“सागर..”
चिप्लेढुङ्गाको बाटो हिँडिराख्दा एक्कासी कसैले बोलाएको आवाज आयो । यताउती हेरेँ । फेरि कसैले बोलायो । देखेँ– बाटो साइडको फेन्सी पसलभित्रबाट एउटी महिला मलाई हेरेर मुस्कुरारहेकी थिई । हात हल्लाएर भित्र आउन भनिरहेकी थिई । सिसा वारिबाट मैले उसलाई चिन्न सकिनँ ।
यही बाटो हजारपटक गुज्रिएपनि कहिल्यै यो पसलमा आँखा गएको थिएन । भित्र पनि आखाँमा बसिहाल्ने कुरा केही थिएन । भित्र पसेर नियालेपछि पसलकी साहुनीको अनुहार चिने-चिनेजस्तो लाग्यो । ऊ टेबलपछाडि, कुर्सीमा बसिरहेकी थिई । उसको छेउमा स्कुल ड्रेसमा एउटी सानी नानी चाउमिन खाइरहेकी थिई ।
“अंकललाई नमस्ते गर सानु ।”
मुखभरि चाउमिन लिएर उसले मलाई नमस्ते गरी । थोरै ओठ तन्काएर मैले उसलाई नमस्ते फिर्ता गरेँ अनि उसकी आमालाई हेरिरहेँ । यिनीहरू वास्तवमा को हुन्, ठ्याक्कै ठम्याउन सकिनँ ।
“मोटाउनुभएछ त तपाईं त ! के छ खबर ?”, ऊ यसरी कुरा गरिरहेकी थिई, मानौं म उसको पुरानो आफन्त हुँ ।
मैले सम्झिन खोजेँ, म कहिले पातलो थिएँ ? पेट लागेर पुराना कपडा फालेको २/३ वर्ष भइसक्यो । वाकमा जान्छु सोचेको त्योभन्दा बढी । मैले यसलाई कहिले भेटेको थिएँ ?
मेरो सिधा अगाडि बडेमानको ऐना थियो । त्यसभित्र एउटा ठूलो मान्छे देखियो । मैले ऊतिर हेरेँ र पेट थोरै भित्र तानेँ । साहुनीतिर हेर्दा उसका आँखाले मेरा आँखामा केही खोजिरहे जस्तो लाग्यो । सायद कुनै प्रमाण कि मैले उसलाई चिनेँ ।
“अँ, अलि-अलि पेट लाग्यो । यस्तै छ । तपाईंको के छ खबर ?’ मैले यति सोधिनसक्दा ऊ चर्को स्वरमा हाँस्न थाली । ऐनामा हेरेँ । ऐनाको मान्छेलाई पनि त्यसमा हाँस्नुपर्ने केही भएजस्तो लागेन । फुच्चीलाई हेरेँ । ऊपनि छक्क पर्दै आमालाई हेरिरहेकी थिई । हाँसेर सकेपछि उसकी आमा बोली:
“छ्या! तपाईंले पनि मलाई तपाईं भन्न थाल्नुभयो ? तिमी भन्नु न ।”, मैले केही भनिनँ ।
“बस्नु न ।”, छेउको मोडा तानेर बसेँ ।
“तपाईं पोखरा नै हुनुहुन्छ ?”, उसले मेरो अनुहार पढ्न सकिन वा वास्ता गरिन, बोलिनै रही । “फेरि भेटिन्छ कि जस्तो लागेको थियो । तपाईं काठमाडौं जानुभयो भन्ने सुनेँ । फेरि बिहे पनि भैहाल्यो । फोन पनि लागेन । बोलाउन पनि पाइनँ । आज फेरि कताबाट बाटोमा देखेर चिनिहालेँ । कता बस्नुहुन्छ ?”
***
उसले आठ वर्ष अघिको कुरा निकालेकी थिई । धेरै लामो समय । त्यतिबेला म कति वर्षको थिएँ ? २३ ? बढीमा २४ ? अर्चलबोटमा कोठा लिएर बसेको बेला थियो त्यो । पृथ्वी नारायण क्याम्पसको पढाइ सकिएपनि ब्याचलर कटिसकेको थिएन । तीनवटा ब्याक कटाउन मलाई दुई वर्ष लागिसकेको थियो । धेरैजसो साथिहरू टि.युमा मास्टर्स पढिरहेका थिए । केही विदेश गइसकेका थिए । म भने अर्चलबोटको त्यही कोठामा ट्युसन पढ्दै रि-इक्ज्यामको तयारी गरिरहेको थिएँ । घरबाट पैसा मागि-मागि ।
(सुमित्रा फेन्सी पसल । पसलको नाम । उसको नाम ? सुमित्रा । सुमित्रा के ? खै ! मलाई यो सम्झना थियो, मैले सुमित्रा नाम गरेको एक केटीलाई भेटेको थिएँ । त्यो सुमित्रा भने यो साहुनी जस्ती देखिन्नथी । तर मपनि मजस्तो देखिन्नथेँ । )
ती दिनहरूमा महिनैपिच्छे पुच्छर लुकाएर घर फोन गर्थेँ । पैसा माग्थेँ । बा-आमाले कुरैकुरामा बिहेको कुरा मिसाउन थालेका थिए । भाइले पालो मिचेर बुहारी घर ल्याएपछि बुढाबुढीलाई मेरो पीर पर्न थालेको थियो । पढ्न नसके बिहे गरोस् र विदेश जाओस् भन्ने सोच थियो । मलाई भने बिहेको कुरा पनि सुन्न मन थिएन ।
***
सुमित्रालाई मैले बिन्ध्यबासिनी मन्दिरमा बोलाएको थिएँ । चार बजे । बगरमा पाँच बजे ट्युसन क्लास थियो । भेटेपछि निस्किहाल्ने बाहना हुन्थ्यो । मलाई बा-आमाको मन मात्रै राख्नु थियो । भेटेर मन परेन मात्रै भन्नु थियो ।
ऊ नराम्री थिईन । बुवाले बिहान फोनमा भने अनुसार ऊ मामाको ससुरालीको कुनै आफन्तकी छोरी थिई । मैले सोधीखोजी गरिनँ । “बिचरी दुःख पाकी रैछे । आमा बितिन् रे । घरमा स-साना भाइबैनी धेरै छन् । बाउलाई पढाउन गाह्रो भयो भन्दैथे ।”, यस्तै केही सुनाएर बुढाले मलाई भेट्न मनाएका थिए । अनि फोन नम्बर दिएर कल गर्न लगाएका थिए ।
म मन्दिरमा पुग्दा ऊ अगाडि नै पुगिसकेकी थिई । पहेँलो कुर्ता लगाएकी थिई, सायद । उसको अनुहारमा कुनै उल्लेखनीय कुरा थिएन । बाटोमा देखेर एकपलमा बिर्सिएर गुज्रनेजस्तो ।
“कतिबेला आइपुग्याै ?”
“१० मिनेट भयो ।”
“सराङ्कोटबाटै आयाै ?”
“हजुर । तपाईं ?”
“म अर्चलबोटबाट ।”
“ए !”
“उम् ।”
मलाई त्यसभन्दा अघि कुरा गर्न आएन । ऊ सराङ्कोटतिर फर्किएर बसिरहेकी थिई । म हरिचोकतिर । उसको छेउमा एउटा झोला थियो । ठूलो ह्याडब्याग, जसको चेन बिग्रिएको थियो । उसले मतिर हेरेजस्तो लाग्यो । मैले कुरा झिकेँ ।
“कति समय लाग्छ त्यहाँबाट आउन ?”
“बसमा आधाघण्टा ।”
“ए !”
“अनि तपाईंलाई ?”
“हजुर ?”
“तपाईलाई कति टाइम लाग्यो ह्याँ आँउन ?”
“मलाई हिँडेर पाँच/सात मिनेट ।”
“एक्लै बस्नुहुन्छ कि साथीसँग ?”
“साथी थियो अघिल्लो वर्षसम्म । अहिले एक्लै छु ।”
“हाम्रोमा चाई ६ जाना छम् ।”
“ए ! कोको ?”
“म, बाबा, बाहिनीहरू, सानो भाइ, अनि ममी ।”
मैले अचम्म मानेर ऊतिर हेरेँ । पहिलोपटक हामीले नजिकबाट एकअर्कालाई हेराहेर गर्याैँ ।
“सानो ममी,” उसले शिर निहुराएर भनी ।
मलाई केही भन्न आएन । केहीबेरको माैनतालाई तोडेर उसलाई बोलाएँ । उसले मलिन अनुहारले पुर्लुक्क हेरी । “एकछिन वरिपरी डुलाैँ ?”, उसले टाउको हल्लाई ।
मन्दिर एक फन्को लगाएर हामी पुर्वको ओरालो ओर्लियाैँ । सिढीँमा ओर्लिँदै गर्दा सोधेँ, “कति वर्षकी भयाै ?”
“उन्नाइस् ।”
“कुन साले ?”
“चउन्न साले । तपाईं ?”
“म उनान्पचास ।”
“ए ! ५ वर्ष…”
बिन्ध्यबासिनीको कुवामा यतिबेला माछाहरू हालेका रहेछन् । ऊ तिनीहरूलाई हेरिरहेकी थिई । बगैचामा त्यति फूल थिएनन् । प्राय फुलेर झरिसकेका थिए । केही बेमाैसमी फूलहरू हेर्दै हामीले चहुरमा समय बितायाैँ । क्याम्पसका दिनहरूमा म र केटाहरू यहाँ आउथ्याैँ । रक्सी खाएको बेला गेट नाघेर भित्र जान्थाैँ । कहिलेकाँही गाँजा तान्थ्याैँ । मेरो जन्मदिनमा एकपटक केटाहरूले मलाई उचालेर त्यही कुवामा खसालेका थिए । पुराना यादहरू सम्झिदै म चुपचाप डुलिरहेँ । उसले मैतिर हेरिरहेकी रहिछ । त्यहाँपनि केही कुरा भएन ।
“चिया खाउँ ?”
सुमित्राले हुन्छ भनी । बगैँचाबाट निस्किएर हामी छेउको मेलोडी क्याफेमा गयाैँ । क्याम्पसभन्दा थोरै पर, त्यो हाम्रो चिया-चुरोट स्पट हुने गर्थो । धेरैपछि गएकाले होला, साहुजीले चिनेनन् । म अघिअघि ऊ पछिपछि हुँदै हामी क्याफेको माथिल्लो तलामा गयाैँ । बसिसकेपछि मैले दुइटा चिया मगाएँ । अनि एउटा चुरोट पनि ।
म चाहान्थेँ, ऊ मलाई मन नपराओस् । देख्ने बित्तिकै घिन मानोस् । ऊ त्यति टाढाबाट तयार भएर आएकी थिई । म अघि भर्खर चाउचाउ उमालेर, चप्पल पड्काएर आइपुगेको थिएँ । मलाई उसको अघि राम्रो हुने कुनै रुची थिएन । मात्र बाउआमाको मुख टाल्नु थियो ।
चुरोट सल्काएपछि धुवाँ फालेर ऊतिर हेरेँ । उसको अनुहारमा उपयुक्त निराशा थियो । तर उसले मलाई केही भन्न सक्दिनथी । म उसको कोही थिइनँ । क्याफेको घडीमा ४:४५ भइसकेको थियो । अब १५ मिनेट । मनमनै सोचेँ ।
“हजुरको बाबाले केही भन्नुभएको थियो मेरो बारेमा ?”, उसले सोधी ।
“खासै केही भन्नुभएन ।”
“ए !”,ऊ निराश देखिई ।
“एउटी बहिनी छे, त्यसलाई पोखरा घुमाइदे भन्नुभयो ।”
थाहा छैन किन मलाई मजाक फुर्यो । मलाई यो कुरालाई सिरियस्ली लिनु थिएन । उसले मेरो कुरा नबुझेर मेरो अनुहारमा हेरी । मेरो हाँसो देखेर ऊ हाँस्न थाली । आवाज निकालेर । चर्को-चर्को । त्यसपछी म माैन बसेँ ।
‘खासमा मलाई बिहे गर्न मन छैन तर…’, उसले एक्कासी कुरा झिकी । म चनाखो भएर सुन्न थालेँ । “ममी बितेपछि बुवालाई पनि गाह्रो भएको छ । पैसा छैन । त्यै’ भएर मेरो बिहे छिटै गर्न खोज्नुभएको छ । सानो ममी पनि आएपछि त झन् खाने मुख मात्रै थपिएकोजस्तो ।”
“कति पढ्याै ?”
“बाह्र कटाएँ ।”
“केमा ?”
“कमर्स ।”
“म पनि । मेरो चाई ब्याचलर ।”
उसले पुर्लुक्क मतिर हेरी । मामाले सबैकुरा सुनाए छन् जस्तो लाग्यो ।
“अबको पाली कट्छ ।”
चिया आइपुग्यो ।
“गाँउमा त छिटै बिहे गर्छन् होला नि ?”
“अँ ! कतिवटीको त एसएलसी पछि नै ब्या’ भैसक्यो ।”
“तिमीले गरिनाै ?”
“त्यतीबेला जुठो परेको थियो । मलाई पढ्न पनि मन थियो । +२ भर्ना भैहालेँ ।”, चिया पिउँदै उसले जवाफ फर्काई ।
“मलाई पनि बिहे गर्न मन छैन ।”, मैले यसो भन्दा ऊ एक्कासी डराएजस्ती देखिई ।
“बेला त भयो ।”, ऊ जिस्किई ।
“अँ, भयो !”, मलाई पो लाज लाग्यो ।
चिया खाँदै मैले उसलाई उसको बारेमा सोधेँ । उसले मेरो बारेमा सोधी । हामीले धेरैजसो सतही कुरा मात्र गर्याैँ । उसको घरायसी कुराको बारेमा सोध्ने मलाई कुनै अधिकार थिएन । मलाई सोधिएका प्रश्नहरूको मैले गहिरो जवाफ दिइनँ । यसरी दुइवटा चियाका गिलासहरू रित्तिए ।
मलाई कसरी उसलाई मेरो कुरा भनाैँ जस्तो लागिरहेको थियो । उसलाई पनि मलाईजस्तै बिहे गर्न मन थिएन । तर ऊ विकल्परहित थिई । म भने उम्किने माैकाको खोजीमा मात्रै । पाँच बजिसकेको थियो ।
“अब उठाैँ ?”, घुँडामा दुइ हात बजाएर मैले उसको ध्यान तानेँ । हामी उठ्याैँ ।
काउन्टरमा पैसा तिर्न लाग्दा बाहिर आकाश अध्याँरो थियो । जताततै बादल । पैसा तिरेर ओर्लिएपछि उसले मेरो कुममा छोएर बोलाई ।
“तपाईंलाई ढिलो भयो होला है ?”
“हैन, ठिकै छ । किन र ?”
“ए, मलाई सेती खोलातिर लग्दिनु हुन्छ कि भनेर ।”
मैले कारण बुझ्न सकिनँ । किन भनेर सोध्न पनि आएन । पछि ऊ आफैंले भनी:
“ममीसँग एकादशीमा आएकी थिएँ एकचोटी । देख्न मन लाग्यो आएको बेलामा ।”
पि.एन् क्यामपसको गेटबाट छिरेर हामी सिधै ओरालो लाग्याैँ । मणिपाल जोड्ने झोलुङ्गे पुल पुगेपछि रोकियाैँ । सेती बगेको सुन्दै, त्यहीँ बस्याैँ ।
“हाम्रो ममीले बाबालाई कसरी चिन्नुभएको रे थाहा छ ?”
“कसरी ?”
“एकादशीमा तोरण तार्न जाँदा । ममी हजुरआमासँग जानुभएको थियो रे । बाबा पनि गाँउबाट तोरण तार्न आउनुभएको । त्यो बेला ममीले देखेर मन पराइसक्नु भथ्यो रे । पछि प्रसाद बाड्नी बेलामा त बुवाले नै नाम, ठेगाना सोध्नुभयो रे । अनि था’छ ? हजुरबाले त बाबा बुढो भनेर दिन्नँ भन्नुभा’को रे । ममी १३ को हुँदा बाबा २४ को हुनुहुन्थ्यो रे । पछि हजुरआमाले फकाएर बिहे गर्दिनुभा’को रे ।”
यो सब भनिरहँदा उसको अनुहारले उसको उमेर बताइरहेको थियो । ऊ साँच्चै कलिली थिई । कति नाजुक थिई । मेरो आफ्नै जिन्दगी कता जाने हो भन्ने ठेगान थिएन । मलाई यो सबै भन्न मन लागिरहेको थियो, तर मभन्दा पहिले ऊ बोली:
“था’छ ? ममीसँग ह्याँ आँउदा म पनि १३ वर्षकी थिएँ नि । त्यै’बेला मलाई यो कुरा भन्नुभएको ।”
आकाश अझै कालो भइरहेको थियो । कता कता गड्याङ्गुडुङ्ग पनि सुनिन थाल्यो । म छाता नबोकी हिँडेको थिएँ । पानीले भेट्टाउला कि भन्ने डर पलायो । ऊ आफ्ना बहिनीहरूको बारेमा केही बोलिरहेकी थिई । पानी पर्न थाली हाल्यो । हतपत उसले झोलाबाट छाता झिकी । झोलाभित्रको प्लास्टिकको पोको बाहिर निस्कियो । मैले छाता लिएर खोल्न थालेँ । उसले झोला पोको पारी ।
एकछिनमा पानी नमज्जाले दर्कियो । आधा-आधा रुझ्दै हामी बिन्देश्वरी चोक आइपुग्याैँ । ५:४० भइसकेको थियो । बाटोमा गाडीहरू खासै थिएनन् । बिजुलीका पोलहरूमा बत्ती बलिसकेको थियो । त्यहाँ पुग्दासम्म पानी लगभग बिदो भइसकेको थियो । हामी अलिकती टाढियाैँ र बसलाई कुर्न थाल्याैँ ।
“कतिबेलासम्म लाग्छ गाडी ?”
“६ बजेसम्म भन्नुभएको थियो बाबाले ।”, उसलाई गाडी छुट्ने डर थिएन । मैले त्यसपछि केही सोधिनँ । बाटोतिर हेरिरहेँ । गाडी आएन । केही मिनेटपछि ऊ बोली, “तपाईं जाँदा हुन्छ । म गाडी आएपछि जान्छु ।”
उसको बोलीमा एउटा पुर्णबिराम जस्तो केही थियो । एउटा घोषणा कि अब हामीहरू फेरि भेट्ने छैनाैँ र त्यसकारण यो औपचारिकता आवस्यक छैन । कुर्न पर्दैन । तर पनि मनले मानेन ।
“हैन, त्यत्रोबेर त बसियो । अब एकछिन त हो ।”
“पानी पर्यो भने ?”
“तिम्रो छाता लिएर जाँउला नि । म भोलि गाडीमा पठाइदिउँला ।”
“म आफैं लिन आएँ भने ?”
हामी फेरि चुप लाग्याैँ । पसलहरूमा बत्ती बलिसकेको थियो । ६:१० बज्यो । गाडी अझै आइपुगेको थिएन । यत्तिकै उभिइरहँदा दिक्क लाग्यो । भनेँ, “यहाँ कुर्नभन्दा बसपार्क जाम । त्याँ’ भेटिइहाल्छ ।” हामिहरू बाग्लुङ्ग बसपार्क तिर गयाैँ ।
बाटोमा उसले सोधी, “तपाईको बुवालाई के भन्नुहुन्छ ?”
“बहिनीलाई भेटेँ अनि घुमाइदिएँ भन्छु । तिमी के भन्छ्याै ?”
हाँसोजस्तो सुस्केरा फ्याँकेर उसले “खै..”, भनी ।
बाग्लुङ्ग बसपार्कको चहलपहल बेग्लै थियो । आँखा भुलाउने बाटाहरू थुप्रै थिए । हामी भने सराङ्कोटको बस खोज्दै हिड्याैँ । एउटा खलासीलाई सोधेपछि, उसले लास्ट गाडी ५:३० मै भरिएर गइसक्यो भन्यो । अब ऊ आत्तिएजस्तो देखिई । फोन झिकेर कल गर्न थाली ।
“अब के गर्छ्याै ?”
“अम्बिका भन्नि साथी छे । हरिचोकमा ब्या’ भाको थ्यो परार । त्यैँ जानुपर्ला । बाबालाई पनि ढिलो भयो भने त्यतै बस्छु भनेकी थिएँ ।”
ऊ आफ्नो बाउसँग कुरा गर्न थाली । मलाई याद छ, “घर आएपछि भन्छु”, भनेर उसले फोन काटेकी थिई ।
त्यसपछि साथीलाई फोन गरी । फेरी गरी । दुइचोटी सम्म नलागेपछि मेरो फोनबाट प्रयास गर्याैँ । लागेन । उसले अर्की साथीलाई फोन गरेर सोधी । अम्बिकाको कुनै अर्को नम्बर पाइएन । अब ऊ साँच्चै आत्तिन थाली ।
आँखामा टिलपिल आँसु लिएर मतिर हेर्दै थिई । मैले हेर्न सकिनँ । एकछिन लामो सास फेरेर सोचेँ । भनेँ, “सुन त ! एकछिन कुरम् । भोक पनि लाइसक्यो होला । ह्याँइ खाना खाएर जाउली । तिमी फोन ट्राइ गर्दै गर । खाना खाइन्जेल लागेन भने केइ सोचम्ला ।”
उसले हुन्छ भनिन । हुन्न पनि भनिन । हामी ‘भण्डारी खाजाघर’मा पस्याैँ । दुइवटा खाना मगायाैँ ।
नविन र म कोठामा बस्दा यहाँ आइरहन्थ्याैँ । खाना पकाउन अल्छी लागेको बेला यहीँ खान्थ्याैँ । कतिपछी म यी परिचित ठाँउहरूमा फर्किरहेको थिएँ । ब्याचलरपछि म कति एक्लो जिन्दगी बाँचिरहेको रहेछु भनेर बुझ्दै थिएँ । घर, साथी, समाज, सबैबाट टाढा । आफ्नै संसारमा एक्लै । मलाई यी परिचित ठाँउहरूको नविनताले नमज्जाले घोचिरहेको थियो ।
मैले खाना सकेँ । सुमित्राले थोरै मात्र खाई । ऊ खाइरहँदा पनि फोन ट्राइ गरिरहेकी थिई । मैले गर्न सक्ने केही थिएन । एउटा चुरोट मगाएर सल्काएँ । चुपचाप हेरिरहेँ ।
अन्तिममा हरेस खाएर उसले आफ्ना पाखुरहरू लत्र्याई । मतिर हेरी । रात परिसकेको थियो । हामीले लगाएका लुगाहरू चिसै थिए । कोठामा बिहानको भाँडा माझ्न बाँकी थियो । मलाई एक्कासी कोठामा जान मन लाग्यो ।
“फोन लागेन ?”
“अहँ !”, उसको उत्तरमा यस्तो निराशा थियो मानाैं उसलाई मसँग अल्झिनु थिएन । तर त्यहाँ ममात्र थिएँ ।
चुरोटको ठुटो निभाएर भनेँ, “मेरो साथीको खाट अझै मेरो कोठामा छ । तिमीलाई झ्याउ हुन्न भने त्यता जाम् । भोली बिहानै बस चढेर घर जाउली । एकचोटी बुवालाई फोन गरेर सोध त । कि म सोध्दिम् ?”
“पर्दैन !”, ऊ झर्की ।
“यता होटेलमा बस्ने हो भने म एउटा सिङ्गल बेड भन्दिन्छु ।”
“यस्तो ठाँउमा कसरी झन् बस्नु ?”
उसको आवाज अघिको भन्दा मलिन सुनियो । केही नबोली बसिरहेँ । एकछिनमा ऊ बोली, “कति टाढा छ ?”
“यहाँबाट ५/७ मिनेट ।”
“जताबाट पनि ५/७ मिनेट रैछ ।”
जवाफ दिन आएन । उठेर खानाको पैसा तिरेँ । अघिअघि हिडेँ । ऊ पछिपछि आई ।
ऊ भित्र पसेर मेरो खाटमा टुक्रुक्क बसी । मैले खाटमुनिबाट डसना झिकेर अर्को खाटलाई मिलाएँ । कोठाको हालत भनिसाध्य थिएन । जुठा भाँडाको बाटालाई खाटमूनि छिराएँ । खाटका लुगालाई टेबलमाथि थन्क्याएँ । पालैपालो हामीले लुगा फेर्याैँ ।
त्यो बेलुका म ९ बजे नै बत्ती निभाएर पल्टेँ । अबेरसम्म निन्द्रा लागेन । घरसँग रिस उठ्यो । आफैसँग रिस उठ्यो । त्यो कोठा, जहाँ एक वर्षदेखि दुइटा खाट र एउटा मान्छे मात्र थिए, त्यहाँ अर्को मान्छेको उपस्थितीले चिमोटिरह्यो ।
कतिबेला निदाए थाहा पाइनँ । ब्युँझिदा सुमित्रा उठिसकेकी थिई । ग्याँसबाट पानी उम्लिएको आवाज आइरहेको थियो ।
“चिनी कता छ ?”
प्लास्टिककको सानो पोको देखाएँ । ऊ राम्रो मुडमा थिई । हिजोको हतासपना उसमा थिएन । उसले चिया ल्याएर दिई । उठेर मुख धोएँ । कोठामा आधा खाएको कुकिजको प्याकेट थियो । त्यसैको खाजा खायाैँ । खाजा खाइराख्दा उसले मेरो अनुहारमा लामो समयसम्म हेरेकी थिई । मैले पनि हेरेँ । फेरी नजर हटाएँ ।
उसले झोलाबाट प्लास्टिकको पोको झिकेर दिई ।
“गुन्द्रुक ! जाने बेलामा दिन्छु सोचेकी थिएँ । अझै यहीँ छु । अब चाईँ जान्छु ।”
“पर्ख म छोड्न जाँउला ।”
“भयो पर्दैन । तपाईं भाँडा माझ्नु ।”, ऊ हाँसी । म पनि हाँसेँ ।
एकछिनमा रेडी भएर ऊ गई । सधैंको लागि । त्यसपछि कोठा फेरि रित्तो भयो । नविन गएपछि पहिलोपटक मलाई कोठामा एक्लो महसुस भयो । बस्न मन लागेन ।
सुमित्रा र मैले नबोलेरै आ-आफ्नो जवाफ दिइसकेका थियाैँ । मैले घरमा फोन गरेँ । भने, “केटी राम्री लागिन । बिहे गर्दिनँ । परीक्षासम्म अब कुनै केटीको कुरा लिएर नआउनुहोला ।”, बाले केही भन्नुभएन ।
त्यो दिन महिनाैं पछि नविनलाई फोन गरेँ । उसले फोन उठायो । बोल्दा-बोल्दै रुन थालेछु । उसले के भयो भनेर सोध्यो । मैले भन्न सकिनँ कि म एक्लो छु । मेरो कोही छैन । मलाई बिहे गर्नु छैन तर मलाई एक्लै बस्नु पनि छैन ।
“म काठमाडौं आएँ भने तेरोमा राख्छस् ?”
त्यही बेलुका म गाडी चढेँ । घरमा कसैलाई केही भनिनँ । भन्नु पनि मन लागेन । त्यहाँ पुगेर नयाँ सिमकार्ड लिएँ । परीक्षा ३ हप्तामा थियो । तयारी गरेँ । नविनले सघायो । जाँच दिन पोखरा आउँदा कोठा खाली गरेर सामान लगेँ । त्यसपछि पोखरा पनि बिरानो भयो । मान्छेहरू बिराना भए । ५ बर्षको काठमाडौं बसाईंमा कतिपटक घर सम्झेँ ? कतिपटक आफन्ती । सुमित्रा त सोचमा पनि कतै थिइन । तर आज यत्रो अन्तरालपछि कसरी हाम्रो बाटो फेरि भेटिएको थियो । हामी कस्ता भइसकेका थियाैँ ? म गहिरो सोचमा डुबेँ ।
***
“म अहिले बगर बस्छु । फ्यामिलीसँग ।”
“बिहे गर्नुभयो ? तपाईंले त कहिल्यै बिहे गर्नु हुन्न जस्तो लाग्थ्यो मलाई त । हाऽहाऽहा !” ,उसको हाँसो पहिलाजस्तै थियो । सायद अझै चर्को । म मुस्कुराएँ ।
“तिम्रो त छोरी पनि ठूली भै’सकिछन् । कतिमा पढ्छ्याै नानु ?” ,फूच्ची खाजा खाइसकेर यतिबेला आमाको फोनमा गेम खेल्दै थिई । टाउको उचालेर “टु !” भनी ।
“पाएपछि आफै ठूलो हुँदो रै’छन् । हामी पनि यत्रो बुढो भै’सकियो ।”
२७ वर्षमै ऊ बुढी भइसकेकी थिई । मलाई झन् आफ्नो उमेर याद आयो । ऐनामा देखिएको मान्छे मै हो भन्न कर लाग्यो । हामी पसलमा बसेर लामो समय गफ गर्याैँ । मैले काठमाडौं जाने बेलाको परिस्थिति उसलाई सुनाएँ । फर्किनुको कारण पनि । उसले आफ्नो जिन्दगीको बहिखाता मलाई पस्किई । उसको लोग्ने यतिबेला कोरियामा रहेछ । ऊ पोखरामा छोरीलाई हुर्काउँदै व्यापार गरेर बसिरहेकी रहिछ । बहिनीहरूको पनि बिहे उम्किसकेछ । खर्च उसैले धानी रे । उसको प्रगती देखेर खुसी भएँ । बिरुवा छँदा देखेको रुख एक्कासी चाैतारी बनेजस्तो लाग्यो । मैले उसलाई एउटा फराकिलो रुखजस्तो देखेँ ।
त्यहाँबाट निस्किनेबेलामा फूच्चीलाई मिठाई किन्ने पैसा दिएँ । बुढीको लागि एउटा ट्राउजर किनेँ । सुमित्राले छानिदिई । पसलमा छाता पनि थिए । त्यो देखेर त्यो दिनको एउटा प्रसंग याद आयो । राती ढोकाबाहिर सुकाउन राखेको छाता उसले बिर्सिएर छोडेकी थिई । म त्यही दिन काठमाडौं हिँडेँ । त्यो कता छुट्यो कता ।
“तिमीलाई याद छ ? त्यो दिन तिमीले मेरो कोठामा छाता बिर्सिएर गएकी थियाै ।”
उसले सम्झिन खोजेजस्तो गरी ।
“खै ! अब त त्यस्तो कुराहरू सम्झनै हुँदैन । म आफैं छाता बेचेर बसिराखेछु । हाऽहाऽहा..”
ऊ फेरी हाँसी । म पनि हाँसे । हाम्रो यो भेट पनि पहिलेको जस्तै हाँसोमा अन्त्य भयो । चिप्लेढुङ्गाबाट बगरसम्म पुग्दापनि मैले यो चाहिँ ठम्याउन सकिनँ कि आज हाँसेका हामीहरू र त्यो दिन हाँसेका ती मान्छेहरू के एउटै थिए त ?