२० mm पानी | संस्मरण


Logo

रजत


असोज १९, दिउँसो
“रेsssssssss! देखि न ! कत्ते मछली अबै है !”
“जाइल निकाल न गे मम्मी ! कत्त है ?”
“आब अभि कहाँ से लै’याऊ जाइल, पुरनका मच्छरदानी है से हे ल’जो”
*
“गेल्लौ लाइन, आब नै अत्तौ”

असोज १९, साँझ
‘’जलेश्वरमा अहिलेसम्म २० यम्यम् पानी पर्यो भन्छन् त ! कति नै हो र २० यम्यम् भनेको ? जम्मा २ सेन्टिमिटर!”
“अँ ! हो है, धेरै त होइन”
“अनि यत्रो पानि परि’राछ, जम्मा २० यम्यम् भन्न मिल्छ त ?”
“के हो कुरो ?”
“दादा २० यम्यम् पानी परेको भनेको कति हो र ?”
“के हो एइ, २० यम्यम् भनेको ?”
“जलेश्वरमा २० यम्यम् पानि पर्नु भनेको, कतै बग्ने कि सुक्ने नहुने हो भने, पुरै जलेश्वर २० यम्यम् पानीमा डुब्छ, हेर्दा धेरै होइन तर पुरै सहर २० यम्यम् पानीले डुब्नु भनेपछि कति पानी चाहिएला ?”
“ठीक भनिस्, ठ्याक्कै बुझियो अब”
*
खाना खाने बेला, दर्के पानी परिरहेको छ । कस्तो भने थेग्ने भन्दा धेरै पिएर बान्ता गर्न थाल्छ नि मान्छे, ठ्याक्कै तेस्तै ।
एकछिन व्हाल्व्हाल्ति । थोरै बेर शान्त । फेरी व्हाल्व्हाल्ति ।
एक दुइपटक टाउकोमै बज्रेझैं गरि चट्याङ्ग खस्यो । रोटीले कान थुनेर जसोतसो खाइपिई गरेर सुतियो ।
रातभरि हुरी चल्यो, पानी परिरह्यो । फोनको ब्याट्ट्रि मर्नुअघि एउटा पोस्ट हाल्न भ्याएछु:
“ह्या!!! कति पानी पर्न सकेको हो !”

असोज २०, बिहान
“देखि न! रे sssssss”
घर अगाडिको पोखरी उर्लिदै थियो। यो पोखरीको पनि साह्रै माया लाग्छ आजकल । सानो हुँदा मनै पर्थेन किन हो । यो पोखरी भरेर बजार किन बनाउदैनन्, बस पार्क वा खेल्ने चौर किन बनाउदैनन् जस्तो लाग्थ्यो । तर बिस्तारै यो पोखरीको पीडा देख्न थालियो– भएभरको ढल-फोहोर सहेर बसेको छ, अझ छेउ छेउबाट यसलाई मिचेर घर पनि ठडिदैछन्; पछि पछि कुनै पनि ठाउँमा पोखरी किन चाहिन्छ भन्ने कुरा पनि बुझिदै गइयो ।
यता यस्तो टिलपिल छ, खोला नजिक झन् बिचरा कतिका घर डुबे होलान् गफ हुँदै थियो ।
छिमेकमा माछा-माछा भनि कराएर थाकेका थिएनन् ।
पोहोर पनि दशैंकै बेला विध्वंश मच्चिएको थियो । मान्छेदेखि बाटोसम्म सबै बगाएर लागेको ट्रमा अझ ताजै छ ।
त्यतिकैमा हल्ला आयो, रातुखोलाको बाँध भत्कियो रे ! पछि त्यो हल्लाको प्रमाण रातु स्वयं आयो आँगन मै पस्नेगरि ।

असोज २०, दिउँसो
सहर गुञ्जायमान भएको थियो । सित्तैको माछा आफै पौडेर घरै अगाडि डेलिभरी हुने समय थियो यो। छतमा गएर चारैतिर हेरेँ, ‘ग्रीन-टी’ जस्तो कालो-हरियो पोखरीको पानी घर अगाडि-पछाडि बगिरहेको थियो । वरिपरिका जग्गाहरूमा केटाकेटीहरू झुल, तन्ना के के हो सब बोकेर माछा समात्न तल्लिन थिए । अब घर-घरमा पानी पसिरहेको थियो, एक दुई बाल्टिन फाल्दैमा सुक्ने पनि हैन । माछा समातेर एक दुई छाक निस्किन सक्यो भने पनि बडो रोमाञ्चक डिस्ट्र्याक्शन हुन जान्थ्यो ।
*
“देखि न! रे sssssss”
आँगनमा रसाएर पानी भरिन थाल्यो । बिस्तारै ।
बत्ती नआएको २४ घण्टा भै’सकेको थियो । कसैको फोनमा चार्ज छैन । मैले जसोतसो आफूले पढाउने स्कूलमा खबर पठाउन सकेँ यताको अवस्था। उता दशैं बिदा सकिन लागेको थियो।
घरको पुरानो रेडियोको एन्टेनामा तार जोडेर समाचार सुन्न खोज्दैछु केही थाहा भै’हाल्छ कि भनेर ।
“होsssssss दशैं आयो !!!!!” र मालश्रीको “टिंग टि टिंग टिंग, टिटि टिंग टिंग” बाहेक केही बज्दैन ।
कति र’छ त पानी भनेर यसो निस्किन खोजेँ बाहिर, १०-१२ कदम नचाल्दै पानीले तिघ्रा मुसार्न थाल्यो, फर्किएँ ।
अघिको ‘ग्रीन-टी’ अब ‘क्यापुचिनो’ भै’सकेको थियो । आँगनमा रातुको बालुवा ।
*
छिमेकमा अब माछा-माछा भनेर दिक्कै लगाए ।
त्यतिकैमा भाईले घरमा केही वर्ष पहिले किनेको म्युजिक प्लेयर भेट्टायो– माइक्रोफोन जोडेर बोल्न मिल्ने ।
हामीले झ्यालबाट छिमेकतिर फर्काएर एसो ट्राइ गर्यौं : “हेलौ चेक, हेलौ”

असोज २०, साँझ
“सम्पूर्ण जिल्लाबासी, नगरबासी आ टोलबासी”
“रे सुन्न न! ‘अलाउन्स्मेन्ट’ होई छै”
“हेलौ चेक, हेलौ सम्पूर्ण जिल्लाबासी, नगरबासी आ टोलबासी, बाईढ बढल है, सब घरमे सुरक्षित रहु, बहरा नै निकलु”
“सुन्न गे मम्मी कहैछै घरमे रहेला”
“सुरक्षित रहु, हल्ला कम करु आ बाईढ के मछली बेसी नै खाउ! हेलौ चेक, हेलौ”
“कहाँ से अबै छै ई ‘अलाउन्स्मेन्ट’ ”
“एक बेरी फेर ‘अलाउन्स्मेन्ट’ कर रहल छि, सुरक्षित रहु, हल्ला कम करु आ बाईढ के मछली बेसी नै खाउ! हेलौ चेक”

असोज २०, राति
बादल तितरबितर भएका छन् ।
ताराहरू आकाश छेडेर चम्किरहेका छन् । धेरै पछि यति सफा देखेको हुँ मैले रातको आकाश ।
जून पनि लागेको छ मज्जाले, तर गिज्याइरहे झैं लाग्ने ।
“बाढीले दुख दियो है अब ला जून हेर् अनि रोमानटीसाइज गर्” भनेजस्तो ।
दशैंको सुरुमा आएको मान्छे भुट्ने गर्मीलाई ओभर-कम्पन्सेट, दशैंको अन्तमा पानीमा डुबाएर गरेजस्तो ।
*
कोठैमा त पानी नपसी’जाला ।
सिरान अडाएको भित्तापारि रातुखोला बगिरहेछ ।
कलकलकलकल ।