“हाम्रो सेखापछि आमाले यसरी राख्तिन् भनेर जमारा राख्नु ।”
विगत केही वर्षदेखि आमाले हरेक वर्ष मलाई यसै भनि जमारा राख्न बोलाउनु हुन्छ । हरेक वर्ष म पहिलोचोटि जमरा राख्दैछु जसरी उत्तिनै उत्साह साथ आमाको अनुभव समेट्न घर पुग्छु ।आमासँग मसँग बाँड्न र सिकाउन अनगिन्ति कुरा छन् तर सधैं, “हामीले त पढ्या भा पो“ जान्दोथिम् भन्ने कुरा थेगो झैँ आमाको लवजमा बसेकै हुन्छ । आमाको बिहेअघिको नाम तुलसा देवी अरे । आमाले भनेअनुसार, बिहे गरेर जुनी फेरेसी नयाँ नाम दिन्छन् रे घर पटिकाले । मेहनत नै न गरी मेरो आमाको नाम साँइलो छोरासँग बिहे भएकाले साँईली भयो । मैले पनि आमाको नाम तुलसा देवी हो भनेर कागजात खोज्दा नागरिकतामा भेटेँ । आमालाई सोध्दा आमालाई नै यो नाम याद छैन भन्नु भो ।
कार्य व्यस्तताका कारण म आमालाई केही हप्ता बिराएर मात्रै भेट्न पाउँछु । आमा नातिनी आउँदा दङ्ग पर्नु हुन्छ । सानैदेखि मेरो बाबा-काकाले आमा भनेको सुन्दै आएकोले म हजुरआमालाई नि आमा भन्छु । आमा म घर आउँदै छु भन्ने थाहा पाउँदा आफ्नो खाटसँगैको झ्यालबाट आँखा थाके पनि निरन्तर मलाई कुरेर बस्नु हुन्छ । झ्यालबाट बाहिर हेरेर बस्नु, सायद आमालाई बच्चाबच्ची आउने आशाको पर्खाइ हो । यो कार्य आशाबाट सुरु भए तापनि हजुरबुबा बित्नु भए यता यो झ्याल उहाँको दिन कटाउने दौतरी बनेको छ । झ्यालबाट गाँउको गैरी खेत देखिन्छ, खेतका डिलमा विगत एक दशकमा लटरमै फलेका कंक्रिटका घरहरू र राज कुलोसँगै दुध पोखरी पुग्ने मुल बाटो । हिजो निकै राति आमालाई खबर नअरी आएका अनि केही चाड नभएकाले आमालाई म घर आएको पत्तो थिएन । उठ्ने बित्तिकै आमालाई जिस्काउन आमाको कोठा पस्दाँ आमा गैरी खेततिर परिरहेको झरी हेर्दै हुनुहुन्थ्यो ।

म सधै झैँ आमासँग गफ सुरु गर्न एकै प्रश्न तेर्स्याउँछु, “के गरिछ्यौ बुढी मान्छे !” यो प्रश्नले मलाई आमाको संसारको दैलो खोलिदिन्छ । आमा मेरो प्रश्नको जवाफ नदिई उल्टै मलाई प्रश्न गर्नुहुन्छ, “तँ आको त था’नै पाईनँ, झरीले चिसो भर चाँडै ओछ्यान सामाते हिजो । भात राख्देका थे कि नाई ? तेरोमरो पनि भनेर त आउनु पर्छ नि ।” म हाँस्दै आमासँगै खाटमा पसेँ अनि हामी दुवै खेत तिर हेर्न थाल्यौँ । आमा सधैं झैँ त्यो पहिलो प्रश्न तेर्साउनु हुन्छ ।
आमा: अनि उता बाउ, आमा, दाइभाइ सबलाई आराम नै छ नि? मावलाको आमा गाँउ त गा’छैनन् नि? नपठाउनु है आमालाई, बिचरीलाई सारै दु:ख छ । यहीं बसे बरु बुढेसकाला सास फेर्न पाउदिहुन् बर ।
म: सबलाई सन्चै छ । दाइभाइसँग खासै कुरा हुन्न के गर्छन् उनीहरूलाई नै था होला । आमा यसपाली जान्नकि ? बुबाले लिन आए भनि चै कसो था छैन ।
आमा: मावलाका बाले लिन आएनि नपठाउनु । उतै अर्की छदै छन् । आमा गए कैले जस पाउने हैनन् । काम गर्न नसकेनि गाममा सुख पाईन्न । छोरो आमालाई माया गरेर राख्नु है(मायालु भावमा)। बर १२ जना सन्तान भर नि कोही छोरा छैनन् । छोरा नभाझैं गर्न नदिनु । भाइ छुच्चो छ, केही भन्नु हुन्न भनेर बुझाउनु । बुढाबुढीको मन हो सारै कमलो हुन्छ बाबै । खुसी बनार राख है । यता त बस्न मान्दैनन् नत्र हामी दुईसँगै बस्थिम् ।
यति नभन्दै आमाको आँखा मैले बाटेको धागोमा जान्छ।
आमा: के कालो धागो लाकि होला ।(चित्त खासै नबुझेको भावमा) रातो धागो बाट्नु नि छोरी मान्छे भर ।
म हाँस्दै भन्छु, “यस्पालि दसैंमा केटा जसरी कपाल काट्छु आमा अनि धागोको टेनसन लिनु पर्दैन ।”
आमा हात उज्याउँदै, “खुब जान्नि भैछस् । छोरी मान्छे भर । हेर त धागो बिटसम्म बाटेकी । यसरी बाट्यो भने माइती बाटिन्छन् रे ।”
म: बालै भएन नि आमा । तिनीहरूले न खाना द्या छन् न कै ।
आमा: भन्छेस् नि बाबै ब्याअरेसी था पाउदिहोस् माईती । अलि माथि नै बाट्नु धागो ।
यति कुरा नसक्दै आमाऽऽऽऽऽऽऽ भन्दै सानो भाइ कोठाभित्र छिर्छ र मलाई देखेर, “यो केटी या पो रैछ। टोइलेट जान्छु भनेर तपाईंकोमा आइछे” भन्दै सिराकमा घुस्रिन्छ । मसँग हात खुट्टा दुवै प्रयोग गरी चल्न थाल्छ ।
आमा हाँस्दै, “यस्तो लाठे भर नि दिदीलाई तँ भन्छन्, लात्ती लाउँछन् त । तँलाई जूनको मुखमा किन दाग छ था’छैन ?”
भाइ च्याठिदै था छैन भन्छ।
आमा बिस्तारमा कथा सुनाउन थाल्छनु हुन्छ, ”जून र घाम दाजु-बैनी थे अरे । उनीहरूको बीच को बिहान आउने को राति आउने भनेर छलफल हुँदैथ्यो । अनि बैनीले राती डर लाग्छ बिहान काम गर्छु भन्दा जून रिसाएर बैनीको पेटमा लात्ती हान्छ । अनि उसले श्राप पाएर मुखभरि कोर निक्लन्छ । त्यसैले जूनको मुखमा दाग छ । दिदीको त खुट्टा ढोग्नु पर्छ ।”
कुरा नसिद्याउँदै, “खुब, खुब” भन्दै भाइ बाहिर निक्लन्छ । आमासँग सायद सबै परियोजनमा सुनाउन दन्त्यकथाहरू छन् । म आमातिर सर्छु र आमा मेरो टाउको मुसार्न थाल्नु हुन्छ ।
आमा: बत्ती पनि कैले बन्ने हो । मुइले त बिन्दावन, वन भन्थान्ति के हुन्थो(आश्चर्यभावमा) कस्तो रमाईलो र च । किस्नै किस्न, झलमल बत्ती, यमुना नदी । आफू त गाको हैन बाबै, टि.भीले देखाको । अहिले बत्ती नभर पानी पनि तताउन पा छैन ।
आमाले आफ्नो डाढ बेला बेलामा थिच्दै हुनु हुन्थ्यो । मैले सोधेँ, “आमौँ सन्चो छैन क्या हो ?”
आमा: आऽऽऽऽ केही भा’छैन। मलाई केही रोग छैन । कैलेकाई डाढ दुख्छ त्यो नि चिसोले । अहिले बत्ती नभर आगो ताप्न नि पा छैन ।
आमालाई तातो दिने अग्नि सबै आगो हो । चाहे त्यो हिटर होस् या ग्याँस स्टोभ ।
म: हट व्याग छैन र ?
आमा: बाउ हुदाँ ल्याको हट व्याग चुहिनी भाछ । अब भत्ता आसी किन्छु भनेर बस्याछु ।
म रिसाउँदै भन्छु, “खुब जान्याछ्यौँ। यत्रा छोराछोरी नातिनातिना छन् । माग्न सक्दिनौँ ।”
आमा: आऽऽऽऽऽ सबैको बित्दो छ । आफ्नो आफ्नो गर्या छन् । के दु:ख दिनु बरु दसैंमा जमरा राख्न आम्दा किमी लेर आइदे है मलाई । माथि भत्क्यापाटीमा कतै छैन । खुब मीठो हुन्छ । जमरा राख्न आम्नु नि फेरि ।
म: हस् आमै म आम्छु क्या । तिम्रो किवी पनि ल्यादिन्छु । यसरी मागे त हट ब्याग नि ले र आम्दो हुँ हिजै ।
आमाले जवाफ नदिदै म मेडिकल जान रेडी भएँ । आमा झरी छ, पछि जानु भन्दै हुनु हुन्थ्यो । म भने सुने नसुने झै निक्लिएँ ।