भागदौडः किस्सा र स्मृति


Logo

Sanjay


होइगी स्टेसनमा ट्रेन पर्खिरहेको छु । साँझको चटारोले भीड छट्पटरत छ । सब-ओ-सब आ-आफ्ना कब्रिस्तानमा सकुशल पुग्न चाहन्छन् । एक रातको कैद सजाय भोग्न । भोलिको दिन पुनः ऐजन । म पनि त्यही पंक्तिमा लामबद्ध छु । ट्रेन आउँदै छ । बेन्चमा नजर पुर्याउँछु खाली कतै हुँदैन । उभिई रहँदा गोडा झमझम गरिरहेका छन् । खासमा म हाइकिङ गएर फर्किरहेको छु । दिनभरको ओरालो उकालो यात्राले गोडाका मांसपेशी बाउडिएला झैं भएका छन् । म भुइँमै थ्याच्च बसेको छु । हातमा हाङ काङको भेजिटेरियन छ । पानाहरू पल्टिँदो छन् । सँगसँगै थकानको पहाड पनि छेलिदो छ । र यात्रा अवधिभरको एकखाले नियास्रो पनि । ट्रेन वाङ्सीम्री स्टेसनबाट भर्खर हिँडेको छ । तपाईंले यो किताब पढ्नु भएको छ भने यो स्टेसन तथा त्यो भन्दा पारीको जंगलको बयान त्यहाँ पनि छ । याद गर्नुभयो ?

साम्पोङबाट पनि अनुमान मुताबिक ट्रेनमा पनि उभिनु नै पर्याे । किनभने ट्रेन दुई स्टेसन परबाट आयो । अक्सर टाढादेखि आउनेहरू भरिएका हुन्छन् । साइकल स्ट्यान्ड माथि अढेसिएको छु । गोडामा बोझ कम होस् भन्ने चाहेर । मेरो छेउमा एक अधबैंसे स्त्री छिन् । उनको दस/एघार वर्षको छोरा र छ/सात वर्षकी छोरी दायाँबायाँ छन् । उनीहरू शान्त छन् । उभिनु पर्दाको पिडा त्यस सानी बच्चीको चेहरामा पनि छैन । उ आमाको कम्मरमा टासिंएकी छे । आमाको काधमा न्यु ब्यालेन्सको कालो रङ्गको पुरानो झोला छ । झोलाभित्र के छ त्यसको ज्ञान मसँग छैन । केबल अनुमानको लिस्ट बनाउँछ थकित मस्तिष्कले । म सहमति सुचक शीर हल्लाइ दिन्छु । वा शीर पनि मस्तिष्क स्वयम् हल्लाउँदै छ । म केबल अभिनय गर्दैछु । मन र मगज बीचको भेदमा म सिमाना झैं उभिएर सोच्न लाग्छु । निकैबेरसम्म मेरा स्मृतिमा अनेक दर्शन तथा तिनका प्रतिपादकको चेहरा चित्र आउँछ । र आखिरमा सबथोक बिर्सेर म फेरि उनीहरूलाई हेर्न पुग्छु ।

उनीहरूको शरीरबाट मध्यम वर्गीय जीवनयापनको झझल्को फिजिँदो छ । सबभन्दा चिटिक्क सानी केटी छे । पुतली झैं उसको पहिरन रङ्गीचङ्गी छ । कारण यत्ति पर्याप्त छ, ऊ सानी छे । माता-पिताको आर्थिक सामाजिक हैसियतको हिसाब गर्ने क्याल्कुलेटर उसमा विकसित भइसकेको छैन । ऊ निस्पन्द छे । चञ्चल छे र स्वच्छन्द छे । बनावटी चालढाल वस्तुतः एक उमेरको अनुभवपछि पैदा हुने हुँदा अहिले उसको मुस्कानमा केबल मुस्कान छ । उसलाई थाहा छैन उत्तर-आधुनिक कालमा मानिसले सबसे चर्को मोल बाँच्नुको तिर्नुपर्छ । र वर्तमानमा उसको मोलको सावाँ व्याज पनि उसका बाआमा माथि थपिदो छ । क्रमैसँग छोरामा त्यसको असर देखिन्छ । उसको कपडा अलिक पुरानो छ । आमाको त्योभन्दा पनि । म तिनका पिताको अनुमान लगाउन लाग्छु । ऊ आज पनि ओभरटाइम गर्दै होला । वा किलकिलेसम्म आइपुग्ने गरि रक्सी पिएर पार्कमा लडिरहेको पो छ कि । के थाहा सम्भावनाको बाटोले हामीलाई कुनचाहिँ दृश्य सामु पुर्याउनेछ ।

अर्को स्टेसन कटेपछि हो, त्यहाँ एक पिताको प्रवेश हुन्छ । उनको अझै सानी छोरी छे । उसलाई बच्चालाई राखेर गुडाउने ट्रलीमा राखेर ल्याइएको छ । र साइकल स्टान्डको बारमा अड्याएको छ । ती बाउ छोरीको लत्ताकपडामा अंकित फेसनेवल ढाँचा अघिसम्म मैले नियाल्दै गरेको तीनजनामा तुलना गर्न पुग्छ । अनायासै । जब बोध हुनपुग्छ के गरिरहेको छु ! यस्तो विचित्रको भाव मभित्र उम्रन्छ जसको बयान म गर्नै सक्दिनँ । तुरुन्त हतप्रत हुन्छु । ग्लानीले मेरा नर्भहरू भरिन थाल्छन् । के उनीहरू बीच तुलना जरुरी थियो ? के भिन्नता खोज्नु आवश्यक थियो ? त्यो पनि पोसाक पढेर ! म भित्र द्वन्द्वको घमासान जुहारी चल्छ । म चर्किन थाल्छु ठिक मध्यभागबाट । र त्यतिबेलै सुकिलो पिताले छोरीको हातमा चिप्सको प्याकेट च्यातेर राखिदिन्छन् । म भने अर्कोतिरबाट छड्के हेरिरहेकी सानी केटीको नजर पछ्याउन पुगेछु । त्यहाँको भाव के थियो मैले पढ्न सकिनँ तर केही त थियो । अमूर्त वा जीवन्त । जुन अत्यन्त दुर्लभ पनि थियो । अब उसलाई पनि मलाई जस्तै छट्पटी भएको छ । ऊ आमाको झोला खोतल्न लागेकी छे । उसले त्यहाँबाट मिठाईको प्याकेट झिकेकी छे । तर सायद आमाले ट्रेनमा नखान आदेश दिन्छिन् । ऊ नखोलिएको मिठाईको प्याकेट हातमै च्यापेर उभिइरहन्छे । र आमालाई कम्मरमा तानेर कानमा केही भन्छे । उसकी आमाले त्यस बाबु-छोरीतिर जिज्ञासु दृष्टिले हेर्छिन् । अनि आमाछोरी हेराहेर गरेर एकपटक मुस्कुराउँछन् । छोरीको मुहारबाट मुस्कान सँगसँगै लज्जा भाव पनि पोखिन्छ । हातको मोबाइल झोलामा राखेर आमाले उसलाई अंगालोमा च्याप्छिन् । सुल्टो हातले कपाल मुसारी दिन्छिन् । मातृत्वको अपरिहार्य मलजल उसको शिरमा पोखिन थाल्दछ । म फेरि किताबमा झुक्छु । 

यात्राले फेरि दुई तीन स्टेसन काटिसकेको हुन्छ । त्यहाँ एक वयोवृद्ध उभिन आइपुग्छन् । फेसनेवल बाबुछोरी ओर्लिसकेका छन् । सिटमा जत्तिपनि बसेका छन्, उनीहरू जवान छन् । एकातिर वयोवृद्ध उभिएका छन् अर्कोतिर सानी केटी । कसैका पाइला डेगसम्म चल्दैन । को उठोस् ? यस्तो लाग्छ संवेदना निख्रेका शवहरू मात्रै त्यहाँ छन् । जो पाँच छ इन्चको मोबाइलको कफनमा कैद भएका छन् । उराठलाग्दो सिलसिला सुरु हुन खोज्छ । ती क्षणबाट भाग्न किताबमा नजर फ्याक्ने चेष्टा मेरो प्रयास हो । तर भागेको नजर दृश्यकै भीडमा मिसिन पुग्छ । नहेरी बस्न नसकिने । फेरि दृष्टिगोचरपछि थाप्लो सम्मै दुख्न सुरु भइहाल्ने ।

छेउमा दुई नौजवान आइपुग्छन् । मेरो हातमा पल्टिएको किताबमा हेर्छन् । सायद अनुहारमा हेरिसकेका छन् । अब एकजना कुरा गर्न खोज्दैछन् । पहिलो प्रश्नमा छ । ‘तपाईंको घर कहाँ हो ?’ अंग्रेजीमा सोधिएको त्यो प्रश्नको जवाफमा म पनि प्रश्न गर्छु । ‘तपाईं नेपाली हो ?’ अनि हामी आँगनको ठेगाना साटासाट गर्न लाग्छौँ । संयोगले उनी मेरो छिमेकी गाउँ गणेस्थानका रहेछन् । नर्जाका एक दुईजना भाइहरूको नाम लिन्छन् । विराज, विश्वनाथ, मन्दिप । त्यसपछि काम कुराको बयान सुरु हुन्छ । ऊ बिद्यार्थी भिषामा आएको रहेछ । ‘पार्ट टाइमको काम जे भेटिन्छ त्यही गर्ने गरेको छु’, भन्छ । ‘आज विदा छ, साथीको तिर हिँडेको ।’ उसको साथी तेस्रो मुलुकको छ । जाँदाजाँदै उसले फेसबुकमा रिक्वेस्ट गरेर जान्छ । संयोगले मसँग मोबाइलमा फेसबुक एप हुँदैन । कारण त्यसताका म त्यहाँबाट भाग्ने तयारीमा थिएँ । त्यसैले दुरी बढाउने प्रयास थियो त्यो । भनेको थिएँ म खासै चलाउदिनँ । चलाएको बेला अनुरोध स्वीकार्ने छु । अर्को स्टेसनमा उनीहरू ओर्लिए । म फेरि किताबमै घोप्टिए । ट्रेन र समय हिडिरह्यो । छुटेका सबथोक विगत हुँदै गयो ।

कति पछि हो मेरो सामुन्नेको एउटा सिट खाली भयो । वृद्ध कता छन् भन्ने भावमा शिर उठाउँदा उनी खाली सिटमा त्यस सानी केटीलाई बस्न बोलाइहेका हुन्छन् । उसकी आमाले ‘धन्यवाद तर हामी अर्को स्टेसनमा ओर्लने हौँ’ भन्छिन् । वृद्ध अनि बल्ल त्यहाँ बस्छन् । उनको हँसिलो अनुहारमा तेज बगेको हुन्छ त्यतिबेला । उनी केही सम्झिए जसरी ज्याकेटको गोजी छाम्नमा तल्लीन छन् । अर्कोपटक हेर्दा उनको हातमा कागज छ । मिहेनतले मिलाएर च्यातिरहेका छन् । पट्याएको आकार अनुसार त्यो चरा बन्दैछ । अर्काेपटक हेर्दा चरा सानी केटीको हातमा छ । उसको आँखामा उमङ्ग पखेटा फिजारेर सवार छ । मानौं कागजको त्यस चरा उडेर पूरा ट्रेनभरिका मानिसलाई छाडेर उसको हातमा बास बस्न आएको हो ।

निकैबेर नियाल्दा शिष्टता विपरीत हुन जाने हुँदा अन्यत्र फर्कन्छु । वृद्ध फेरि अर्को पाना कागज च्यातिरहेका हुन्छन् । म कागज के रहेछ भन्ने मनोभाव साथ घोरिन्छु । त्यो कुनै मार्टको इश्तिहार थियो । अब उनको हातमा डुङ्गा बनेको छ । फेरि केटीको सानो तलाउ जस्तो हातमा त्यो पुगेको छ । धन्यवाद भन भन्ने आमाको आज्ञा विपरीत ऊ फेरि पनि लजाएकी छे । आमा स्वयंले यो पटक पनि धन्यवाद टक्य्राएकी छिन् । केटी एउटा हातमा चरा र अर्कोमा डुङ्गा लिएर उभिएकी छे । दुबै पैतालाको विकल्प हुन् । वृद्ध जानाजान त्यसो गर्दैछन् कि त्यो विशुद्ध संयोग मात्र हो म जान्दिनँ । सानी केटीको हातको मिठाई अब थन्केको छ । नयाँ सामानको अघि पुरानो जसरी ।

मेरो शीर फेरि किताबमा झुकेको छ । आकर्षक कथाले मलाई निमेषभर अल्झाएछ । फ्यङ्ने होफ्यङ स्टेसनमा ट्रेन रोकिदा उनीहरू निस्कन तयार छन् । जाँदाजाँदै सानी केटीले थोरै शीर झुकाएर धन्यवाद भन्दै दौडेकी छे । उनले हतारहतार बनाउँदा पनि आधामै अड्केको चित्र भएको हात उठाएर बिदाइको संकेत गरेका छन् । उनीहरू मुस्कुराएका छन् । वयोवृद्ध खुलेरै हाँसेका छन् । दातका पंक्तिबाट कयौं थान दन्त लहरले मोक्ष पाइसकेका रहेछन् । उनी पनि समयको पंक्तिबाट झर्ने झर्ने अवस्थामा पुगिसकेका छन् । उनको हातमा बन्दाबन्दैको आधा चित्र छ । लिनुपर्नेहरूले छाडेर जाँदैछन् । म हेरिरहेको छु । सानी केटीको आँखा अन्तिमपटक पनि त्यही अधुरो चित्रमा अडेको छ । के वृद्धको आँखा सानी केटीको उमेरमा अडेको छैन ?

झण्डै एक हप्तापछि मैले फेसबुक खोलेको छु । रिक्वेस्ट एक्सेप्ट गर्नुपर्याे भनेर त्यहाँ जाँदा अन्य सयौं रिक्वेस्ट यथावत छन् तर उसको नाम त्यहाँ छैन । मलाई अचम्मको हाँसो लाग्यो । मानिसमा धैर्य कसरी सकिँदै छ । मेरो ओठ चलमल गर्छ । एक मतला अनायास झर्छ । अचेल मैले गजल लेख्न छाडेँ । नत्र मैले यसलाई टिपेर मुकम्मल बनाउने थिएँ । तर हाम्रो सम्बन्ध जसरी यो मतला पनि अधुरै रहनेछ ।

ऊ चाहेर पनि भगवान हुने छैन,
मान्छे हुनुको दुःख चानचुने छैन ।

त्यो अनुरोध फिर्ता लगेको प्रसंगले मलाई काउकुती लगाइरह्यो । आज उसैपनि शनिबार हो । मानिसले भन्दा जाँगरले दोब्बर आराम गर्ने दिन । तर मलाई लेख्न मन लागिरहेको छ । गत हप्ताको यही कहानी । साम्पोङदेखि मासकसम्मको ट्रेन यात्राको संस्मरण । ती गाउँले केटोको बिर्सनुपर्ने अनुहारको बान्की । सानी केटीको हातको डुङ्गा र चरा । ती अब कहाँ पुगे होलान् ? उसको सिरानमै होला वा फोहोरको कन्टेनरमा ? वृद्ध सर्टको गोजीमा कागज भरेर यो हप्ता पनि निस्किए होलान् कि नाईं ? कोठामा बसेर म यी तमाम घटना स्मरण गर्दैछु । बितेको हप्ता मेरो स्मरणको अञ्जुलीबाट पनि चुहिरहेछ । त्योभन्दा पहिल्यै यसलाई मैले कागजमा उतार्नु पर्नेछ । नत्र त्यो आधा घण्टा पनि मभित्र चिहान बन्नेछ । मैले कलम समातेको छु । अब फेरि कथा सुरुबाटै सुरु हुनेछ ।