On Photo: The Great Wave off Kanagawa, by Katsushika Hokusai, 1831.
On Photo: The Great Wave off Kanagawa, by Katsushika Hokusai, 1831.
१.
मानिसले सोच्न सक्ने तर सोच्दा भयाक्रान्त हुने अर्को छुट्टै क्रान्ति छ, जाे क्रान्ति शब्दलाई सही अर्थ प्रदान गरेर न्यायिक पथ अपनाउँछ ।
यो क्रान्ति सडकमा कदापि हुन सक्दैन् । यो क्रान्ति धर्ना बसेर, कुनै उपल्लो शक्तिलाई दोषरोपण गरेर स्थापित हुन सक्दैन् । यसले कुनै शक्तिविरुद्ध कुनै पुत्ला या कुनै स्थापत्य जलाउने तर भित्रभित्रै उक्त शक्तिसँग निर्भर रहने पाखण्ड गर्दैन । यसले आफ्नो चेतनालाई सर्वोच्च ठानेर कुनै परोक्ष माध्यम (जस्तै: नियम, कानुन) बाट अन्य व्यक्तिलाई आफ्नो चेतना थोपर्दैन । यो क्रान्ति अन्य व्यक्तिहरूको सत्य – सन्धनलाई अव प्राक्कलन गर्दैन ।
यस्ताे क्रान्ति केवल मानिसको मस्तिष्क या हृदयभित्र जन्मन सक्छ, हृदयभित्रका विरोधाभाष रगडिएर प्रज्वलित हुन्छ ।
२.
यस्ताे क्रान्ति सडकपेटीबाट एक्लै हिँडिरहेको हुन्छ । कहिलेकाहीँ उसको छेउबाट ‘अन्धविश्वास’ (कसरी विश्वास भन्न सकिन्छ, जसको प्राण सयौं बर्ष अघि फुस्किसक्यो, जसले समकालमा त के इतिहासमा पनि आफ्नो सान्दर्भिकता प्रमाणित गर्न सकेन) का हुलहरू हिँडिरहेको देख्छ । भीडको मनोविज्ञानबाट दङ्गदङ्गती गन्हाइरहेका अन्धविश्वासको लास देखेर उक्त क्रान्ति वमन गर्छ । उनीहरूको स्व’को मूल्य के होला र जसको प्रतिबिम्ब मात्र रङ्गीन छ, जसको छायाँ मात्र स्थूल छ ।
३.
ऊ स्वतन्त्रताका मागहरूलाई दासत्वका प्राथमिक परिचायकको रूपमा हेर्छ । अधिकारको असङ्ख्य मागलाई औसत मनस्थितिको उपज मान्छ । कहिलेकाहीँ आफ्नै सोच र चिन्तनमा पौडिरहेको बेला एउटा हुलले उसलाई गलत साबित गर्न कैयन् उत्तेजक विचार प्रहार गर्छन् । तर उक्त हुलमा सुदृढ क्रान्ति कहिले शरणार्थी बनेर प्रवेश गर्न हिचकिचाउँछ । उसलाई थाहा छ रगत उम्लिनु सामान्य शारीरिक प्रकृया हो, यो विध्वंसलाई परिशोध गर्ने सङ्केत होइन ।
४.
उसलाई थाहा छ, उसको विचार सर्वस्विकृत हुन सक्दैन । उसको विचार सर्वस्वीकृत हुनु पनि हुँदैन । यदि कुनै पनि विचार सर्वस्वीकृत छ भने उक्त विचारमा भयङ्कर खोट छ । कारण, त्यस्ताे विचार कहिले पनि स्थिर, सुदृढ र सबल हुँदैन, जसलाई हरेक व्यक्तिले आफ्नो स्वार्थ अनुरूप प्रयोग गर्न सक्छन् ।
ऊ मौन रहेकै ठिक। मौनता सौन्दर्य हो, मौनता दृढता हो, मौनता आफ्नो स्वप्रतिको सम्मान हो । यदि उसले मन्तव्य दिएपनि न्यून संख्याले सुनेकै उपयुक्त हो ।
औषधी र मन्त्र अधिकलाई एकैचोटि बाँड्न असम्भव हुन्छ ।
५.
क्रान्ति निश्चिन्त हुन्छ कि ऊ ती प्रचारकहरूको कण्ठमा निवास हुँदैन, जसको प्रारम्भिक वाक्य सद्गुणबाट सुरू हुन्छ । कुनै पनि असल विचार मानिसको आन्तरिक अन्धकारलाई आवृत्त गरेर होइन, त्यसको दुश्चित्र र दुर्गन्धलाई पर्दाफास गरेर सुरु हुन्छ । त्यसकारण आन्तरिक क्रान्ति मानिसहरूको लागि अभिशाप हुन्छ ।
उसलाई थाहा हुन्छ, राजनीति उसको लागि गलत मार्ग हुन्छ । ऊ कसैको अन्तर्निहित महत्वाकांक्षाको साधन बन्न तयार हुँदैन । राजनितिक क्रान्ति पराजयको परोक्ष अभिव्यक्ति हो, आहत अहङ्कारको छद्म रूप हो ।
६.
साझा परिचयको माग त्यसबखत हुन्छ, जतिबेला मानिसहरू आफ्नो जीवनका परिचयका आधारहरू भेट्टाउँदैनन् । एउटा स्वप्नहीन रात कटाएको रित्तो र व्यथित मुटुहरू भोरको आगमनसँगै सहायताको खोजमा हिँडिरहेका हुन्छन् ।
कसले भेट्टाउला र सबै मानिसलाई एकै ठाउँमा बाध्ने कसौटी ? मानिस आफ्नै चैतन्यसँग बारम्बार युद्ध गरिरहेको हुन्छ । आफ्नै परिचयमा मानकहरूलाई भत्काइरहेको हुन्छ । यस्तो नियम कसले निर्माण गर्ला जहाँ प्रभावसँग स्वभाव आजीवन सम्झौता गर्छ ?
७.
उसलाई थाहा हुन्छ चिन्तनकाे पनि प्रक्रिया हुन्छ, यदि चिन्तन स्वस्थ छ भने हामीलाई चिन्तनशील बनाउँछ र यदि चिन्तन स्वस्थ छैन भने त्यसले हामीलाई चिन्तित बनाउँछ । आन्तरिक क्रान्तिको लागि उर्वर मष्तिष्क सदैव चिन्तनशील हुन्छ, त्यसकारण उसलाई कुनै वैसाखीको आवश्यकता पर्दैन ।
८.
यद्यपि हरेक मानिसको भित्र एउटा स्थाणु, व्याख्यातीत तत्व हुन्छ, जसले सदैव साझा क्रान्तिको सम्भावनालाई गलत तुल्याइरहेको हुन्छ । उसलाई थाहा छ, यो बाह्य क्रान्ति केवल आफूभित्रको अक्षमतालाई लुकाउने साधन हो । कार्ल युङ्ले भनेझैं हज्जारौं शून्य जोडेर एक योगफल निकाल्ने निष्फल कार्य हो ।
स्मरण रहोस्- बलिरहेको आगोलाई पानीले मात्र पूर्णतया निभाउन सक्छ । कहिलेकाहीँ मानवीय स्वभावले सोच्छ- आगो न हो, यसलाई म आफ्नै खुट्टाले किचिमिचि पारेर साम्य गर्न सक्छु । साम्य पार्नु र निर्मूल गर्नु पृथक विषय हुन् । ‘साम्य पार्नु’ले कतै न कतै वीजतत्वलाई जीवीत नै छाडेका हुन्छन् र यो प्रकृतिको सार्वभौमिक नियम हो कि जबसम्म वीजतत्व बाँकी रहन्छ, अंकुरणको सम्भावन यथावत रहिरहन्छ ।
९.
अन्त्यमा, विश्वासलाई मानिसहरू एउटा शरणार्थी शिविरको रुपमा लिन्छन् , जहाँ उनीहरूको मृत्युपर्यन्त रेखदेख गरिन्छ ।
तर विश्वासको शरणमा जानपूर्वको अवस्था र विश्वासको शरणमा गइसकेपछिको अवस्थामा सारभूत फरक छैन । जीवनमा तिनै जटिलताहरू आइपर्छ जुन हामीलाई आइपर्ने गर्थ्यो । विश्वास जीवनका विषमतावाट मुक्त कुनै काल होइन । त्यसकारण अन्य साझा विचारप्रतिको विश्वास भन्दा हाम्रो यत्रतत्र जीवनलाई समेट्ने सग्लो रूप दिने एक हदसम्मको मान्छेको मूर्त चित्र बनाउने आन्तरिक तत्त्वको अन्वेषण सदैव प्राथमिक हुनुपर्छ ।