “आज त छोरी कति राम्री देखिएकी !” भनेर भनेर पुल्पुल्याउँदा होस्, वा बुवाले “छोरा त ठिक्कको खाइलाग्दो देखिन्छ नि !” भनेर ढाडस दिँदा, यी स–साना कुराहरू हाम्रा मनमा गहिरो गरि गढेर बसेका हुन्छन् ।
.
विद्यालयमा साथीहरूले कसलाई ‘राम्रो वा राम्री’ भन्छन्, कसलाई ‘कुरूप छ वा छे’ भनेर, उनीहरूको पछाडि कुरा काट्छन, त्यसले पनि हाम्रो बाल मनोविज्ञानमा नजानिँदो गरी ठुलो प्रभाव छाडेको हुन्छ ।
.
हाम्रो यस्तो हुर्काइ सँगसँगै, हामीले टेलिभिजनमा देख्ने गरेका विज्ञापनहरू, ठूलो फिल्मको पर्दामा हेर्ने गरेका नायक–नायिकाका रूपरङ्गहरू, आफू वरपरका अधिकांश मानिसहरूले सोच्ने गरेका प्रकार अनि ढंगहरू, यी सबैसबैले हामीलाई थाहै नदिइकन बुझाउँछन्; सुन्दरता भन्नाले यो, यो र यो कुरा हो । र, ‘यो’ मात्रै हो ।
.
तर त्यो बुझाइ हाम्रो आफ्नो होइन; त्यो त अरूले बनाइदिएको साँचो हो, जसमा हामीहरू आफैंलाई मिलाउन हरदम लागि परिरहन्छौँ । र त्यसो गर्दै जाँदा, हाम्रो सौन्दर्यचेत केवल अनुहार वा शरीरमा मात्र सीमित हुँदैन— त्यो रंग, लिङ्ग, वर्ग, पैसा, बोली, आत्मविश्वास, यहाँसम्म कि व्यवहारसँग पनि गाँसिन्छ । सुन्दरता एक किसिमको ‘मान्यता’ अनि ‘मापक’ बन्छ, जसलाई हामी स्वीकार पनि गर्छौँ र अन्जानमा अरुमा पनि खोज्न थाल्छौँ अनि आफूमा पनि ।
.
तपाईंलाई फुर्सद हुँदा, कहिले विचार गर्नु भएको छ ?
.
साँच्ची, हामीहरूलाई सुन्दरता भनेको ‘यस्तो’ किन लाग्छ ?
हामीहरू अधिकांश मानिसहरू किन यसरी सोच्छौँ होला ?
.
अफ्रिकाका काला चिल्ला प्रजातीका मानिसहरू, जसको कपाल घुम्रिएको, कर्के हुन्छ । अनुहारको बनोट चौडा नाक, मोटा ओठ, उच्च गालामा हड्डी हुन्छ । उनीहरूको शारीरिक बनोट प्राय: बलिष्ठ नै हुन्छ ।
.
ठिक त्यसैगरि,
युरोपतिरका हिउँ जस्तै गोरा अग्ला मानिसहरू, जसको कपाल सिल्की खैरो-सुनौलो रङ्गको हुन्छ । आँखाको रङ्ग निला वा हरिया हुन्छन् । उनीहरूको अनुहारमा: लामो नाक, पातलो ओठ, ठिक्कको गाला हुन्छ ।

अनि,
मंगोल जातिका मानिसहरूको रुप रङ्गको बारेमा भन्नु पर्दा, खैरो छाला, बाक्लो कालो कपाल, चिम्सा आँखा, थेप्चो नाक, मध्यम खाले ओठ, औसत कद, दुब्लोदेखि मध्यम खाले शारीरिक बनावट हुन्छ ।
.
तपाईंलाई एउटा रमाइलो कुरा भनूँ ?
.
ती हिउँ जस्तै गोरा अमेरिकन-युरोपियनहरू अनि काला छाला भएका चिल्ला प्रजातिका अफ्रिकन मुलका मानिसहरू, हामी अहिले बाँचिरहेको यो दक्षिण एशियाका गहँगोरा मानिसहरूको नजरमा सुन्दर कहलिदैनन् नि ! जसरी, हामीहरू ती कुनैपनि ठाउँमा, त्यहाँका स्थानीय मानिसहरूका लागि सुन्दर कहलिदैनौँ । न तिनीहरूको नजरमा हामी सुन्दर छौँ, न हाम्रो नजरमा तिनीहरू सुन्दर ठरिन्छन् ।
.
यो सौन्दर्यचेत केवल हाम्रो भित्र हुने एउटा सोचाइ मात्रै होइन । यो त साँघुरो, संकिर्ण र एकपक्षीय पनि हुन्छ, छ ।
.
हामीले सिकेको सुन्दरताको मापदण्ड प्रायः दक्षिण एशियाली सोचभित्र अडिएको हुन्छ, जहाँ गोरो छाला, साना नाक, सिधा कपाल, सुकिलो शरीरलाई ‘सुन्दर’ मानिन्छ । त्यसैले जब हामी अफ्रिकी मूलका मानिसहरूलाई हेर्छौँ, तिनीहरूको गाढा छाला, फरक कपाल, फरक अनुहार देख्छौँ, हाम्रो चेतले त्यसलाई ‘सुन्दर’ भन्न हिचकिचाउँछ । ठिक यस्तै, युरोपेलीहरूको सुन्दरता पनि हाम्रो मापनसँग कहिल्यै मिल्दैन, किनभने हाम्रो सौन्दर्यबोध कुनै सार्वभौम कुरा होइन, त्यो हाम्रो आफ्नै सामाजिक, सांस्कृतिक फिल्टरभित्रको परिणाम हो । हाम्रो आफ्नै हुर्काइ हो ।
.
सुन्दरता भन्ने कुरा यहाँ पनि, त्यहाँ पनि हुन्छ—तर हामीले देख्ने दृष्टि फरक छ ।
र यही फरकले ‘सुन्दर’ र ‘असुन्दर’ बीचको रेखा कोर्छ, जसले अन्ततः हामीलाई नै सिमित बनाउँछ ।
.
यस्तो ‘किन’ भएको होला ?
यस्तो ‘कसरी’ भएको होला ?
.
यो ‘सौन्दर्यचेत’ भन्ने जिनिस मानव समाजले परा-पूर्वकाल देखिनै मानिसहरूमा फुट ल्याउन र असमानता कायम गर्नका लागि सिर्जित गरिदिएको एउटा ठूलो ‘गलत बुझाइ’ हो । सुन्दरता भन्ने कुरा प्राकृतिक र स्वतन्त्र हुनुपर्ने हो, तर त्यस्तो त छैन । आज हामी बाँचिरहेको यो मोर्डन भनिने २१औँ शताब्दीमा समेत यो सौन्दर्यचेत अझै पनि भइरहनु हामी सबैका लागि लज्जाबोधको विषय हो । आफूलाई सर्वश्रेष्ठ भन्ने मान्छे जातिको लागि त झन् ठुलो ‘कलंक’ नै हो ।
.
सौन्दर्य हाम्रो चारैतिर छ, हुन्छ, हुने नै भयो । तर यसको परिभाषा प्रायः साँघुरो सोच र व्यापारिक स्वार्थमा सीमित देखिन्छ । सञ्चार माध्यम र संस्कृतिहरूमा केही विशेष रूपरङ्गमा मात्रै प्रकाश पारिन्छ, जबकि अन्यलाई अँध्यारोमा राखिन्छ । यी सौन्दर्यका मापदण्डहरूले अरूलाई हेर्ने हाम्रो दृष्टिकोण मात्र होइन, आफूलाई बुझ्ने तरिकामा समेत प्रभावित गर्छन् । यसले को आकर्षक, को सम्माननीय वा को देखिनयोग्य हो भन्ने बारेमा मौन तर प्रभावशाली नियमहरू बनाउँछ । सौन्दर्य प्रेरणाको स्रोत त हुन सक्छ, तर जब यसले सबैमा एउटै ढाँचा थोपार्छ, तब त्यो सौन्दर्य होइन, दमन बन्छ ।
.
‘संसारका हरेक प्रश्नहरूको जवाफ भएको’ भनिएको भागवत गीतामा, भगवान श्रीकृष्ण निलो रङ्गको छाला भएका महापुरुष थिए भनेर भनिन्छ/ देखाइन्छ/ पढाइन्छ । तर के भारतवर्षमा जन्मिएका उनको त्यो ‘निलो रङ्ग’ कुनै अलौकिक क्षमता थियो ? अहँ, थिएन । उनी कालो छाला लिएर जन्मिएका थिए । र, हाम्रो सौन्दर्यचेतले उनको त्यो दुर्गुण मेट्न, कालोलाई गोरो भन्न त सकेन तर ढाकछोप गर्दै ‘निलो रङ्ग’ सम्म भने बनाइपुर्यायो ।
.
हो, यसरी हुन्छ हाम्रो ‘ब्रेन-वाश’ ।
.
हामीले सुन्दरता भन्ने अर्थलाई यति गहिरो तहसम्म बदलिसक्यौँ कि, भगवान समेत हाम्रो मानसिक मापदण्नड बाट बच्न सकेनन् ।
.
तपाईंलाई सुन्दा पत्यार नलाग्ला —
.
तर यी र यस्तै कारणले गर्दा ‘सौन्दर्य-व्यापार’ आज विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजारमध्ये एक बनेको छ । केही अध्ययनहरूका अनुसार आज यो व्यापार विश्वव्यापी रुपमा चौथो वा पाँचौं स्थानमा भएको भन्ने दाबी गरिन्छ । खानपिन, लत्ता-कपडा, टेक्नोलोजी, सफ्टवेर पछि, यस्ता सुन्दरता सम्बन्धि कुराहरू नै संसारमा सबैभन्दा धेरै उत्पादन अनि खपत हुने गरेका छन् । परिणामत: मानिसहरू सुन्दर बन्न, देखिन, कहलिन यत्तिका धेरै मेहेनत गर्ने गर्छन् । पैसाको खोलो बगाउँछन् । निरन्तर लागि परिरहन्छन् ।
.
केही महिना अगाडि, कामकै शिलशिलामा, दैनिक ज्याला मजदुरी गर्ने एकजना बहिनी भेटेको थिएँ । उँहाको कमाइ दैनिक झण्डै २०० रुपैयाँ हुँदो रहेछ । बिदाको दिन अनि ठेकेदारको बदमासीका कारण उहाँको हप्ताको कमाइ त्यही ६०० देखि ८०० सम्म हुँदो रहेछ । यस्तो अवस्थाको मान्छेले समेत २५० रुपैयाँ पर्ने ‘फेर एण्ड लब्ली ’ किनेर, हरेक महिना किनेर लगाउनु हुँदो रहेछ । ”किन लगाउनु परेको ?” सोधेको थिएँ । जवाफमा, ”अनुहारको छाला सेतो बनाउन” भन्ने पाएको थिए ।
.
हामी सबै-सबै जना त्यही मजदुर बैनी जस्तै त हौँ/ छौँ । आफूमा हजार दुर्गुणहरू खोजीखोजी निकाल्छौँ । आफ्ना भए नभएका कमी कमजोरीहरू फेला पार्छौँ । आफैलाई आफू पूर्ण छैन भनेर गलत विश्वास दिलाउछौँ । बुझ्दैनौँ, घाममा काम गर्दा छाला डढेर कालो हुन्छ भन्ने कुरा । सुन्न चाहदैनौँ, फजुल कुरामा पैसा खेर फाल्नु साटो जम्मा गरेर राख्नुपर्छ भन्ने कुरा । जान्न मन लाग्दैन, ‘किन सुन्दर देखिन परेको ?’ भन्ने कुरा ।
.
सौन्दर्यका मापदण्डहरू आफैं बनेका होइनन् , यी सत्ताले बनाएका हुन् । औपनिवेशिक इतिहास, वर्गीय भेदभाव र मिडिया उद्योगहरूले के र को सुन्दर हो भन्ने तय गर्छन् । गोरो छाला, पातलो शरीर, युरोपियन अनुहार र जवान देखिनेहरूलाई नै प्राथमिकता दिइन्छ । यस्ता मापदण्डहरू विज्ञापन, फेसन, मनोरञ्जन अनि सामाजिक सञ्जाल मार्फत् संसारभर फैलिन्छन् । सौन्दर्यको यस्तो सोचले त्यस्ता उद्योगहरूलाई लाभ पुर्याउछ, जसले सौन्दर्यलाई बेच्ने चीज बनाएका छन् । हामीले ‘सुन्दरता’ भनेर बुझ्ने कुरा धेरैजसो नाफाका लागि बनाइएको, राम्रोसँग सजाइएको भ्रम मात्रै हो ।
.
मान्छेहरू भन्छन —
.
‘किलियोपेट्रा’ नाउँ गरेकी एकजना अचम्मै राम्री महारानी थिईन् । यो, उही जमानाको कुरा । ग्रिक साम्राज्य हुँदा, एकलौटी रुपमा इजिप्ट राज्य सञ्चालन गर्ने गरेको बेला । इतिहासमा लेखिएको छ, उनको सुन्दरताको आगाडी संसार भरका महान् राजा, महाराजाहरूले घुँडा टेकेका थिए । भन्नेहरू त यस्तो सम्म भन्न भ्याउँछन्, “किलियोपेट्राको नाक अलिकति मात्रै बाङ्गो भएको भए, आज संसारको नक्सा अर्कै हुन्थ्यो । आजका देशहरूको रुप रेखा नै फरक हुन्थ्यो ।”
.
ल हामी ठण्डा दिमागले सोचौँ न त एकछिन —
.
किलियोपेट्रा पनि एकजना महिला । अझ मानिस भनु न बुझ्नेगरि । एकजना सामान्य मानिस । हामी अधिकांश झैँ दुईवटा आँखा । उस्तै हाम्रो जस्तै नाक । हाम्रा जस्तै एक जोडी कान । हात खुट्टा अनि बग्रेल्ती अङ्गको कुरा पनि त्यही । हाम्रो जस्तै शरीर । हाम्रो जस्तै धेरै धेरै धेरै कुराहरू मिल्ने । त्यसो भए, त्यतिका धेरै राजाहरू किन मरिहत्ते गरेर लागि परे होलान् ? उनलाई पाउन जोरजुलुम लगाए होलान् ? आफ्नो भएभरको ताकत, अन्धो झुकावमा खेर फाले होलान् ?
.
सोच्नुस् त —
.
गाई किन्दा तपाईं, ‘दुध दिने गाई राम्रो’ भनेर किन्नुहुन्छ कि, सिंग-पुच्छर राम्रो भएको हेरेर ?
फल लाग्ने अनि फूल फूल्ने बोट-बिरुवाहरू मनपर्छ तपाईंलाई कि, हरिया परिया झारहरू ?
जिन्दगी बदल्ने अक्षरहरू मात्रै भएका किताबहरू असल हुन् कि चित्रहरू मात्रै भएकाहरू ?
.
यस्ता, बग्रेल्ती उदाहरणहरू दिन सकिन्छ । हाम्रा दैनिक दिनहरूमा घट्ने घटना, परिघटना । हामीले हरेक सेकेन्ड, मिनेट, घण्टामा लिने निर्णयहरू । हामीलाई मनपर्ने कुराहरू । हामीलाई मन नै नलाग्ने चिजहरू । यी सबै-सबैको छनोट के ले गर्दा हुन्छ ? के ले हामीलाई डोर्याइरहेको हुन्छ ?
.
हामीहरू अरु कुनै पनि कुरामा ‘सुन्दर’ भनेर त्यसको बाहिरी देखावट हेर्दैनौँ/ खोज्दैनौँ । किनकि, हामीलाई थाहा छ, सुन्दर देखिनु नदेखिनुले त्यो कुराबाट हामीले लिने फाइदाको कुनै जोडा मिल्दैन । हामीलाई चाहिएको चिज सुन्दर लाग्नु अनि नलाग्नुसँग त्यसको तादम्यता मिल्दैन । तब फेरि, किन हामी आफूहरूमा चाहिँ, ‘सौन्दर्य’ भनेको बाहिरी कुरा, रुपरङ्ग, जिउडाल, शाररिक बनोट भनेर बुझ्ने गर्छौँ त ?
.
यो त कतैबाट पनि नमिल्ने कुरा भयो नि त । होइन र ?
.
यो ‘सौदर्यचेत’ भन्ने कुरो, वर्षौंवर्ष लगाएर, हामीलाई थाहा नै नदिइकन, हाम्रो दिमागमा खाँदीखाँदी ठोसिएको विचार हो । ताकि, हामी अधिकांश मान्छेलाई “हामी अपूर्ण छौँ” भन्ने भ्रम भइरहोस् । “हामीमा अनेकन कमजोरीहरू छन्” भन्ने लागिरहोस् । अनि, यी बाठा पुँजीपति-उद्योगपति साहुजीहरू, हाम्रा यी सोचाइहरूको फाइदा लगेर, हामीमा अनेकन कुराहरूको व्यापार गर्न सकुन् । आफ्ना सामानहरू बेच्न सकुन् । बढीभन्दा बढी नाफा कमाउन सकुन् ।
.
यति पढिसकेपछि, हामीले आजसम्म भन्ने गरेको सुन्दरता ‘बाहिरी आवरण मात्रै हो ’ भनेर लेखिरहन परेनँ मैले । नभए, हिजोसम्म ‘रोल-मोडल’ भएर मनमा बसिरहेको कुनै मानिसको आफूलाई मन नपर्ने बानी थाहा पाउने बित्तिकै ऊ मन पर्न छोड्छ । कुनैबेला आफ्नो सबथोक संसार लाग्ने आफ्नो प्रेमी वा प्रेमिका धोका दिएर जाने बित्तिक्कै घृणा लाग्न थाल्छ । आखिर, सुन्दरता भनेर बुझाइएको मूलतः सबै कुरा, शरीर, अनुहार, मान्छे केहीकेही त फेरिएको हुँदैन, सबैसबै पहिले जस्तै त हुन्छ । तर, उनीहरू मन पर्दैनन् । सुन्दर लाग्दैनन् ।
.
गत ३० वर्षमा विश्वभर आत्महत्या दर डरलाग्दो रूपमा बढेको छ । नेपालमा पनि सन् २००० यता आत्महत्या दरमा १७ % वृद्धि भएको छ । पोहोर साल दैनिक १९ जना, त्यो अघिल्लो साल दैनिक ११ जना, अनि यसैगरि अझै धेरै बढ्ने अनुमान छ । यी तथ्याङ्कहरू भित्र सबैभन्दा झस्काउने कुरा त के छ भने, किशोर-किशोरीहरूमा आत्महत्याको दर तीव्र रूपमा बढेको छ । त्यो पनि यस्तो उमेर समूहमा, जो परम्परागत रूपमा जीवनप्रति सबैभन्दा आशावादी मानिन्थे । सन् २००७ देखि २०१८ को बीचमा, १० देखि २४ वर्ष उमेर समूहमा आत्महत्याको दर लगभग ६०% ले बढेको छ । धेरै अनुसन्धानकर्ताहरूको धारणा छ कि सामाजिक सञ्जाल (सोसल मिडिया) यो संकटको एक प्रमुख कारण हो ।
.
सोसल मिडियाले सुन्दरताको एकदमै अवास्तविक मापदण्डहरू बनाइदिएको हुन्छ, जहाँ फिल्टर, फोटो सम्पादन र एल्गोरिदमको कारणले एकदमै ‘परफेक्ट’ देखिने अनुहार र शरीरलाई सामान्य जस्तै देखाइन्छ । यस्तो सामग्री लगातार हेर्दा धेरै युवाहरूमा आफ्नो शरीरप्रति असन्तुष्टि, आत्मविश्वासको कमी, अनि खानपान सम्बन्धी समस्या जस्ता मानसिक स्वास्थ्य समस्या देखिन्छन् । इन्स्टाग्राम र टिकटकजस्ता प्लेटफर्महरूले आफूलाई अरूसँग तुलना गर्ने र लाइक वा कमेन्टको भरमा आत्ममूल्य तोक्ने बानी बढाएका हुन्छन् । अझ गम्भीर कुरा त के भने, सामाजिक सञ्जालले धेरै कम उमेरमै युवाहरूलाई ठूलो भएर जस्तो देखिनुपर्छ भन्ने दवाव दिने गरेको छ, जसले गर्दा बालबालिकासमेत आफ्नो शरीरलाई एक किसिमले यौनिक नजरले हेर्न थाल्छन् । आफूलाई सुन्दर छैन भनेर बुझ्न लागेका हुन्छन् ।
.
त्यसोभए ‘सुन्दरता’ हो के त ?
.
सुन्दरता त्यो चिज हो, जो विचारसँग जोडिएको हुन्छ । सुन्दर मानिस त्यो हो; जसले आफू बाँचिरहेको आफ्नो समाज, आफ्नो विगत-वर्तमान-भविष्य बुझेको हुन्छ । सुन्दर मानिस त्यो हो, जसले आफूमा भएका कमी-कमजोरी, भुलचुक स्वीकार्दै, पुरातन अवैज्ञानिक कुराहरू छोड्दै, आफ्ना विचारहरू सच्याउँदै-संग्ल्याउँदै, आफू सँगसँगै आफू वरपरका मानिसहरूको जीवन सुधार्न लागि परिरहेको हुन्छ । सुन्दर मानिस त्यो हो, जसले बुझेको हुन्छ, यो एकबारको जुनी भौतिक अनि क्षणिक सुखहरू छोडी, आफ्नोभन्दा सबल अनि सजिलो जीवन आफ्ना आउने पिढीहरूका लागि छोड्ने कामहरू गरिरहेको हुन्छ ।
.
र, सही मानेमा भन्ने हो भने —
.
सुन्दरता भनेको कुनै पनि व्यक्त्तिको गुण हो । उसको चारित्रिक विशेषता हो । उसको बानी अनि व्यवहार हो । उसले अरु मानिसहरूलाई पार्ने प्रवाभ हो । जो, समय सँगसँगै बढाउन सकिन्छ । अचेल त आफैले आफैलाई पढाउने सकिने जमाना हो । यस्तोमा, सामाजिक सञ्जालमा भुल्नु साटो यस्तै जीवन उपयोगी कुराहरूमा आफूलाई अध्ययनशिल बनाउन सकिन्छ । उमेर नढल्किदै, आफ्ना पुराना यस्तै विचारहरू माझ्न सकिन्छ । आफूलाई सुन्दर बनाएर फलाउन-फुलाउन-फक्राउन सकिन्छ ।
.
साँच्ची त, सोध्नै पो बिर्सेछु —
.
आफ्नै नजरमा आफू कत्तिको सुन्दर हुनुहुन्छ कुन्नि ?