Norm: What’s green and has wheels ?
Ferne: What ?
Norm: Grass! I was lying about the wheel part.
अब reels हेर्न बन्द गर्छु । नाटकको बारे केही लेख्छु भनेर बसेको आधा घण्टा भैसकेछ । अब सुरु गर्छु ।
*
नमस्ते ! म लेखक सुदर्शन पाैडेल । गत शनिबार मैले काैशी थियटरमा एउटा नाटक हेरेँ ‘वायुपङ्खी Buffalo’ । यो त्यसैको समिक्षा हो ।
नमस्ते ! म… (के भनेर चिनाम् आफूलाई ?) म सुदर्शन ? उसको भित्री आवाज ? सम्पादक ? ह्या ! जे भएपनि मै हो ! छिट्छिटो यो सक्दिम् । यो मु* समिक्षक बनिपल्टेर नाटक मात्रै गरेर बसेको छ ।
केही समयअघि एउटा अन्तर्वातामा एकजना लेखक वा कमेडियनले एकजना फ्यानसँगको अन्तर्क्रिया बारेमा बोलेका थिए । (सुरुमै हगिहाल्यो ! लेखक हो कि कमेडियन ?) फ्यानले उनीसँग आएर भनेछन्, “मलाई तपाईले प्रस्तुत गरेका कुराहरूमा पटक्कै विश्वास लागेन । खाली यस्तो मात्रै लागिरह्यो कि you were making shit up as you were going along.” यसको उत्तरमा लेखक/कमेडियनले भन्छन्, “मेरो कामै त्यही हो ।” (लल नगरकोटी, come to the point !) क्षितिज पराजुलीको लेखन र निर्देशन रहेको नाटक वायुपङ्खी Buffalo हेरिरहँदा मैले आफूलाई त्यही फ्यानको स्थानमा पाएँ । मलाई लागिरह्यो यो नाटक संसारमै पहिलोपटक उडेको बिमानजस्तो हो, जो उड्न त सक्षम भैसक्यो, तर अब यसलाई अवतरण कसरी गर्ने आइडिया छैन । (यो समिक्षा जस्तै !)
नाटक मञ्चन भएको केही दिनअघि नाटकका एक कलाकार ऋषिकेश बस्यालले आफ्नो सामाजिक सञ्जालमा एउटा बतासे छोड्छन् । सन्देश कसको लागि थियो थाहा भएन तर मलाई रमाइलो लाग्यो । उनले लेखेका थिए, ”नाटकका प्रकार हुन्छन् !” यो सन्देशले मलाई नाटक हेर्न उत्सुक बनायो । बस्याल काैसी नाटककघरसँग आबद्ध छन् । काैसी प्रयोगात्मक नाटकहरू देख्न पाइने ठाँउ हो । यो प्रयोग कहिले ‘भजाइना मोनोलग’जस्तो सामजिक मुद्दामा आधारित नाटकको रुपमा प्रस्तुत हुन्छ त कहिले प्लेब्याकको रुपमा । कहिले ‘एनिमल फार्म’जस्तो सटायरको रुपमा प्रस्तुत हुन्छ त कहिले ‘काँचो धागो’ जस्तो समकालिन सामाजिक विषयवस्तुमा । (कति ज्ञान पेलेको, ओहो ! जबकी काँचो धागो बाहेक अरु कुनै हेरेको छैन । ठूल्ठूलो कुरा गर्छ मु* ! ) यस्तै विविध प्रयोगात्कम नाटक हेरिरहेका, खेलिरहेका बस्याललाई लाग्यो पनि होला, हामीले वायुपङ्खी Buffalo मा गरेको प्रयोग मानिसहरूले बुझेनन् । र उनले लेखे: नाटकका प्रकारहरू हुन्छन् । मैले फरक स्वादको नाटक हर्ने निर्णय गरेँ ।
मे १० को दिउँसो, टन्टलापुर घाममा १२ः३० मा काैशी नाटकघर पुगेपछी हामीले केही बेर कुर्नुपर्ने भयो । काउन्टरबाट पाँचवटा टिकट काट्याैँ । तीनवटा स्टुडेन्ट र दुइवटा जनरल । (धन्न कार्ड एक्सपायर भाको छैन र २०० रुपैयाँ जोगिन्छ ।) टिकट काट्ने बित्तिकैको एउटा साथीले नोटिस गर्यो, ‘यो नाटकले प्लेबुक नछापेको रहेछ ।’ दोश्रो साथीले नोटिस गर्यो, ‘Oh, they have used AI for the poster !’ मैले सम्झेँ, केही हप्ताअघि नाटकघरले इन्स्टाग्राममा भैंसीले विमान चढेको तस्विर राखेर मानिसहरूसँग नाटकको नाम सुझाइ मागेको थियो । दिमागमा त्यही लेखक/कमेडियनको प्रसंग आयो । (कति एउटै कुरा लेखेको, छि !)
केही समयपछि हामीले ९७३ वटा खुड्किला चढ्याैँ र पुग्याैँ नाटकघरभित्र । पहिलो observation: A/C आएछ है थिएटरमा । शितलो भयो । बस्ने बित्तिकै नाटकको सेटले आँखा तान्यो । एकदम stripped down सेट । न्युट्रिपल्स तेलको कार्टुनले बनेको फराकिलो भित्ता । भित्ताभरि पत्रिका टाँसेको । एउटा बक्साको ठाँउमा चाहिँ बक्सा नभएर मान्छेको हातको आकृति । बक्साको भित्ता अगाडि मञ्च जसलाई नाटकमा भैंसीको गोठको रुपमा पनि प्रयोग गरिएको छ । दायाँ-बायाँ प्लाइ ठडाएर बनाइएका केही संरचना जसलाई नाटकको आवश्यकता अनुसार फरक फरक तरिकाले प्रयोग गरिएको छ । नाटक सुरु हुनुअघि अर्को एउटा रमाईलो कुरा के भयो भने, नाटकका ब्रम्हा, लेखक/निर्दशक, क्षितिज पराजुलीले स्वयम् मञ्चको छेउमा प्रकट भएर सबैलाई सम्बोधन गरे । (सम्बोधन फिल्म हेर्नुपर्ने छ साँच्ची !) पानी खानु-खानेकुरा नखानु, फोटो खिच्नु-भिडियो नखिच्नु, आदि भनेर अलप भए । र बल्ल नाटक सुरु भयो ।
अब नाटकमा प्रवेश गराैँ । सुरुमा नाटकका राम्रा पक्षहरुको बारेमा कुरा गराैँ । (अब नाटकका खराब पक्षहरूको बारेमा कुरा गराैँ ।) नाटकको सबैभन्दा राम्रो लागेको पाटो भनेको नाटकले गरेको प्रयोग हो । यदि कसैले मलाई वायुपङ्खी Buffalo केको बारेमा हो भनेर सोध्छ भने मैले दिने उत्तरमा जे-जे अट्लान् त्यसले नाटकको Viewing Experience लाई न्याय गर्न सक्दैन ।
***
अब म AI को साहारामा नाटक वायुपङ्खी Buffalo को कथालाई नाटकमै बुझाउनेछु ।
(अघि भखरै यल्ले AI बाट Poster बनाएको भनेर च्वास्स देको हैन ? मु* पाखण्डी !)
शीर्षक: “भैंसीको सपना”
(मञ्चमा दुई भैंसी — एउटा ठूलो (बुवा), अर्को सानो (छोरा)।)
बुवा भैंसी:
हेर न, बाबु। तेरो हजुरबुबा, म, अनि अरू थुप्रै भैंसीहरू — सबैले यति नै सपना देख्यौं: घाँस खानु, दुध दिनु अनि अन्त्यमा… मो:मो बन्नु ।
छोरा भैंसी (जोशमा):बुवा ! म त्यो सपना देख्दिन ! म मो:मो भएर सकिन चाहन्न ! म त विदेश जान्छु ! ठूलो मान्छे बन्छु !
बुवा भैंसी (चकित हुँदै):
विदेश ? तँ भैंसी ! पासपोर्ट छ ? नागरिकता छ ?
छोरा भैंसी (गम्भीर हुँदै):
छैन, बुवा । तर अब म बनाउँछु ।
पहिला नागरिकता निकाल्छु, पासपोर्ट बनाउछु, अनि IELTS को तयारी गर्छु। त्यसपछि भिसा लाग्छ, अनि म उड्छु — विदेश !
बुवा भैंसी (शङ्कामा):
तर छोरा तैँले थाहा पाउनु पर्छ — यो बाटो सजिलो छैन । सरकारी अफिसको लाइन, दलालको ठगी, अनि परीक्षा पास गर्नुपर्ने तनाव…
छोरा भैंसी (आँखा चम्काउँदै):
म त सबै पार गर्छु, बुवा !
तर… के साँच्चै म सफल हुन्छु ?
यी सबै झमेलाबाट पार पाउन सक्छु ?
(दुबै मौन, प्रकाश कम हुँदै जान्छ)
(वाचकको स्वर):
“यही हो कथाको मूल कुरा । एउटा भैंसीको सपना, संघर्ष र सम्भावनाको कथा ।”
***
अन्त्यको मजा खराब नगरी भन्ने हो भने कथा यही नै हो ।
नाटकका मुख्य कलाकारको रुपमा निशान्त खत्री (छोरा भैंसी ), र ऋषिकेश बस्याल (बा भैंसी)को अभिनय नाटक सुहाँउदो छ । जस्तोकि खत्री बैंक लुट्ने दृश्यमा लागातार २ मिनेट (आधा घण्टा) shadow fighting गर्छन् । एउटा प्रशंगमा बस्याल, मरेकी श्रीमती भैंसीलाई सम्झिएर, उसको अन्तिम दुधबाट बनेको छुर्पीसँग संवाद गर्छन् । कलाकारहरू नाटकको मर्मसँग अति familiar छन् र हुनुपर्ने भन्दा सिरियस कहींपनि देखिदैनन् । यसले नाटकलाई मनोरञ्जनात्मक बनाएको छ । नाटकको दाैरानमा साहयक पात्रको रुपमा बेला-बेलामा कबिर काफ्का र शिला निराैला देखापर्छन् । उनीहरूले पनि आ-आफ्ना पात्रहरूलाई काइदासँग निभाएका छन् । यसरी भन्नुपर्दा नाटकको बालियो पाटो अभिनय हो ।
त्यससँगै नाटकको अर्को बलियो पाटो संगीत हो । वायुपङ्खी Buffalo को कथा संगीतसँग जोडिएको छ । चाहे त्यो भैंसीहरूको फरक-फरक existential mode लाई देखाउनको लागि होस् । चाहे कथालाई अघि बढाँउदा आउने montage लाई देखाउन । नाटकको सबैभन्दा मनोरञ्जनात्मक (तर सबैभन्दा औचित्यहीन) भागमा कबिर काफ्का र शिला निराैला वर्तमान समयका विभिन्न प्रसिद्ध गायक/गायिका बनेर मञ्चमा आइपुग्छन्, बाउ-छोराको मनोरञ्जनका निम्ति । त्यस्तै बेला-बेलामा कबिर काफ्का आफ्नो पृथक आवाजले (unique को synonym खोजेर पृथक लेख्नुपरेको यसलाई) दर्शकहरूलाई मोहित बनाउन आइपुग्छन् । संगीतका विभिन्न विधाहरू समेटिएको नाटकमा प्रसङ्गहरूको असंगति र संगीतको intensity ले मिठ्ठो विरोधाभास सिर्जना गरेको छ । नाटकमा संगीत संयोजन रजत थापाको छ । (मान्छे चिनेको भएर राम्रो भनेजस्तो सुनियो मु* !) नाटकमा धेरैवटा सांगितिक विधाहरूको उपस्थितीले फरक-फरक साइजको जुत्ता लगाएर हिँडेजस्तो अनुभुति दिन्छ । यो असहजतालाई प्रयोग भनिहाल्नु खुट्टाको लागि सहज हुँदैन । (ओहो ! Similie ? Masters in English ?)
नाटकको कथामा हुनसक्ने जति काम भएको छैन । नाटकमा बाउ भैंसीको महत्व त्यति छैन जति उपस्थिति छ । जुन कुरा, नाटकको पछाडिको भागमा अचानक बाउको अनुपस्थितीले प्रकाश पार्छ । नाटकको अन्त्यमा (अब spoiler आँउछ) बाउ भैंसीको प्रसङ्ग, वा नामोनिसान केही नुहुनुले अनि छोरा भैंसी सिधै मःम बनेर नाटक सकिनुले नाटकभरि बाउ भैंसी र छोरा भैंसीलाई समान रोल दिने लेखकको निर्णयमाथि प्रश्न गर्न मन लाग्छ । उनको भुमिका के थियो त भन्ने थाहा हुन्छ । नाटकको सबैभन्दा बलियो पाटो प्रयोग हो र कमजोर पाटो कथा ।
(त्यसोभए मानिसले नाटक किन हेर्ने त ?)
हाँस्नको लागि ।
(यो नाटक हेर्दा हाँसो लाग्छ ?)
मानिसहरू हाँसिरहेकै थिए । अझ पहिलोचोटि नाटक हेर्न आएकी एकजाना त मरिमरी हाँस्दै थिई ।
(तँलाई हाँसो लाग्यो ?)
त्यो छुर्पीवाला जोक रमाइलो थियो ।
(मु* समिक्षक हो कि Diplomat ? छोड् ! अब म लेख्छु ।)
***
यो मु* नाटक हेर्नुभन्दा ३ प्लेट बफ मःम खाएको भए कति मजा आँउथ्यो । टिकेट किन्दा पैसा सक्केर मात्रै, नत्र कसम राँगोलाई सरापी सरापी मःम खाइदिन्थेँ । के गरेको ? नाटकको प्रकार यही हो ? वायुपङ्खी बफेलोको सबैभन्दा राम्रो प्रप Animal Farm को थ्यो । यही हो experiment ? 4th वाल ब्रेक गर्दैमा नाटक खत्रा भयो ? नाटकको स्पिरिट फ्रि-सटाइलको छ रे, अति अबसर्ड छ रे, त्यतिले नाटक राम्रो भयो ? लागेको राम्रो कुरा पनि भन्दिन्छु: जानीजानी हो वा झुक्केर 2001 Space Odessy को मिठ्ठो intertexuality छ । Toy Story को पनि influence छ । बेकेटको Waiting For Godot ‘नि देखिन्छ । यो ल Theme सँग जोडिएर आको कुरा भयो तर मु* दुर्गेस थापा, रचना रिमाल, योगेश्वर आमात्य अनि इन्दिरा जोशी- यो के गरेको ? कथामा त कतै कुनै भुमिका छैन यिनिहरूको । रमाइलोको लागि हो भने यो Cutaway Gag जस्तो खल्लो र Hacky humor केहीपनि लाग्दैन । “Cutaway gag भन्नाले कुनै फिल्म वा टेलिभिजन दृश्यमा प्रयोग गरिने हाँस्य शैली हो, जसमा मुख्य कथा चलिरहेको बेला अचानक अर्को असम्बन्धित वा थोरै मात्र सम्बन्धित दृश्यमा कट गरिन्छ । त्यो कट गरिएको दृश्यले एउटा मजाक देखाउँछ, जुन प्रायः अतिरञ्जित, अनौठो, या हाँस्यास्पद हुन्छ ।” – AI (यसको बारेमा अझै तल केही लेख्छु ) । यो मु* समिक्षक भनाैदो कुनैबेला स्कुलमा, स्थानिय महोत्सवमा प्रहसन गर्थ्यो । ठूलोबाको छोरासँग अघिल्लो दिन भेटेर भोलिपल्ट ४० मिनेटको सेट perform गर्थ्यो । ४/५ वटै वाल भत्काँउथ्यो । तारिफ हैन, त्यो सब झुरै थियो तर त्यो प्रहसन र यो नाटकमा फरक के ? बाहिर जाने पात्र भैंसी बनाउनुपनि hack नै हो । त्यसले नाङ्गोलाई कट्टु लगाउन देला, औँठा छापको जोक बनाउन देला, छुर्पीको जोक हान्न देला (जुन साँच्चै खत्रा जोक थ्यो), अरु के-के जोक बनाउन देला, तर यसमा भैंसी नै किन हुनपर्यो ? भैंसीको ठाँउमा बोका भएको भए कथामा के फरक पर्थ्यो ? जोकमा बाहेक । अब त्यो मु* Cutaway gag को कुरा । यो नाटकमा जो-जो हाँसे धेरैजस्तो Cutaway gag मा हाँसे । कथाभित्रैको जोकभन्दा बाहिरको जोक । कट्टु लगाउने जोक हाल्न पहिला भैंसीको costume मा गुप्ताङ्ग हालिन्छ । नाटकमा दुर्गेश थापा (कबिर काफ्का) लाई ल्याउन उनीहरूले party गरिरहेको scene ल्याइन्छ । सुरुमै punchline लेखेर पछि setup लेखेजस्तो हो यो, जुन humor मलाई चित्त बुझेन । यो मु* समिक्षक सुरुसुरुमा नहाँसेको हैन तर एउटा point मा कातिकुती लगाँउदा लगाँउदा मान्छे हाँस्न छोडेजस्तो यो मु* समिक्षकलाई पनि लागेको हो, यी मु*हरुले जोक पनि हान्छन् कि कातिकुती मात्रै लगाँउछन् ? समग्रमा नाटक काठमाडौंमा हेरिरहेको नाटकभन्दा फरक छ । तर कसैले महोत्सवमा माग्ने बुढा, धुर्मुसेलाई देखेको छ भने, वा हरिवंशहरूको प्रहसन हेरेको छ भने धेरै मानेमा नाटकले ‘प्रयोग’को रुपमा जे बेच्न खोजेको छ त्यो देखिसकेको छ । नाटकका प्रकार हुन्छन् । यो देखिरहेका नाटकभन्दा फरक प्रकारको छ । र रमाइलो छ । तर राम्रो छ ? खै मलाई त त्यस्तो लागेन । अनि अर्को कुरा, थिएटरको टिकट नै यति महँगो हुन्छ । हरेकपटक नाटकघरबाट बाहिर निस्किँदा लुटिएजस्तो त महसुस हुनुभएन नि । ल मु* समिक्षक ज्यु, तपाइको पालो । म चुप लागेँ ।
***
सामाजिक यथार्थवाद र साँस्कृतिक पहिचानका विषयले हाबी काठमाडौंको ‘नाटकिय’ माहोलमा वायुपङ्खी Buffalo एउटा breath of fresh air बनेर आएको छ । नाटक नवीन र रमाइलो छ । कलाकारहरूको प्रस्तुति तारिफयोग्य छ । संगीतले नाटकलाई अझ उचाइमा पुर्याएको छ । एउटा प्रयोगात्मक नाटकको रुपमा वायुपङ्खी Buffalo सफल बनेको छ र यससँगै क्षितिज पराजुलीले नाटक लेखन/निर्देशनमा आफ्नो अलग छाप छोड्न सफल भएका छन् । काैशी थियटरका अनुसार नाटकको मञ्चन मिति मे १ देखि १२ सम्म भनिएपनि दर्शकको माग अनुसार मे १७ सम्म म्याद थपिएको छ । नाटक बारे थप जानकारी इन्स्टाग्राममा @kathagheraproductions बाट पाउन सकिन्छ ।