परिवर्तन


Logo

दिपेश राई


Pariwartan by Dipesh Rai

भदौरे दिन । झरी परेकै छ । बाटामा हिड्नेहरु भिजिरहेकै छन् । ट्याक्सीमा आफ्नो डेरातर्फ हिडेका एक दम्पतिको मन भने एकअर्काप्रति भिज्न सकिरहेको छैन । दुई वर्षपछि पूजा इजरायलबाट फर्केकी थिई । केवल आफ्नो देश र आफ्नो पति महेशलाई सम्झेर । ट्याक्सी भर्खर एयरपोर्ट गेटबाट बाहिर निस्केर गौशाला उकालो लाग्दै थियो । शहर रुझेकोले बाहिर हल्का चिस्यान थियो । शायद भित्र बसिरहेका दम्पतिबीच व्याप्त चिसोपनभन्दा कम । उनीहरु दुईबीचको अस्वाभाविक मौनता र असहजताले चालकलाई समेत घरी घरी रीयर भ्यू मिररमा हेर्न बाध्य बनाइरहेको थियो । पूजा महेशसँग कुरा गर्न सकिरहेकी थिइन । ऊ महेशतिर प्रेमपूर्ण हेराइ हेर्छे । महेश भने निर्वाक झ्यालबाहिर एकोहोरो हेरिरहेको छ । आज पूजा विदेशबाट फर्केकी छे तर ऊ एक्लै आएकी छैन । उसँगै, अझ भनौ उभित्रै उसले अरु कसैलाई पनि लिएर आएकी छे । छिनछिनमा महेश पूजाको बढ्दै गएको पेटतिर हेर्छ र एउटा उच्छवास फाल्छ ।

“ब्रदर हामीलाई चाबेल मै झार्दिनु । पहिलाको लोकेशन क्यान्सल गरौं है ।”, अघिदेखिको मुर्दा शान्ति महेशले भंग गर्छ । ट्याक्सी चालकले पनि स्थितिको गम्भीरतालाई बुझेर केही नबोली सहमतिमा टाउको तलमाथि गर्छ ।
सबै ट्याक्सीबाट ओर्लिए । चालकले डिक्की खोलेर पूजाको कालो सुटकेस निकाल्यो । महेशले भाडा दियो । ट्याक्सी धुलो उडाउँदै त्यहाँबाट हुइकियो ।

चाबाहिलको गेष्ट हाउस । गेष्ट हाउस एउटा सानो रुम । महेश र पूजा बेडमा बसेर अघिकै शून्यतालाई निरन्तरता दिइरहेका छन् । नीलोपुल बस्ने महेशले आफ्नी पत्नीलाई दिउँसोको उज्यालोमै डेरा लान चाहिरहेको छैन । कारण पूजा हैन । उसमा देखिँदै गएको शारीरिक परिवर्तन हो ।

“केही खाने हो?”, महेशले नै कुराको गाँठो फुकाउँछ ।
“अघि फ्लाइट मै खाए मैले । तपाईँ खानु न ।”, पूजा बल्ल बोल्न पाउँछे । अनि मनमनै थोरै हलुंगो पनि हुन्छे ।
आज एकअर्कासँग यसरी नापजोख गरेर बोल्नु पर्ला भनेर शायद यी दुवैले कहिले सोचेका थिएनन् । महेश चुपचाप कोठाबाट निस्केर तल झर्छ । पूजाले ऊ सिँढी झर्दै गरेको आहट सुनिरहन्छे । र आफू पनि वर्तमानको खुड्किलो झर्दै विगततिर पुग्छे ।

२ वर्ष अघि । महेश र पूजा एक नवदम्पति थिए । उनीहरु बीच प्रगाढ माया थियो । गर्नलाई असीमान्त कुराहरु थिए । तर दुवैसँग एउटा दिगो र भरपर्दो जागिर थिएन । पैसाको अभावले यिनीहरुको जिवनलाई निकै कष्टकर बनाइरहेको थियो । दुवैले एउटै कलेजबाट स्नातक गरेका थिए । बी.ए. पास गरी सके पछि दुवैले जागिरको लागि धेरै दौडधुप र कसरत गरे । पूजालाई पत्रकारितामा औधी रुचि भएकोले ब्याचलरमा पनि मेजर आम सञ्चार नै लिएकी थिई । एक दिन एउटा राष्ट्रिय स्तरको मिडियामा संवाददाताको रिक्तता देखे पछि पूजाले आफ्नो सी.वी पठाइहाली । निकै तयारी गरेर एकदमै राम्रो अन्तर्वाता पनि दिई । आफू पत्रकारिताको नै विद्दार्थी भएकोले र अन्तर्वाता पनि सोचेभन्दा राम्रो भएकोले ऊ आफूले जागिर पाउनेमा ढुक्क थिई । तर हामी तपाइलाई सम्पर्क गर्छौ भनेर विदा गरेका अधिकारीहरुसँग फेरि कहिल्यै पूजाको सम्पर्क भएन । पछि त्यहीँको समाचार वाचिका साथी रेखाबाट उसले थाहा पाई कि त्यो जागिर उनीहरु कै कार्यकारी सम्पादकको नाता पर्ने कोइ मान्छेले पाइसकेको रहेछ । भ्याकेन्सी, अन्तर्वाता त केवल देखाउनलाई गरिएको औपचारिकता मात्र थियो । रेखाको कुराले पूजाको मन सारै खिन्न भएको थियो । आफूसँग योग्यता र सक्षमता भएर पनि तल पर्नु पर्ने समाजको व्यवहार र व्यवस्थासँग उसलाई उदेक लागेको थियो ।

पूजासँगै महेश पनि एउटा स्थायी जागिरको खोजीमा दिनदिनै भौँतारिरहेको थियो । एक पटक नेपाली सेनामा अधिकृत क्याडेट र एक पटक नेपाल प्रहरीमा इन्सपेक्टरको लागि पनि भिडिसकेको थियो । लिखित, शारीरिक, अन्तर्वाता, सहनशीलता सबै परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदा ल्याउँदै पनि महेश राजनैतिक सिफारिस र शक्तिशाली पहुँचको जाँतोमा घुन जसरी पिसियो । मेरिट लिस्टमा आफ्नो नाम आँखा नचिम्ली तीन पटकसम्म खोज्दा पनि नभेटे पछि महेशले आफ्नो फोनलाई भित्तामा झटारो हान्यो । मनमनै देशको भ्रष्ट व्यवस्थालाई आमाचकारी गाली गर्यो । अनि सिरकले सिरदेखि पैताला छोपेर सुति रह्यो । तर सधैँ सुति राखेर उसलाई ओछ्यान मै कसैले केहि टक्रयाउने वाला थिएनन् । उठ्नु पर्ने त थियो नै । अरु जागिर नखोजी अर्को विकल्प पनि थिएन किनकी अब ऊ पहिला जस्तो एक्लै पनि त थिएन । गाँउमा भएका बुवाआमासँग अलिअलि खर्च पठाइ माग्दै महेशले जेनतेन काठमाडौँमा पूजासँग रुक्खासुक्खा जीविका चलाइरहेको थियो । आफू सबल र सक्षम छोरो भएर पनि प्रत्येक पटक घरकाहरुसँग पैसाको लागि हात पसार्दा उसलाई मनको भित्री तहसम्म लाज र संकोच लाग्थ्यो । त्यसैले उनीहरु दुवैले चाँडोभन्दा चाँडो कुनै दिगो रोजगार पाउनलाई हड्डी खियाउदँै थिए ।

ढक् ढक् । ढक् ढक् । महेशले ढोका खोल्यो । पूजा महेशलाई हेरेर मुसुक्क मुस्कुराई । निधारमा फुटेका पसिनाका थोपा पुछ्दै भित्र छिरी ।

“खाना खानुभो?”
“खाको । हातखुट्टा धुअ । म खाना पस्काइ दिन्छु ।”, महेशले चुला बाल्दै भन्यो ।
“हस् ।”
“अन्तर्वाता कस्तो भयो?”, महेशले पूजालाई एक पन्यु भात थपिदिँदै सोध्यो ।
“दामी भाको छ । कहिले रिजल्ट आउँछ जस्तो भइसक्यो ।”, पूजा उत्साहित सुनिई ।
“किन र?”
“कस्तो किन र । जति छिटो जागिर पाइयो, त्यति राम्रो नि ।”

पूजाको उत्साह देखेर उसले जागिर पाउनेमा महेश पनि लगभग निश्चिन्त भयो । ऊ धेरै दिन पछि दिल खोलेर मुस्कुरायो ।
दुई हप्ता बित्यो । जुन बोर्डिंगमा शिक्षिकाको लागि पूजाले अन्तर्वाता दिएर आएकी थिई, त्यहाँबाट न कुनै फोन आयो न मेल । दिनहरु अझै बित्दै जाँदा उसले बुझिसकेकी थिई की ऊ फेरि पनि योग्य हुदाँहुदै तल परी सकेकी छे । आफ्नै देशमा आफ्नो सक्षमताको भरमा जागिर खान नपाउनु कस्तो बिडम्बना । कस्तो बिचल्ली । त्यस दिन पूजालाई नराम्रो धक्का लाग्यो । महेश दिनभरि ऊ नजिकै बसिरह्यो । उसलाई आफ्नो अङ्गालोमै कसिराख्यो । आज ऊ काम खोज्न पनि बाहिर गएन । पैसा सकिँदै गएको पर्सबाट ४०० रुपैयाँ झिक्यो । सुङगुरको आधी किलो मासु ल्यायो । र मीठो गरी बनाएर पूजालाई आफ्नै हातले खुवायो । पूजा महेशको मायाले पूर्णतः रुझी । उसले एकछिनलाई आफनो समस्याहरुलाई पनि बिर्सिदिई ।

राजनैतिक सिफारिस, माथिल्लो तहसम्म पहुँच, नातावाद, कृपावाद, बेथिति, अनियमितताले शिथिल भएका नेपालीहरुको लामो सूचीमा उनीहरुको पनि नाम दर्ज भइसकेको थियो । आफ्नो देशमा सीधा तरीकाले कुनै गतिलो जागिर पाउने अब उनीहरुलाई आश थिएन । बाँच्नलाई केही त गर्नै पर्ने थियो । दुई छाक खाने र लाउने जीवनशैलीमा सीमित उनीहरु बस्न सक्दैन थिए । अलि पढे लेखेको हुनाले सारै मामुली काम गर्न पनि उनीहरुको मनले मान्थेन । त्यसैले आखिरमा पूजाले पनि त्यहीँ बाटो रोजी जुन दैनन्दिन हजारौँ नेपालीले रोज्छन् । अंशमा परेको गाँउको एक रोपनी जग्गा बैंकमा धितो राखेर महेशले पूजालाई इजरायल पठायो । खासमा ऊ आफू नै ड्राइविङग कामको लागि साउदी जानेवाला थियो तर मेडिकल दिएर पठाओमा फर्किदै गर्दा चालकले बाइक सीधै एउटा ५–६ फिट गहिरो खाडलमा लगेर छिराइदियो । महेशको दाहिने हातमा प्लास्टर लाग्यो । डाक्टरले महेशको हात ७–८ महिनासम्म यस्तै रहने जानकारी दिए पछि उसको पसिना छुट्न थाल्यो । बैंकको सावाँब्याजले उसलाई निन्द्रामा पनि झस्काउन थाल्यो । यता आफ्नो उपचार खर्चले झन् जटिलता निम्त्याइरहेको थियो । तब बाध्य भएर उसले पूजालाई नै विदेश जान सुझायो । घर, परिवार र झन्झन् बिग्रिँदै गएको जिवनको सन्तुलन मिलाउन पूजाले सोझै महेशको सुझावमा सही थपी । महेशको भाइ जो काठमाडौँ मै छुट्टै कोठा लिएर बसेको थियो । उसलाई केही समय महेशसँगै बस्न र दाइको राम्रो हेरचाह गर्नु भनी जिम्मा लगाएर पूजाले नेपाल छोडी । इजरायल छिरी । इजरायलमा एउटा धनी यहुदी परिवारको घरमा उसले केयर गिभरको काम गर्न थाली । नील र उसकी श्रीमती रोना दुवै कामको सिलसिलामा घर वा शहर बाहिर हुँदा पूजाले उनीहरुको दुई छोरीको स्याहार गर्नुपथ्र्यो । साथै धेरथोर घरायसी काम पनि उसले गर्थी । इजरायल आएको डेढ वर्षसम्म त सबै राम्रै चलिरहेको थियो । पूजाले कमाए जति पैसाबाट आफूलाई थोरै खर्च राखेर बाकी सबै महेशलाई पठाइ रहेकी थिई । यता महेशले पनि त्यस पैसाले बैंकको ऋण तिर्दै घर व्यवहार चलाउने र सानो तिनो बचत, लगानी पनि गर्न थालेको थियो । ऊ आफू पनि एउटा रात्रि क्लबमा बाउन्सरको काम गथ्र्याे । उनीहरुको जीवनको सन्तुलन बल्ल मिल्न थालेको थियो तर जिवनमा सबै सधैं एकनास रुपमै चल्ने भए किन पो जिवन । पूजाको सहज हुँदै गएको जिन्दगीमा एक दिन बज्रपात पर्याे जब उसको मालिक नीलले उसको पासपोर्ट, नागरिकता मागेर आफूसँगै राख्यो । र उसलाई यौन शोषण गर्न थाल्यो । उसकी पत्नी रोना कामले दुई–तीन दिन नै बाहिर हुँदा उसले पूजाको शरीरलाई जबरजस्ती धेरैपटक भोग्यो । अरुको देशमा, अनजानहरुको बीच, यसै त सीधी सोझी पूजाले केही प्रतिकार गर्न सकिन । पासपोर्ट र नागरिकता जफत गरी नपुगेर नीलले उसको नग्न तस्वीर र भिडियोहरु पनि बनाएको थियो । “कसैलाई यसबारे भनिस् भने तेरो सबै फोटो र भिडियोहरु पोर्नसाइटहरुमा हाल्दिन्छु ।”, प्रत्येक पटकको करणी पछि एउटा धम्कीपूर्ण चेतावनी दिन उसले छुटाउँथेन ।

अपराधी नील भए पनि पूजाले आफूलाई दोषीसरह सजाय दिइरहेकी थिई । परदेशी ठाउँमा उसको मन बहलाउने र खुसी हुने आधार महेशसँग फोनमा हुने कुराकानी नै थियो । तर पहिला जस्तै उसँग घण्टौ खुलेर फोनमा गफिने उसको चाह मरिसकेको थियो । महेशसँग राम्ररी कुरा नगरी नै उसले बीचैमा कल काटिदिन्थी । उसले पटकपटक सम्पर्क गर्न खोज्दा पनि पूजाले फोन उठाउँथिन । धेरै पटक महेशलाई यताको बारे भन्न उसले कोसिस गरी तर मनको भावनाले शब्दको आकार लिन सकेन । नेपालबाट ऊ बिचराले के पो गर्न सक्ला र भन्ने सोचेर चुपै रही । सबै सही रही । महेशलाई झन् पीडा थपिदिन उसले सकिन । यता आएको दुई वर्ष पुग्न लागेकोले उसले चाँडै छुट्टीमा नेपाल जाने सोच बनाइसकेकी थिई । नेपाल पुगेर भेट्ने बित्तिकै महेशलाई अङ्गाल्ने, चुम्ने र मनभरिको माया गर्ने सपना थियो उसको । सबै धुलो भए । घरी घरी आफ्नै शरीर र रुपसँग उसलाई रिस उठ्यो । त्यो भन्दा बढी आफ्नो भाग्यसँग झोक चल्यो । चितामा पुर्याउने चिन्ता र मानसिक पीडाले उसको रुप, रंग, तौल, पहिरन सबै टिठलाग्दो देखिन थालेको थियो । एक दिन उसलाई अचानक रिंगटा लागेझै भयो । जिउ सारै बोधो र निष्क्रिय जस्तो देखेकोले रोनाले नै उसलाई हस्पिटल जान भनी ।

ऊ २ महिनाको गर्भवती पनि भइसकेकी रहेछ । अत्याधिक मानसिक तनाव र पीडाले शरीरमा समस्या आएकोले महिनावारी बिग्रेको होला भनेर यतिन्जेल उसलाई लागेको थियो । तर हस्पिटलमा वास्तविक कारण थाहा पाए पछि उसले टेकिरहेको भुइँ जोडले थर्कियो । चरचरी धाँजो फाटेको जमिन जस्तै उजाड भयो उसको मन । जिवन । निष्प्राण जस्ती भएर पनि उसले दिन कटाउँदै गई । नीलकी दुइटी छोरीलाई हेर्दा उसलाई उनीहरुप्रति दया लागेर आउँथ्यो । बाउको पाशविकतासँग साक्षात्कार भएको दिन यिनीहरुको हालत के होला? कसरी अरुको सामु पर्लान् यिनीहरु । उता आफ्नो बद्लिएको व्यवहारले गर्दा महेश कुन सकसमा होला । सम्झिँदा उसको तनमन फेरि फतक्कै गल्थ्यो ।

जिउँदो मुर्दा जस्तै सबै सहेर बस्ने हो भने आफ्नो जिन्दगी यही खरानी हुने पक्का थियो । त्यसैले उसले जसरी पनि आफ्नो देश, परिवार र पतिको अङ्गालोमा फर्किने संकल्प गरी । संकल्प पनि यसरी गरी कि सहसा उसलाई एउटा अदम्य उर्जा, शक्ति र साहसको ज्वारभाटा आफूभित्र उर्लिए झैँ अनुभूति भयो । उसले मनमनै एउटा योजना बनाई । नील घरमा नभएको मौका पारेर रोनालाई रुँदै सबै कुरा सुनाई । रोना एक नम्र तर स्वाभिमानी युवती थिई । उसले पूजाका दुई हत्केला समाउँदै पहिला उसलाई सान्त्वना दिई । अनि गहभरि आँसु पार्दै भनी, “पूजा मेरो बुढाले जुन पाप गर्यो त्यसको लागि परमेश्वरले उसलाई अवश्य नर्कवास गराउनु हुन्छ । तर तिमीले यदि यो कुरा कसैलाई बाहिर भन्यौ भने ऊ सँगसँगै मेरो, मेरो छोरीहरु र पूरै खानदानकै इज्जतको धज्जी उड्छ । त्यस पापीसँग हामीले पनि हजार थरी संकट सहनु, भोग्नु पर्छ । त्यसैले विन्ती छ कसैलाई यसबारे केही नभन्नु है । म तिम्रो सबै डक्युमेन्ट, तिम्रो फोटो भिडियो जे जे छ सब त्यस पाजीसँग लिनेछु । तिमीले जति सक्दो चाडोँ नेपाल फर्किने प्रबन्ध पनि म मिलाउँछु । तिम्रो सबै कुरा मिलिसके पछि त्यसलाई म आफ्नै तरीकाले तह पनि लगाउँछु । त्यसैले प्लिज मेरो कुरा मानिदेउ ।”, रोना पिन्चे भइसकेकी थिई । पूजा थोरै आश्चर्यमा परी । आफूमाथि भएको अत्याचारको लागि उसलाई नील फाँसी चढेको पनि कमसल नै लाग्ने थियो । तर नीलकी सोझी पत्नी र निर्दोष छोरीहरुको बारे उसले सोची । अझ बढी सोची आफू विरानो ठाँउमा, विराना मान्छेहरुबीच भएको अवस्थाबारे । पूजाले कानुनी उपचार लिए वा रोनाको आग्रह नमाने कुरा बिग्रिन पनि सक्थ्यो । त्यस अनजान ठाँउमा उसले त्यो कदम उठाउन उचित ठानिन । फेरि उसको घाउहरुमा त नेपाल फर्किन पाउने कुराले नै सञ्जीवनीको काम गरिसकेको थियो ।

रोनाले भने अनुरुप पूजाले आफ्नो नागरिकता र पासपोर्ट पाई । सबै तस्वीर र भिडियोहरु उसकै अगाडि रोनाले नीलको फोनबाट डिलीट गरी । साथै थप २० लाख पैसा पनि उसले पूजालाई थमाइदिई । जति नाइँनास्ति गरे पनि पूजाले त्यो पैसा फर्काउन सकिन । क्षतिपूर्ति, आत्मग्लानि या करुणा, कुन भावले प्रभावित भएर रोना उसलाई यति ठुलो रकम दिइरहेकी थिई । पूजाले बुझिन । तर नेपाल पुगेर त्यहीँबाटै नीललाई मुद्दा हाल्न मिल्ने प्रक्रिया बारे बुझ्ने सोच उसले तुहाइ दिई । आफ्नो ३ महिना पुग्नलागेको गर्भलाई भने उसले तुहाउन सकिन । जब दोषीले नै सजाय पाएन भने जसको कुनै दोषै छैन उसको घाटी किन मैले निमोठ्नु । बच्चा जसरी गर्भमा आए पनि आफ्नै गर्भमा आएको हो भन्ने सोचेर उसले त्यस बच्चाको सास खोस्न चाहिन । र उसलाई जन्माउने निधो गरी । अब नेपाल फर्केर यही पैसाले कुनै सानोतिनो व्यवसाय शुरु गर्ने तर भुलेर पनि विदेशी भूमि नटेक्ने उसले निश्चय गरी ।

सबै कुरा मिलिसकेको थियो । भोलि ऊ नेपाल फर्किँदै थिई । खुशीले उसलाई निद्रा नै परेको थिएन । उसले महेशलाई कल गरी । महेश अहिलेसम्म सबै कुराहरुबाट अनभिज्ञ नै थियो । नेपाल पुगेरै भन्ने भनेको सबै कुरा उसले आजै महेशलाई फोनमा सुनाई । उताबाट महेशको श्वासप्रश्वास बाहेक केही सुनिएन । पूजाले महेशको प्रतिक्रिया बुझ्न चाहेकी थिई । तर उताबाट फोन काटियो । भोलि भेटेर नै महेशसँग राम्ररी कुरा गर्ने उसले मन बनाई । महेशलाई शुरुमा सबै कुरा अनौठो, अपत्यारिलो र कष्टकर लाग्ला तर आफ्नो पत्नीको पीडा र भोगाइ सुने पछि उसले सबै कुरा सामान्य रुपमै लिने र यस बच्चालाई पनि स्वीकार्ने कुरामा ऊ विश्वस्त थिई ।

दिन ढल्यो । रात पर्यो । अँध्यारो छायो । अँध्यारो मै निस्के महेश र पूजा गेष्ट हाउसबाट । आफू बस्ने डेरा पुगेपछि महेशले बाहिरको फलामे ढोका खोल्यो । दायाँबायाँ, तलमाथि कतै नहेरी हतार आफ्नो कोठातिर हान्नियो । पूजालाई पनि त्यसै गर्न लगायो । कोठा आइपुगे पछि पूजा नुहाउनलाई बाथरुम छिरी । महेश अझै पनि मौन थियो । दिक्दार भएर झ्यालबाहिरको अविरल झरी एकटकले हेर्दै थियो । पूजा नुहाएर बाथरुमबाट निस्की । लिविंगको सोफामा बसिरहेको महेश नजिक गएर बसी । लामो समयपछिको मिलन । वर्षौ पतिको माया र स्पर्शबाट वञ्चित पूजाले आफूलाई थाम्न सकिन । अप्ठ्यारो मान्दै भएपनि उसले महेशलाई अँगाल्न खोजी । महेश जुरुक्क उठ्यो । पूजालाई सारै नराम्रो लाग्यो । उसले भित्ताको घडी हेर्यो । रातिको आठ बजिसकेको थियो ।

“म खाना बनाउँछु । दिउँसो पनि नखाको तिम्ले ।”, उसले घडीतिर हेर्दै भन्यो ।

पूजा दिउँसैदेखि महेशमा आएको परिवर्तन ख्याल गर्दै थिई । त्यसको सम्भावित कारण पनि उसलाई ज्ञात थियो ।

“भोकै लाग्या छैन । म खादिँन । तपाईँ बस्नु । खाना म बनाउँछु ।”

“खान त मलाई नि खासै मन छैन । छोड देउ उसो भए ।”, महेशले कोठाबाट निस्किँदै भन्यो ।

“कता हिड्नु भाको यति खेर ।”

“एउटा चुरोट खाएर आउँछु । बट्टाको सकिएछ ।”

“यस्तो पानी पर्दैछ ।”, पूजाले झ्यालबाट बाहिर हेरी । महेश केही नबोली भित्रै छिर्यो र सुत्ने कोठातिर लाग्यो ।

“आउनु न, एकछिन यतै बसौँ ।”, झ्यालबाट आइरहेको चिसो हावाका झोक्का र पानीका हल्का बाछिटालाई आफ्नो मुहारमा स्पर्श गर्न दिँदै उसले महेशलाई बोलाई ।

“निद्रा लागी राछ । म सुत्छु ।”

“के भाको छ तपाईँलाई महेश । यति वर्षपछि आज हामी भेटेका छौँ । म कुन नर्कको यातना भोगेर फर्किएकी छु । तर तपाईँलाई केही मतलबै छैन । मेरो लागि पीर, सुर्ता, माया, स्नेह केही देख्दिँन तपाईंको मनमा । हामी भेट भए देखि एकपटक पनि “तिमीलाई कस्तो छ पूजा” भनेरसम्म सोध्नुभाको छैन । किन यस्तो अनौठो व्यवहार गर्नु भाको तपाईँले मलाई ।”, ढिला नगरी पूजाले ठाडै सोधी ।

“मलाई केही नसोध है । तिमीलाई राम्ररी थाहा छ म किन यसरी अनौठो भइराछु । जे कुरा गर्नु छ भोलि गरौँला । अहिले म एकदमै थाकेको छु । सय थरी कुराहरु सोच्दा सोच्दा टाउको फुट्न लाग्या छ मेरो ।”, महेशले दिनभरिमा नबोले जति एकैपटकमा बोल्यो । र आफ्नो कोठाभित्र छिर्यो । पूजाले आफ्नो आँसु थाम्न सकिन । बरर झरिहाले । उसलाई आफ्नो पतिसँग अहिले नै राफसाफ कुरा गर्न मन लागेको थियो । मजाले सम्झाउन मन लागेको थियो कि उसले जानीबुझी कुनै अपराध गरेकी हैन । ऊ त केवल दुर्दान्त नियतिको शिकार भएकी हो भनेर । तर महेश उसको कुरै नसुनी कोठाभित्र छिरिसकेको थियो । पूजा अझै आफ्नै सोचाइमा डुबेकी थिई । महेशले घुरेको सानो आवाज घरी घरी उसको कानमा परिरहेको थियो । निकै बेरपछि ऊ पनि सुत्न जान्छे । आजको रात उसलाई निकै लामो र बोझिलो लागिरहेको छ । अनेक थरी कुराहरु मनमा खेलाउँदै बेडमा लडेको दुई घण्टा पछि बल्लतल्ल उसका आँखाहरु लोलाउन थाल्छन् । ऊ सुत्छे ।

बिहानीको उज्यालो मद्धिम छ । आकाश काला बादलहरुका घेरामा धुम्म छ । ढल निकास गतिलो नभएको टोल छ । हिजोदेखिको अविरल वषा र्छ । तल गल्लीदेखि चोक सबै पिँडुलासम्मको पानीमा डुबेको छ । मान्छेको आवत जावत निकै कष्टकर भएको छ । जस्तो सुकै बाधा भए पनि महेश बाहिर निस्कनलाई हातमा छाता बोकेर तम्तयार छ । ढोकाको सङघार नाघ्नै लागेको छ ।

“यस्तो पानीमा कहाँ हिड्न लाग्नु भाको ।”, अघिदेखि महेशको गतिविधि हेरी बसेकी पूजाले सोध्छे ।

“जहाँ गए पनि फर्केर आउँछु त । तिम्लाई हरेक कुरा नसोधी हुँदैन ।,” बाहिर परिरहेको पानीभन्दा चिसो ढंगले महेशले जवाफ दिन्छ । पूजा खङ्ग्रंगै हुन्छे । चकित पनि ।

“कोठा खोज्न हिडेँको । हामी आजै यहाँबाट सर्ने हो । भरै राति । तिमी कोठाभित्रै बसि रहनु । बाहिर निस्कन पर्दैन ।”, छाता खोल्दै महेश फेरि बोल्यो । अटेसमटेस भावनाहरुलाई पूजाले यहाँभन्दा बढी मनमा राख्न सकिन, “कोठा किन सर्नु पर्ने महेश । किन म बाहिर निस्कन नहुने । आफ्नै घरमा पनि हिजो राति चोर जस्तै लुसक्क किन आउनु पर्ने हामी । मेरो यो अवस्थाको कारण तपाईँलाई यस्तो अप्ठयारो भाको हो भने सीधै भन्नु ।”

“थाह रैछ त आफूलाई । सबै कुरा मेरै मुखले सुन्न मन लाग्छ ।”, उसले खोलिसकेको छाता बन्द गर्याे । कोठाभित्रै छिर्यो । ढोका ढप्प लगायो । आफू पनि पूजा बसिरहेको सोफामा बस्यो । उसको शब्द प्रहारले पूजाकोे भने मुटु नै छेडिसकेको थियो । महेशबाट उसले यस्तो पराई र चिसो व्यवहारको कल्पना गरेकी थिइन । ऊ निर्वाक् आफैमा टोलाइरही ।

“तिमीलाई त्यहाँ त्यो मान्छेले जबरजस्ती नै गरे पनि, तिम्रो बच्चा नै बसे पनि, अर्बोसन त गर्न सक्थ्येउ नि । न तिमीले बच्चा फाल्यौ । न यसबारे मलाई कहिले केही भन्यौ । यता फर्किने अघिल्लो रात एक्कासी यो सब सुनाए पछि मैले यो सब घटनालाई कुन रुपमा बुझ्ने? फेरि तिम्ले भनेको सबै कुरा साचो नै हो भन्ने पनि के आधार छ? सबै सुनेको, बुझेको तिमीबाटै हो । तिम्ले त मलाई यस्तो यस्तो भयो भन्यो, सक्यो । खेप्नु पर्ने त मैले नै हुन्छ ।

पूजालाई उसको लोग्ने महेश होइन अरु नै कोही अपरिचित मान्छे बोलिरहेको भान भयो । उसले महेशको अनुहारमा हेर्दै उसको कुरा सुनिरही ।

“अब जे भयो भयो । भइसकेको कुरालाई बदल्न सकिदैँन । तिम्लाई म आज पनि त्यति नै माया गर्छु जति पहिला गर्थे । ल ठीक छ, तिम्ले भनेको कुरामा पनि मलाई विश्वास छ तर यो घटनाको कहिले नमेटिने खतलाई तिमीले आफूसँगै लिएर आएकी छौ, त्यसले चाँहि हाम्रो सम्बन्धलाई कहिले फुल्न फक्रिन दिदैँन पूजा । म यो विदेशी छाउरा कि छाउरीले गर्दा अनेक फाल्तु तनाव, समस्यामा अल्झिन चाहदिँन । तिम्रो गर्भ बसेको ३ महिना भइसक्यो त्यसैले तिम्रो बलात्कार भएको प्रमाणित गराएर भएपनि यसलाई फाल्नु पर्छ । अनि यहाँबाट पनि हामी आजै सर्नु पर्छ । तिम्रो यस्तो अवस्था हुँदाहुँदै हामी यहाँ बस्यौँ भने मान्छेहरुले दुनिया थरी कुरा काट्छन् । अब सबै तिम्रै हातमा छ पूजा । हाम्रो जिवनमा पहिला जस्तै खुसहाली फर्कोस् भन्ने चाहन्छौ भने तिम्ले पनि मैले भने जस्तै गर्नुपर्छ ।”, महेशले अन्तिम वाक्य बोल्दाबोल्दै आफ्नो स्वर धेरै सानो गरिसकेको थियो ।

बाहिर पानी दर्किनु छोडेकै थिएन । उसले सोफाबाट उठेर झ्याल बाहिर हेर्दै भन्यो, “फेरि दह नै बनाएर छोड्ला जस्तो छ उपत्यकालाई ।”, महेशले आफूलाई अघिभन्दा हल्का महसुस गरी रहेको प्रष्टै देखिन्थ्यो । उसको ओठमाथि बल्ल एउटा विजयी हो कि कुटिल मुस्कान छाएको थियो । यता पूजाको मनमस्तिष्कमा भने पृथ्वीकै भार लादिए सरह भएको थियो । उसले महेशको कुराहरुमा कुनै पराई, बैरीको जस्तो निष्ठुरता आभास गरिरहेकी थिई । उसले बुझ्न सकिन कि महेश पहिलादेखि नै यस्तै थियो कि, समय र परिस्थितिले उसलाई यस्तो मतलबी र निर्मोही बनायो । मनमनै झनै दंग भयो । चुप बसेर सहिरहनुको नतिजा के हुन्छ त्यो उसले विदेश हुँदा नै थाहा पाइसकेकी थिई । त्यसैले मनमनै अब चाल्ने कदमबारे उसले आफूलाई दृढ बनाइसकेकी थिई । विदेशको भोगाइले उभित्र भरपुर आट र साहसको बीउ उमारिसकेको थियो । अचानक हिजोदेखि परिरहेको पानी पनि थामियो । माथिको आकाश र तल पूजाको मन कुनै खोलाको पानी जस्तै सँगसँगै संगलिए र छ्याङग भए ।

“तिम्ले सानोतिनो सामानहरु सबै मिलाउँदै गर ल । म ४ बजेतिर आउँछु । अनि बाकी ठुलो सामानहरु मिलाउँला । अँध्यारो भए पछि गाडी बोलाउनु पर्छ । अनि सामान ओसारौंला । ए साच्ची अलि खुकुलो खालको लुगा लगाएर बस है ।”, पूजाको पेटतिर हेर्दै उसले आफ्नो कुराको बिट मार्यो । छाता टिप्यो । ढोका खोल्यो । एकपटक आकाशतिर हेर्यो । छाता कोठाभित्रै फाल्यो । यत्ति कै बाहिर निस्कयो । पूजाले झ्यालतिर आएर पर बाटोमा पुगिसकेको महेशलाई एकटकले हेरिरही । त्यस हेराइमा मायाभन्दा बढी कुनै चिजलाई अन्तिम पटक हेरिरहे जस्तो भाव थियो ।

५ बज्न लाग्दा महेश कोठा आइपुग्यो । ढोकामा ताल्चा थिएन । मात्र बाहिरबाट चुकुल लगाएको थियो । बाहिर ननिस्कनु भन्दाभन्दै पूजा बाहिर निस्केको सोचेर ऊ मनमनै मुर्मुरियो । ढोका खोलेर भित्र छिर्दा सामानहरु केही नमिलाको देखेर उसलाई अलि अजिब लाग्यो । ऊ छिट्छिटो पाइला चाल्दै आफनो रुमभित्र छिर्याे । पूजाले हिजो ल्याएको कालो सुटकेस पनि त्यहाँ थिएन । अब उसको मनमा चिसो पस्यो । सिरानीमाथि एउटा कागज थियो । उसले कागज आफ्नो हातमा लियो । एउटा लामो सुस्केरा निकाल्यो । त्यो पूजाले उसको लागि छोडेको चिठी थियो । पूजाले चिठीमा भन्न चाहेका कुराहरु नपढी नै महेशलाई बुझी सकेझैँ लाग्यो । फेरि पनि उसले त्यो चिठी पढी सिध्यायो । उसले अनुमान गरेका कुराहरु नै पूजाले लेखेकी थिई । महेश कोठाभित्रै फनफनी फन्को लाउन थाल्यो । बेडमा बसेर गम्भीर भएर सोच्न थाल्यो । अनि हताश बतासिएर आफ्नो कोठाबाट निस्कयो । ढोका थुन्ने, चुकुल लाउने, ताल्चा हाल्ने केही सुर उसमा छैन । ऊ बेसुर दौडिएर पर घुम्तीसम्म पुगिसकेको छ । गन्तव्य कहाँ हो? राम जानुन् ।