चार टुक्रा कविता | कञ्चन


Logo

Kanchan Basnet


१.

यसरी यहाँ उभिएका छन् तिम्रो तस्बिरहरू
लस्..क.. रै……….।

म ओठलाई दाँतले टोकिरहेकोे शान्ति र
छातीले ओकल्न नसकेको आँधी बोकेर
च्यात्न थाल्छु यी तस्बिरहरू ।

कुनै तस्बिरलाई म यति आवेगले च्यात्छु
कि, मलाई लाग्छ– म चाहन्छु त्यसको अन्तिम अणुसमेत
अस्तित्वमा नबचोस्

कुनै तस्बिरलाई आधा च्याते
र आधा तस्बिर, जसमा मेरो आँखाबाट
एक थोपा मुटु तप्किएको थियो,
मैले त्यसलाई अधकल्चो बाँचिरहन छाडिदिएँ ।

र, अन्त्यमा बाँकी तिम्राे एउटा तस्बिर थियो
जसलाई म जीवनभर आफूसँग राख्न चाहें

त्यो तस्बिर मेरो थियाे ।

२.

निन्द्रा चोरेर लाने रात जाग्दा
म छतमा अबेरसम्म उभिन्छु ।

मैले देखेँँ–
रातको चूक अमिलोपन सहन नसकेर
ओछ्यानमा लडेका पक्षघातहरू ।

मैले देखेँ–
स्ट्रिट लाइटकोे विरल पहेँलो प्रकाशमा
पौडिरहेका पुतलीहरू ।

मैले देखेँ–
यद्यपि मेरो आँखा खिइसकेको थियाे,
एउटा अन्नत चम्किलो तारा
मलाई नढकढकाइ
मेरो मुटुको चिरामा पस्यो ।

३.

जब पनि म
मन्दिरहरूभन्दा अग्लो
घरको छतबाट
ती घरहरूभन्दा अग्ला पहाडहरूलाई हेर्छु,
फेरि मलाई सम्झना आउँछ
ती पहाडपारि टाढा बस्ने
मेरा साथीहरू,
जो रक्सीको प्रत्येक तितो घुट्कोसँगै
मेरो सम्झना कोट्याइरहेका हुन्छन् ।

मेरी श्रीमती,
जसका आशाका नजरहरू त्यही बाटोमा अडिरहन्छन्,
जहाँबाट म फर्किएको छैन ।

मेरी आमा,
जसले आफ्नो सारा जीवन मेरो नाम गरिसकेपछि पनि
मेरो जीवनको निम्ति प्रार्थना गरिरहन्छिन् ।

र मेरो बाबुको चिहान,
‘सक्छ, जसमा अहिले घाँस उम्रिसकेको छ ।

यो कस्तो बेचैनी हो !
कस्तो तृष्णा हो !
के यिनै समात्न नसकिने भावनाहरूले
समयको लम्बाईलाई छेकिरहनु पर्छ ।

लाग्छ– यो तिर्खा र हतारभन्दा धेरै पछाडिकोे
मेरो बाल्यकाल नै राम्रो थियो,
जहाँ म विश्वास गर्थेँ कि
त्यो क्षितिजमा,
जहाँ पर्वतहरू आकाशको हात समातेर उभिएका छन्,
यो संसार समाप्त हुन्छ ।

४.

हरेक रात मेरा चोटहरू साम्य हुन्छन्
र भोरकोे पहिलाे हावासँगै फेरि पाक्न थाल्छन् ।

तिमीले मेरा भाषाहरू बुझ्ने छौ
तर अभिप्राय बुझ्ने छैनौ
(भाषाहरू त तरल फैलावट न हुन्
अभिप्राय तरल तत्व हो। )
मेरो स्वयंको पर्वत मेरो चोटहरूले अग्लिरहेको बेला
तिमीले नाघेर अर्को आयाम देख्न सक्दैनौ ।

चोटहरू केवल चोटहरू मात्र बन्न
अयोग्य छन्,
कुनै विगतकोे क्षुधा, क्षोभ, पश्चाताप, योजना, विफलता
संयोजन भएर चोटसमेत कोलाज बनेका छन् ।

अन्यको मुखबाट आहत सुन्दा
चोट अनायासै लोकप्रमाद हुन जान्छ,
अन्यको मुखबाट आफ्नो चोट सुन्दा
बेलाबेला आफुलाई नै गौरव अनुभव हुन्छ
बेलाबेला फगत क्षणिक स्वप्नमोह अनुभव हुन्छ ।

जसरी कुनै बेला दुःखालाप गर्ने विरहिणी
आज आफ्नै विरहबाट अचम्मित हुन सक्छिन्
त्यसैगरी म पनि बेलाबेला अचम्मित हुन्छु
हृदयको पर्दा हटाउनुकोे अल्छी जस्ता चोटहरू
बेलाबेला व्यङ्ग मात्र बन्न पुग्छन् ।

कहिलेकाहीँ यी आग्नेय रगतहरू
आँसुको सट्टा पसिना बनेर बग्दा
शायद छिचोल्न सक्छु
आफ्नै पार्वत्य अभिमान ।

तर,
आकाश पग्लिएर आकाश सकिंदैन ।
पर्वत कुल्चिएर पर्वत घट्दैन
अगाडि अर्को पर्वत पर्खिरहन्छ ।