बुलडोजरमाथि चढेको बहुरुपी


Logo

Sudarshan


“There’s an old joke – two elderly women are at a Catskill mountain resort, and one of them says, “Boy, the food at this place is really terrible.” The other one says, “Yeah, I know; and such small portions.”

– Woody Allen, Annie Hall

श्रेयज सुवेदीको कथासंग्रह ‘बहुरुपी’ नेपाली साहित्यमा केही समयको अन्तरालपछि राम्रो चर्चा पाएको, र छलफलको विषय रहिरहन सफल भएको किताब हो । १५ कथाहरू समावेश ‘बहुरुपी’ लेखक सुवेदीको पहिलो किताब हो । यसअघि सामाजिक विषयमा केन्द्रित सृजनात्मक लेखहरू प्रकाशन गर्दै आएका सुवेदी साहित्यिक लेखनमा बलियो सम्भावना बोकेका लेखक हुन् भन्ने लागेको केही समय भयो । मेरो यस समिक्षा कथासंग्रहका प्रत्यक कथाहरूको बारेमा मलाई लागेका विचार र अन्त्यमा समग्र पुस्तकबारे हुनेछ । मेरो टिप्पणी खासगरि लेखनशैली, कथानक र पात्र वरिपरि रहनेछ ।

जुगाड

सबैभन्दा मन परेको र दिमागमा बसेको कथा हो- जुगाड । शिर्षक, पात्र र परिवेश सबै राम्रा छन् । समाजिक मानसिकता सबैभन्दा सुक्ष्म तरिकाले यस कथामा देखाइएको पाएँ । उर्मीलाको फोटोप्रतिको आकृष्ट, जुगाडको कारण, हडबडाहट, कहिल्यै नछाडेको मुख छाड्नु आदि सबै कथाको अन्तिम वाक्यमा बल्ल उजागर हुन्छ । कथा भन्ने यो शैली काम गर्यो भने पाठकको मस्तिष्कमा अमिट छाप छोड्न सफल हुन्छ तर कथाको सार्थकता/औचित्यको सम्पुर्ण भार अन्त्यमा छाडिदियो भने र त्यसले सोचेजस्तो प्रभाव पार्न सकेन भने पाठक असन्तुष्ट हुने सम्भावना हुन्छ । किताबका प्राय: कथाहरू यसै संरचनामा लेखिएकाले पनि पढ्दै जाँदा पाठकलाई थकान/Fatigue हुन सक्छ । सर्वप्रथम पढेको यो कथा भने यस कुराबाट पर छ ।

बउवा वेग में बा

आफ्नो आठ महिनाको छोरा बिरामी भएपछि कलैयाबाट काठमाडौं ल्याइरहेकी सुनरीदेवीको कथा हो यो । कथा उनको वर्तमानबाट सुरु हुन्छ । विगतमा पुग्छ, जहाँ उनी सानो उमेरमा भागेर छट्टुसित अन्तरजातिय विवाह गरेको, छट्टु साउदी काम गर्न गएको, छोरा विरामी भएपछि स्थानिय उपचारले नपुगेर काठमाडौं जान लागेको कुरा आँउछ । त्यसपछि, उनको सुमो गाडीको यात्रा, छोराको आकस्मिक निधन र मृत छोराको लासलाई कसरी घरसम्म पुर्याइन्छ भन्ने बारेको कथा हो यो । कथाको कल्पनाशिलता सुन्दर छ । यसको प्लट सादत हसन मंटोका कथाहरूजस्तै लाग्यो । छोराको मृत्यु, असाहयता र असमर्थताले गर्दा कथा कारुणिक बनेको छ । तर कथा लेखाइको हिसाबले भने निकै कमजोर छ । कथामा दृश्य धेरै छन् । यो किताबभरि नै दृश्य धेरै छन् । बीचतिर पुग्दा कथा- कथाबाट कथनतिर जान थाल्छ । घटनाको घटनबाट घटनाको बेलिबिस्तारतिर जान थाल्छ । कथाको अन्त्यलाई जति भारी बोकाइएको छ, त्यो justified छैन । 

असुरा 

असुरा धेरै मानेमा किताबको सबैभन्दा predictable र generic कथा हो । खासगरि जसरी कथा भनिएको छ, त्यसले पाठकलाई एकछिन पनि सास फेर्न दिदैन । एउटा cliche पछि अर्को cliche कथामा छन् । बस्नेत काजी, जुन नाम, पुरानो नेपाली फिल्मबाट तानेकोजस्तो सुनिन्छ, उनको मृत्युपछि बुहारी निशा र घरमा काम गर्ने चन्दा बीचको कुराकानीले कथालाई दिशा दिन्छन् । कथाले पुस्ताैंदेखिको हत्या, बलात्कार, अन्य याैन हिंसा, अन्याय, लाचारी, र अन्तिममा त्यसको प्रतिकार देखाँउछ । कथाका पात्रहरू प्राय: one dimensional छन् । जस्तो कि, बस्नेतकाजी ठूलो सम्मान र प्रतिष्ठा भएको तर हवसी । उसको छोरा प्रनेश- बाउको ख्याल राख्न विवाह गरेर शिक्षित बुढीलाई घरमा छोडेर काठमाडौं बसेको । चन्दा र उसका बाउ चाैधरी कमजोर भएकाले केही गर्न नसकी वर्षाैंदेखि अन्याय र उत्पिडन सहदै आएका । कथामा वास्तविक मान्छेजस्ता लाग्ने दुई पात्र निशा र शंकर हुन् । शंकरको विद्रोही स्वभाव idealistic छ र उसको मृत्युपनि कथाको निम्ति उचित देखिन्छ । तर जसरी उसको पात्रलाई कथामा ढिलोसम्म ल्याइदैन र एकैछिनमा ऊ गायब हुन्छ, त्यसले पात्रहरूमाथि invested हुने समय दिदैन । सतही तथ्य दिएर पाठक पात्रहरूको सुख, दु:ख, भाग्य र भविष्यमा invested हुन्छन् भनेर अपेक्षा गर्न सकिँदैन । निशालाई शिक्षित र अन्याय नसहने देखाइएको छ । आफ्नो लोग्नेसँग याैनको विषयमा अडान लिएको देखाइएकी ऊ कथामा चन्दालाई पनि आड र भरोसा दिलाउछे । ससुरासँग पनि बदला लिन्छे । कथामा प्रयोग गरिएको गुडियाको image राम्रो छ । कथा अलि cliched चाहिँ पक्कै छ । अनि कथामा छोटा वाक्य र सतही विवरणको बिगबिगी अति छ ।

राबडी

कथा भन्ने शैलीमा अति ambitious र complex कथा मध्यको कथा यो हो । कथामा मुख्य ४ पात्र छन् । बाउ पुजारी पत्थरकट्टा,  आमा राबडी, जुम्ल्याहा छोरा-छोरी: छेना र मुगा । उनीहरू आफ्नो पारम्परिक पेशा ढुङ्गाको काम (जस्तै सिलाैटो बनाएर बेच्ने) गर्छन् । कथाको सुरुवातमा आमा र छोरी नागढुङ्गाको जाममा छन् । उनीहरू काठमाडौंबाट सधैंको लागि आफ्नो शहर बुटवल फर्किदै छन् । कथा जाममा फसेको ठाँउबाट विगतमा दुई दिशातिर मोडिन्छ । एउटा तीनजना (बाउ, आमा र छोरी) को काठमाडौं आगमन, बसाईँ, पाएका दु:ख र हण्डरतिर भने अर्को बुटवलमै एक्लै बसेर काम गर्दै पढिरहेको छोरो छिनाको दु:ख, संघर्ष र सपनातिर । पात्रहरूको नाम रोचक छ  । पुजारी रक्सी खाएर बित्नु ironic लाग्छ । आफ्नो सामान नगरपालिकाले जफत गरेपछि राबडी र मुगा सम्भावनाबिहिन हुन्छन् । कोरोनाको हल्लाले सताइरहँदा उनीहरू आफू घर फर्कन गाडी चढेका हुन्छन् । उता छिना आफ्नो इमान्दारी र औकातकाे कारण ग्राहकबाट हेपिन्छ । जब उसलाई नचोरेको दोषमा पिटिन्छ उसले हात फर्काउँछ । यसको बदलामा गुण्डाहरूले उसलाई मार्न खोज्छन् । घरमा आगो लगाइदिन्छन् । उ ज्यान जोगाउँदै काठमाडौं लागि छुट्ने गाडीमा बस्छ र सधैंको लागि बुटवल छोड्छ ।

कथाको संरचना रोचक छ । वर्तमानबाट सुरु गरेर, विगतमा पुगेर फेरि वर्तमानसम्म आइपुग्दा वर्तमानले फरक र गहिरो अर्थ बोक्न पुग्छ । तर घटनाहरू आफैंमा पत्यारिला लाग्दैनन् वा अति सजिलै घटेकाले घटनाको गाम्भिर्यताको प्रभाव पाठकको मस्तिष्कमा पर्दैन । जस्तो कि, कथाभित्र एक ठाँउमा पुजारीले पिट्दा राबडीले अघिल्ला ४ सन्तान नजन्मिदै गुमाउनु परेको बताइन्छ । जबकि यस्तो गम्भिर घटनाले पात्रहरूबीचको सम्बन्धमा देखाइएको भन्दा बढी complexity हुनुपर्ने हो जस्तो लाग्छ । अर्को, यस कथामा मात्रै होइन, ‘बहुवा बेग मे बा’ कथामा पनि महत्वपुर्ण घटना घटिरहेको समयमा कि फोन हराएको छ कि फुटेर काम नलाग्ने भएको छ । यो, आफैंले खडा गरेको रोगको आफैंले उपचार दिएजस्तो मात्रै देखिन्छ । कथाको plot hole पुरेजस्तो मात्रै ।

मथुली

मथुली किताबकी अर्की सशक्त पात्र हो । ऊ किशोरी छे, भर्खर पढ्दै छे, चकचके छे र आफ्नो मनको मालिक छे । तर ऊ केटी हो र मधेसको परिवेशमा सानो उमेरमा केटीको बिहे हुन्छ । उसले धेरैबेर सपना देखी भने खाना डढ्छ । मानिसहरू उसलाई हेरेर ‘लड्की जैसन फिगरा, लड्का जैसन जिगरा’ भन्छन् । घरमा बाउआमाले आफ्नो इच्छा अनुसार सम्हाल्न नसकेकी मथुलीलाई जब बिहेको प्रस्ताव आँउछ तब ऊ लुक्छे । अर्कोपटक आमाले विख खाने धम्की दिएर केटा पक्षको अगाडि पुर्याउँछे । मथुलीलाई खसी, बोका हेरे जसरी कहिले के गर्न लगाएर, कहिले के गर्न लागाएर जोखिन्छ, अड्कलिन्छ । केटाको फोटोमात्रै देखाएर, बिना दाइजो बिहे गराइन्छ । बिहे घर पुगेपछि मात्रै मथुलीले थाहा पाँउछे कि देवरको फोटो देखाएर उसको विवाह मानसिक सन्तुलन ठिक नभएको केटासँग गराइएको छ । केटाको नाम नथ्थु ! मथुली विद्रोह गरेर माईत जान खोज्छे तर सासुको दुर्व्यवहार (खुट्टामा अगुल्टो झोसिनु) ले उसलाई जान दिँदैन । लुकेर सन्देस पठाँउछे तर माईतबाट ‘त्यतै बस्’ भन्ने खबर आँउछ । त्यसपछि उसलाई रातिमा देवरले आएर बलात्कार गर्छ । कसैलाई भनिस् भने मार्दिने धम्की दिन्छ । मथुलीले भाग्ने निधो गर्छे । रातिको समय नथ्थुलाई लिएर ऊ निस्किन्छे । बसमा चढेर उनीहरू पश्चिमको यात्रामा जान्छन् । एक ठाँउमा, सुतिरहेको नथ्थुलाई बसमा छाडेर मथुली आफ्नो नयाँ जिन्दगीको सुरुवात गर्न निस्किन्छे । 

कथा सरल छ र कथाले भन्न खोजेको कुरा स्पष्ट छ । मथुली मधेसमा आफ्नो इच्छा विपरित बिहे गराइने र जिन्दगीभर अरु कसैको छायाँमा बाँच्नुपर्ने नियतीका भागिदार माहिलाहरूको निम्ति अपवाद बनेर आँउछे । लेखकले उसको सुन्दरताको बयान गर्दा केही पृथक विवरणहरू ल्याएका छन् । कहिलेकाहीं भाषा अति भावुक लाग्छ जस्तो कि गुलाबी रङ्गको आकाश मन नपर्नु किनकि गुलाबी रङ्गले उसको जिन्दगी बिगारिदियो (पृ.५७) । कथाको अर्को कमजोरी तथ्यहरूको जथाभावी उपस्थिति । सम्पादनमा मिलाउन सकिने कुरा, जस्तै बिहे अघिसम्म कतै उल्लेख नभएका उसका दुई बहिनीहरू बिहे भइसकेपछि मात्र उल्लेख हुन्छन् । त्यस्तै नथ्थु कतै नहराओस् भनेर उसको हातमा नाम, र सम्पर्क ठेगाना लेखिएको गोदानालाई गाजलले पोतेर ढाकिएको देखाइएको छ । कथाकारले आफैंले सिर्जना गरेको logical flaw लाई जसोतसो पुरेको जस्तो मात्र देखिएको छ । 

२२

कथाको सुरुवात मधेसको लवजमा narration बाट सुरु हुन्छ । कथाले दाइजो प्रथा र त्यसले फैलाएको अपराधलाई सृजनात्मक ढङ्गले प्रस्तुत गरेको छ । एउटा गाँउको पसललाई setting बनाएर कथा भनिएको छ । त्यहाँ पर-परबाट मानिसहरू आँउछन्, पसल छेउको काउन्टरमा बिहेको कार्ड र फोटो दिएर जान्छन् । दिनुको उद्देश्य बेहुलीलाई मार्नु । दाइजो नपाएका केटा पक्षहरूले contract killing को लागि आउने ठाँउ जसरी शम्भुको पसललाई देखाइएको छ । शम्भु मट्टीतेल लेखेर सेभ गरिएको नम्बरमा फोटो पठाँउछ र फोन बन्द गर्छ । जब २२औँ नम्बरको client ले खोपीबाट कार्ड र फोटो दिन्छ, तब शम्भुले देख्छ नाम- मारिने रोजी कुशवाह र मार्न लगाउने- राकेश कुशवाह । सम्झिन्छ केही समयअघि सबैलाई आफ्नो छोरीको बिहेको कार्ड बाँड्दै हिँडेको ।

कथा अब श्रेयज सुवेदको Point of View मा आँउछ । अहिलेसम्मको कथा सुवेदीको अफिसमा काम गर्ने केटो पवनले सुनाइरहेको हुन्छ । ऊ श्रेयजलाई आफ्नो कथा छपाइदिन अनुरोध गर्छ । कथामा पवन श्रेयज सरको घुम्तीवाला चियापसलको चाचासँगको सम्बन्धको बारेमा पनि चियोचर्चो गर्छ तर त्यसले सुवेदी झर्किन्छन् । पवन गइसकेपछि उसको कथालाई आफ्नो नाममा छपाउन सम्पादकलाई दिन्छन् र ‘बाबा’ नामले सेभ गरिएको नम्बरमा फोन गर्छन्, जुन फोन घुम्तिवाला चिया पसले चाचाले उठाउँछन् ।

यो कथा मैले नबुझेको हो कि मैले बुझेँ जत्तिकै सरल हो मलाई थाहा छैन । पहिलो कथा- पवनले भनेको- धेरै मानेमा ठिक छ । एउटा खड्किएको कुरा शम्भुको उमेर खुलाइएको छैन । त्यसले जब कथाको रहस्य उजागर हुन्छ, तब पाठकलाई बुझ्न केही समय लाग्छ । बाँकी ठिक लाग्यो । दाइजो लिएको पात्रले दाइजो बारे लाज नमानी कथा लेखेको पनि रोचक थियो । कथा पवनको narration बाट श्रेयजको narration मा आएपछि नचाहिनेगरि meta भएको छ । घुम्तिवाला चाचाको subplot र कथा त्यहाँ लगेर अन्त्य गर्ने निर्णय मैले बुझ्न सकेको छैन ।

रातो वर्षा

छाउपडी प्रथा/महिनावारीका कुरितीलाई address गरिएको यो कथाको premise रोचक छ । माहिनावारी हुँदा बितेपछि स्वर्गभित्र पनि जान नपाएका माहिलाहरूको एउटा विशाल बस्ती स्वर्गको पर्खाल बाहिर बनेको छ । मरेबाट अहिलेसम्म उनीहरूको महिनावारी रोकिएको छैन । उनीहरू स्वर्ग पस्ने अनुमति कुरिरहेका छन् तर भित्रबाट केही खबर आएको छैन । त्यो बस्तीमा धुँवाले निसास्सिएर बिहेकै राति गोठमा मरेकी बुहारी छिन् । सर्पले टोकेर १४ वर्षमा बितेकी बहिनी छिन् । आगोमा जलेर मरेकी काकी छिन् । पालैपालो यी पात्रहरूको पृष्ठभूमी बताइसकेपछि एकदिन स्वर्ग बाहिर प्लेकार्ड र नाराहरूसहित आन्दोलन भइरहेको देखाइन्छ । स्वर्गबाट पनि न्याय नापइने देखेपछि उनीहरूले योगमायाको झल्को दिनेगरि समाधी लिन्छन् । त्यस समाधी धर्तीमा रातो वर्षा बनेर झर्छ ।

श्रेयज सुवेदीको बलियो पक्ष कल्पनाशिलता हो भन्नेमा यहाँसम्म आइपुग्दा कुनै शंका रहँदैन । यो कथा पढिरहँदा बेलाबेलामा  यसलाई अझ बढी descriptive बनाउन सकिन्थ्यो जस्तो लाग्यो । कथाको premise गज्जब छ । तर बस्तीको विवरण अति surfacial । जसले गर्दा लेखकले यति मज्जाले सोचेको metaphor निकै पातलो महसुस हुन्छ । स्वर्ग बाहिरको बस्तीलाई, त्यस वरपरको वातावरण र जीवनशैलीलाई ल्याएर, अझ जीवन्त बनाउन सकिन्थ्यो जस्तो लाग्यो । समग्रमा किताबका राम्रा कथाहरूमध्ये ‘रातो वर्षा’लाई लिन सकिन्छ ।

मृत्युको ऐया

यस किताबको सबैभन्दा प्रयोगात्मक कथा मृत्युको ऐया हो । कथा मरेकी केटीको दृष्टीकोणबाट भनिएको छ र जन्मिनसकेकी बहिनी (रानी बिटिया) लाई सम्बोधन गरेर लेखिएको छ । अन्तरजातिय प्रेमको मुद्दा उठाइएको यो कथामा म पात्रले कसरी ऊ एक असल परिवारमा हुर्की, माया पाई, पढ्न पाई र पढ्नको लागि काठमाडौं गई, कसरी उसलाई अचानक घर बोलाइयो, अर्को जातको केटा अनवरसँग सम्बन्ध भएको कुरा थाहा पाएपछि कसरी उसलाई घरभित्र थुनियो र उसले विचार बदल्न नमानेपछि कसरी आफ्नै बाबा-आमाले बिख खुवाएर मारे भन्नेसम्म देखाइएको छ । म पात्रले आफ्नी नजन्मिसकेकी बहिनीलाई भन्ने, तिमी जन्मिएपछि मम्मी-पापालाई मात्रै प्रेम गर्नु । पछि कथामा रानी बिटियाले गर्भमै आफूलाई मारेको कुरा देखाइएको छ । 

कथाको मुल कथाः फोटोमा झुन्डिएको म पात्रले बहिनीलाई गरेको सम्बोधन राम्रो छ । त्यसभित्र पनि केही चित्त नबुझेका कुरा छन्, जस्तो कि Deux Ex Machina जसरी Out of Nowhere फुपूको छोरो राहुलको कथामा आगमन । उसको एउटा मात्रै भुमिका narrator र अनवरको फोटो leak गर्नु । कथाको आवश्यकताको लागि हावाबाट फुत्त पात्र ल्याएर फेरी कहिल्यै त्यसको जिकर नगर्नु कच्चा लेखन लाग्छ । कथालाई experimental बनाउन सुरुको पाठकलाई stage direction दिए जसरी दिइएको घरको विवरण, र अन्त्यमा बहिनीको निधन आएको छ । जुन, हुनुभन्दा नहुनुले कथाको सार्थकता बढी आउने मेरो ठम्याइ छ । 

बहुरुपी

‘शैलुनको शिशा’ शिर्षकमा तीन कथा निकै विक्षिप्त पात्रहरूको बारेमा छ । एकैछिन अडिएर सोच्ने हो भने कुन कथाको पात्रका बानीहरू कस्ता हुन् भन्ने कुरामा झुक्किन थालिन्छ । ‘बहुरुपी’ किताबको शिर्ष कथा भएकाले यसबाट मलाई निकै आशा थियो । कथानकको हिसाबले त्यो आशा लगभग मेटियो । कथनमा केही खट्कियो । गाँउमा सिनेमा नपुगेको बेला मनोरञ्जनको माध्यम बहुरुपी आफूमा दर्शक बोक्ने सिङ्गो सिनेमा-हल भनेर देखाइएको छ । कथा निकै ambitious छ । कथलाई सिनेमा नै बनाउन सकिने सम्मको detailing छ । एउटा मान्छे ७ दिन सात रुप फेरेर डुल्छ । प्रत्येक रुप पछाडि छुट्टै कथा छ । ऊ सात दिन बच्चा बोकेकी महिला, काली मा, यमराज, बोलाइ, खेलाैना बुई चढेको बालक, लैला मजनु फिल्मको ऋषी कपुर र अन्तिम दिन भिख माग्दै हिँड्ने माहिलाको रुपमा देखा पर्छ । कथाले आँटेको narrative approach अति फिल्मी छ र Slumdog Millionaire को direct influence यस कथामा देख्न सकिन्छ । कथाले अन्त्यमा हामी सबै बहुरुपी हाैँ र हाम्रो वास्तविक अनुहार कसैले देख्न पाँउदैन जस्तो ज्ञान दिन्छ । यस कथालाई केही कुराले दबाएको छ भने त्यो हो- धेरै तर सतही विवरण । पात्र र परिस्थीति यति धेरै र यति छिटो आउँछन्, जान्छन् कि कुनैपनि पात्रले राम्ररी छाप नै छोड्न सक्दैनन् । भाइको नाम पनि थाहा हुन नपाँउदै भाइ मर्छ । दिदीको केसमा पनि त्यही । दृश्यमा देखाउन सकिने तर नलेखिएका धेरै विवरण किताबभरि छन् । यस लेखनशैलीले सबैभन्दा बढी यस कथालाई असर गरेको छ ।

प्रतिबिम्ब

किताबमा सबैभन्दा पातलो premise भएको कथा हो- ‘प्रतिबिम्ब’ । यसलाई पनि सायद सिनेमामा बढी राम्ररी देखाउन सकिन्छ तर कथाको रुपमा यो अति फिल्मी छ (pun intended) । बिम्ब अधिकारीलाई ऐनामा आफ्नो प्रतिबिम्ब हेर्न हुँदैन (नाम कसैले सरापेर राखिदिएजस्तो सुनिन्छ) । उसको रोग के हो बताइएको छैन तर लक्षण यो हो कि उसले ऐनामा आफूलाई देख्यो भने फिल्मका पात्रहरूको personality उसमा चढ्छन् । कहिले ऊ जुडवा फिल्मको सलमान खान बन्छ, कहिले बाजिगरको शाहरुख । कहिले फिल्मको नाना पाटेकर त कहिले राजा हिन्दुस्तानीको अमिर खान । त्यसकारण उसको टुकटुके फोन छ, झ्यालमा पत्रिका टाँसिएको छ, प्लास्टिकका भाँडा चलाउँछ आदि, इत्यादि । लोकसेवा पास गरेर नेपाल राष्ट्र बैंकमा काम गरिरहेको ऊ काठमाडौंमा एक्लै बसिरहेको छ । एकदिन अन्जान व्यक्तिबाट उसलाई पार्सल आँउछ । पार्सल खोलेर हेर्दा ऐना हुन्छ । उसले आमालाई कहिल्यै ऐनामा प्रतिबिम्ब नहेर्ने वचन दिएको हुन्छ । तर एक्लै भएकाले ढिलो-चाँडो हर्न थाल्छ । कथा यहाँबाट सुरु भएर उसको विगत र वर्तमानसम्मको यात्रालाई पेश गर्छ । उसले सानोमा पाएको प्रोत्साहन तर ठूलो हुँदै जाँदा उसका सपनामाथि लागाइएको बन्धन र त्यसले निम्त्याएको असर नै कथाको मुल मर्म हो । बा-आमाले खोजिदिएको केटी हेर्न जाँदा, बैंकमा काम गर्न जाँदा, गाडीमा चढ्दा, जुनसुकै बेलामा पनि उसको अवस्थाले उसलाई सामान्य बनेर बाँच्न दिदैन । कथाको अन्त्यमा लोकसेवाको जागिर छोडेर ऊ घर फर्किन्छ, जहाँको स्थानीय सिनेमा-घरमा टिकट काट्ने मान्छे बनेर बस्छ । यता अचानक out of nowhere एक पात्रको परिचय दिइन्छ, सुबोश मिश्र, जो लोकसेवामा बिम्ब अधिकारीको पछाडि नाम निकालेको व्यक्ति थियो । अन्त्यमा बिम्ब जागिरबाट हराएकाले सुबोधले जागिर पाएको देखाइएको छ । जागिर पाउनकै लागि सुबोधले बिम्बलाई ऐना पठाएको पनि भनिएको छ । तर लेखकले आफ्नो कथाको पूरा ओज रहस्यमा थोपरेको भान हुन्छ । रहस्यमा भन्दा बढी बिम्बकै कथामा मेहेनत गरेको भए, कथाले suspense को टेको लिनुपर्ने थिएन । घटना र क्रियाहरू जम्न नपाँउदै कथा हल्लिन्छ । कथामा दृश्य यति धेरै छ कि घटनाको बेलीबिस्तार गर्न १० वटा दृश्य नै ल्याइएको छ । यो कथा कथाभन्दा बढी फिल्म बन्न योग्य छ ।

माैतका कुवा

प्रयोगले सबैभन्दा राम्रो काम गरेको कथा ‘माैतका कुवा’ हो । घाम अस्ताउँदो समयमा फोटोग्राफर सुवास नारायणी किनारको माहोल खिचिरहेको छ । फोन गरेर उसकी आमाले उसलाई राष्ट्रिय फोटो प्रतियोगितामा जितेको खबर सुनाँउछे । केहीबेरमा उसको भेट गाँउमा छुटेको साथी कत्ले कुमारसँग हुन्छ । उनीहरू सामान्य बातचितपछि अर्को साथी घन्टाउकेलाई भेट्न नारायणी तीरमा लागेको मेलातिर जान्छन्, जहाँ ‘माैतका कुवा’को पण्डालभित्र पसेपछि कुमारसँग सुवास छुट्टिन्छ । त्यसपछि कथाले स्वैरकल्पनाको यात्रा गर्छ । यस माैतका कुवामा गोली लागेका दलितहरू छन्, बलात्कार गरेर मारिएका माहिलाहरू छन्, हात काटिएका शिक्षकहरू छन्, टाउको काटिएका कृषकहरू छन् । हरेकको शरीरमा कि त श्रीपेचको छाप छ कि हँसिया-हथाैडाको छाप छ । सुवासलाई यो सपना हो या विपना छुट्याउन गाह्रो पर्छ । उसले बिस्तारै ती सबै मानिसहरूलाई चिन्छ र सम्झन्छ कसरी तिनीहरू माओवादी जनयुद्धको समय मारिएका/बेपत्ता पारिएका थिए । ती बेपत्तामध्ये एक आफ्नै बाउलाई पनि ऊ त्यस माैतको कुवाको कारागारभित्र भेट्टाउँछ । जब ऊ एक्कासी नारायणी किनारमा ब्युँझन्छ, तब त्यो सब सपना भएको थाहा हुन्छ । यो सपना देख्नुको कारण उसले खिचेको बेपत्ता नागरिकका आफन्तको फोटोले प्रतियोगितामा जितेको थियो र ऊ त्यसै सोचमा डुबेको थियो । प्रतियोगिताको पुरस्कार लिन जाँदा उसले माैतका कुवामा भेटेका मानिसहरूका आफन्त उनीहरूलाई कुरिरहेको देख्छ । मञ्चमा पुरस्कर लिँदा चेक दिने अतिथीको हातबाट रगत बगेको देख्छ र त्यो रगतले पुरस्कार राशी १,७०,००० बाट एउटा शुन्य मेटाएको पाँउछ । लेखकले लेख्न खोजेको कथामा execution को हिसाबले सबैभन्दा नजिक पुगेको कथा ‘माैतका कुवा’ लाग्यो । पात्रहरू, स्वैरकाल्पनिक परिवेश, बिम्ब सबैको सन्तुलत यसमा मिलेको छ । हालाकी जनयुद्धका विवरणहरू कुनैपनि नयाँ वा माैलिक लाग्दैनन् । हँसिया, हथाैडा, श्रीपेच, गोल्डस्टार जुत्ता, नारा सबै धेरैपटक सुनिएका र अति generic details हरू हुन् । कथाको मुल बिम्ब माैतका कुवा भने राम्ररी प्रयोग भएको छ ।

हजरात हजरात

‘हजरात हजरात’ उपस्थिति र अनुपस्थितिको कथा हो । कथाका दुई पात्र लल्लु र मुकेश, बच्चैदेखिका साथीहरू, घरबाट भागेर राैतहटको सिनेमा-घरमा प्रचारको काम गर्छन् र सँगै बस्छन् । नयाँ सिनेमा आउनासाथ त्यसका डायलग कन्ठ पार्ने, र बजारभरि पोस्टर टाँस्दै माइकिङ्ग गर्ने उनीहरूको काम हो । लल्लु राम्रो अक्षर भएको मुकेशलाई माधुरी दिक्षितको नाममा चिठ्ठी लेखिमगाउँछ तर माधुरीको नाम लेख्ने ठाँउमा केहीपनि नलेख्न लगाउँछ । उसका फिल्म हेरेको र अति प्रसन्न भएको कुरा टिपाउँछ । लल्लु र मुकेश एकअर्कासँग मिल्छन् पनि लड्छन् पनि । उनीहरूको दोस्ती Abbot र Costello वा मोटु-पत्लुको जस्तो लाग्छ । लल्लु वास्तवमा माधुरीको फ्यान भनेपनि जोनी लिभरलाई मन पराउने हुन्छ । त्यसैले माधुरी र जोनी लिभर भएको फिल्म आँउदा मात्रै उसले मुकेशलाई चिठ्ठी लेख्न लगाउँछ र माधुरीको नाम नलेखिएको चिठ्ठीमा जोनी लिभरको नाम राखेर पठाउँछ । कथामा यो reversal रोचक लाग्छ र अपत्यारिलो लाग्दैन । तर जुन तहसम्म लल्लुले जोनी लिभरलाई मन पराएको देखाइएको छ, जहाँ cliched शैलीमा जोनी लिभरलाई कल्पिएर अङ्गअङ्ग छुन्थ्यो, स्खलित हुन्थ्यो भनेजस्तो अथवा पठाएका चिठ्ठीहरूको response नआउँदा ऊ एकदिन पत्र आफै पुर्याउन मुकेशलाई पनि नभनी पसेको छ, जुन कथाको विश्वशनियतामा अट्दैन । कथा, शैली र concept मा निकै पृथक छ । नेपाली साहित्यले समलैङ्गिता वा पारलैङ्गितकताका कथाहरू खोज्दा याैनिक आशक्तिमा मात्र सिमित नभएको यो कथाले राम्रो दिशानिर्देश गरेको छ ।

लिबिस्टिक

‘लिबिस्टिक’ कथा विभेदको बारेमा र बाल मनोविज्ञानको बारेमा छ । विशेष त रङ्गको आधारमा हुने विभेद र त्यसले बालबालिकाको मस्तिष्कमा पार्ने असरको बारेमा । अच्छेलाल मरिकको परिवारलाई सुँगुरले धान माडेको कारण ४ वटा सुङ्गुर जरिवाना तिर्न लगाएर  घर भत्काइन्छ । उनीहरू त्यसपछि भिमफेदी आएर बस्न थाल्छन् । छोरा बुधनले साथीहरू गुमाउँछ । फिमफेदीमा एक्लो हुन्छ । एक्लै टायर गुडाउँछ, सेते, जुन मालिकको कुकुर हो, सँग खेल्छ । उसलाई त्यहाँका केटाहरूसँग खेल्न मन छ । तर उसलाई स्विकारिदैन । बुधन चाैरको छेउमा बसेर अरुले बल खेलेको हेरेर मात्र बस्छ । एकदिन केही केटाहरूले उसलाई आफूतिर बोलाउँछन् । ऊ उत्साहित हुँदै जान्छ । तिनले उसको हातसँग आफ्नो हात दाज्छन् र उसको कालो हातमा थुकिदिन्छन् । बुधन निराश र तिरस्कृत घर फर्कन्छ । सेते खाना खाइरहेको हुन्छ । ऊ सेतेसँग हात माग्छ, सेतेको सेतो हातमा बाबाले ल्याएको कालो मोबिल लिपिदिन्छ, अनि कथाको मीठो अन्त्यमा, अरुले उसको हातमा गरेजसरी सेतेको कालो भएको हातमा थुक्दैन, बरु मुन्टो झुकाएर चुप्पा खाइदिन्छ । यसरी बुधनको ओठमा मोबिलको मीठो लिबिस्टिक लाग्छ । यो कथा निकै सुन्दर छ । बालबालिकाको मनोविज्ञान यसमा राम्ररी देखाइएको छ । फरक हुनु र त्यसकारण अलग्याइनुको पीडा बुधनको सम्पूर्ण परिवारले भोगेको छ । विभेदको कुरालाई कथाले अति सुक्ष्म तरिकाले उठाएको छ । सुरुवाती विवरणहरूले कथालाई अलि गह्रौं’गो बनाएजस्तो लागेपनि समग्रमा कथाले उठाउन खोजेको विषयलाई न्याय गरेको छ । कथाले सत्यजीत रेको सर्ट फिल्म ‘Two’को याद दिलाँउछ ।

बैराठपुर

किताबको अन्तिम कथा ‘बैराठपुर’ दक्षिण भारतीय सिनेमाको झल्को दिलाउने खाल्को छ । तत्मा दासको १२ बर्षको छोरा भुँवर (नाममा चलाखी), गाँउको पोखरीमा मृत फेला पर्छ । दलितको छोरा डुबेकाले उसको लास निकाल्न समेत ‘ठूला जातका’ मान्छेको अनुमति कुर्नु परेको कुरा कथामा छ । अर्को छोरा बागड, जसले यो सब देख्यो, जो बोल्न सक्दैन, उसलाई ८ वर्षको उमेरमा गाँउको महाजन माइला ठकुरीको छोरा लक्ष्मण ठकुरीको घरमा काम गर्न शहर पठाइन्छ, जहाँ उसले हेला र यातना भोग्छ । १० वर्षपछि गाँउ फर्कँदा उसले बाउलाई माइला ठकुरीको घरमा, उनको जुत्ता आफ्नो शीरमा राखेर बसेको पाँउछ । उसलाई पनि त्यही गर्न भनिन्छ । कथा बढ्दै जाँदा गाँउका सन्त माैनी बाबाले नाटकको माध्यमले गाँउमा लुटपाट हुन लागेको संकेत गर्छन् । सोही अनुरुप गाउँलेहरू मालिक र आफ्ना गाईवस्तु लिएर सुरक्षित ठाँउमा लुक्न जान्छन् । मधेस आन्दोलनपछि सक्रिय भुमिगत समूहले निरन्तर दबाब दिइरहेको अवस्थामा माइला ठकुरीले बागडकको बाउ तत्मा दासलाई प्रलोभन देखाएर डाकाहरू आएको बखत बन्दुक लिएर सुरक्षा गर्न उक्साउँछन् र त्यसै क्रममा बाउ गोली लागेर मर्छन् । उता बागडले बाउ मरेपछि मात्र थाहा पाँउछ । सानोमा दाइलाई वर्जित पोखरीमा नुहाएकै कारण मारिएको सम्झिन्छ । आमाको वेदना सम्झिन्छ । उसमा विद्रोहको भाव पैदा हुन्छ । प्रहरी भूमिगत समूहलाई नियन्त्रण गर्न नसकिरहेको बेलामा गाँउकै केटाहरूलाई बन्दुक दिएर आत्मरक्षाको तालिम दिन्छ । बागडले हातमा आएको बन्दुकको सहारामा क्रान्ति गर्न थाल्छ । माइला ठकुरीको घरमा गएर उनलाई टाउकोमा जुत्ता राख्न लागाँउछ । गरीबहरूका तमसुक फिर्ता गरिदिन्छ, चाैपाया फिर्ता गरिदिन्छ । मसिहाको रुपमा चिनिन थाल्छ । यता प्रहरीले हतियार दिएका केटाहरूलाई प्रहरीले नै पासोमा पारेर हत्या गर्छ र समाचारमा भूमिगत समूहका सदस्यहरूलाई मारेको कुरा फैलाउँछ । गोली लागेपनि बागड जसोतसो उम्किन सफल हुन्छ । कथाको अन्त्यतिर पोखरीमा एउटा लास तैरिरहेको भेटिन्छ । लास माइला ठकुरीको हुन्छ । घटनाको ५ वर्षपछि, माैनी बाबा बितेको १५ दिनपछि गाँउमा अर्को एक बाबाको आगमन हुन्छ । लामो दाह्री, लामो कपाल पालेको त्यस बाबा अरु कोही नभएर बागड भएको संकेतमा कथा सकिन्छ । कथामा सतहभन्दा तल केही छैन । जे छ सतहमै । कथा सतही छ । घटनाहरू अति फिल्मी र अति अपत्यारिला लाग्छन् । यस कथामा मात्रै हैन, हरेक कथामा पल्ट एउटा पोइन्टबाट अर्कोमा पुग्न यतिधेरै variables ले काम गर्नुपर्ने हुन्छ, कि कथाकारले सजिलै भनेजस्तै घटना घट्छन् जस्तो लाग्दैन । 

समग्रमा

कथाहरू पढिसक्दा श्रेयज सुवेदी कल्पनाशील र दृश्यात्मक कथालेखनमा रुची राख्ने कथाकार हुन् भन्ने बुझिन्छ । नेपाली समाजका विभिन्न आयाम र समस्याहरू रोचक शैलीमा यस पुस्तकमा प्रस्तुत भएका छन् । कथानकमा यस संग्रहका सम्पूर्ण कथाहरू बलिया छन् तर लेखनशैलीमा उनको अपरिपक्वता स्पष्ट देख्न सकिन्छ । धेरै मानेमा यस पुस्तकलाई राम्रो सम्पादकको अभाव खट्किएको अनुभव हुन्छ । कथाका plot हरू प्राय: पत्यारिला लागेपनि घटनाको बेलीबिस्तार अपत्यारिलो लाग्छ । कहिलेकाहीँ लेखक नै अति भावुक भइदिँदा आफू रोएर पाठकलाई रोइ भनेजस्तो लाग्छ । समकालिन नेपाली आख्यानमा लामो समयसम्म हावी internalization शैली(अमर न्याैपाने, बुद्धिसागर)बाट निस्किएर घटना र दृश्यात्मकतिर ढल्किएको लेखन पाठककको लागि राम्रो संकेत हो । चेखबले भनेजस्तै ‘Don’t Tell Me the Moon Is Shining; Show Me the Glint of Light on Broken Glass’ भन्ने मापदण्ड लेखकले शत्प्रतिशत हाँसिल नगरेपनि उनी दृश्य र घटना केन्द्रित कथा लेखनमा लाग्नुले कथा आफैंले बोल्नुपर्छ भन्नेमा उनको मत देखिन्छ, जुन राम्रो संकेत हो । लेखकले लेखाइको बहकावमा लेख्ने तर सम्पादनमा काट्नुपर्ने विभिन्न cliche हरू कथामा राख्दा पाठकलाई दिक्क बनाउन सक्छ । त्यसमा सबैभन्दा दिक्कलाग्दो cliche word association हो । काम गर्यो भने यसले लेखाइमा माधुर्य ल्याउँछ, जस्तो लेखकको अन्नपुर्ण फुर्सदमा छापिएको पहिलो लेख- ‘उ-हारी, बुहारी’ । तर एकचोटि काम गर्यो भन्दैमा हरेक ठाउँमा त्यसको प्रयोग जायज हुँदैन । किताबमा भेटिएका केही word association हरू:

१. छोरोको तातो शरीरले सुनरीको डरलाई अझै रातो बनाउदै छ ।
२. असुराजस्तो ससुरा
३. आत्मबल टिटिबल जत्तिकै सानो भयो
४. जहाँ पाप्रा उप्किएका छाप्राहरू छन्
५. क, ख लेख्न मैले घरमै सिकेँ । सिधै केजीमा भर्ना गर्दा म १५ केजी पनि थिइनँ होला ।
६. कलेज गेटको पहिलो भेट
७. यादमा आउने मान्छेहरू वादमा कहिल्यै आउँदैनन्
८. हारको हार लगाएर उल्लु जसरी उसले रातलाई ढुक्यो
९. उनको आँखामा डर जन्म्यो, कुन कालान्तरमा भाइ बन्न सकेन । चाहना रेट्ने कसाई मात्र बन्यो । 
१०. बुबाको इखमा बिख लाग्यो

यही टिप्पणी कथाको structure मा पनि गर्न सकिन्छ । यसका आधाभन्दा बढी कथा वर्तमान, विगत र फेरि वर्तमानमा आएर टुङ्गिन्छन् । लगभग हरेक कथाको कथार्सिस सस्पेन्स र revelation मा छाडिएको छ । यसले एउटा कथाबाट अर्को कथालाई छुट्याउन गाह्रो पारेको छ । साथै हरेक कथामा धेरै तर सतही विवरणले कथा निकै जेलिएको तर गहिराइमा नडुबेको भान हुन्छ । किताब पढिसकेपछि हेरेको एक अन्तर्वार्तामा लेखक स्वयंले आफूलाई किताबका कति पात्रहरूको नाम याद नरहेको कुरा स्विकारेका छन् । यो असामान्य होइन तर दिमागमा एउटा निर्धारित plot छ र कथालाई जसरी पनि एउटा बिन्दुबाट अर्को बिन्दुसम्म पुर्याउनु छ भने लेख्दै जाँदा जतिपनि plot hole हरू आँउछन्, वा logical flaw आँउछन्, त्यसलाई लेखकले कमजोर तर्क दिएर टाल्न बाहेक केही गर्न सक्दैनन् । जस्तो किताबका कति कथाहरूमा चाहिने बेलामा सधैं फोन हराँउछ वा फुट्छ, वा बन्द हुन्छ । आफूले निर्धारित गरिसकेको अन्त्यमा कथालाई जसरी पनि पुर्याउन खोज्ने यस Bulldozer शैलीले सम्भावना भएका कति कथाहरूलाई राम्रो ठाउँमा लगेर छोड्न सकेको छैन । त्यस्तै कथामा यादगार पात्रहरूको कमी छ । प्राय: पात्र generic र cutout लाग्छन् । पाठकहरू पात्रको दु:ख, सुखसँग तबमात्र invested हुन्छन्, जब उनीहरूको मानवीयतालाई लेखकले शब्दमा उतार्न सक्छन् । भाषिक चलाखी र plot heavy structure ले कथाहरूलाई relatable बन्न दिएकाे छैन । यसले जो पात्र मरेपनि बाँचेपनि सिनेमाको passive viewer जस्तो पाठकहरू unaffected रहन्छन् । यसो भन्दैगर्दा किताबले कथानकमा गरेका कति प्रयोगहरू नवीन र पृथक छन् । कथानकलाई जोड दिएर सबै कथा लेखिएकाले लेखकलाई आगामी लेखनमा उत्तिकै जोड पात्रहरूलाई पनि दिन सुझाव दिन्छु । र यस पुस्तकमा यहाँ जतिपनि टिप्पणी आए, त्यसको बराबर भागिदार प्रकाशक हो भन्ने पनि ठान्दछु । मेरो विचारमा राम्रो भाषा सम्पादकले यी कथाहरूलाई अर्को उचाइमा पुर्याउन सक्ने थिए । बुलडोजर वा आकाशे पुलभन्दा पनि माथि । 

***